दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन खस्दा एक भारतीयसहित ४ जना घाइते



प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार

फाइल । संयुक्त अरब इमिरेट्सको दुबईमा इरानी हमलापछि शारजाह शहरको औद्योगिक क्षेत्रको गोदामबाट निस्किएको धुवाँको कालो मुस्लो । तस्वीर स्रोत : अल्ताफ कादरी/एपी-रासस

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बुधबार ड्रोन खस्दा एक भारतीय नागरिकसहित चार जना घाइते भएका छन्। दुबई मिडिया अफिसका अनुसार घटनामा भारतीय नागरिक मध्यम घाइते भएका छन् भने दुई घानाका नागरिक र एक बंगलादेशी नागरिक सामान्य घाइते भएका छन्।

सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा दुबई मिडिया अफिसले विमानस्थल आसपास क्षेत्रमा ड्रोन खसेको पुष्टि गर्दै हवाई उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ। घटनापछि पनि उडान सेवा प्रभावित नभएको अधिकारीहरूले बताएका छन्।

एमिरेट्स एयरलाइन्सको मुख्य केन्द्र रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय यात्राका लागि विश्वकै व्यस्त विमानस्थलमध्ये एक मानिन्छ।

यसैबीच, क्षेत्रीय तनावका बीच इरानले खाडी क्षेत्रका विभिन्न लक्ष्यमा मिसाइल र ड्रोन आक्रमण गरेको बताइएको छ। इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले साउदी अरेबियाको तेल पूर्वाधार र संयुक्त अरब इमिरेट्सको तट नजिक रहेको जहाजलाई समेत निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

साउदी अरेबियासहित केही देशहरूले भने आफ्ना हवाई प्रतिरक्षा प्रणालीमार्फत धेरै ड्रोन आक्रमणलाई अवरोध गरेको बताएका छन्।

यता, अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले इरानी महिला फुटबल टोलीका ६ सदस्य अष्ट्रेलियामै बस्ने जानकारी दिएका छन्। यसअघि शरण पाएकी एक खेलाडीले भने आफ्नो निर्णय परिवर्तन गर्दै इरान फर्किने तयारी गरेको उनले बताएका छन्।





Source link

Leave a Comment

Translate »