आंशिक ‘सटडाउन’को प्रभाव: अमेरिकी विमानस्थलमा ‘प्रि-चेक’ सेवा स्थगित गर्ने तयारी



प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार


अमेरिकी गृह मन्त्रालयले विमानस्थलहरूमा उपलब्ध ‘प्रि-चेक’ सेवा पुनः स्थगित गर्ने तयारी गरेको छ।

सरकारको आंशिक कार्यबन्द का कारण जनशक्ति अभाव हुन सक्ने भन्दै यातायात सुरक्षा प्रशासनले ‘सामान्य’ सुरक्षा जाँच मार्गलाई प्राथमिकता दिन ‘प्रि-चेक’ सेवा रोक्न सक्ने संकेत दिएको हो।

ट्रान्सपोर्टेसन सेक्युरिटी एड्मिनिस्ट्रेशन (टीएसए ) अमेरिकाको एक संघीय निकाय हो, जसले विमानस्थल तथा सार्वजनिक यातायातको सुरक्षाको जिम्मेवारी वहन गर्दछ।

गृहमन्त्री क्रिस्टी नोएमले यस बारे जानकारी दिँदै भन्नुभयो, “यदि गृह मन्त्रालयले आवश्यक बजेट नपाउने अवस्था लम्बिँदै गयो र सुरक्षाकर्मीहरू अन्य रोजगारी खोज्न बाध्य भए भने, कुन सुरक्षा मार्गलाई प्राथमिकता दिने भन्ने निर्णय गर्नुपर्ने हुन्छ।”

उनका अनुसार, धेरै यात्रुले प्रयोग गर्ने सामान्य सुरक्षा जाँच मार्गलाई पहिलो प्राथमिकतामा राखिनेछ। उपलब्ध जनशक्तिका आधारमा मात्र जाँच मार्गहरू सञ्चालन गरिने उनले प्रष्ट पारिन्।

गृहमन्त्री नोएमले मन्त्रालयले पूर्व-निर्णय उल्ट्याएको भन्ने आरोपको खण्डन गरेकी छन्। उनले भनिन्, “हामीले निर्णय उल्ट्याएका होइनौँ, सम्भावित कर्मचारी अभावको अवस्थामा प्राथमिकता कसरी तय गर्ने भन्ने विषयमा मात्र छलफल भएको हो।”

भन्सार तथा सीमा सुरक्षा निकायको ‘ग्लोबल इन्ट्री’ कार्यक्रम भने अझै स्थगित अवस्थामै रहेको जनाइएको छ।

गत वर्ष ४३ दिनसम्म चलेको सरकारी बन्दका बेला टीएसए प्रि-चेक र ग्लोबल इन्ट्री सेवाहरू स्थगित गरिएको थिएन।

अमेरिकामा आप्रवासन अधिकारीहरूको व्यवहारलाई लिएर डेमोक्र्याटहरूले विरोध जनाएपछि गृह मन्त्रालयको बजेट संसदबाट पारित हुन नसक्दा अहिले यो आंशिक ‘सटडाउन’को स्थिति सिर्जना भएको हो।





Source link

Leave a Comment

Translate »