अमेरिकामा हिमआँधीका कारण कम्तीमा दुईको मृत्यु; हवाई उडान र विद्युत आपूर्ति अवरुद्ध



प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार

फोटो: सिन्ह्वा/रासस

अमेरिकामा आएको शक्तिशाली हिमआँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार उत्तर–पूर्वी अमेरिकामा आएको शक्तिशाली हिमआँधीका कारण मेरील्याण्ड राज्यमा दुई जनाको मृत्यु भएको हो।

हिमआँधीले सम्पूर्ण क्षेत्रको हवाई उडान अवरुद्ध पार्नुका साथै विद्युत् आपूर्ति समेत बन्द गराएको छ। मेरील्याण्डको क्याल्भर्ट काउन्टीमा सडकमा ढलेको रुख गुडिरहेको सवारीसाधनमाथि खस्दा ६० वर्षीय पुरुष र ४३ वर्षीया महिलाको ज्यान गएको स्थानीय सुरक्षा निकायले जनाएको छ।

आँधीका क्रममा मेरील्याण्डका केही स्थानमा १६ इन्चसम्म हिमपात भएको थियो। रोड आइल्याण्ड राज्यको प्रोभिडेन्स सहरमा भने ३७.९ इन्च हिमपात मापन गरिएको छ, जुन त्यहाँको इतिहासकै सबैभन्दा ठूलो हिमआँधी मानिएको छ।

रोड आइल्याण्ड र म्यासाचुसेट्सका विभिन्न भागमा अझै यात्रा प्रतिबन्ध जारी छ भने विद्यालयहरू बन्द राखिएका छन्। स्थानीय बासिन्दाहरू आँधीपछि घरआँगन र सडकबाट हिउँ हटाउने कार्यमा व्यस्त देखिएका छन्।

खराब मौसमका कारण सोमबार ५ हजारभन्दा बढी हवाई उडान रद्द गरिएका थिए। सबैभन्दा बढी प्रभावित विमानस्थलहरूमा बोस्टनको लोगन अन्तर्राष्ट्रिय विमानस्थल तथा न्युयोर्कका जोन एफ. केनेडी र लागार्डिया विमानस्थल रहेका छन्।

न्युयोर्क सहरमा २० इन्चभन्दा बढी हिमपात रेकर्ड गरिएको छ, जसलाई सहरको इतिहासकै नवौँ ठूलो हिउँदे आँधी मानिएको छ। त्यहाँका मेयर जोहराम मामदानीले सडक सुरक्षित राख्न यात्रा प्रतिबन्ध लागू गर्दै हजारौँ सरसफाइ कर्मचारी परिचालन गरिएको जानकारी दिएका छन्।

मङ्गलबारदेखि न्युयोर्क सहरमा पुनः भौतिक पठनपाठन सुरु गरिएको छ। नजिकका केही राज्यहरूमा भने विद्यालय ढिला गरी सञ्चालन गर्ने वा वैकल्पिक अनलाइन कक्षाको व्यवस्था गरिएको छ।

म्यासाचुसेट्स राज्यमा करिब दुई लाख ५० हजार मानिस विद्युत् सेवाविहीन भएका छन्। म्यासाचुसेट्सकै तटीय सहर सिचुएटमा आधाभन्दा बढी क्षेत्र अन्धकारमा रहेको र तीव्र हावाका कारण विद्युत् सेवा पुनःस्थापना गर्न केही दिन लाग्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।

‘नोरइस्टर’ भनिने उक्त हिमआँधी अहिले अमेरिकाबाट अघि बढ्दै पूर्वी क्यानडाका तटीय क्षेत्रतर्फ सरेको छ। यद्यपि, ती क्षेत्रमा अझै केही समयसम्म तीव्र हावा चलिरहने मौसमविद्हरूले जनाएका छन्।





Source link

Leave a Comment

Translate »