२५० जनालाई गैरकानुनी रूपमा अमेरिका पठाएको आरोपमा २ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा



प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार


गैरकानुनी रूपमा अमेरिका पठाएको आरोप लागेका दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ का कल बहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ का अमित बस्नेत विरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को मुद्दा दायर भएको हो।

२५० जनालाई गैरकानुनी रूपमा अमेरिका पठाएको आरोप लागेपछि उनीहरू विरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। ब्युरोको अनुसन्धानपछि दुवै जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले करिब १ अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर गरेको हो।

इन्टरपोलको सहयोगमा गत भदौमा दुबईबाट पक्राउ गरी काठमाडौँ ल्याइएका कलबहादुर अहिले डिल्लीबजार कारागारमा छन्। उनी मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका हुन्। अर्का प्रतिवादी अमित भने हालसम्म फरार छन्। उनलाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ।

उनीहरूले २५० जनालाई अवैध तरिकाले अमेरिका पुर्‍याएको र केही व्यक्तिलाई अमेरिका पठाउने भन्दै विभिन्न मुलुकमा अलपत्र पारी ठगी गरेको आरोप छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी राजन लिम्बुका अनुसार, कलबहादुरको नाममा रहेका विभिन्न बैंक खाताहरू अध्ययन गर्दा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ अवैध कारोबार भएको भेटिएको छ। यस्तै, फरार प्रतिवादी अमित बस्नेतको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ अवैध कारोबार भएको प्रहरीले जनाएको छ।

कलबहादुर र अमितले कुल ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ अवैध कारोबार गरेको पुष्टि भएकाले सोही बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा उनीहरूले नेपाली नागरिकलाई गैरकानुनी बाटो प्रयोग गरी विभिन्न देश हुँदै अमेरिका प्रवेश गराएको, मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार सम्बन्धी कसुर गरेको खुलेको छ।

मुद्दामा बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार २ देखि १५ वर्षसम्म कैद सजायको माग गरिएको छ। साथै, उनीहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात तथा बिमा रकम समेत जफत गर्न माग गरिएको छ।





Source link

Leave a Comment

Translate »