न्यायाधीशहरूले नियुक्तिको घोषणा गरेकै दिन जस्टिस डिपार्टमेन्टद्वारा अधिवक्तालाई बर्खास्त



प्रकाशित मिति : माघ २९, २०८२ बिहीबार


अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले न्युयोर्कको उत्तरी जिल्लाका नवनियुक्त अमेरिकी अधिवक्ता डोनाल्ड किन्सेलालाई बुधबार बर्खास्त गरेको छ। संघीय न्यायाधीशहरूले उनलाई नियुक्त गरेको घोषणा गरेकै दिन डिपार्टमेन्ट अफ जस्टिसले यस्तो निर्णय गरेको हो।

न्युयोर्कको उत्तरी जिल्ला न्यायाधीशहरूको बोर्डले कार्यवाहक अधिवक्ता जोन सार्कोनको स्थानमा किन्सेलालाई नियुक्त गरेको थियो। अदालतले सार्कोनलाई अयोग्य ठहर गरेपछि उनको स्थानमा किन्सेला नियुक्त भएका थिए।

उप–महान्यायाधिवक्ता टोड ब्लान्चले सामाजिक सञ्जाल एक्स एक्समा लेख्दै किन्सेलालाई बर्खास्त गरिएको जानकारी दिएका छन्। उनले अमेरिकी अधिवक्ता चयन गर्ने अधिकार न्यायाधीशसँग नभई राष्ट्रपतिसँग हुने बताएका छन्।

किन्सेला आपराधिक तथा नागरिक मुद्दामा लामो अनुभव भएका कानुन व्यवसायी हुन्। उनले यसअघि सहायक अमेरिकी अधिवक्ता तथा डिपार्टमेन्ट अफ जस्टिसका आपराधिक मुद्धा क्षेत्रको प्रमुखका रूपमा काम गरेका थिए।

गत महिना संघीय अदालतले सार्कोन अल्बानीस्थित राज्यको राजधानीमा शीर्ष संघीय अभियोजकका रूपमा गैरकानुनी रूपमा कार्यरत रहेको फैसला सुनाएको थियो। अदालतले राज्यका महान्यायाधिवक्ता लेटिशिया जेम्समाथिको अनुसन्धानमा उनको संलग्नता पनि रोक लगाएको थियो।

संघीय अदालतले सार्कोनको १२० दिने अन्तरिम नियुक्ति थप्न अस्वीकार गरेपछि डिपार्टमेन्ट अफ जस्टिसले उनलाई कार्यवाहक पदमै राख्न विभिन्न प्रक्रियागत उपाय अपनाएको थियो। तर अदालतले ती कदमहरू पनि गैरकानुनी ठहर गरेको छ। यस्तै, विवादित नियुक्तिहरू क्यालिफोर्निया, नेभाडा र न्यु जर्सीमा समेत अस्वीकार गरिएका छन्।

यस घटनालाई लिएर ट्रम्प प्रशासनमाथि राजनीतिक विपक्षीहरूलाई लक्षित गरेको आरोप लाग्दै आएको छ। विशेषगरी निर्वाचित डेमोक्र्याट नेतृ तथा न्युयोर्ककी महान्यायाधिवक्ता लेटिशिया जेम्स प्रशासनको निशानामा रहेको बताइन्छ। जेम्सले आफूमाथि भइरहेका अनुसन्धानहरू ट्रम्पको पारिवारिक व्यवसायविरुद्ध आफूले दायर गरेको मुद्दाको प्रतिशोध भएको दाबी गरेकी छन्।





Source link

Leave a Comment

Translate »