इरानसँग व्यापार जारी राख्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने अमेरिकाको घोषणा



प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार

फोटो :एपी/रासस

अमेरिकाले इरानसँग व्यापार जारी राख्ने देशहरूमाथि थप भन्सार शुल्क (ट्यारिफ) लगाउने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको कार्यकारी आदेशमा इरानसँग व्यापार जारी राख्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने उल्लेख छ।

आदेशमा ठ्याक्कै यति प्रतिशत ट्यारिफ लगाइने भन्ने स्पष्ट गरिएको छैन। तर उदाहरणका रूपमा भने २५ प्रतिशतको दरमा कर लगाइने उल्लेख गरिएको छ।

इरानबाट “प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि वस्तु वा सेवा खरिद, आयात वा प्राप्त गर्ने” कुनै पनि देशबाट अमेरिकामा आयात हुने सामानमा यो कर लागू हुनेछ।

‘एयर फोर्स वन’ बाट पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानका लागि “कुनै पनि हालतमा परमाणु हतियार होइन” भन्ने आफ्नो अडान दोहोर्‍याए।

यो कदम ओमानमा अमेरिकी र इरानी उच्च अधिकारीहरूबीच भइरहेको वार्ताको बीचमा आएको हो। केही हप्तादेखि दुवै पक्षबीच धम्कीपूर्ण बयानहरू आइरहेका थिए।

ट्रम्पले यस वर्षको सुरुमा नै इरानसँग व्यापार गर्ने देशहरूमाथि २५ प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।

ह्वाइट हाउसले यो नयाँ कार्यकारी आदेशले “इरानसँग सम्बन्धित जारी राष्ट्रिय आपतकाल” पुनः पुष्टि गरेको र परिस्थिति परिवर्तन भएमा राष्ट्रपतिले यसलाई संशोधन गर्न सक्ने जनाएको छ। इरानबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

ओमानमा शुक्रबारदेखि सुरु भएको वार्ता गत जुनमा अमेरिकाले इरानका तीन मुख्य परमाणु केन्द्रहरूमा बमबारी गरेपछि भएको दुवै देशका अधिकारीहरूबीचको पहिलो प्रत्यक्ष संवाद हो।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघ्चीले गर्नुभएको थियो भने अमेरिकी पक्षबाट विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर सहभागी छन।

अमेरिका र इरानबीच बढ्दो तनावले दुई देशबीच प्रत्यक्ष द्वन्द्वको डर बढाएको छ। ट्रम्पले बुधबार मात्र इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी “धेरै चिन्तित हुनुपर्ने” बताएका छन।

राष्ट्रपतिले इरानले आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्न अस्वीकार गरेमा सैन्य कारबाही गर्न तयार रहेको संकेत पनि दिएका छन ।

तर इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ। परमाणु हतियार विकास गर्न खोजिरहेको भन्ने अमेरिकी तथा उसका सहयोगीहरूको आरोप उसले अस्वीकार गर्दै आएको छ।





Source link

Leave a Comment

Translate »