अमेरिकाद्वारा ग्रीनल्याण्डको पक्ष लिने देशहरूविरुद्ध भन्सार शुल्क लगाउने चेतावनी



प्रकाशित मिति : माघ ३, २०८२ शनिबार

फोटो : एपी/रासस

अमेरिकाले ग्रीनल्याण्डको पक्षमा उभिएर दबाब दिने देशहरूविरुद्ध नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने आफ्नो योजनाको विरोध गर्ने देशहरूमाथि नयाँ भन्सार शुल्क लगाउने विषयमा विचार भइरहेको बताएका हुन्।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिकालाई साथ नदिने देशहरूमाथि ट्यारिफ लगाउन सकिने चेतावनी दिए। उनले राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्याण्ड आवश्यक रहेको जिकिर गर्दै अमेरिकाले यसलाई प्राप्त गरेरै छाड्ने दृढता दोहोर्‍याएका छन्।

ग्रीनल्याण्डमाथि नियन्त्रण जमाउने ट्रम्पको यो प्रयासले युरोपेली देशहरूमा आक्रोश पैदा गरेको छ। यस कदमले लामो समयदेखि कायम ‘ट्रान्स-एटलान्टिक’ सम्बन्धमा गम्भीर असर पर्न सक्ने भन्दै उनीहरू चिन्तित छन्। हाल डेनमार्कको स्वायत्त क्षेत्र रहेको यस आर्कटिक टापुमा केही युरोपेली देशहरूले सेना पठाउन समेत सुरु गरेका छन्।

यसै साता ग्रीनल्याण्ड र डेनमार्कका प्रतिनिधिहरू ट्रम्पको योजनाबारे छलफल गर्न ह्वाइट हाउस पुगेका थिए। तर, ती बैठकहरू कुनै ठोस निष्कर्षबिना नै समाप्त भएका छन्।

ट्रम्पले आफ्नो विदेश नीति र लक्ष्य हासिल गर्न बारम्बार भन्सार शुल्कको धम्कीलाई हतियारका रूपमा प्रयोग गर्दै आएका छन्। यसै साता मात्र उनले इरानसँग व्यापार गर्ने देशहरूमाथि तत्काल लागू हुने गरी २५ प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए। यद्यपि, ती ट्यारिफहरू औपचारिक रूपमा लागू भए वा भएनन् भन्ने स्पष्ट भइसकेको छैन।

अर्कोतर्फ, ट्रम्पको ट्यारिफ लागू गर्ने स्वेच्छाचारी अधिकारमाथि छिट्टै कानुनी अंकुश लाग्न सक्ने सम्भावना देखिएको छ।

अमेरिकी सर्वोच्च अदालतले यससम्बन्धी एक ऐतिहासिक मुद्दामा फैसला सुनाउने तयारी गरिरहेको छ। यद्यपि, न्यायाधीशहरूले जुनसुकै निर्णय गरे पनि ट्रम्पसँग भन्सार शुल्क बढाउने अन्य विभिन्न कानुनी उपायहरू भने बाँकी नै रहनेछन्।





Source link

Leave a Comment

Translate »