विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई आयोगको आधिकारिक मान्यता 



प्रकाशित मिति : माघ २, २०८२ शुक्रबार

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आव्हानमा भएको विशेष महाधिवेशनपछि नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको टोली बिहीबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आयोगको कार्यालयमा पार्टीको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि दस्तावेज हस्तान्तरण गर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस

निर्वाचन आयोग नेपालले हालै विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको हो । 

राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको कांग्रेसको विशेष महाधिवेशनले थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित गरेको थियो । विशेष महाधिवेशनपछि नवनिर्वाचित सभापति थापा नेतृत्वको टोलीले बिहीबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आयोगको कार्यालयमा पार्टीको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि दस्तावेज हस्तान्तरण गरेका थियो । यस्तै, कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतको टोली पनि शुक्रबार सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस आधिकारिक भएको दाबीका साथ आयोग पुगेको थियो । 

आयोगले दुवै टोलीले बुझाएको सबै कागजात अध्ययन गरी थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको हो । आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चार तारे झन्डा थापा नेतृत्वको कमिटीले प्राप्त गरेको छ । 

विशेष महाधिवेशनबाट पार्टी सभापतिमा थापासहित उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका थिए । यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे तथा सहमहामन्त्रीहरू डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खस आर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित भएका थिए । विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्य चयन गरेको थियो ।

आयोगको निर्णयसँगै कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गरेका छन् । फेसबुक लाइभमार्फत शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले निर्णय गरेको समेत बताएका छन् ।





Source link

Leave a Comment

Translate »