अमेरिकामा डेमोक्र्याट नेताहरूमाथि न्याय मन्त्रालयद्वारा अनुसन्धान सुरु



प्रकाशित मिति : माघ २, २०८२ शुक्रबार


अमेरिकाको मिनेसोटाका दुई प्रमुख डेमोक्र्याट नेताहरूमाथि अनुसन्धान सुरु गरिएको छ। संघीय आप्रवासन कारबाहीमा अवरोध पुर्‍याउन खोजेको आरोपमा न्याय मन्त्रालयले मिनेसोटाका गभर्नर टिम वाल्ज र मिनियापोलिसका मेयर जेकब फ्रेमाथि अनुसन्धान सुरु गरेको हो।

यो कदमलाई ट्रम्प प्रशासन र डेमोक्र्याटहरूबीचको बढ्दो टकरावको सङ्केतका रूपमा हेरिएको छ। गभर्नर वाल्ज र मेयर फ्रेले ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) सम्बन्धी दिएका अभिव्यक्तिका कारण उनीहरूमाथि अनुसन्धान सुरु भएको बताइएको छ।

गभर्नर वाल्जले आफूविरुद्धको अनुसन्धानप्रति प्रतिक्रिया दिँदै, “राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध न्याय प्रणालीलाई हतियार बनाउनु तानाशाहीको लक्षण हो,” भनेका छन्।

यसैबीच, एक संघीय न्यायाधीशले मिनियापोलिसमा तैनाथ हजारौँ संघीय सुरक्षाकर्मीहरूको अधिकार क्षेत्र र सीमा तोकिदिएकी छन्। न्यायाधीशले शान्तिपूर्ण प्रदर्शनकारीमाथि पेपर स्प्रे प्रयोग गर्न र उनीहरूलाई पक्राउ गर्न रोक लगाएकी छन्।

गत साता ३७ वर्षीया रेनी गुडलाई एक ‘आइस’ एजेन्टले गोली हानी हत्या गरेपछि मिनियापोलिसमा प्रदर्शनहरू तीव्र बनेका छन्। गुडको मृत्युबारे नयाँ विवरणहरू पनि सार्वजनिक भएका छन्।

प्रतिवेदनअनुसार, उनको शरीरमा कम्तीमा तीनवटा गोली लागेको थियो भने टाउकोको बायाँ भागमा चौथो गोली लागेको चोट देखिएको थियो। रेनी गुडलाई गोली हान्ने संघीय एजेन्टलाई भने हालसम्म अनुसन्धानको दायरामा ल्याइएको छैन।

गभर्नर वाल्जले मिनेसोटाका नागरिकहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेका छन्। यद्यपि, ट्रम्प प्रशासनले ‘आइस’ लाई “आधुनिक समयको गेस्टापो” भनी टिप्पणी गरेको भन्दै वाल्जको आलोचना गरेको छ। उता मेयर फ्रेले भने आप्रवासन एजेन्टहरूलाई तत्काल मिनियापोलिस छोड्न माग गरेका छन्।





Source link

Leave a Comment

Translate »