फेब्रुअरीमा परिवारमा आधारित प्राय सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मिति स्थीर



प्रकाशित मिति : पुस २८, २०८२ मंगलबार


फेब्रुअरीमा पनि परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा अमेरिकाभित्र हुनेले ग्रिनकार्ड आवेदन फाइल गर्ने र बाहिर हुनेले भिसा पाउने मितिमा स्थीरता कायम भएको छ । ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा एकमहिनाको अग्रता आएपनि अरु सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मिति टसमस भएको छैन । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भिसा पाउने मिति सबै श्रेणीमा स्थीर छ । जसले गर्दा प्रतिक्षा अवधि अझ बढेको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको फेब्रुअरीको भिसा बुलेटिन अनुशार २१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा भिसा पाउनका लागि फेब्रुअरीका लागि पनि प्राथमिकता मिति ८ नोभेम्बर २०१६ नै कायम छ । अर्थात् ८ नोभेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले फेब्रुअरीमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।

त्यस्तै, ग्रिनकार्ड वाहकका दम्पत्ति र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तरवार्ता पाउने प्राथमिकता मिति फेब्रुअरीमा पनि १ फेब्रुअरी २०२४ नै कायम भएको छ । अर्थात् १ फेब्रुअरी  २०२४ भन्दा पहिला आई १३० पिटिसन दर्ता गरेकाहरुले फेब्रुअरीमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।

त्यस्तै, ग्रिन कार्ड वाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि भिसा पाउनका लागि फेब्रुअरीमा प्राथमिकता मितिमा टसमस भएको छैन । यो श्रेणीमा १ डिसेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले फेब्रुअरीमा भिसा पाउन सक्नेछन्।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि फेब्रुअरीमा प्राथमिकता मिति ८ सेप्टेम्बर २०११ नै कायम गरिएको छ । ८ सेप्टेम्बर २०११ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका आवेदकहरूलाई फेब्रुअरीमा भिसा अन्तरवार्ता मिल्नसक्नेछ ।

त्यस्तै अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा फेब्रुअरीका लागि पनि प्राथमिकता मिति ८ जनवरी २००८ नै कायम गरिएको छ । यो मिति अगाडि आई १३० पिटिसन दर्ता भएकाहरूले मात्र फेब्रुअरीमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।

अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा एकमहिनाको अग्रता आएको छ, अर्थात् २२ जनवरी २०२६ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले फेब्रुअरीमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा प्राथमिकता मिति १५ मार्च २०१७ नै कायम गरिएको छ ।

अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा पनि मिति टसमस भएको छैन । यो श्रेणीमा १ मार्च २००९ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले फेब्रुअरीमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै फेरबदल नभएका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ।

अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी र विवाहित छोराछोरीका लागि अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति फेब्रुअरीमा पनि क्रमशः १ सेप्टेम्बर २०१७ र २२ जुलाई २०१२ नै रहेको छ।





Source link

Leave a Comment

Translate »