नेपालको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्को ८०औं स्थापना दिवस मनाइँदै



प्रकाशित मिति : पुस २३, २०८२ बिहीबार

संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि एवं संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् इकोसकका अध्यक्ष लोकबहादुर थापा । फोटो: राजन काफ्ले/खसोखास

संयुक्त राष्ट्र संघको एक प्रमुख अङ्ग, आर्थिक तथा सामाजिक परिषद् इकोसकले आगामी २३ जनवरीमा आफ्नो स्थापनाको ८०औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ।

संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि एवं परिषद्का अध्यक्ष लोकबहादुर थापाको नेतृत्वमा यस वर्षको विशेष सत्र सञ्चालन भइरहेको छ, जसले विश्वव्यापी दिगो विकास र समावेशी बहुपक्षीयतामा परिषद्को केन्द्रीय भूमिकालाई थप उजागर गर्ने लक्ष्य राखेको छ।

सन् २०३० सम्मका दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने समयसीमा नजिकिँदै गर्दा विश्वले भोगिरहेका गरिबी, बढ्दो असमानता र जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न यो वर्ष ऐतिहासिक हुने ठानिएको छ। सबैका लागि दिगो भविष्यका निम्ति रूपान्तरणकारी र समतामूलक कार्यू भन्ने मुख्य नाराका साथ परिषद्ले कसैलाई पनि पछि नछाड्ने संकल्पलाई पुनः पुष्टि गरेको अध्यक्ष थापाले बताए ।

नेपाली कूटनीतिज्ञ लोकबहादुर थापाको अध्यक्षतामा रहेको यस सत्रले विशेष गरी विकासोन्मुख राष्ट्रहरूको हितलाई केन्द्रमा राखेको छ। अध्यक्ष थापाका प्राथमिकताहरूमा कृषि-खाद्य प्रणालीको रूपान्तरण, डिजिटल समावेशीकरण, युवा उद्यमशीलता र जलवायु उत्थानशीलता जस्ता महत्वपूर्ण विषयहरू समावेश छन्। विशेष गरी अफ्रिकी मुलुकहरू, कम विकसित र भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रहरूका लागि वित्तीय पहुँच बढाउन र प्रणालीगत सुधारमार्फत साझेदारी जुटाउन नेपालले नेतृत्वदायी भूमिका खेलिरहेको छ।

आफ्नो ८० वर्षे विरासतलाई स्मरण गर्दै परिषद्ले यसै वर्ष विश्व सहरी मञ्चजस्ता प्रमुख अन्तर्राष्ट्रिय प्रक्रियाहरूमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अध्यक्ष थापाको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको विधानअनुसार सन् १९४५ मा स्थापना गरिएको इकोसकले आफ्नो पहिलो बैठक २३ जनवरी १९४६ मा आयोजना गरेको थियो। अध्यक्ष थपाका अनुसार, आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरूको समन्वय गर्नुका साथै अन्तर्राष्ट्रिय सहकार्य र विकास प्रवर्द्धन गर्ने यसको मुख्य उद्देश्य रहेको छ।

बहुपक्षीयता, समावेशिता र विश्वव्यापी ऐक्यबद्धतालाई आफ्नो मूल मर्म मानेको इकोसकले आठ दशकदेखि सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्रसंघ प्रणाली, नागरिक समाज तथा अन्य सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने अद्वितीय मञ्च प्रदान गर्दै आएको छ ।





Source link

Leave a Comment

Translate »