अमेरिकाले भनेअनुसार नगरे रोड्रिगेजले पनि मादुरोको भन्दा खराब नियति भोग्नुपर्ने ट्रम्पको चेतावनी



प्रकाशित मिति : पुस १९, २०८२ आईतबार

फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भनेअनुसार भेनेजुएलाले काम नगरे कार्यवाहक राष्ट्रपतिले पनि निकोलस मादुरोले भन्दा खराब नियति भोग्नुपर्ने चेतावनी दिएका छन्।

पत्रकारहरूसँग कुराकानी गर्दै उनले मादुरोले कति छिटो हार बेहोर्नुपर्‍यो भन्ने स्मरण गर्न कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई सुझाव दिएका छन्। उनले अमेरिकालाई भेनेजुएलामा “पूर्ण पहुँच” चाहिएको बताए।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाको तेल र अन्य स्रोतहरूमा पनि अमेरिकाले पहुँच चाहेको स्पष्ट पारेका छन्। अमेरिकी पहुँचले भेनेजुएलाको पुनर्निर्माणमा मद्दत पुर्‍याउने उनको दाबी छ।

राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले उनी सुतेकै ठाउँबाट पक्राउ गरी अमेरिका पुर्‍याएपछि त्यहाँको अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएको थियो। रोड्रिगेज पनि मादुरो समर्थक र अमेरिका विरोधी भावना भएकी व्यक्तिको रूपमा परिचित छिन्।

मादुरो सोमबार न्युयोर्क सिटीको अदालतमा पहिलो पटक उपस्थित हुने अपेक्षा गरिएको छ। उनीमाथि लागूपदार्थ तस्करी र हतियारसम्बन्धी अभियोग लगाइएको छ।

मादुरो पक्राउ परेपछि अमेरिकाले भेनेजुएलाका लागि आफ्ना योजनाहरू स्पष्ट पार्न थालेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला अहिले अमेरिकाको “नियन्त्रणमा” रहेको बताएका छन्। तर उनले अहिलेसम्म कार्यवाहक राष्ट्रपति रोड्रिगेजसँग भने कुरा नगरेको बताए। मादुरो सत्ताच्युत भएपछि ट्रम्पले कोलम्बियामा पनि अमेरिकी सैन्य कारबाही हुन सक्ने सङ्केत दिएका छन्।

भेनेजुएलामाथि “दबाब” कायम राख्ने रणनीतिका रूपमा अमेरिकाले त्यहाँ आफ्ना सेना तैनाथ गर्न सक्ने सम्भावनालाई ट्रम्पले अस्वीकार नगरेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टेलिभिजन अन्तर्वार्ताहरूमा बताएका छन्।

रुबियोले मादुरोको गिरफ्तारी विशाल तेल भण्डारमा पहुँच पाउनकै लागि गरिएको भन्ने आरोपलाई भने अस्वीकार गरेका छन्।

मादुरो र उनकी पत्नीलाई हाल ब्रुकलिनस्थित संघीय कारागार मेट्रोपोलिटन डिटेन्सन सेन्टर मा राखिएको छ।

न्युयोर्क प्रहरी विभागले मादुरोलाई कडा सुरक्षाका साथ सो केन्द्र पुर्‍याएको हो। उनलाई हेलिकप्टरमार्फत म्यानहट्टन ल्याइएपछि कानुन कार्यान्वयन निकायका सवारी साधनहरूको लस्कर (मोटरकेड) मार्फत हिरासत केन्द्र लगिएको थियो।

उक्त हिरासत केन्द्रमा यसअघि पनि धेरै चर्चित संघीय मुद्दाका अभियुक्तहरूलाई राखिसकिएको छ। तीमध्ये संगीत व्यवसायी सिन “डिडी” कोम्ब्स र क्रिप्टो उद्यमी स्याम बैंकम्यान–फ्राइड जस्ता व्यक्तिहरू पनि सोही केन्द्रमा थुनिएका थिए।

मादुरोले  म्यानहट्टनस्थित संघीय अदालतमा लागुऔषध र हतियार ओसारपसार सम्बन्धी आरोपको सामना गर्ने तयारी छ।





Source link

Leave a Comment

Translate »