अमेरिकी नियन्त्रणमा रहेका भेनेजुएलाका राष्ट्रपति मादुरो ब्रुकलिनको हिरासत केन्द्रमा



प्रकाशित मिति : पुस १८, २०८२ शनिबार

फोटो : एएफपी/रासस

अमेरिकाले नियन्त्रणमा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई ब्रुकलिनस्थित हिरासत केन्द्रमा राखिएको छ। न्युयोर्क प्रहरी विभागले मादुरोलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर पुर्‍याएको हो।

उनलाई हेलिकप्टरमार्फत म्यानहट्टन ल्याइएपछि कानुन कार्यान्वयन निकायका सवारी साधनहरूको लस्कर (मोटरकेड) मार्फत उक्त हिरासत केन्द्र पुर्‍याइएको हो। यस हिरासत केन्द्रमा यसअघि पनि धेरै चर्चित संघीय मुद्दाका अभियुक्तहरूलाई राखिसकिएको छ। तीमध्ये संगीत व्यवसायी सिन ‘डिडी’ कोम्ब्स र क्रिप्टो उद्यमी स्याम बैंकम्यान–फ्राइड जस्ता व्यक्तिहरू पनि सोही केन्द्रमा थुनिएका थिए।

मादुरोले आगामी साता म्यानहट्टनस्थित संघीय अदालतमा लागुऔषध र हतियारसम्बन्धी आरोपको सामना गर्ने तयारी छ। पक्राउ परेपछि उनलाई रातारात न्युयोर्क ल्याइएको थियो। मादुरो अवतरण गरेको स्थान न्युयोर्क राज्यको न्युबर्गस्थित स्टुअर्ट एयर नेशनल गार्ड बेस ले ठूलो राजनीतिक, अन्तर्राष्ट्रिय र कूटनीतिक महत्त्व बोकेको छ।

यसको मुख्य कारण अमेरिकी कानुनमा रहेको “भेन्यू” नामक कानुनी व्यवस्था हो। जसअनुसार, कुनै पनि मुद्दा सही संघीय क्षेत्राधिकारभित्र दायर हुनुपर्छ।

कानुनी विज्ञ होनिगका अनुसार अभियोजकहरूले ‘भेन्यू’ स्थापित गर्ने दुईवटा तरिका हुन्छन्: यदि षड्यन्त्रको कुनै भाग सोही संघीय जिल्लाभित्र भएको प्रमाणित गर्न सकियो भने वा विदेशबाट पक्राउ गरेर ल्याइएका व्यक्तिको हकमा, उसले पहिलो पटक अमेरिकी भूमिमा पाइला टेकेको स्थान भेन्यू स्थापित हुन्छ ।

“यदि कुनै व्यक्तिलाई विदेशबाट ल्याइन्छ भने, उसले पहिलो पटक अमेरिकी भूमिमा पाइला टेकेको स्थानमा स्वतः भेन्यू स्थापित हुन्छ,” होनिगले बताए।

पूर्व संघीय तथा राज्य अभियोजक समेत रहेका होनिगले आफ्नो कार्यकालमा पक्राउ परेका अन्य विदेशी नागरिकहरूलाई पनि प्रायः न्युबर्गको यही एयर बेसमा ल्याइने गरिएको जानकारी दिए।

उनका अनुसार यसो गर्नुको उद्देश्य ‘साउदर्न डिस्ट्रिक्ट अफ न्युयोर्क’ मा मुद्दा दायर गर्न कानुनी आधार सुनिश्चित गर्नु हो। होनिगले उक्त जिल्लाको अमेरिकी सरकारी वकिलको कार्यालय यस्ता जटिल र अन्तर्राष्ट्रिय महत्त्वका मुद्दा सम्हाल्न विशेष रूपमा सक्षम रहेको समेत बताए।





Source link

Leave a Comment

Translate »