७ वर्षदेखि नेपालमा बस्दै आएका अमेरिकन ८ जनाको परिवारसहित डिपोर्ट, ११ वर्ष नेपाल आउन नपाउने



प्रकाशित मिति : भाद्र २१, २०८२ आईतबार

७ वर्षदेखि नेपालमा बस्दै आएका अमेरिकन ८ जनाको परिवारसहित डिपोर्ट, ११ वर्ष नेपाल आउन नपाउने

७ बर्षदेखि नेपाल बस्दै आएका अमेरिकी नागरिकलाई नेपालबाट ८ जनाको परिवारैसहित डिपोर्ट गरिएको छ । नेपालको अध्यागमन विभागले गत भदौ १० गते अमेरिकी नागरिक डेनियल स्टेभेन कर्नीलाई नियन्त्रणमा लिएको थियो, उनी व्यावसायिक भिसामा नेपाल आएका थिए । विगत सात वर्षदेखि नेपालमा व्यावसायिक भिसामा बस्दै आएका कर्नीलाई विभागले शनिबार नेपालबाट डिपोर्ट गरेको हो ।

अनुसन्धानका क्रममा कर्नीले नेपालमा पब्लिकेसन्सको नाममा क्रिश्चियन धर्मप्रचारसम्बन्धी पुस्तकहरू प्रकाशन गरेको र ललितपुरको लगनखेल, मंगलबजारलगायतका स्थानहरूमा सार्वजनिक रूपमा क्रिश्चियन धर्मको प्रचार गरेको भिडियोसहितको प्रमाण फेला परेको विभागले जनाएको छ। साथै कर्नी एउटा बालगृह सञ्चालनमा अप्रत्यक्ष रूपमा संलग्न रहेको र उक्त बालगृहले दुर्गम क्षेत्रका आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पढाउने नाममा क्रिश्चियन धर्म सिकाउने गरेको अनुसन्धानमा पुष्टि भएको विभागले जनाएको छ।

विभागका अनुशार थप अनुसन्धानमा कर्नी सन् २०१७ मा भारतबाट समेत डिपोर्ट भएको तथ्य फेला परेको छ। यी सबै कसूरहरूले नेपालको अध्यागमन ऐन र नियमावलीको प्रावधान उल्लंघन गरेको देखिएको भन्दै सार्वजनिक स्थानमा धर्मप्रचार, भिसाको उद्देश्यविपरीत गतिविधि र संदिग्ध आचरणमा संलग्न भएको आधारमा कर्नीलाई ११ वर्षसम्म नेपाल पुनः प्रवेशमा प्रतिबन्धका साथ ५०,००० रुपैयाँ जरिवानासहित निष्कासन गरिएको विभागले जनाएको छ ।

७ वर्षदेखि नेपालमा बस्दै आएका अमेरिकन ८ जनाको परिवारसहित डिपोर्ट, ११ वर्ष नेपाल आउन नपाउने

कर्नीका ६ जना छोराछोरी र श्रीमती पनि कर्नीसँगै व्यावसायिक भिसामा नेपालमा बस्दै आएका थिए। कर्नीको भिसा रद्द भएसँगै उनीहरूको डिपेन्डेन्ट भिसा पनि स्वतः रद्द भएको छ। उनीहरूले चाहेमा पर्यटक भिसामा नेपालमा बस्न सक्ने भएपनि कर्नीले आफ्नो परिवारलाई समेत अमेरिका लैजाने इच्छा व्यक्त गरेपछि श्रीमती र छोराछोरीसहित आठ जनालाई नेपालबाट पठाइएको गरिएको विभागले जनाएको छ।

७ वर्षदेखि नेपालमा बस्दै आएका अमेरिकन ८ जनाको परिवारसहित डिपोर्ट, ११ वर्ष नेपाल आउन नपाउने
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकाल

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार विभिन्न मुलुकहरूले अध्यागमन कानुन उल्लंघन गर्ने वा अपराधमा संलग्न नेपाली नागरिकहरूलाई डिपोर्ट गर्ने गरे झैं नेपालले पनि यस्ता गतिविधिमा संलग्न विदेशी नागरिकहरूलाई डिपोर्ट गर्दै आएको छ। सन् २०२४ मा ५०४ जना विदेशी नागरिक डिपोर्ट भएका थिए, जसमा १४७ चिनियाँ, ५४ अमेरिकी, ५४ बंगलादेशी, ३५ पाकिस्तानी, २५ बेलायती र अन्य देशका नागरिकहरू थिए। सन् २०२५ को पहिलो आठ महिनामा १६९ जना डिपोर्ट भएका छन्, जसमा ३९ चिनियाँ, ३७ बंगलादेशी, १० पाकिस्तानी, ९ अमेरिकी र ७४ अन्य देशका नागरिक छन्।

ढकालका अनुसार पर्यटक भिसामा नेपालमा १५० दिनसम्म मात्र बस्न पाइने भए पनि धेरै विदेशी नागरिकहरूले यो अवधि नाघेकाले ओभरस्टेका कारण डिपोर्ट हुनेको संख्या उच्च छ। साथै, झुटा राहदानी प्रयोग, मानव बेचबिखन, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार, यौन दुराचार र जबरजस्ती करणी जस्ता कसूरमा संलग्न विदेशी नागरिकहरू पनि हरेक वर्ष डिपोर्ट हुँदै आएका छन्।

यसैबीच विभागले हालै ठमेलको गोल्को पाखाबाट एक फ्रान्सेली महिलालाई नियन्त्रणमा लिएको थियो। उनले पर्यटक र अध्ययन भिसामा नेपालमा बस्दै केक बेकरी उद्योगमा काम गर्ने र ललितपुरको एक होटलमा सहलगानी गरेको पाइएको विभागले जनाएको छ। साथै, उनले ईसेवा खाता प्रयोग गरी नगद कारोबार गरेको प्रमाण पनि भेटिएको विभागको भनाई छ। उनलाई पनि तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै ५०,००० रुपैयाँ जरिवानासहित डिपोर्ट गरिएको छ।

त्यस्तै, ललितपुरको धोबीघाटमा सञ्चालित एक गर्ल्स होस्टलमा रौतहट, सर्लाही, दाङ, रुपन्देही, बाँकेलगायतका जिल्लाबाट आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई ल्याएर टर्किस भाषा सिकाउने नाममा अनुचित गतिविधि गरेको पाइएपछि चार जना इन्डोनेसियाली नागरिकलाई पनि तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई ५०,००० रुपैयाँ जरिवानासहित डिपोर्ट गरिएको ढकालले बताए। अध्यागमन विभागले यस्ता गतिविधिमा सक्रियता देखाउँदै अनुसन्धान र कारबाही प्रक्रियालाई तीव्र बनाएको ढकालले बताए ।

७ वर्षदेखि नेपालमा बस्दै आएका अमेरिकन ८ जनाको परिवारसहित डिपोर्ट, ११ वर्ष नेपाल आउन नपाउने





Source link

Leave a Comment