३० वैशाख, गण्डकी । तपाईँलाई आज हामी कम्तिमा ६० वर्ष पुरानो किताब दोकानमा लैजाँदै छौँ । त्यो बागलुङ बजारको लालीगुराँसचोकमा विसं २०२१ मा खुलेको लालचन्द्र-राजेशचन्द्र राजभण्डारी किताब दोकान हो ।
पुस्तक, पत्रपत्रिका तथा स्टेशननरी बेचेर स्थानीयस्तरमा छ दशकदेखि ज्ञान बाँड्दै आएका लालचन्द्र राजभण्डारी दोकानको कुनापट्टि एउटा कुर्सी राखेर टुसुक्क बसिरहेका छन् । त्यहीबेला हामी पनि ८२ वर्षीय राजभण्डारीसँग भलाकुसारी गर्न टुप्लुक्क पुग्यौं। भण्डारीले छ दशकसम्म किताब बेचेर हासिल गरेको अनुभव जान्नु थियो हामीलाई ।
‘आरामै हुनुहुन्छ गुरु ?’ हाम्रो कुराकानी सुरूभयो नमस्कारको अभिवादनसँगै ।
कसैका लागि शिक्षादिक्षा दिने गुरु ।कोहीका लागि राजनीतिक-सामाजिक गुरु । कसैले यसै सम्मानपूर्वक पुर्काने गुरु । बस् ! लालचन्द्र गुरु । त्यसैले हामीले पनि गुरु भनेरै सम्बोधन गर्यौ ।
‘आरामै छु बाबु !’
अब उनीसँगको कुराकानी सुरूभयो । कुराकानीबाट थाहा भयो, उनले एउटा पुस्तक व्यवसायीका रूपमा स्थानीयलाई ज्ञान बाड्ने र तिनै पुस्तक पढेर आफूले पनि समकालीन समाज, राज्य व्यवस्था र राजनीतिलाई बुझेका रहेछन् । त्यही बुझाइले उनलाई बहुदलका पक्षमा प्रखररूपमा उभिन सघाउ पुग्यो र अरूलाई पनि परिवर्तको आन्दोलनमा सघाउने चेतना फैलियो ।
६५ वर्षअघिको कुरा हो । विसं २०१६ मा उनले पाल्पाबाट एसएलसी दिए । हालको बागलुङ नगरपालिका-३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा १० कक्षासम्म अध्ययन गरे पनि त्यसताका एसएलसी दिन कि पाल्पा कि काठमाडौँ जानुपर्ने भएकाले उनले पाल्पाबाट एसएलसी दिनुभएको थियो । एसएलसीपछि काठमाडौँको त्रिचन्द्र कलेजबाट उनको उच्च शिक्षा अध्ययन सुरू भयो ।
उनकी बहिनी गङ्गा र भाइ कृष्णचन्द्र घरमै बसेर पढिरहेका थिए । पछि भाइ कृष्णचन्द्र चिकित्सा अध्ययनका लागि भारत गए । त्यसपछि घरमा व्ययभार थपियो । उनका स्थानीय किनाराटोलमा कपडा दोकान सञ्चालन गरिहरेका बुबा तेजबहादुरलाई छोराछोरीको पढाइ खर्च धान्न गाह्रो हुँदै गयो ।
यतिसम्म समस्या भयो कि विद्यालयको शुल्क तिर्न नसकेपछि छोरी गङ्गाको पढाइ बीचमै रोकिने अवस्था आयो । छोरा कृष्णचन्द्रले पनि पढाइ छोडेर घर फर्कनुपर्यो ।
त्यसपछि लालचन्द्रले पनि आफ्नो पढाइलाई निरन्तरता दिनसकेनन् । उनी काठमाडौँ छोडर बागलुङ फर्किए । यहाँ आएपछि उनले आफैँले पढेको विद्यामन्दिर माविमा अध्यापन गर्न थाले । ‘विसं २०१८ देखि तीन वर्षसम्म शिक्षक भएर काम गरेँ । कक्षा आठ र नौमा गणित र नेपाली विषय पठाउँथेँ’, उनले स्मरण गरे, ‘पछि प्रधानध्यापकसँग कुरा नमिलेपछि पढाउन छाडेँ र विसं २०२१ पुसदेखि हो यो पुस्तक दोकान सुरु गरेको ।’
भाइबहिनीको पढाइलाई निरन्तरता दिन आफूले पढ्न छाडेर पढाउने पेसा र व्यवसाय रोजेको लालचन्द्रको भनाइ छ । त्योबेला बागलुङ बजार बसिसकेको थिएन । चारैतिर फाँटैफाँट थियो । फाट्टफुट्ट घर बन्न थालेका थिए ।
यतिसम्म समस्या भयो कि विद्यालयको शुल्क तिर्न नसकेपछि छोरी गङ्गाको पढाइ बीचमै रोकिने अवस्था आयो । छोरा कृष्णचन्द्रले पनि पढाइ छोडेर घर फर्कनुपर्यो ।
राधाकृष्णटोलको पुरानो घरमा उनले पुस्तक दोकान सुरू गरे । पहिलोपटक जनकपुरबाट पुस्तक ल्याएर दोकान खोलेको क्षण लालचन्द्रको मनस्पटलमा ताजै छ ।’त्यो बेला मङ्सिरमा शैक्षिक शत्र सकिने भएकाले पुस लागेपछि पुस्तक दोकान सुरू गरेका थियौँ”, उनले भने, ‘सुरूमा पाठ्यपुस्तक र परीक्षा सहयोगी पुस्तक बढी बेचिन्थ्यो, पछि धार्मिक, साहित्यिक पुस्तक र पत्रपत्रिकासमेत बेच्न थाल्यौँ।’
जनकपुरबाट भैरहवा हुँदै गाडीमा पोखरा आएका पुस्तकलाई पोखरादेखि भरिया लगाएर बागलुङ ल्याउने गरेको उनले सुनाए । भरियाले दुई सय ज्याला लिएर पोखराबाट दुई दिनमा पुस्तक बागलुङ पुर्याउँथे । ‘हुलाकबाट पनि पुस्तक, पत्रपत्रिका दोकानमा आउँथ्यो । पुस्तक मगाउँदा पनि हुलाकबाटै चिठ्ठीमा लेखेर पठाउनुपर्थ्यो, फोन सुविधा थिएन’, लालचन्द्रले ति दिन सम्झिए ।
उनले जेठो दाइ सूर्यचन्द्रसँग मिलेर पसल सुरू गरेका थिउ । नाम ‘लालचन्द्र–सूर्यचन्द्र पुस्तक तथा स्टेशनरी दोकान’ थियो । विसं २०२७ मा भाइ कृष्णचन्द्रको नाम जोडेर ‘लालचन्द्र-कृष्णचन्द्र पुस्तक तथा स्टेशनरी दोकान’को नामाकरण गरे ।
फेरि विसं २०३४ पछि जेठो छोरा राजेशचन्द्रको नामसहित ‘लालचन्द्र–राजेशचन्द्र पुस्तक, पत्रपत्रिका तथा स्टेशनरी दोकान’लाई निरन्तरता दिए । जुन अहिले बागलुङको दोस्रो पुरानो पुस्तक पसलका रूपमा परिचित छ ।
विसं २०५० तिर बागलुङ गाडी आएपछि भरिया लगाएर पुस्तक ल्याउनुपर्ने बाध्यता हट्यो। पोखरा, काठमाडौँलगायतका स्थानबाट पुस्तक तथा पत्रपत्रिका सहजै आउन थाले ।
अरु पुस्तक तथा स्टेशनरी व्यवसायी पनि थपिँदै गए । बजार विस्तार हुँदै गयो । त्यतिबेला म्याग्दीको राखु, दरबाङ, पर्वतको फलेवास, पश्चिम बागलुङको बुर्तिबाङसम्मका मानिस त्यहाँ पुस्तक किन्न पुग्ने गर्थे ।
किताब किनेर रातारात घर फर्कनलाई गाउँलेहरु राँको लिएर आउने गरेको उनले स्मरण गरे । ‘पर्वत, म्याग्दीमा पुस्तक पसल थिएन, सबै यही आउनुपर्थ्यो’, उनले भने, ‘पत्रपत्रिका किन्न र पढ्न कर्मचारीदेखि सर्वसाधारणको भीड लाग्थ्यो ।’
उबेला मातृभूमि, समीक्षा, विमर्शलगायत पत्रपत्रिका उनको पसलमा नियमित आउँथे । राजदूताबास र विभिन्न प्रकाशन संस्थाका माध्यमद्वारा चीन तथा भारतबाट निस्कने अखबार र पुस्तकहरु पनि उनको पसलमा पुग्थे तर राज्यको नजरबाट प्रगतिशील पुस्तकहरू जोगाउन उनलाई हम्मेहम्मे पर्थ्यो ।
‘प्रगतिशील पुस्तक, पत्रपत्रिका पनि आउने भएकाले तत्कालीन सत्ताको नजरमा हामी तारो बनेका थियौँ’, उनले भने, ‘बहुदल पक्षधर भएको आरोपमा स्थानीय प्रशासनले बेलाबेला दुःख दिने गर्थ्यो तर डराउने स्वभाव थिएन मेरो । गलत कुरा गर्यो भने अञ्चालाधीश, सिडिओहरुको पनि आलोचना गर्थेँ ।’
उनले पसलमा आएका पुस्तक र पत्रपत्रिका बेच्नुमात्रै भएन आफूले पनि पढेर ज्ञान आर्जन गरे । त्यही ज्ञानले पछि पञ्चायत विरोधी आन्दोलनमा पनि सक्रिय हुने अवस्था बनायो ।
उबेला मातृभूमि, समीक्षा, विमर्शलगायत पत्रपत्रिका उनको पसलमा नियमित आउँथे । राजदूताबास र विभिन्न प्रकाशन संस्थाका माध्यमद्वारा चीन तथा भारतबाट निस्कने अखबार र पुस्तकहरु पनि उनको पसलमा पुग्थे तर राज्यको नजरबाट प्रगतिशील पुस्तकहरू जोगाउन उनलाई हम्मेहम्मे पर्थ्यो ।
आन्दोलनका क्रममा पञ्चायती व्यवस्थाको विरोधमा सार्वजनिक ठाउँमा मन्तव्य दिएका कारण त्यसबेलाका अञ्चलाधीशले जिल्लाका अड्डा प्रमुखलाई आफ्नो पसलबाट किताब, मसलन्द नकिन्नु भनेर उर्दी नै जारी गरेको उनको सम्झनामै छ । पञ्चायतकालमा माक्र्स, माओ र लेनिनका पुस्तक लुकाइछिपाइ बेच्ने गरेको उनले बताए ।
पारिवारिक बाध्यताले व्यवसाय सुरू गरे पनि व्यावसायिक लाभसँगै शिक्षित समुदायको सेवा, बौद्धिक सङ्गत र जनचेतना अभिवृद्धिको ध्येयले आफूले पुस्तक दोकानलाई निरन्तरता दिएको उनको भनाइ छ ।
‘अहिलेजस्तो सूचना प्रविधिको विकास भएको थिएन, हप्तौँपछि बल्ल पत्रपत्रिका बागलुङ आइपुग्थे’, लालचन्द्रले भने, ‘पत्रपत्रिका नपढेसम्म देशविदेशमा के भइरहेको छ भन्ने थाहा हुँदैन्थ्यो । त्यसैले लाभका लागि मात्र नभई स्थानीयस्तर सूचना र ज्ञान बाड्न योगदान गर्ने उद्देश्यले पनि पसललाई निरन्तरता दिनुपर्यो ।’
पुस्तक व्यवसायी लालचन्द्र विसं २०३६ मा बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षसमेत बनेका थिए । वैचारिकरूपमा प्रष्ट र निडर स्वभावका उनी बहुदल पक्षधर भएकै कारण विसं २०२७ र २०३७ मा दुईपटक जेलसमेत परेका थिए ।
वाम विचारधारा बोक्ने उनी विसं २०४९ को स्थानीय चुनावमा तत्कालीन कालिका गाउँ सिवकास समितिको उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले विसं १९९७ मा स्थापित विद्यामन्दिर मावि र विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालयलगायत शैक्षिक संस्थाको नेतृत्वसमेत गरिसकेका छन् ।
उनी पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घलगायत कैयन सङ्घसंस्थाबाट सम्मानितसमेत भइसकेका छन् । ८२ वषको उमेरसम्म पनि आफ्नो पुस्तक व्यवसाय र सामाजिक जीवनमा पनि सक्रिय छन्। व्यवसायमा जीवनसङ्गीनी शोभा, छोराहरू राजेशचन्द्र, मुकेशचन्द्रलगायतको दरिलो साथ छ ।
‘सानैदेखि पुस्तकसँग खेलिरहेको भएर होला अध्ययनमा पनि मेरो गहिरो रुचि छ, अहिले पनि नियमित पुस्तक पढिरहेको हुन्छु’, लालचन्द्रले भने, ‘मपछि पनि छोरानातिको पुस्ताले यो व्यवसायलाई निरन्तरता दिउन् भन्ने चाहना छ ।’
सबैभन्दा रोचक त उनको पसलमा ५३ वर्षअघिको कुर्सी छ । त्यही कुर्सीमा बसेर उनले अहिले पनि व्यवसाय गरिरहेका छन् । समय, उमेर सबै फेरियो तर त्यही कुसी किन नफेर्नुभएको ? हाम्रो प्रश्नको जवाफमा उनी भन्छन्, ‘नयाँ कुर्सी किन्न नसकेर होइन नि यो त माया लागेर नफेरेको ।’
उनी पछिल्लो समय देशमा कुर्सीकै लागि राजनीतिक दलहरूबीच भइरहेको खिचातानीलाई आफ्नो कुर्सीले व्याङ्ग्य गरिरहेको सुनाउँछन् ।
‘मैले पुस्तक व्यवसायका साथै राजनीति पनि गरे । तत्कालीन अवस्थामा गाविसको उपाध्यक्षसमेत बने तर कहिले लोभ जागेन । अरुलाई प्रेरणा दिने भूमिकामा रहेका राजनीतिकर्मीले अरुले सक्ने व्यवहार पनि गर्नुपर्छ’, उनले भने, ‘तर अहिले त परिवर्तनका लागि लड्ने नेताहरू नै कुर्सीकै लागि झगडा गरिरहेका छन् । त्यो देख्दा खिन्न लाग्छ ।’