६० जना प्रतिवादीविरुद्ध ८ अभियोगमा मुद्दा दायर : RajdhaniDaily.com

६० जना प्रतिवादीविरुद्ध ८ अभियोगमा मुद्दा दायर : RajdhaniDaily.com


काठमाडौं । ६० किलो सुन तस्करीमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

६० किलो सुन तस्करी प्रकरण

ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर सुन तस्करी गरिएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अर्काे मुद्दा दायर गरेको हो । यसअघि २४ भदौ २०८० मा २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पहिलो चरणको अनुसन्धानमा २५ जना पक्राउ परेकामा अदालतको आदेशबाट २४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

जिल्ला अदालत काठमाडौंमा मंगलबार दायर मुद्दामा ५० प्रतिवादीलाई आठ अपराधमा सजाय गर्न माग गरिएको छ । उनीहरूविरुद्ध सुन तस्करी, संगठित अपराध, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नेपाल राष्ट्र बैंक ऐन, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय हुनुपर्ने माग अभियोगपत्रमा गरिएको छ ।

प्रतिवादीमा सिद्धनाथ अशोक गायकवाड, प्रशान्त गणेश बजबलकर, धिरज दिनेश बोइटे, सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ ब्रह्मादत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा, राजु भोटे भनेर चिनिने कुंगा टासी शेर्पा, चिनियाँ नागरिक जिन जाङ, प्रज्वल आचार्य, सुरजशमशेर जबरा, भीमप्रसाद तिमल्सिना, फुनसुक डाक्पा अथुपछाङ खम्पा, काश्यप मानन्धर, लालबहादुर कुँवर र अरुणकुमार यादव छन् ।

यस्तै, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, सोनाम गुरुङ भन्ने शिरव ग्याल्मो, सुनिल जाकिबन्जा, सत्येन्द्र श्रेष्ठ, लुरोङ गोंगबु, वाङ दोजिङ, पिन्ज योनजिङ, झोङ झियाङ, हेनरी जी जोङ जियाङ, पिंग लिंगफिङ्ज, टिरेन्स टिसा, राम गुरुङ, सोनम तामाङ, लेखनाथ कार्की डोली, कुमार भुजेल, विकुन्द्र भुजेल, अभिजित तानाजी मुलिक, अमोल कलप्पा कुटे, कमलकान्त कुल्थिया, मुकुन्दकुमार ठाकुर, ऋषि ठाकुर, रोशनबाबु मल्ललगायतलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीहरूले संगठित भई अवैध सुन पैठारी तथा अभौतिक मुद्रासम्बन्धी कसुरसमेत गरी एकै वारदातमा एकभन्दा बढी कसुर गरेको हुँदा मुलुकी अपराध संहिता, २०७४ को दफा ४३(१) बमोजिम एकीकृत कसुरसमेत गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

चिनियाँ नागरिक प्रतिवादी वाङ दोजेङको समूहमा रही संगठित भई आपराधिक समूह बनाई समूहबीचमा गोप्य तथा तहगत रूपमा सूचना प्रवाह गरी पिरामिड शैलीमा सुन तस्करी गरेको अभियोगपत्रमा उल्लेख छ ।

दोस्रो चरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लाजिम्पाटमा साम भन्ने झोङ जिङ्चुआनलगायतको समूह पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश बोइटे, नेपाली नागरिकतामा सोनाम गुरुङ भएका चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, राजु खत्री भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठलगायत रहेको सीआईबीले जनाएको छ ।

यस्तै, तस्करीमा अवैध भुक्तानी प्रक्रियामा संलग्न रहेको भन्दै पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य र लेखा प्रमुख सुरजशमशेर जबरालाई सीआईबीले पक्राउ गरेको छ ।

त्यस्तै, अवैध भुक्तानीमा संलग्न रहेको भन्दै पेमेन्ट गेटवे सजिलो–पेका प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, सदस्यहरू फुनसुक डाक्पा अथुपछाङ खम्पा र सुशीला जाकिबन्जालाई पनि सीआईबीले पक्राउ गरेको छ । यस्तै, एजेन्टहरू लालबहादुर कुँवर र अरूणकुमार यादव पनि पक्राउ परेका छन् ।

दोस्रो चरणकोे अनुसन्धानका क्रममा सीआईबीले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १ सय ९४ दशमलव ६६८ किलो सुन तस्करी भएको पाइएको छ । सीआईबीले ३ सय ६२ दशमलव ७७८ किलो ब्रेक सुमा लुकाएर र बाँकी अरू २ हजार ८ सय ३१ दशमलव ८९ किलो सुन पानी तान्ने मोटरलगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको जनाएको छ ।

यस समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँबराबर भएको सीआईबीले जनाएको छ । ६० किलो सुन तस्करी प्रकरणमा पहिलो चरणको अनुसन्धान गर्दा सीआईबीले चिनियाँ नागरिक दाओजिन वाङ नै मुख्य व्यक्ति रहेको बताएको थियो । वाङले विभिन्न डमी कम्पनी बनाएर त्यसमार्फत ब्रेक सु, पानी तान्ने पम्पलगायतमा सुन राखेर नेपाल भिœयाउने गरेको खुलेको थियो । दोस्रो चरणको अनुसन्धानमा पनि वाङकै लगानीमा विभिन्न कम्पनी खोलेर ३ हजार १ सय ९४ किलो सुन तस्करी भएको सीआईबीले फेला पारेको छ । वाङ अहिले फरार छन् ।

सीआईबीले नेपालमा विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी भएको जनाएको छ । ती डमी कम्पनी अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेको प्रहरीले जनाएको छ ।

‘नेपालमा विभिन्न कम्पनी खोली हङकङबाट मालवस्तुभित्र अवैध सुन छिपाइ ल्याइ मालवस्तुबाट सुन निकाली गाली पगाली सानोसानो परिमाणका बनाइ नेपाल तथा भारतीय बजारमा बिक्रीसमेत गरी ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैयाँ लाभ लिएको स–प्रमाण पुष्टि हुन आएको छ,’ अभियोगपत्रमा भनिएको छ, ‘उनीहरूले गरेको सो कार्य संगठित अपराध निवारण ऐन–२०७० दफा २(घ) मा परिभाषित दफा ५ बमोजिमको आपराधिक समूह स्थापना गरी दफा ३(१) विपरीत ऐ. ऐनको दफा ३ को उपदफा (३)(क) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको छ ।’

नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिक शाखा केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौंसमेतका प्रतिनिधि रहेको विज्ञ टोलीको प्रतिवेदनअनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका सातवटा विभिन्न डमी कम्पनीमध्ये पाँचवटा डमी कम्पनीबाट विभिन्न इलेक्ट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी ३ हजार १ सय ९४ दशमलव ६६८ किलो अवैध सुन चोरी पैठारी गरेको देखिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालिमार्फत १ हजार ३ सय ३ दशमलव ९६५ किलो, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६ सय ३२ दशमलव ७१५ किलो, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७ सय १६ दशमलव ८३ किलो, दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १ सय ७२ दशमलव ८ किलो र रेडी ट्रेड प्रालिमार्फत ७ दशमलव ५ किलो सुन तस्करी भएको पाइएको छ । ब्रेक सुमार्फत यसअघि ३ हजार ६२ दशमलव ७७८ किलो सुन तस्करी भएको दाबी गरिएको थियो ।

सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामानभित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ । सीआईबीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो–पेमार्फत ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ माग दाबी गरिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा ती दुई कम्पनीबाट सुन तस्करीमा यसबराबरको रकम भुक्तानी भएको उल्लेखसहित बिगो र जरिमाना मागदाबी गरिएको हो । पेवेल नेपाल प्रालिका सञ्चालक तथा कर्मचारी प्रतिवादीहरू भीमप्रसाद तिमल्सिना, नेपालभूषण चन्द, पाल्साङ लामा, खेलानन्दप्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्वल आचार्य, सुरजशमशेर जबरा र मिलन भन्ने मीनबहादुर दुलालसमेत आठ जनाविरुद्ध मुद्दा दायर भएको हो । उनीहरूसँग ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २ सय ३३ रुपैयाँ माग दाबी कायम गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको मागदाबी लिएको अभियोगपत्रमा उल्लेख छ ।

सजिलो–पे पेमेन्ट सर्भिसेज प्रालिका सञ्चालक तथा कर्मचारी प्रतिवादीहरू सुनिल जाकीबन्जा, फुनसुक डाक्पा अथुपछाङ खम्पा, काश्यप मानन्धर, रोशनबाबु मल्लसमेत चार जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूसँग १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ८५ रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरूलाई पनि अन्य अभियोगसँगै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको माग दाबी थप लिइएको छ ।

उल्लिखित सजिलो–पे पेमेन्ट सर्भिसेज प्रालिको खातामा अवैध सुनको कारोबारबाट प्राप्त गरेको रकम जम्मा गरेको सम्बन्धमा अनुसन्धानका क्रममा तयार गरिएको अलग प्रतिवेदन पनि अभियोगपत्रसँगै जिल्ला अदालतमा पेस गरिएको छ ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School