५ लाख कागजपत्रविहिनले अन्ततः अमेरिकी नागरिकता पाउन सक्ने कार्यक्रममा आवेदन अगस्त १९ देखि



प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार

५ लाख कागजपत्रविहिनले अन्ततः अमेरिकी नागरिकता पाउन सक्ने कार्यक्रममा आवेदन अगस्त १९ देखि

अमेरिकी राष्ट्रपति जो बाइडेनले ५ लाख कागजपत्रविहिनलाई अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बाटोमा लैजाने गरी गत महिना घोषणा गरेको कार्यक्रमका लागि अगस्त १९ बाट आवेदन दिन सकिने भएको छ । यो कार्यक्रमले कानुनी हैसियत नभएका अमेरिकी नागरिकका केही दम्पत्तिहरूलाई स्थायी बसोबास र अन्ततः नागरिकताको लागि आवेदन दिन अनुमति दिनेछ।

योग्य आवेदकहरूले भर्खरै घोषणा गरिएको परोल इन प्लेस कार्यक्रम अन्तर्गत  आवेदनहरू पेश गर्न सक्षम हुनेछन्।  कार्यक्रमको लागि कसरी आवेदन दिने भन्ने बारे थप विवरणहरू, उचित फारमहरू र शुल्कहरू सहितको जानकारी आगामी दिन वा हप्ताहरूमा फेडरल रजिष्टरमा प्रकाशित हुनेछ ।

योग्य हुनको लागि आप्रवासीले सन् २०२४ को जुन १७ अगाडि १० वर्षसम्म अमेरिकामा बसेको र अमेरिकी नागरिकसँग विवाह गरेको हुनुपर्छ। यदि योग्य आप्रवासीको आवेदन स्वीकृत भएमा अमेरिका नछाडिकनै ग्रीन कार्डको लागि आवेदन दिन र अस्थायी वर्क परमिट प्राप्त गर्न तीन वर्षको समय पाउनेछ । साथै यस बीचमा देशनिकालाबाट पनि जोगिनेछ ।

अमेरिकी नागरिकसँग विवाह गरेको अभिभावकका करिब ५० हजार गैरनागरिक बच्चाहरू पनि सम्भावित रूपमा सोही प्रक्रियाको लागि योग्य हुन सक्नेछन् । दम्पतीले कति समयदेखि विवाह गरेको हुनुपर्छ भन्ने कुनै आवश्यकता छैन । साथै जुन १७ पछि विवाह गर्नेहरु कोही पनि योग्य हुँदैन। जुन १७ पछि अमेरिकामा बसोबास गरेको १० वर्ष पुग्नेहरु पनि योग्य हुनेछैनन् ।

बाइडेनले दम्पत्तिहरुका लागि गरेको घोषणा एकदमै नयाँ प्रकारको भने होइन । यस्तै नीति राष्ट्रपतिहरू जर्ज डब्लु बुश र बराक ओबामाले पनि सैन्य सदस्यहरूको परिवारका सदस्यहरूलाई सुविधा दिन प्रयोग गरेका थिए ।

राष्ट्रपति बाइडेनले गैरकानूनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई शरण खोज्नबाट प्रतिबन्ध लगाउने कार्यकारी आदेश घोषणा गरेपछि यो कदम आएको हो । जसमा सीमा एजेन्टहरूले सामना गर्ने संख्या दैनिक औसत २५ सय भन्दा बढी भएमा सिमानाका बन्द गर्न सकिने प्रावधान छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार वर्षौंदेखि औसत दैनिक अवैध क्रसिङले त्यो सीमा नाघेको छ, डिसेम्बरमा यो संख्या दैनिक ८,००० को हाराहारीमा थियो ।





Source link

Leave a Comment