३ हजार सहकारीमा समस्या, १८ हजार माथि प्रश्न

३ हजार सहकारीमा समस्या, १८ हजार माथि प्रश्न


अहिले सहकारी भन्ने बित्तिकै जनमानसमा तरंगित हुने भावना दुई प्रकारको छ । पहिलो, जो सहकारीमा आवद्ध भएर आफ्नो जीवनमा सहजता आएको अनुभूति गरेका छन्, उहाँहरू सहकारीप्रति सकारात्मक धारणा राख्नुहुन्छ । उहाँहरू सहकारी चाहिन्छ, आवश्यक छ, सहकारी जोगाउनुपर्छ भन्ने ठान्नुहुन्छ । सहकारीलाई माया गर्नुहुन्छ । सहकारीका नराम्रा खबरले यस्ता मानिसलाई चिन्तित बनाएको छ ।

दोस्रो, जसले सहकारीमा राखेको आफ्नो बचत गुमाउनुभएको छ उहाँहरू सहकारीप्रति आक्रोशित हुनुहुन्छ । उहाँहरू सञ्चालक फरार भएको, सहकारीले पैसा फिर्ता नगरेको र फिर्ता पाउने कुराको निश्चित पनि नभएको अवस्था सिर्जना भएपछि सरकार गुहार्न पुग्नुभएको छ । उहाँहरूलाई लागेको छ यस्ता ठग सहकारीहरू खोल्न दिएर सरकारले गल्ती गरेको छ ।

उहाँहरूको बुझाइमा हाम्रो दुःखले आर्जेको पैसा जोखिममा छ । अतः सरकारले नै यसको जिम्मा लिएर बचतकर्ताको पैसा फिर्ता गर्नुपर्छ । उहाँहरूमध्ये कति त हामी ठगियौं अब अरूले ठगिनु नपरोस् भनेर सहकारी चल्नै दिनुहुँदैन भन्नेहरू पनि हुनुहुन्छ ।

सहकारीमा देखिएको यो सङ्कटमा पनि केही राम्रो काम भएको छ । एउटा ठूलो र सकारात्मक काम भनेको सहकारी शिक्षाको व्यापक विस्तार भएको छ । अझ माननीय गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपको जुहारीले सहकारीमा कसरी ठगी भएको छ, टाठाबाठा भनिने धूर्तहरूले सहकारीको रकम कसरी दुरुपयोग गरेका छन् भन्ने छर्लङ्ग पारेको छ ।

माननीय रवि लामिछानेले कर्जा लिएका सहकारी एक–दुई वटा होलान् तर बचतकर्ताको पैसा फिर्ता नगर्ने सहकारी त देशभर हजारभन्दा बढी छन् । सहकारी पीडितको सङ्ख्या दशौं हजारमा छ । रवि लामिछानेले तिर्न बाँकी वा सहकारीबाट लिएको कर्जा केही करोड होला तर सहकारीमा बचतकर्ताको जोखिममा परेको रकम दशौं अर्बमा छ ।

देशको अब्बल ठानिएको मिडियाले सहकारी पीडितको आवाज बोल्नुपर्थ्यो, बोल्यो । तर माननीय गृहमन्त्री रवि लामिछाने यो जिम्मेवारीमा नभएको भए र रवि लामिछाने र मिडिया ग्रुपको सम्बन्ध नबिग्रिएको भए सहकारी ठगीको यो समाचारले यतिको प्राथमिकता पाउने थिएन ।

खास समयसम्म सो मिडिया ग्रुपका सबै सञ्चारमाध्यम झण्डै २५ प्रतिशत समाचार सहकारी ठगी र माननीय रवि लामिछानेको सेरोफेरोमा रहे । यसले गृहमन्त्री लामिछानेलाई कति नोक्सान भयो र सो मिडियालाई कति फाइदा भयो त्यसको हिसाब उनीहरू नै गरुन् । तर यो द्वन्द्वले सहकारीको राम्रै गोडमेल गरेको छ । समस्यालाई उत्खनन् गरी सतहमा ल्याएर सबैसामु छर्लङ्ग पारेको छ ।

बचत तथा ऋणको कारोबार गर्ने ठूला भनिएका धेरै सहकारीमा जम्मा भएको सदस्यको रकम अपचलनको मोडल यही हो । जो सहकारीका हर्ताकर्ता थिए वा छन् आफ्नो कम्पनी वा आफ्नो व्यवसायमा यसरी नै सहकारीको रकम झिकेर लगानी गरेका थिए र छन् ।

सहकारीको पैसा कम्पनीमा लगानी गर्न सहकारी कानुनले अनुमति दिंदैन । जब कम्पनीमा लगानी गरेको रकम डुब्यो वा लगानी गरेको व्यवसाय डुब्यो तब सहकारी पनि डुब्यो । किनकि यस्ता लगानीमा धितोको व्यवस्था गरिएको छैन वा नाममात्रको धितोको व्यवस्था भएको छ । त्यसैले सहकारी डुब्ने प्रायः निश्चित छ ।

समस्यामा परेका सहकारीमा केही थान सञ्चालक वा कर्मचारीको बोलवाला भएको देखिन्छ । संस्थागत निर्णय नाममात्रको हुने गरेको पाइन्छ । निष्क्रिय सञ्चालक भत्ता बुझ्न मात्रै उपस्थित भएको देखिन्छ

सहकारी डुब्दा बचतकर्ताको पैसा डुब्यो । यो पहिलो र खतरनाक समस्या हो । यसमा डुबेको पैसा फिर्ता हुने सम्भावना एकदमै न्यून छ । मौजुदा कानुनले यस्ता कम्पनीलाई सीमित दायित्व भएको कम्पनीको सुविधा दिएको छ ।

दोस्रो समस्या भनेको पर्याप्त धितो लिएर लगानी गरेको रकम पनि विभिन्न कारणले समयमा असुली हुनसकेको छैन । बचतकर्ता एकै पटक फिर्ता लिन आउँदा सहकारीले फिर्ता गर्न सकेन । यो खालको समस्यामा परेका सहकारीले समय लिएर भए पनि अलि ढिलोचाँडो सदस्यको बचत फिर्ता गर्ने सम्भावना छ ।

यी सबै खालका समस्यालाई सतहमा ल्याउने काम गर्ने मिडिया लगायत सबैलाई धन्यवाद छ । यसले तीस वर्षमा बुझ्न नसकेको सहकारी बुझाउने काम गरेको छ ।

देशभरिमा अस्तित्वमा रहेका सहकारीको सङ्ख्या करिब ३० हजार मान्ने हो भने बढीमा २ हजार जति समस्यामा परेका हुनसक्छन् । ८–१० हजार जति झोलामा हुनसक्छन् । बाँकी करिब १८ हजार सहकारी अहिले पनि चुपचाप समुदाय र आफ्ना सदस्यको सेवामा काम गरिरहेका छन् ।

समस्यामा परेका सबै सहकारीका केही मिल्दाजुल्दा चरित्र छन् । ती छोप्न सकुन्जेल छोपिए र छोप्न नसकेपछि क्रमशः बाहिर आउँदैछन् । समस्यामा परेका सहकारीका मूलतः दुई प्रकारका समस्या छन् ।

पहिलो, सञ्चालकहरूले आफैं मनमौजी पैसाको अपचलन गरेका र दोस्रोमा सहकारीले कर्जा लगानी गर्दा पर्याप्त ध्यान दिन नसक्दा लगानी गरेको कर्जा जोखिममा परेर असुलीमा समस्या भएपछि सहकारीले पैसा फिर्ता गर्न नसकेको अवस्था ।

सहकारी सञ्चालकले आफैं मनमौजी पैसा चलाएकाहरूको हकमा त्यस्ता सञ्चालकको सम्पत्ति रोक्का, लिलाम वा बेचबिखन गरेर बचतकर्ताको पैसा फिर्ता गर्ने उपाय लगाउनुपर्छ । आवश्यक परे कानुनमा संशोधन गर्नुपर्छ ।

सहकारीले कर्जा लगानी गरेको रकम उठाउन समस्या भएको र पैसा फिर्ता गर्न नसकेको हकमा कर्जा असुलीमा सरकारको सहयोग हुनुपर्छ । ऋण लिनेलाई जिम्मेवार बनाउनुपर्छ । यसरी समस्यामा परेका सहकारीको हकमा समाधानको बाटो अपनाउन सकिन्छ ।

तर, सहकारीबाट पैसा लगेर व्यवसायमा लगानी गरेका सञ्चालक वा ऋणीको व्यवसाय नै डुबेको रहेछ भने के गर्ने ? जस्तै, ‘ग्यालेक्सी फोर के’ टेलिभिजन पनि एक व्यवसायको रूपमा सञ्चालनमा थियो । त्यो डुब्यो । यस्ता धेरै परियोजना समस्यामा परेका वा डुबेका छन् ।

परियोजना डुब्नुका अनेक कारण होलान् । ती डुबेका कति परियोजना र ऋणीको धितो कमसल होला वा धितो नै नहोला । यस्तोमा समस्या थप जटिल बन्न सक्छ । बचतकर्ताको पैसा फिर्ता पाउने सम्भावना टाढिंदै जान्छ ।

यसरी सहकारीको रकम नियम विपरीत अपचलन गर्ने, लगानी गर्ने, ऋण लिएर नतिर्नेलाई कारबाही गर्न र जेल हाल्न सकिएला तर पैसा फिर्ता गराउन सकस छ । सहकारीमा जम्मा गरेको पैसा सहकारीबाटै फिर्ता गर्ने उपाय असफल भएमा यस्तो रकम नेपाल सरकारले आफ्नो ढुकुटीबाट तिर्ने वैधानिकता र सामथ्र्य दुवै राख्दैन । बचतकर्ताको पैसा डुब्छ ।

सहकारीमा राखेको पैसा डुब्नु व्यावहारिक घटना हो । यसको सैद्धान्तिक पक्ष भनेको सहकारीप्रतिको बुझाइमा रहेको त्रुटि हो । सहकारीलाई बैंक बुझ्ने भूल ठूला बचतकर्ताले गरेका छन् । ठूला बचतकर्ता ब्याजको लोभमा परेका छन् । साना बचतकर्ता दैनिक जम्मा गर्न सजिलो भएको र अलिअलि गर्दै अलि ठूलो बचत गर्न सकिने कारणले सहकारीमा बचत गर्न लोभिएका हुन् ।

यी दुवै प्रकारका बचतकर्ताले आफूले कस्तो संस्थामा कारोबार गर्दैछु भनेर बुझ्न चाहेको देखिंदैन । सहकारीले आफ्ना सदस्यलाई विश्वासमा लिने काम गरेको देखिंदैन । सहकारी सञ्चालकले सहकारीको मर्म र उद्देश्यअनुरूप काम नगरेको, सहकारीलाई ठीक तरिकाले नबुझेको, बुझ्न कोसिस नगरेको, लहलहैमा सञ्चालकमा बसेको जस्ता कमजोरी समस्यामा परेका सहकारीमा देखिन्छ ।

अहिलेको हल्लाखल्लाले सहकारीको राम्रै गोडमेल हुनेछ । सहकारीको पैसाले ठालु पल्टिएकाहरूले महलबाट झुपडीमा, एसी गाडीबाट भाडाको टेम्पोमा सम्म त धेरै बेठीक होइन तर जेलमा वा लुकेर जीवन बिताउनु पर्दा पक्कै सकस हुन्छ

यस्ता समस्यामा परेका सहकारीमा केही थान सञ्चालक वा कर्मचारीको बोलवाला भएको देखिन्छ । संस्थागत निर्णय नाममात्रको हुने गरेको पाइन्छ । निष्क्रिय सञ्चालक भत्ता बुझ्न मात्रै उपस्थित भएको देखिन्छ ।

सहकारी समस्याको वर्तमान अवस्थाको उज्यालो पक्ष पनि छ । अहिले सहकारीका समस्याका बारेमा जुन प्रचार र चर्चा छ त्यसलाई हेर्दा र सुन्दा नेपालमा कुनै पनि सहकारी संस्था नटिक्नु र नचल्नुपर्ने हो । सबै सहकारी बन्द हुनुपर्ने हो । प्रचार सुन्दा यस्तो लाग्छ सहकारी भनेका बचतकर्तालाई ठग्न, झुक्याउन मात्रै खोलिएका हुन् ।

तर, वास्तविकता त्यस्तो छैन । गाउँदेखि शहरसम्म नै धेरै सहकारीहरू यो प्रतिकूलतामा पनि ठिङ्ग उभिएर आफ्ना सदस्यको विश्वास जितेर काम गरिरहेका छन् । अझै सशक्त बनेका छन् । सदस्यकेन्द्रित र समुदायकेन्द्रित सहकारीमा समुदाय र सदस्यको भरोसा एवम् विश्वास बढेको छ ।

यो सङ्कटले के सङ्केत गरेको छ भने सहकारी सदस्य र समुदायकेन्द्रित भएर सञ्चालन हुँदा बैंकले भन्दा राम्रो सेवा दिन सक्छन् । समुदाय र सदस्यको सुख–दुःखको साथी बन्न सक्छन् । वित्तीय जोखिम धान्न सक्षम हुन्छन् । धेरै सहकारीले यो सङ्कटमा पनि राम्ररी काम गर्न सक्नुले यो प्रमाणित गरेको छ ।

खराब नियत राखेर सहकारीमा आएकाहरू यो सङ्कटमा सकिने छन् या सच्चिने छन् । सहकारीलाई बैंक बुझ्ने, ब्याजको लोभमा पैसा राख्नेहरूले चेतेका छन् । बुझ्दै नबुझी, सहकारीका सञ्चालक नै नचिनी, संस्थाको कार्यालय नै नदेखी सजिलो भयो भन्दैमा खुरुखुरु पैसा राख्नेहरू पनि घाइते भएर सिकेका छन् ।

आगामी दिनमा तिनले पनि अनगिन्ती सहकारीका खाता खोल्ने छैनन् । सदस्य बनाउन आउनेलाई राम्ररी सोध्ने छन् । सबै कुरा बुझेर, सञ्चालक चिनेर, कार्यालय देखेर आफूलाई चित्त बुझेमा विश्वास लागेमा र आफूले पनि योगदान गर्न सक्ने भए मात्रै सदस्य बन्ने छन् । कार्यक्रममा भाग लिनेछन् ।

यसैगरी सहकारी कसरी सञ्चालन हुँदैछ भनेर नियमित चासो राख्ने छन् । यसरी चासो राख्ने सदस्य भएपछि सञ्चालकले मनमौजी सहकारीको पैसा अपचलन गर्न पाउने छैनन् । सहकारीको लगानी लिएर नतिर्ने सदस्यको घरघरमा पैसा उठाउन सदस्यले सहयोग गर्नेछन् । सहकारीको ऋण लिएर नतिर्ने छुट कसैलाई हुनेछैन । यति भएपछि सहकारी समस्यामा पर्ने भन्ने हुँदैहुँदैन ।

पालिका, प्रदेश र सङ्घीय सरकारले सहकारीप्रति बेवास्ता गर्ने छैनन् । सहकारीको अवस्थामा नियमित निगरानी राख्नेछन् । सहकारीको महत्त्व बुझ्नेछन् । सहकारीले राम्ररी काम गर्दा सरकारलाई नै सघाइरहेका हुनेछन् र सहकारी बिग्रिए समस्या लिएर जनता सरकार घेर्न पुग्नेछन् भन्ने बुझ्नेछन् ।

उनीहरूले पनि सहकारीको सञ्चालकमा लहलहैमा नबुझी बस्नु हुने रहेनछ भनेर थाहा पाएका छन् । सहकारी समस्यामा पर्दा सञ्चालक जेल जानुपर्ने, जायजेथाबाट सहकारीका सदस्यको पैसा फिर्ता गर्नुपर्ने रहेछ भन्ने बुझेपछि कि बुझेर मात्रै सञ्चालक बन्नेछन् कि सञ्चालक बनेर बुझ्न लाग्नेछन् । अहिले त १५ वर्षको अनुभव छ सहकारीको भन्ने सञ्चालकलाई सहकारीमा कतिवटा सिद्धान्त छन् भन्यो भने जवाफ दिन नसक्ने अवस्था छ ।

जेहोस्, अहिलेको हल्लाखल्लाले सहकारीको राम्रै गोडमेल हुनेछ । सहकारीको पैसाले ठालु पल्टिएकाहरूले महलबाट झुपडीमा, एसी गाडीबाट भाडाको टेम्पोमा सम्म त धेरै बेठीक होइन तर जेलमा वा लुकेर जीवन बिताउनु पर्दा पक्कै सकस हुन्छ ।

यो अवस्था देखेका र भोगेकाले सजिलै सहकारीलाई दुरुपयोग गर्ने आँट गर्ने छैनन् । शक्तिमा बसेर केही दिन, महिना, वर्ष जोगिए पनि समाज र कानुनको नजरबाट सधैं जोगिन सक्ने छैनन् ।

त्यसैले आगामी दिन सहकारीका लागि उज्ज्वल छन् । सहकारीले नै समाजलाई जोड्नेछ । आर्थिक र सामाजिक क्रियाकलापमा सदस्य र समुदायलाई सक्रिय बनाउने छ । यो प्रतिकूलताबाट सबैले सिक्न जरूरी छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School