११ फागुन, काठमाडौं । प्रहरी विधेयक संघीय संसद्मा दर्ता हुनुअघि नै पूर्वआईजी तथा सुरक्षाकर्मीहरूले प्रश्न उठाउँदै सरोकारवालाको ध्यानाकर्षण गराए । संसद्मा दर्ता भएपछि विधेयकका विषयमा ५२ वटा संशोधन प्रस्ताव पेस भएका छन् । जसका कारण तत्कालै प्रहरी विधेयक पारित भएर कार्यान्वयमा आउने अवस्था देखिँदैन ।
३० वर्षे सेवा अवधि हटाउने प्रस्तावसहित दर्ता भएको उक्त विधेयक तत्काल पास भएर कार्यान्वयनमा आउने अवस्था नहरेसँगै अबको २३ दिनपछि नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाउने पक्कापक्की छ ।
आउँदो ५ चैतमा विद्यमान प्रहरी नियमावलीअनुसार आईजीपी बसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् । आईजीपी कुँवरकै ब्याची एआईजीहरू प्रशासन विभागका प्रमुख टेकप्रसाद राई, मानव स्रोत विभागका दुर्गा सिंह, अपरा अनुसन्धान विभागका कुवेर कडायत, कार्य विभागका बुद्धिराज गुरुङ र भर्खरै एआईजी बढुवाका लागि सिफारिस भएका जनक भट्टराई पनि अनिवार्य अवकाशमा जान्छन् ।
यस्तो अवस्थामा ३१औं आईजीपी बन्ने दौडमा नेपाल प्रहरीका तीन अधिकृत मुख्य प्रतिस्पर्धामा छन् । जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ छन् । उनीहरू तीन जनामध्येबाटै आगामी ५ चैतमा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ ।
अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीनै जना हालका आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा ११ भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका उनीहरू अहिले एआईजीमा कार्यरत छन् । २६ फागुन २०७९ मा एआईजीमा सिफारिस भएका दीपक थापालाई ६ चैत २०७९ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।
थापा एआईजी भएको दुई सातापछि गिरी र तामाङ पनि एआईजीमा बढुवा भएका थिए । १३ चैतमा सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बढुवाको लागि सिफारिस भएका थिए ।
फिल्ड कमान्ड/अपरेसनमा अनुभवी थापा
आईजीपी प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेका थापा फिल्ड कमान्ड र अपरेसनमा अनुभवी अधिकृतको रुपमा चिनिन्छन् । इन्स्पेक्टरको बेसिक तालिम सकेपछि थापाले इन्स्पेक्टर दर्जामै विभिन्न ठाउँको कमान्ड सम्हालेका छन् । इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रमुख भएर उनले काम गरेका छन् ।
नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायलमा पनि काम गरेको अनुभव थापासँग छ । द्वन्द्वको समयमा उनले इलाका प्रहरी कार्यालय मैकोट रुकुममा रहेर काम गरेका थिए । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीमा पनि थापाले इन्चार्ज भएर काम गरे । इन्स्पेक्टर दर्जामै हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरेको अनुभव उनीसँग छ ।
इन्स्पेक्टरमै रहँदा उनी सुडान मिसन गएका थिए । त्यसपछि डीएसपीमा बढुवा भएका थापाले जिल्ला प्रहरी कार्यालय खोटाङको २ वर्षसम्म कमान्ड गरेका थिए ।
प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगञ्जको प्रमुख भएर पनि उनले काम गरेका छन् । महाराजगञ्जमा उनले १९ महिनासम्म कमान्ड गरेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा पनि इन्चार्ज भएर उनले काम गरे । त्यहाँबाट हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा सरुवा भएर काम गरे । मोरङ, सुनसरी, मकवानपुरमा समेत गरेका उनी डीएसपीमै रहँदा लाइबेरिया मिसनमा गएका थिए ।
एसपीमा बढुवा भएपछि भने अख्तियारको कोहलपुर कार्यालय, बुटवल कार्यालयमा रहेर प्रहरी प्रमुखको रुपमा काम गरेको अनुभव थापासँग छ । एसपीमै रहेका बेला जिल्ला प्रहरी कार्यालय चितवनको १८ महिनासम्म कमान्ड गरे । एसपीमै हेडक्वार्टरको बजेट शाखामा रहेर उनले काम गरे ।
एसएसपी बढुवा भएपछि भने आर्थिक प्रशासन महाशाखा, अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को प्रमुख भएर थापाले काम गरेका थिए ।
एसएसपीमै वृत्ति विकास महाशाखा, प्रहरी एकेडमीमा काम उनले काम गरेका छन् । डीआईजीमा बढुवा भएपछि प्रबन्ध निर्देशनालय, बागमती प्रदेश प्रहरी प्रमुख रहेर काम गरेको अनुभव उनीसँग छ ।
एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी प्रमुख र अहिले सीआईबी प्रमुख भएर उनले काम गरको छन् ।
यी तीन एआईजीमध्ये जो आईजीपी भए पनि उनले ११ भदौसम्म कमान्ड सम्हालेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।
विशेष ब्यूरो ‘स्पेसलिस्ट’ गिरी
आईजीपी बढुवाका अर्का प्रतिस्पर्धी गिरी भने लामो समय विशेष ब्यूरोमा बसेर काम गरेका अधिकृत हुन् । आतंकवाद तथा विशेष प्रकृतिका घटनाहरूको अनुसन्धान गर्ने विशेष ब्यूरोको एक दशक बढी लामो अनुभव गिरीसँग छ । इन्स्पेक्टर भएदेखि विशेष ब्यूरोमा छिरेका उनी डीआईजी भएर विशेष ब्यूरोको प्रमुख समेत भएका थिए ।
इन्स्पेक्टर बेसिकको उनी अलरान्ड फस्ट पनि हुन् । तालिममा अलरान्ड फस्ट हुनेलाई खुकुरी दिने भएकाले त्यस्ता अफिसरलाई खुकुरी होल्डर भनिन्छ । गिरी पनि खुकुरी होल्डर हुन् ।
इन्स्पेक्टर नै रहँदा द्वन्द्वको समयमा गिरीले ४ वर्षसम्म केन्द्रीय विशेष कार्यदलमा बसेर काम गरेका थिए । कमान्डो तालिम समेत गरेका गिरी त्यसपछि यूएन मिसन गए ।
मिसनबाट फर्केपछि भने उनी विशेष ब्यूरोमा सरुवा भए । विशेष ब्यूरोमै बसेर लामो समय काम गरेपछि डीएसपीमा बढुवा भए । डीएसपी बढुवा भएपछि उनको पहिलो पोस्टिङ कालिमाटी थियो । कालिमाटीको प्रमुख भएर काम गरिसकेपछि डीएसपीमै रहँदा फेरि उनी मिसन गएका थिए ।
डीएसपीमै रहँदा उनले कार्यदलको इन्चार्ज भएर पनि काम गरे । एसपीमा बढुवा भएपछि गिरीले चुनौतीपूर्ण मानिने तराईको पर्सा जिल्लाको कमान्ड गरेका थिए ।
त्यहाँबाट उनी फेरि विशेष ब्यूरोमै फर्किए । एसपीमै रहँदा सीआईबीमा बसेर पनि उनले काम गरे । सीआईबीमै रहेका बेला उनको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुखको रुपमा सरुवा भएको थियो ।
एसएसपीमा बढुवा भएपछि केही समय हेडक्वार्टर बसेका उनको त्यहाँबाट फेरि सीआईबीमा सरुवा भएको थियो । सीआईबीका सेकेन्डम्यान भएर काम गरेका गिरीले चुनौतीपूर्ण र आकर्षक मानिने काठमाडौंको प्रहरी प्रमुख काम गरे ।
डीआईजीमा बढुवा भएपछि भने उनले कोशी प्रदेश प्रमुखको कमान्ड गरे । त्यहाँबाट फेरि विशेष ब्यूरोको प्रमुख भएर आएका थिए । इन्स्पेक्टरमा विशेष ब्यूरो छिरेका उनी पछि त्यही ब्यूरोको प्रमुख भएर काम गर्न पाउनुमा गर्व गर्छन् ।
एआईजीमा भएपछि भने लामो समय प्रदेश समन्यव विभागमा बसेका उनी अहिले भने प्रहरी एकेडेमीमा छन् ।
अख्तियार र एकेडेमी अनुभवी तामाङ
अहिले काठमाडौं उपत्यकाका तीन जिल्लाको कमान्ड हेर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमान्ड गरिरहेका तामाङ प्रहरी एकेडेमी र अख्तियारका अनुभवी अधिकृत मानिन्छन् ।
करिब ३० वर्षको करिअरमा उनी सबैभन्दा बढी यी दुई युनिटमा बसेर काम गरेका छन् । इन्स्पेक्टर हुँदै दुई वटा तालिम केन्द्रमा बसेर काम गरेको तामाङ एसएसपी हुँदा तालिम केन्द्रकै प्रमुख समेत बनेका थिए ।
त्यस्तै एसपीदेखि डीआईजीसम्म गरेर करिब ५ वर्ष अख्तियारमा बसेर काम गरेको अनुभव उनीसँग छ ।
इन्स्पेक्टरमा रहँदा इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुर, इलाका प्रहरी कार्यालय गजुरी, तत्कालीन वडा प्रहरी कार्यालय सानेपा, वडा प्रहरी कार्यालय लैनचौरको प्रमुख भएर काम गरेको अनुभव तामाङसँग छ ।
डीएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङको कमान्ड उनले गरेका तामाङले इलाका प्रहरी कार्यालय धरान र प्रहरी वृत्त कालिमाटीको कमान्ड पनि सम्हालेका थिए ।
एसपी बढुवा भएपछि बाँके जिल्लाको प्रमुख भएर काम गरेका उनी पहरा गण सामाखुसीको पनि प्रमुख भएका थिए । एसपीमै रहँदा उनले अख्तियारमा काम गरेको थिए ।
एसएसपीमा बढुवा भएपछि प्रहरी तालिम केन्द्र विराटनगरको प्रमुख भएर काम गरेको अनुभव तामाङसँग छ । एसएसपीमै उनी फेरि अख्तियारको केन्द्रीय कार्यालय टंगालमा बसेर काम गरेका थिए । डीआईजी बढुवा भएपछि पनि अख्तियारको प्रहरी शाखाको प्रमुख भएर काम गरे ।
हाल एआईजीमा रहेका तामाङ अपराध अनुसन्धान विभागपछि अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख भएर काम गरिरहेका छन् । कोसोबो, इस्ट–टिमोर र डाफरमा बसेर उनले यूएन मिसनमा काम गरेका थिए ।
कसको सम्भावना कस्तो ?
आईजी बढुवाको प्रतिस्पर्धामा रहेका तीनै जना अधिकृत बढुवाका लागि तीव्र लविइङमा छन् । आफू निकट शक्तिकेन्द्रलाई दबाब दिएर उनीहरू आईजीपी बन्न लागिपरेका छन् ।
थापाको उच्च तहका सबै राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध रहेकाले उनको आईजी बन्ने सम्भावना प्रबल रहेको अड्कल गरिन्छ । करिब दुई साता समेत सिनियर भएको र शक्तिकेन्द्रसँग राम्रो सम्बन्ध रहेकाले उनको सम्भावना नकार्न नसकिने जानकारहरू बताउँछन् ।
त्यसैगरी प्रतिस्पर्धामा रहेका गिरी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् । बाबुको लिगेसी र आफ्नै पनि कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेकाले गिरीको पनि आईजी बन्ने सम्भावना रहेको जानकारहरू बताउँछन् ।
यसबारे गिरी भन्छन्, ‘आईजीपी बढुवा नितान्त सरकारको हातको कुरा भयो । यसमा सबैले स्वच्छ प्रतिस्पर्धा गर्नु स्वभाविक पनि हो ।’
अर्का प्रतिस्पर्धी तामाङ पूर्वडीआईजी देवीलाल तामाङका ज्वाईं हुन् । झापा ससुराली भएका पूर्वडीआईजी तामाङको एमाले नेतासँग राम्रो सम्बन्ध रहेको जानकाहरू बताउँछन् । स्वच्छ छवि भएका तामाङको पनि आईजीपी बन्ने सम्भावना छ ।
आईजीपी बढुवाको सम्पूर्ण अधिकार प्रहरी नियमावलीले नेपाल सरकारलाई दिएको छ ।
‘एआईजीहरूमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नसक्ने छ,’ प्रहरी नियमावलीको दफा ४१ मा उल्लेख छ ।
सरकारले यी तीन एआईजीमध्ये एकलाई आगामी चैत ५ गते आईजीपीमा बढुवा गर्नेछ । यही नियमावली विद्यमान रहेको अवस्थामा यी तीन जनामध्ये जो आईजी भए पनि उनले ११ भदौसम्म कमान्ड सम्हालेछन् । त्यसपछि उनीहरू पनि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।