२०८१ मा ३१ प्रतिशत बढ्यो बजार, कस्तो रहला २०८२ ?


१ वैशाख, काठमाडौं । गत भदौयता नै सेयर बजार सुस्त छ, बजारको भाषामा ‘साइडवेज’ छ । तर समग्रमा २०८१ सालमा बजार ३१ प्रतिशत बढेको छ । २०८१ को पहिलो दिन २०२३ अंकमा रहेको बजार २०८१ को अन्त्यमा २६६२ मा छ ।

वर्ष २०८१ को असार १६ देखि साउन ३१ गतेसम्मको डेढ महिनाको अवधि नै सेयर बजारका लागि उत्कृष्ट रह्यो । सो डेढ महिनाको अवधिमा नै बजार ४७ प्रतिशत बढ्यो ।

असार १६ गते २०३७ अंकमा रहेको नेप्से डेढ महिनामै ३ हजार अंक पुग्यो । त्यसयता प्रायः घटेर सामान्य उतारचढावमै छ, अझ भदौयता बजार ११ प्रतिशत घटेको छ ।

यसले के जनाउँछ भने बढेको उपयुक्त समयमा सेयरबाट नाफा बुक गरिहाल्ने र घटेपछि मात्रै खरिद गरेर होल्ड गर्नेले उतारचढावका बेला राम्रो नाफा कमाउन सक्छन् । यद्यपि केही कम्पनीबाहेक अधिकांश कम्पनीमा २०८१ को सुरुवातमा लगानी गर्नेहरु नाफामै छन् । केही कम्पनीको मूल्य भने यो एक वर्षमा घटेको छ ।

२०८१ मा कुन सेक्टर कति बढे ?

समूहअंक, २०८१ वैशाख १अंक, २०८२ वैशाख १वृद्धिदर प्रतिशत
बैंकिङ१,०५५१,३५५२८.४३
विकास बैंक३,९४४५,४०६३७.०६
फाइनान्स२,०३६२,५२५२४.०१
हाइड्रोपावर२,४९१३,४३०३७.६९
जीवन बीमा१०,१५७१३,१९०२९.८६
निर्जीवन बीमा१०,४०९१२,२७४१७.९१
माइक्रोफाइनान्स४०८१४,८०८१७.८१
उत्पादन तथा प्रशोधन६,७२१७,०१५४.३७
होटल तथा पर्यटन५,१०२६,४४७२६.३६
लगानी७५१११४८.००
व्यापार२,८०५४,५९०६३.६३
अन्य१,६९७२,४१४४२.२५

व्यापार सेक्टरमा छलाङ, उत्पादन सुस्त

२०८१ मा व्यापार सेक्टर सबैभन्दा धेरै ६३ प्रतिशत बढेको छ । यसको प्रमुख कारण विशाल बजार कम्पनी हो । बजारकै सबैभन्दा ठूलो कम्पनी भएकाले यसले आफ्नो सेक्टरलाई पूरै नियन्त्रण गर्न सक्छ। जब विशाल बजार कम्पनीको सरकारी सेयर बजारमा सूचीकृत भयो, त्यसपछि लगानीकर्तामा सकारात्मक प्रभाव परेको छ ।

बजारमा सूचीकृत भए पनि सरकारी सेयर कारोबार हुँदैन, यसले आपूर्तिलाई कुनै प्रभाव पारेन । तर ९८.६ प्रतिशत सेयर सरकारी सुनिश्चित भइसकेपछि सुरक्षाको हिसावले यो कम्पनी लगानीकर्ताको रोजाइमा पर्न गयो । विशाल बजारको सेयरका सम्बन्धमा रहेका अन्यौलता हटे ।

एक वर्षमा यो कम्पनीको मूल्य ३ हजार ७ सयबाट बढेर ५ हजार ९ सय नाघेको छ । यहीं कम्पनीको मूल्यमा आएको ५९ प्रतिशतको वृद्धि र साल्ट ट्रेडिङको मूल्य पनि बढ्दा व्यापार सेक्टरमा उच्च वृद्धि भएको हो । यो सेक्टरमा यिनै दुई कम्पनी मात्रै सूचीकृत छन् ।

उत्पादन तथा प्रशोधन सेक्टर भने यो वर्ष सबैभन्दा न्यून बढ्यो । निर्माण क्षेत्रमा देखिएको सुस्तताले यो सेक्टरका कम्पनीको बिजनेसमा प्रभाव पार्‍यो । जसले गर्दा उत्पादन तथा प्रशोधन सेक्टरको वृद्धिदर न्यून रह्यो । तर पछिल्ला दिनमा माग पनि बढेको छ, जसले गर्दा मूल्य पनि केही बढ्न जाँदा आगामी वित्तीय विवरण सन्तोषप्रद रहने अनुमान लगानीकर्ताको छ ।

२०८१ मा मूल्य धेरै बढेका १० कम्पनी

कम्पनीअन्तिम समायोजित मूल्यवृद्धिदर प्रतिशत
नारायणी डेभलपमेन्ट बैंक१७९८.१२३३२.४५
कर्पोरेट डेभलपमेन्ट बैंक१८१५.८४३२०.६३
सीईडीबी होल्डिङ्स२५५५.४६२६०.९२
एनआरएन इन्फ्रास्ट्रक्चर१७६३.४७२५८.५८
ग्रीन डेभलपमेन्ट बैंक१२३७.३८२४४.८८
सप्तकोशी विकास बैंक१०१७.८५२३३.७२
आत्मनिर्भर लघुवित्त५४४२.००२२२.०२
सिन्धु विकास बैंक१०९१.७९२०६.६८
उपकार लघुवित्त३२२७.७९१३९.९५
कुथेली बुखरी स्मल हाइड्रोपावर२१८९.०८१३३.१५

कस्तो रहला २०८२ ?

एकथरी लगानीकर्ताले सेयर किन्ने निर्णय गरिरहँदा अर्को थरीले बेच्ने निर्णय गर्छन् र त्यहीं निर्णय कार्यान्वयन हुँदा कारोबार सम्पन्न हुन्छ ।

एउटै समयमा कतिपयले खरिदको निर्णय लिँदा कतिपयले बेच्ने निर्णय लिनुमा आ–आफ्ना धारणा हुन्छ । बजारको आगामी अंक कसैले अनुमान गर्न नसकेपछि बजारलाई प्रभाव पार्न सक्ने आधार विश्लेषण हुन्छन् । सुरक्षा र नाफा नै लगानीको प्रमुख उद्देश्य हुने भएकाले तिनै आधारमा लगानी मोडिन्छ ।

यतिबेला नेपाली बजारमा बैंकको ब्याजदर धेरै नै न्यून छ । आगामी केही महिना पूँजीगत खर्च थप बढ्ने र यसले लगानीयोग्य रकम थप बढाउने छ । यहीं कारण लगानीयोग्य रकम बढ्न जाँदा ब्याजदर अझै घट्ने सम्भावना पनि छ ।

जब ब्याजदर न्यून हुन्छ, लगानीका लागि निक्षेपको विकल्प खोजिन्छ, त्यो एउटा प्रमुख विकल्प हो- सेयर बजार । पर्याप्त लगानीयोग्य रकम वा न्यून ब्याजदर पनि बजार बढाउने एउटा बलियो आधार २०८२ मा बनेको छ ।

त्यस्तै देशको आन्तरिक अर्थतन्त्र समेत चलायमान बन्ने संकेत देखिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको आर्थिक वृद्धिदर ५.१ प्रतिशत भएको तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको छ ।

त्यस्तै दातृनिकायले यो वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा बढी हुने अनुमान गरिरहेका छन् । आर्थिक चलायमान हुँदा कम्पनीहरूको बिजनेस बढ्न गई नाफा बढ्ने र अन्ततः लगानीकर्ताले पाउने लाभांश बढ्न जान्छ । यो पनि सेयर बजार बढ्ने बलियो आधार २०८२ मा देखिएको छ ।

२०८१ मा मूल्य धेरै घटेका कम्पनी

कम्पनी अन्तिम मूल्यगिरावट दर प्रतिशत
गोर्खाज फाइनान्स५८०–२८.९२
पोखरा फाइनान्स४१५.१५–१८.१२
पिपुल्स पावर५१९.२०–१७.०६
सीवाईसी नेपाल लघुवित्त१११०–११.२०
हिमालयन डिस्टिलरी११९५.४८–७.२७
उन्नति सहकार्य लघुवित्त१७२७.७५–६.६०
सामलिङ पावर५१६.९६–४.९७
एनआईसी एसिया बैंक३७६.०४–४.८०
इनिफिनिटी लघुवित्त९१२.६४–२.९१

वाह्य सूचक केही महिनादेखि नै मजबुत छन् । उच्च रेमिट्यान्सले मुलुकको भुक्तानी अवस्था, सञ्चित विदेशी मुद्राजस्ता पक्ष पनि बजार बढाउने आधार हुन् । बजारलाई अब प्रभाव पार्ने नजिकको एउटा आधार हो- कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण ।

वैशाख सुरु भएसँगै अब धेरै कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्छन् । कम्पनीका बिजनेस, नाफा नोक्सान स्थिति र भविष्यमा दिन सक्ने लाभांश यहीं विवरणबाट प्रष्ट हुने भएकाले बजारका लागि एउटा बलियो आधार हो ।

हालै नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीका लागि बैंकको ब्याज भुक्तानीमा केही सहुलियत दिएको छ । १० प्रतिशत ब्याज भुक्तानीपछि ऋणको पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको छ । यसले बैंकको वित्तीय विवरणलाई सकारात्मक प्रभाव पार्दछ ।

हाइड्रोपावर सेक्टरलाई घटेको ब्याजदरले केही महिनादेखि नै सकारात्मक प्रभाव पार्दै आइरहेकै छ, जुन अहिले पनि कायम रहनेछ । पछिल्लो समय निर्माण क्षेत्र केही चलायमान बन्न खोज्नु र सामग्रीको मूल्यवृद्धिले यस्ता कम्पनीको घाटा अब न्यून हुँदै जाने अनुमान छ ।  बैंक र हाइड्रोपावर नै बजारका सबैभन्दा शक्तिशाली सेक्टर हुन् ।

यति हुँदाहुँदै पनि बेला बेला हुने राजनीतिक घटनाक्रमले बजारलाई प्रभाव पार्ने गरेको छ । विभिन्न पक्षको आन्दोलनले मनोभाव कमजोर बन्न गई बजारलाई नकारात्मक प्रभाव पार्न सक्छ । यद्यपि हालसम्मको घटनाक्रमबाट बजार बढ्नका लागि सकारात्मक आधार बलिया छन् ।

बजार विकासको अर्को खुड्किलो हुन सक्छ २०८२

२०८२ सेयर बजारको वृद्धि विकासका लागि एउटा आधार वर्ष बन्न सक्नेछ । यतिबेला धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि कार्ययोजना बनाउन गठन गरेको कार्यदलले अध्ययन गरिरहेको छ ।

छिट्टै यो कार्यायोजना बुझाएपछि नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने काम अघि बढ्छ । नयाँ स्टक एक्स्चेन्ज सञ्चालनमा आइसकेपछि आधुनिक प्रविधियुक्त बजार हुनेछ । कारोबारका नयाँ औजार पनि थपिन सक्छन् ।

त्यति मात्रै होइन, नेप्सेको पुनर्संरचना पनि सँगसँगै अघि बढाउने तयारी भइरहेको छ ।

त्यस्तै बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली नै परिमार्जन गर्दैछ । ‘संशोधन मात्रै होइन, व्यापक परिमार्जन हुँदैछ’ उच्च स्रोतले भन्यो ।

पछिल्लो समय ब्रोकर कार्यालयहरुले आफ्नै टीएमएस सञ्चालन गर्न थालेका छन् । केहीले थालिसकेको यो प्रणाली आधुनिक छ । कम्पनीको प्राविधिक विश्लेषण, एकभन्दा बढी सदस्यको कारोबार, ब्रोकरसँग लेनदेन बाँकी हिसावकिताब, कम्पनीका सूचना सबै यहीं प्रणालीबाट पाइने भएकाले यो पनि बजारको विकासको एउटा जरुरत प्रणाली हो । यद्यपि सुरुवातमा नयाँ टीएमएस चलाउन केही असहज हुने गरेको लगानीकर्ताको अनुभव छ ।





Source link

Leave a Comment