२०५० सालअघिको नेपाल नदेखेको पुस्ताका नाममा


समाजमा ५० वर्ष पुरानो नेपाल नदेखेको पुस्ताको संख्या बढ्दो छ । हाम्रो पुस्ताले पञ्चायती व्यवस्था र राजाको गुणगान भएका पाठ्यपुस्तक पढ्नुपर्थ्यो भन्दा उनीहरूलाई अनौठो लाग्न सक्छ । राजारानीको जन्मदिनलाई उत्सवको रूपमा मनाउन भोकै–तिर्खै घन्टौं लाइन लाग्नुपर्थ्यो। ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाउनुपर्थ्यो ।

स्कूलमा पञ्चायत किन ठीक छ, बहुदलीय व्यवस्था किन बेठीक छ भनेर सविस्तार पढाइ हुन्थ्यो । राणाशासनका खराबीहरू के–के थिए भनेर देखाइन्थ्यो । २००७ र २०१७ साल बीचको राजनीतिक अवस्थाको नकारात्मक चित्रण गरेर पञ्यायती व्यवस्थाका सकारात्मक पक्षमा छलफल गरिन्थ्यो । २००७ देखि २०१७ सम्मका राजनीतिक दल र तिनका नेताहरूका बारेमा खूब नकारात्मक व्याख्या गरेर पढाइन्थ्यो ।

त्यो बेला नेतालाई जेल हाल्नु, देश निकाला गर्नु, नेता मारिनु त्यो समयको महान् काम थियो र त्यो महान् काम राजाको नेतृत्वमा भएको हो भनेर पढाइन्थ्यो । त्यो बेलाको समाजमा घर–घरमा राजनीतिको चर्चा हँुदैनथ्यो । भाग्यवाद, जातिवाद र लैङ्गिक विभेदलाई उचित ठान्ने त्यो समयको समाजमा पञ्चायत नियन्त्रित रेडियो नेपाल र गोरखापत्रले दिएभन्दा अन्य कुनै सूचनाको माध्यम थिएन ।

पञ्चायतको उत्तरार्द्धतिर प्रकाशन भएका दैनिक र साप्ताहिक पत्रपत्रिकाको पहुँच शहरमा सीमित थियो । टेप रेकर्डको आविष्कार र पहुँच भएपछि गाउँगाउँमा पुगेका मह जोडीका चेतनामूलक प्रहसन क्यासेट प्लेयरको प्रयोग गरेर गाउँमा लुकेर सुन्नुपर्ने अवस्था थियो ।

विकासको जोडतोडले प्रचार गरिएको हुन्थ्यो । नेपाली सर्वसाधारण जनताको पहुँच भारत बाहेक अरू देशसँग नभएकाले यताउताको विकास उस्तै–उस्तै लाग्थ्यो । तेस्रो मुलुक जान सर्वसाधारणलाई सहज थिएन ।

पासपोर्ट काठमाडौंमा गृह मन्त्रालयले मात्रै जारी गथ्र्यो । त्यो पनि पञ्चायत र प्रहरीको रिपोर्ट अनिवार्य थियो । त्यसमा दरबारको पनि चासो हुन्थ्यो भन्ने सुनिन्थ्यो । बहुदलीय व्यवस्था ठीक हो भन्नेलाई ‘अत’ (अराष्ट्रिय तत्त्व) भनिन्थ्यो । यस्तो विचार राख्न सक्ने अवस्था थिएन ।

२०४६ सालको परिवर्तनपछि २०५० सालसम्म आइपुग्दा पनि नेपालमा गरिबीको रेखामुनि ४० प्रतिशत बढी नेपाली थिए आज त्यो दर २० प्रतिशत भन्दा तल छ । साक्षरता प्रतिशत ३९ बाट बढेर ७८ प्रतिशत पुगेको छ । बिजुलीमा पहुँच ९८ प्रतिशत जनतामा पुगेको छ । औसत आयु ५२ बाट बढेर ७१ पुगेको छ ।

देशमा सडक सञ्जाल ८ हजार ३२८ किलोमिटरबाट बढेर ६५ हजार किलोमिटर पुगेको छ । यसमा कालोपत्रे ३ हजार ८३ बाट बढेर १८ हजार किलोमिटर पुगेको छ । खानेपानीको पहुँच उल्लेख्य बढेको छ । शिक्षामा पहुँच बढेको छ । नेपालमा र विश्वस्तरका विश्वविद्यालयमा पढ्ने नेपालीको सङ्ख्या उल्लेख्य छ ।

सूचनाको कुरामा त झन् अभूतपूर्व फड्को मारेको छ । २० वर्ष पहिले अर्थात् २०६० सालमा प्रतिव्यक्ति आम्दानी ३०० डलर भएकोमा अहिले झन्डै १५०० पुगेको छ । यसो भनिरहँदा कतिलाई लाग्न सक्छ यति विकास त केही नगरे पनि हुन्थ्यो । जंगलको रूखलाई मल–पानी नहाले पनि बढेकै छन् त ! प्रविधिमा भएको विकासले यो सबै भएको हो ।

संसारमा यस्ता केही देश छन् जसले विकास भएका प्रविधिले आफ्नो सत्तालाई खतरा देखेमा त्यसलाई देशमा प्रवेश नै दिएनन् । यदि नेपालको सत्ता ती देशका जत्तिकै अनुदार भएको भए यहाँ आजका युवाले जुन रूपमा त्यो प्रविधिको ‘इन्जोय’ गरेका छन् त्यो सम्भव हुने थिएन ।

२०५९ सालमा पूर्व राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिंदा सबैभन्दा पहिला सूचनाका स्रोतहरू माथि प्रतिबन्ध लगाएका थिए । यतिसम्म कि प्रिन्टिङ प्रेसमा समेत प्रहरी र सेनाको उपस्थिति गराएका थिए । टेलिफोन, टेलिभिजन, रेडियो स्टेसनहरू, पत्रपत्रिकाका कार्यालय सबै बन्द गरिए र पछि क्रमशः नियन्त्रित रूपमा खोलिए । तर तिनबाट प्रकाशित र प्रसारित सबै सामग्रीले ‘सेन्सरसिप’ को घेरा पार गर्नुपर्थ्यो । सबै मौलिक हक र प्रेस स्वतन्त्रता निलम्बित थिए ।

भारत आफूलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रवादी देश भन्न रुचाउँछ । नरेन्द्र मोदीको यो करिब १५ वर्षको शासनकालमा भारत यात्रामा जाँदा हामी जस्ता मानिसले मात्रै होइन त्यहींका मतदाताले समेत मोदी र भाजपाको आलोचना एवम् विरोध गर्नुपर्‍यो भने आफ्नो वरिपरि भएका मानिसलाई चिनेको हुनुपर्छ र उनीहरूमाथि भरोसा गर्न सक्नुपर्छ ।

नत्र मोदीको विरोध वा आलोचना गर्ने आँट कसैको आउँदैन । भारतमा भएका लगभग सबै मूलधारका सञ्चारमाध्यमले मोदीको निर्देशन बाहिरको समाचार नभन्ने मात्रै होइन मोदी र भाजपाको गुणगान र अधिकांश झुटमुट समाचार पस्किरहेका हुन्छन् । नरेन्द्र मोदीको आरती उतारिरहेका हुन्छन् ।

नेपाललाई बंगलादेश, श्रीलङ्का बनाउने भन्नेहरू पनि छन् । पाकिस्तान र अफगानिस्तानको सूचना कम पाएर त्यताको कुरा गरेका छैनन् । त्यहाँको हालत पनि लगभग उस्तै छ । सात लाखको हाराहारीमा जनसङ्ख्या भएको सानो भुटानबाट लगभग एक लाख नेपाली भाषी भुटानीलाई देश निकाला गरियो ।

जसले अधिकारको कुरा गर्ने मुख बन्द गरे, त्यहाँको सत्ताको आरती गाउने प्रतिज्ञा गरे उनीहरूले मात्रै आफ्नो देश, पुर्खाको देशमा बस्न पाउने भए । भुटानका राजा महान् हुन् भनेर नेपालमा प्रचार गर्नेले छाती फुलाएर गफ गर्न पाउँछन् तर खेदिएका एकलाख नेपाली भाषी भुटानीप्रति सद्भाव र सहानुभूति राख्ने कसैका लागि पनि भुटान सुरक्षित छैन ।

जहाँसम्म विकास र सम्पन्नताको कुरा छ त्यो हुँदै नभएको होइन । भएकोलाई नदेखेको मात्रै हो । २०५० सालअघिको नेपाल नदेखेको पुस्ताले आजको नेपाल र त्यो बेलाको नेपालको तुलना गर्नै पाएन । त्यो पढाइएन, बुझाइएन, सिकाइएन ।

त्यो समाजमा हातमा घडी लगाउने र तराईमा साइकल चढ्ने र पहाडमा घोडा चढ्ने मानिस गाउँमा सम्पन्नमा गनिन्थे । हुने खाने र हुँदा खाने पोशाकबाट सजिलै छुट्टिन्थे । खानाबाट छुट्टिन्थ्यो । घरबाट फरक छुट्टिन्थ्यो ।

निकै सम्पन्न भनेर चिनिने परिवारमा पनि मीठो–मसिनो खान र नयाँ लुगा लगाउन दशैं पर्खनुपर्ने समय थियो । पुराना र टालेका लुगा सबैका लागि स्वीकार्य थिए । घरका मूली र पुराना पुस्ताका अभिभावकको दमित अवस्था उनीहरूको मनोविज्ञानबाट छुट्टिन्थ्यो । युवाको खस्केको मनस्थितिबाट छुट्टिन्थ्यो ।

त्यो बेलाको समाजमा ‘ठूला’ भनिने मानिससँग अधिकांश मानिसले आँखामा हेरेर कुरा गर्न सक्ने अवस्था थिएन । बहस, छलफल र तर्कका लागि कुनै ठाउँ थिएन । केवल आदेश हुन्थ्यो र आदेशको पालना गरिन्थ्यो । समाजमा जात, लिंग, वर्ग (धनी–गरिब) का आधारमा हुने विभेद चर्को थियो । त्यो समाजमा आर्थिक शोषण झन् चर्को थियो ।

श्रमिकको ज्यालामा आएको व्यापक परिवर्तनले आज समाजमा खाना, पोशाक र बजारमा खर्च गरिने पैसाका आधारमा हुने खाने र हुँदा खाने भनेर छुट्याउन मुश्किल छ । शिर उठाएर, आँखामा आँखा जुधाएर छलफल गर्न सक्ने समाजको निर्माण भएको छ । सहमति र असहमति देखिने समाज निर्माण भएको छ ।

यसैगरी आफूलाई मन लागेका कुरा अभिव्यक्त गर्ने छुट सबैलाई छ । मन नपरेका मानिसप्रति मात्रै होइन सत्ता र त्यसका हर्ताकर्ताको जस्तोसुकै आलोचना गरेर छाती फुलाएर हिंड्ने स्वतन्त्रता छ । आफ्ना अभिव्यक्तिको सत्यता के हो भनेर कतै पुष्टि गर्नुपर्दैन । प्रमाण दिनुपर्दैन । बरु भ्रम छर्न पाएकोमा गर्व गर्ने जमात छ । किनकि यो पुस्ताले २०५० साल पहिलेको नेपाल बुझ्नै पाएन ।

२०५० सालपछिको पुस्ताले २०४७ सालमा भएको परिवर्तनबाट पाएको खुला समाज र राजनीतिले सिर्जना गरेका अवसरको उपभोग गर्‍यो । यो परिवर्तन त्यसैका लागि थियो । मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक दल रोज्ने र राजनीति गर्न पाउने, आफूले रोजेको र पायक पर्ने ठाउँ एवम् देशमा गएर रोजगारी गर्ने कुरा आदि ।

यही कारणले आम मानिसको पहुँच स्वास्थ्य, शिक्षा, प्रविधि, खाना, आवास, बिजुली, पानी, सडक, उपयोगी साधन आदिमा बढेको छ । यसको अर्थ पहिला केही भएको थिएन, यो समयमा धुमधाम भयो, योभन्दा बढी हुनै सक्दैनथ्यो भन्ने हुँदै होइन । भएकोलाई देखाउने र तुलना गर्ने काम पनि भएको भए २०५० पछिको पुस्तामा आजको जस्तो निराशा हुने थिएन । आक्रोश कम हुने थियो ।

२०५० सालपछिको पुस्ताले धेरै अवसर पाए, त्यसै कारण देश–विदेशमा गएर काम गर्ने, पढ्ने, कमाउने, घुम्ने अवसर पाए । उनीहरूले नेपाललाई एकै पटक विकसित मुलुकसँग तुलना गरे । हाम्रो देश किन यति विकसित भएन भनेर सोचे र त्यसको दोष पार्टी र नेतालाई दिए ।

यसो भनिरहँदा दुबई, सिंगापुर, भुटान, चीन, भारतले यही अवधिमा हाम्रोभन्दा धेरै विकास गरे भन्ने लाग्छ । चीनमा स्थिर राजनीति र स्थिर नेतृत्व छ । भारतमा यो समयमा १० वर्ष काङ्ग्रेस पार्टीका नेता मनमोहन सिंहले र त्यसपछिको १५ वर्ष भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले शासन गरिरहेका छन् ।

सिंगापुरमा लि क्वान युले प्रत्यक्ष रूपमा ३० वर्ष र अप्रत्यक्ष १० वर्ष गरी एउटै व्यक्तिले लगभग ४० वर्ष शासन गरे । दुबईको विकास लोभलाग्दो छ, स्थिर सरकार छ । यहाँको विकास अपवाद हो । सिंगापुर, दुबई, चीन, भुटान कुनै पनि मुलुकमा नेपालमा जस्तो खुला राजनीति र खुला समाजको अवस्था छैन । भुटान, चीन र भारतमा अझै पनि गरिबीको रेखामुनि धेरै मानिस छन् ।

हामीलाई विकास र स्वतन्त्रता दुवै चाहिएको छ, चाहिन्छ पनि । विकासका लागि निरङ्कुश शासक र स्वतन्त्रताका नाममा सधैं मगन्ते हुनु छैन । यसका लागि शक्तिशाली राजनीतिक पार्टी चाहिन्छ । यस्तो राजनीतिक पार्टी र शक्ति जो अनुशासित, व्यवस्थित, विकासको चाहना भएको, देश विकास गर्न सक्ने एजेन्डा भएको, भ्रष्टाचार नगर्ने र गर्न नदिने पार्टी चाहिएको छ ।

बहुदलीय व्यवस्थामा राजनीतिक दलको विकल्प उन्नत स्तरको राजनीतिक दल नै हो । नेताको विकल्पमा त्योभन्दा खारिएको नेता हो । संवैधानिक व्यवस्था, कानूनको पालना, शक्तिपृथकीकरण आदिको विकल्पमा उन्नतस्तरको कार्यान्वयनको अवस्था हो । तर त्यसको विकल्प जहानियाँ शासन, हुकुमी शासन, राजतन्त्र वा कुनै पनि प्रकारको निरङ्कुश शासन होइन र हुन सक्दैन ।

विरोधको आवाज जहिले पनि ठूलो हुन्छ । अहिले सामाजिक सञ्जालमा पोखिनेहरू धेरै सुनिएको र देखिएको जस्तो लागे पनि त्यो आक्रोश पोख्नेहरूको सङ्ख्या कता हो कता ठूलो होइन । यो सर्वेक्षणले प्रमाणित गरेको छ । सभ्य र शान्त मानिस तुरुन्तै पोखिंदैनन् । उनीहरू निरन्तर कर्म गरिरहेका हुन्छन् । कर्ममा तल्लीनहरूलाई यस्तो समय पनि हँुदैन । पोखिनेहरूको भाषा र आक्रोश हेर्दा, पढ्दा उनीहरूप्रति दया गर्नुपर्ने देखिन्छ ।

समाजमा भएको आलोचनात्मक चेतना स्वीकार्य छ । व्यवस्थामा, पार्टीमा, नेतामा भएका कमी–कमजोरी सच्याउँदै, परिवर्तन गर्दै अगाडि बढ्ने वैधानिक बाटो छ र त्यो बाटोबाट हिंडेर चाहेको परिवर्तन गर्न सकिन्छ ।

आलोचनात्मक चेतको सट्टा आक्रोश र ध्वंसात्मक चेतले बंगलादेश, श्रीलंका बनाउँछु भन्छ । त्यो चेतनाले यही अवधिमा १३ वर्ष लामो भएको सशस्त्र युद्ध देख्दैन । संविधान बनाउन आठ वर्ष लागेको कुरा बिर्सन्छ । भारतले लगाएको सीमा नाकाबन्दी मान्दैन र मुलुकमा २०७२ सालमा गएको महाभूकम्पलाई सम्झिंदैन ।

मुलुकलाई निरङ्कुशताको युगबाट खुला समाज र खुला राजनीतिमा ल्याउन सङ्घर्ष गरेको पुस्तालाई धारेहात लगाएर सत्तोसराप गर्छ । दुर्घटना भएर घाइते हुँदा खुशी हुन्छ र बुर्कुसी मार्छ । किनकि यो पुस्ताले २०५० साल अगाडिको नेपाल देखेको र जानेको छैन ।

खुला समाज र राजनीतिका लागि योगदान गर्नु परेको छैन । यो खुला समाज, बहुदलीय व्यवस्थाको भरपुर उपयोग गरे पनि सित्तैंमा पाएको पुस्ताले यसको महत्त्व बुझ्न सकेन, बुझाउन सकिएन । किनकि यो पुस्ताले २०५० साल पहिलाको नेपाल देखेन, बुझ्नै पाएन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School