सन् २०२४ समापनको सँघारमा छ। विश्व नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्न आतुर छ। २०२४ लाई फर्केर हेर्दा यो वर्ष विश्वभर धेरै र भयभीत पार्ने घटनाहरू भए, कतिपय भयानक विपत्तिहरू देखा परे, भयङ्कर रूपमा मानवीय सङ्कट निम्त्याए। यस अर्थमा हेर्दा वर्ष २०२४ विगतभन्दा निकै कहाली र डरलाग्दो रह्यो।
२०२४ मा घटेका विपत्तिमध्ये हवाई दुर्घटना पनि एक हो। यसबाट मानवीय जीवन अत्यधिक क्षति हुन पुग्यो। भविष्यमा यस वर्ष भएका हवाई दुर्घटनाको प्रभाव समग्र विश्वले सम्भवतः लामो समयसम्म महसुस गर्नेछ।
सन् २०२४ मा ८ वटा ठुला विमान दुर्घटना भएका छन्। जसमा ४ सय भन्दा जनाको ज्यान गएको छ। अधिकांश दुर्घटनाहरू खराब मौसम तथा विमानको इन्जिन फेल भएका कारण भएको समाचारहरूले लेखेका छन्। एउटा हवाई दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र अफ्रिकी देश मालावीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिम सम्मको निधन भएको छ ।
वर्षान्तमा १७९ को ज्यान लिने दक्षिण कोरिया दुर्घटना
वर्षको अन्त्य हुनै लाग्दा गत आइतबार मात्रै दक्षिण कोरियामा एक भयानक विमान दुर्घटना भयो। बैंककबाट उडेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १७९ जनाको मृत्यु भएको छ। १७५ यात्रु र ६ चालक दलका सदस्यसहित विमानमा १८१ जना सवार थिए। १७९ शव निकालिएको छ भने २ जनाको उद्धार गरिएको छ। विमान दुर्घटनाबारे पूरा विवरण त आइसकेको छैन। तर प्रारम्भिक विवरण अनुसार अवतरण गर्ने बेला ल्यान्डिङ गियरमा खराबीका कारण विमानको पाङ्ग्रा खुल्न नसकेर दुर्घटना भयो। आपत्कालीन अवस्थामा विमानको बेली ल्यान्डिङ गरिएको थियो। यसपछि दुर्घटना भएको समाचार एजेन्सी एपीले जनाएको छ।
काजकिस्तान दुर्घटना: रुसको दोष
दक्षिण कोरियामा भएको विमान दुर्घटनाको चार दिन अघि मात्रै डिसेम्बर २५ मा काजकिस्तानमा अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा जसमध्ये ३८ जनाको मृत्यु भएको भने २९ जनाको जीवितै उद्धार गरिएको थियो।
विमान अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्या प्रान्तको राजधानी ग्रोज्नीतर्फ गइरहेको थियो। तर कजाख सहर अक्ताउबाट करिब ३ किलोमिटर टाढा आपत्कालीन अवतरण गर्नुपरेको थियो। यस क्रममा विमान दुर्घटनाग्रस्त भएर दुई टुक्रा भएर आगो लागेको थियो। विमान दुर्घटनामा अमेरिकाले रुस दोषी रहेको बताइरहँदा रुसी राष्ट्रपति पुटिनले विमान दुर्घटनाप्रति माफी मागेका थिए। तर उनले अमेरिकाले लगाएको आरोपको खण्डन र स्वीकार दुवै गरेका छैनन्। उनले अजरबैजानका राष्ट्रपतिलाई आफ्नो हवाई क्षेत्रमा दुर्घटना भएकोमा दुःख लागेको मात्रै बताए।
युक्रेनसँग द्वन्द्वरत रहेको रुसले युक्रेनका ड्रोन हमलाबाट बच्न हवाई सुरक्षा संयन्त्र परिचालन गर्दा त्यसले जहाजलाई ‘डिटेक्ट’ गरेर दुर्घटना गराएको हुनसक्ने अन्तर्राष्ट्रिय सुरक्षाविद्को आशङ्का छ।
६२ जनाको ज्यान लिएको ब्राजिल दुर्घटना
गत अगस्ट ९ मा ब्राजिलको साओ पाउलो राज्यको भिन्हेडो सहरमा भोइपास फ्लाइटको उडान नम्बर २२८३ को जहाज दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो। दुर्घटनामा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको थियो। यो ब्राजिलको घरेलु यात्रुवाहक उडान थियो। विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँमै भएको सौर्य एयरको भयानक दुर्घटना
जुलाई २०२४ मा सौर्य एयरलाइन्सको विमान पोखरा जाँदै गर्दा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो। बिहान करिब ११ बजे त्रिभुवन विमानस्थलबाट उडेको केही बेरमै दुर्घटना भएको थियो। मृत्यु हुनेमा १७ जना सूर्य एयरलाइन्सका कर्मचारी थिए भने बाँकी २ जना चालक दलका सदस्य थिए। यो २१ वर्ष पुरानो विमान मर्मत गरी परीक्षणका लागि लगिँदै थियो। जसमा क्याप्टेन भने बाँचेका थिए।
उपराष्ट्रपतिकै ज्यान गएको मलावी दुर्घटना
जुन १० मा अफ्रिकी देश मलावीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिमाको विमान दुर्घटनामा मृत्यु भएको थियो। २४ घण्टाको खोजी अभियानपछि उपराष्ट्रपतिको भग्नावशेष विमानमा भेटिएको थियो। विमानमा ९ जना सवार थिए। उनीहरूमध्ये कोही पनि बाँचेनन्। उपराष्ट्रपतिको विमान जुन १० को बिहान राडारबाट बेपत्ता भएको थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार उड्डयन प्राधिकरणले विमानसँग धेरै पटक सम्पर्क गर्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन्।
मलावीको राजधानी लिलोङवेबाट उडेको जहाज ४५ मिनेटपछि मजुजु सिटी एयरपोर्टमा अवतरण गर्ने तय भएको थियो। तर, खराब मौसमका कारण अवतरण हुन सकेन। त्यसपछि विमानलाई लिलोङवे फर्काउन आदेश दिइएको थियो। त्यसपछि यो विमान बेपत्ता भयो। मलावीले विमान खोज्न अमेरिका, बेलायत, नर्वे र इजरायलका सरकारसँग पनि सहयोग मागेको थियो।
इरानी हेलिकोप्टर दुर्घटना, जसमा राष्ट्रपतिकै ज्यान गयो
यस वर्षको मे १९ मा इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा राष्ट्रपति रइसी र विदेश मन्त्री हुसैन अमीराब्दुल्लाहियन सहित ९ जनाको मृत्यु भएको थियो। इरानी राष्ट्रपतिको सवारीमा ३ वटा हेलिकप्टर थिए र ती मध्ये २ वटा हेलिकप्टर सुरक्षित स्थानमा पुगेका थिए। इरानको राजधानी तेहरानबाट ६०० किलोमिटर पर रहेको अजरबैजानको सीमावर्ती सहर जोल्फा नजिकै उक्त दुर्घटना भएको थियो।
बाक्लो हुस्सुमा हिमाली भूभाग पार गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको बताइन्छ। कतिपयले इरानसँग द्वन्द्वरत इजरायलको खुफिया एजेन्सी मोसादले त्यो हेलिकोप्टर खसालेको हुनसक्ने पनि आशङ्का गर्छन्। तर, यो कुरा पुष्टि गर्ने कुनै आधार हालसम्म भेटिएको छैन। न इजरायल र इरानले नै यो कुरा स्विकारेका छन्।
रुसको इभानोभोमा विमान दुर्घटना
यही वर्षको मार्च १२ मा रुसको इभानोभो ओब्लास्टमा इलुसिन आइएल–७६ कार्गो विमान दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो। जसमा ७ जना यात्रु र ८ जना चालक दलका सदस्य थिए। विमानको एउटा इन्जिनमा आगो लागेर दुर्घटना भएको हो।
७४ ज्यान गएको रुसी सैन्य विमान दुर्घटना
रुसी सैन्य विमान दुर्घटनामा ७४ जनाको मृत्यु यस वर्षको पहिलो ठुलो विमान दुर्घटना हो। जनवरीमा भएको यो दुर्घटना रुसको बेलगोरोद क्षेत्रमा भएको थियो। यस दुर्घटनामा ७४ जनाको मृत्यु भएको थियो। दुर्घटनाको समयमा विमानमा ६५ युक्रेनी कैदी र नौ रुसी चालक दलका सदस्य थिए। घटनापछि रुसको रक्षा मन्त्रालयले युक्रेनी क्षेप्यास्त्रले विमान खसालेको बताएको थियो भने युक्रेनले यसलाई रुसी षडयन्त्र भनेको थियो।
(एजेन्सीको सहयोगमा
प्रकाशित: १६ पुस २०८१ १२:४४ मंगलबार