१ सय ६५ सिटका लागि ३ हजार ४ सय ८४ उम्मेदवार मैदानमा : RajdhaniDaily.com


काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ मंगलबार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार देशभर विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले देशभर ३ सय ९५ महिला, ३ हजार ८८ पुरुष र ३ समलिंगी तथा तेस्रो लिंगीले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा भएको मनोनयनमा सबैभन्दा कम उम्मेदवारी मनाङ–१ मा पाँच जना दर्ता भएको छ । यहाँ चार राजनीतिक दलले मात्र उम्मेदवारी दिएका छन् ।

मुस्ताङमा पनि पाँच जनाको मात्र उम्मेदवारी परेको छ । सबैभन्दा बढी उम्मेदवारी धनुषा–३ मा ४५ जनाको परेको छ । मंगलबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार (आज) बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ ।

बुधबार नै दिउँसो ३ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसैदिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । शुक्रबार ९ माघ बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसैदिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

पार्टी फेरेर टिकट
प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी फेर्दै टिकट लिने होडबाजी देखिएको छ । निर्वाचनका लागि सिफारिस भएअनुसार टिकट नपाएपछि अर्को पार्टी फेरेर टिकट लिनेमा जनप्रतिनिधिदेखि पार्टी नेतासमेत अगाडि देखिएका छन् । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी त्यागेर नेकपा एमालेबाट उम्मेदवार भएका छन् ।

जनता समाजवादी पार्टी छाडेर पूर्वसांसद मोहम्मद इस्तिहाक राईले बाँकेमा एमालेबाट टिकट पाएका छन् । नेकपाबाट निर्वाचित मधेश प्रदेशका सांसद रबहर अन्सारीले राजीनामा लिएर रास्वपा प्रवेश गरी पर्सा–१ बाट उम्मेदवार भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेश सांसद सुनिल केसीले राप्रपा त्यागेर रास्वपाबाट काठमाडौं–२ मा उम्मेदवारी दिएका छन् ।

लोसपाका सांसद कन्हैया बनियाँले पनि पार्टी त्यागेर रास्वपाबाट रुपन्देही–४ मा उम्मेदवारी दिएका छन् । नेकपाका धनबहादुर मास्कीले पनि नाउपाका धर्मबहादुर चौधरीले पनि पार्टी त्यागेर नेकपा प्रवेश गरी बर्दिया–२ बाट उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमका स्वतन्त्र सांसद डा. तारा जोशी उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा प्रवेश गरेर डडेलधुराबाट उम्मेदवारी दिएका छन् ।

वीरगन्ज महानगरपालिका–१० का अध्यक्ष सुशील शाह कानुले जसपा पार्टी छोडेर रास्वपाबाट पर्सा–२ को उम्मेदवार बनेका छन् भने वडा २० का अध्यक्ष रामकिशोर पराग सिंहले नेकपा एमाले त्यागेर उज्यालो नेपाल पार्टीबाट उम्मेदवार भएका छन् । उम्मेदवारका लागि पार्टी फेर्नेमा विभिन्न पार्टीका प्रभावशाली नेतासमेत रहेका छन् । ओखलढुंगाबाट उम्मेदवार बन्न नेकपा एमाले त्यागेर अम्बीरबाबु गुरुङ नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् ।

ठूला दलमा असन्तुष्टि
‘टिकट वितरणमा अन्याय भएको’ भन्दै रास्वपा र एमालेमा सबैभन्दा बढी असन्तुष्टि देखिएको छ । एमाले उपमहासचिव योगेश भट्टराईलगायतले असन्तुष्टि जनाए पनि मनोनयनक्रममा भने असन्तुष्ट पक्ष सहभागी देखिएको छ । गगन थापाको हस्ताक्षरमा टिकट लिनुपर्ने भएपछि कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत थुप्रै नेताले चुनावी प्रतिस्पर्धा नै अस्वीकार गरे ।

रास्वपाका असन्तुष्टले पार्टी कार्यालयमै पुगेर नाराबाजी गर्नेदेखि लिएर उम्मेदवारविरुद्ध हातपातमै उत्रनेसम्मका हर्कत गरेका छन् । नेकपा, राप्रपालगायत अन्य दलमा समेत टिकट वितरण र मनोनयनमा असन्तुष्टि देखिएको छ ।

वारेसमार्फत उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने चितवन–२ मा ’boutसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । लामिछाने मनोनयनकै दिन सहकारी ठगीसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा हाजिर भएका थिए । अदालतले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले मागेको धरौटी बुझाउने प्रक्रिया लम्बिएपछि उनी चितवन पुग्न भ्याएनन् । अदालतले मागेको धरौटी बुझाएर छुटे पनि उनको तर्फबाट रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीले उम्मेदवारी दर्ता गराएकी छन् ।

पूर्वप्रधानमन्त्रीः कोही विश्राम, कोही मैदानमा
प्रतिनिधिसभा निर्वाचनका लागि ४ जना पूर्वप्रधानमन्त्री चुनावी मैदानमा छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५, पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व, माधवकुमार नेपाल रौतहट–१ र बाबुराम भट्टराई गोरखा–२ बाट चुनावी मैदानमा छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र झलनाथ खनालले भने उम्मेदवारीमा रूचि देखाएनन् ।

मनोनयनमै मिचियो आचारसंहिता
राजनीतिक दलहरूले उम्मेदवारी मनोनयनै क्रममा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेका छन् । भावी प्रधानमन्त्रीका प्रत्यासी एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता वालेन्द्र शाहले सबैभन्दा बढी आचारसंहिता उल्लंघन गरेका छन् । आयोगले जारी गरेको आचारसंहितामा मनोनयनका क्रममा २५ जनाभन्दा बढी समूह जम्मा गर्न नपाइने उल्लेख छ ।

आचारसंहिताको बुँदा नम्बर १३ (ण) मा मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नुहने उल्ल्ेख छ । यसरी जाँदा बाजागाजा तथा भाmँकी प्रयोगसमेत गर्न नपाइने उल्लेख छ । आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले १ लाख रुपैयाँसम्म जरिमाना र उम्मेदवारी खारेज गर्नेसम्मको कारवाही गर्नसक्ने प्रावधान छ ।

तर झापा–५ मा मनोनयन गर्न पुगेका ओली र शाह हजारौको समर्थकलाई अघि पछि लगाएर निर्वाचन कार्यालय पुगे । सो क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडपसमेत भएको छ । रास्वपाले देशभरका सबैजसो निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गर्दा दोस्रोमा एमाले र तेस्रोमा कांग्रेसले शक्ति प्रदर्शन गरेको पाइएको आयोगका अधिकारीहरू बताउँछन् ।

समलिंगी र तेस्रोलिंगी उम्मेदवार
समलिंगी विवाह दर्ता गरेर दक्षिण एसियाकै पहिलो जोडी बनेका समलिंगी सुरेन्द्र पाण्डेले समावेशी समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले विवाह दर्ताको प्रमाणपत्र पेस गरी उम्मेदवार दर्ता शुल्कमा ५० प्रतिशत छुटसमेत पाएका छन् ।

समावेशी समाजवादी पार्टीबाटै देवेन्द्रबहादुर खत्री(मधु) रूपन्देही–२, अन्य नुमा लिम्बू, मोरङ–४, पिंकी राई, ओखलढु ंगा १ र विनोद लामा (कोनिका) ले काभ्रे–१ बाट उम्मेदवारी दिएका छन् । यसअघि, २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा नेकपा (संयुक्त)ले समानुपातिकमा सुनीलबाबु पन्तलाई सांसद बनाएको थियो ।

मैदानमा पत्रकार
आगामी २१ फागुनको निर्वाचनमा थुप्रै चर्चित पत्रकार अनुहार चुनावी मैदानमा उत्रिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएर ललितपुर–२ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएका जगदिश खरेल मन्त्री बन्नुअघि टेलिभिजन ‘टक शो’ सञ्चालक थिए । चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमला आमजनता पार्टीबाट रौतहट–४ मा उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट भक्तपुर–२ मा पत्रकार कविर राणा, रास्वपाबाट राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैशी र स्वतन्त्रबाट इन्द्र आचार्य उम्मेदवार छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाटै जुम्ला–१ मा मनऋषि धिताल, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हुम्लामा डा. दीपेन्द्र रोकाय, सोही पार्टीका तर्फबाट काठमाडौं–१० मा रूपा महर्जन उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट दोलखा–१ मा अजयबाबु शिवाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं–६ मा उद्धवराज भेटवाल र झापा–२ मा राप्रपाका तर्फबाट स्वागत नेपालले उम्मेदवारी दिएका छन् । सिन्धुली–२ मा महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिँदा ललितपुर–१ मंगोल नेसनल अर्गनाइजेसनबाट सुरेश मार्पा तामाङले उम्मेदवारी दिएका छन् ।

निरन्तर ८ चुनावका टिकट एउटै परिवारमा
प्र तिनिधिसभा निर्वाचनमा ललितपुर–१ मा लगातार ८ पटक एउटै परिवारको उम्मेदवारी कायम छ । ललितपुर–१ मा कांग्रेसबाट २०४८ सालदेखि निर्वाचनको टिकट राणा परिवारको कब्जामा पर्ने गरेको छ । २०४८, २०५१ र २०५६ मा सागर शमशेर राणाले ललितपुर–१ मा कांग्रेसका तर्फबाट प्रतिस्पर्धामा उत्रिए । तीनवटै निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवारसँग पराजित भए ।

२०६४ सालको संविधानसभा निर्वाचनदेखि भने सागर शमशेरका छोरा उदय शमशेर राणाले टिकट पाइरहेका छन् । त्यसबेला उनी नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनसँग पराजित भए । पारिवारिक विरासतजस्तै ठानिएको ललितपुर १मा पाचौंपटक टिकट पाएका राणा परिवारका उदयले २०७० सालको संविधानसभामा जित निकालेका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नवराज सिलवालले हराएका उनी सातौंपटक २०७९ सालमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपासँगको गठबन्धनबाट चुनाव जितेका थिए ।

शेरबहादुर देउवा पत्नी आरजु राणाका भाइ उदय शमशेर जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटनसँगै नेपाली कांग्रेसमा सुरु नेतृत्व हस्तान्तरण मुद्दामा गगन थापाको पक्षमा उभिएर सहमहामन्त्री हुन सफल भए । नेपाली कांग्रेसको पदाधिकारी नै भएपछि उदय शमशेरको कब्जामा रहेको टिकट आठौं पटक पनि राणा परिवारमा आएको हो ।

(Visited 23 times, 1 visits today)





Source link

Leave a Comment