ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ, ‘कार्टेलिङ’ को शंका


२६ वैशाख, काठमाडौं । बबरमहल बस्ने सानुमैयाँ महर्जनका भान्सामा दिनहुँजसो मासु पाक्छ । महर्जनलाई मासुविना खासै खाना खान मन लाग्दैन ।

भान्से आफैं भएपछि तरकारी किन्न पनि उनी नै जान्छिन् । घरबाट हरियो तरकारी किन्न भनेर निस्के पनि महर्जनको ध्यान भने मासु पसलतिर जान्छ ।

‘आज त हरियो तरकारी किन्छु भनेर बाहिर निस्किन्छु, तरकारी भन्यो कि मासुतिर ध्यान जान्छ,’ उनले सुनाइन्, ‘आजभोलि हरिया तरकारीमा अत्यधिक विषादी छ भनेर सुन्नमा आइरहन्छ । यही कारण पनि मासु नै खान मन लाग्छ । तर, अहिले भाउ महँगो भो !’

आजभोलि भने महर्जनलाई मासुको भाउले अलि हच्काएको छ । उनलाई पहिलेजस्तो मासु किनिहालौं भन्ने आँट आइहाल्दैन । किनभने, सस्तो मानिने कुखुराको मासुको भाउ अहिले किलोकै ४ सय २० रुपैयाँसम्म पुगेको छ ।

‘पहिला हरिया तरकारीको मूल्यभन्दा मासुको मूल्य सस्तो थियो, त्यसैले मासु नै मासु खाइन्थ्यो,’ महर्जनले अनलाइनखबरसँग सुनाइन्, ‘अहिले भने मासुको भाउ दिनका दिन बढ्दै गएको छ, अघिल्लो महिना ३ सय २० रुपैयाँ किलोमा कुखुराको मासु आउँथ्यो, अहिले ४ सय २० रुपैयाँ पुगेछ । अस्ति चार दिनअघि ४ सय ५ रुपैयाँ किलोमा ल्याएकी थिएँ । हिजो त ४ सय २० रुपैयाँ पुगिसकेछ ।’

उनको भान्सामा दिनहुँ जस्तो पाक्ने कुखुराको मासुको भाउ अचाक्ली बढेयता सातामा एक दिनमात्र पाक्न थालेको छ ।

महर्जन मात्रै होइन, अहिले कुखुराको मासु खाने उपभोक्ता सबैको अवस्था उस्तै छ ।

मासु पसले के भन्छन् ?

काठमाडौंको बुद्धनगरमा मासु पसल चलाउँदै आएका नरेश शंकर पनि पछिल्लो समय मासुको भाउ बढ्दै गएको बताउँछन् ।

अहिले उनले कुखुराको मासु प्रतिकिलो ४ सय २० रुपैयाँमा बेच्दै आएका छन् ।

उनका अनुसार १५–२० दिनअघि मासुको भाउ ३ सय ९० देखि ४ सय रुपैयाँ थियो । ४–५ दिनअघि फेरि मासुको मूल्य ५ रुपैयाँ बढेर ४ सय ५ रुपैयाँमा किनबेच भएकोमा फेरि १५ रुपैयाँ बढेर ४ सय २० रुपैयाँ पुगेको उनले बताए ।

‘गर्मी लागेसँगै उत्पादन घटेको भन्दै होलसेलबाटै भाउ बढेर आउँछ,’ उनले भने, ‘होलसेलमै भाउ बढेर आउने हुँदा हामीले घाटा खाएर सस्तोमा बेच्ने कुरा भएन ।’

भाउ बढेसँगै कुखुराको मासु व्यापारमा पनि कमी आएको उनी बताउँछन् । यसअघिका महिनामा दैनिक ६०–७० किलो मासु बेच्ने गरेका उनी भाउ बढेयता दिनमा ४० देखि ५० किलो मात्रै बिक्री हुन थालेको सुनाउँछन् ।

कुखुराको मासुको भाउ पछिल्लो पटक ह्वात्तै बढेयता ग्राहक संख्या घटेको मासु पसलेहरू बताउँछन् । काठमाडौंका सानादेखि ठूला कोल्ड स्टोरमा कुखुराको मासु किन्ने ग्राहक संख्या विगतका तुलनामा कमै देखिन्छ ।

‘अहिले व्यापार पनि घट्दै गएको छ । कहिले दिनमा ३० किलो मात्रै पनि बिक्री हुन्छ,’ उनी भन्छन्, ‘काठमाडौंमा अहिले पहिला–पहिलाजस्तो व्यापार पनि छैन, १–२ वर्षअघि मैले दिनकै सय किलोसम्म कुखुराको मासु बेच्थेँ । अहिले महँगी बढेर हो कि मान्छेले सबै कुरामा खर्च कटौती गर्दै गएका छन् ।’

कुखुराको मासुको भाउ पछिल्लो पटक ह्वात्तै बढेयता ग्राहक संख्या घटेको मासु पसलेहरू बताउँछन् । काठमाडौंका सानादेखि ठूला कोल्ड स्टोरमा कुखुराको मासु किन्ने ग्राहक संख्या विगतका तुलनामा कमै देखिन्छ ।

ललितपुर कुपन्डोलस्थित एक कोल्ड स्टोरमा बिहीबार बिहान कुखुराको मासु किन्न आएका एक ग्राहक महँगो भयो भन्दै फर्किंदै गरेका भेटिए ।

‘यो कोल्ड स्टोरले सधैं होलसेल भाउमा कुखुराको मासु बेच्ने गर्छ,’ ज्वागलमा डेरा गरी बस्ने रमेश शिवाकोटीले भने, ‘तर, होलसेलमा बेच्ने कोल्ड स्टोरमा पनि अहिले त कुखुराको मासु किलोको ४ सय रुपैयाँ पुगेको रहेछ । अब कुखुराको मासु खान पनि साइत जुराउनुपर्ने देखियो ।’

उनका अनुसार एक साताअघि कुखुराको मासुको भाउ किलोको ३ सय ८५ रुपैयाँ थियो । तर, किन एक सातामै किलोमा १५ रुपैयाँ बढ्यो भन्ने कारण थाहा पाउन नसकेको उनले बताए ।

‘नेपालमा जसलाई जे गर्न पनि छुट छ । कुखुराको मासुको भाउ किन बढ्यो, कसले बढाएको हो, नियमन गर्ने कसले हो, कसैलाई केही मतलबै छैन,’ उनले आक्रोश पोखे, ‘आखिरमा मार पर्ने, समस्यामा पर्ने र महँगी खेप्ने त हामीजस्ता उपभोक्ताले न हो । हुनेखानेलाई जतिसुकै भाउ बढोस्, मतलब छैन, सरकार आँखा चिम्लिएर बसेको छ । उपभोक्ताको गुनासो कसले सुन्छ ?’

कुखुराको मासुको भाउ बढेको हो : राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसी पछिल्लो १५ दिनमा कुखुराको मासुको भाउ बढेको बताउँछन् । अहिले गर्मी बढ्दै गएकाले कुखुरा उत्पादन घटेको हुँदा मासुको भाउ बढ्न गएको उनको भनाइ छ ।

उनका अनुसार अहिले होलसेल (थोक) मै कुखुराको तयारी मासुको भाउ प्रतिकिलो ३ सय ८५ रुपैयाँ रहेको छ । तर, कोल्ड स्टोर र होलसेल पसलले पनि किलोको ३ सय ९० देखि ४ सय रुपैयाँसम्ममा बेचिरहेका छन् ।

‘यसभन्दा अघि होलसेलमा कुखुराको तयारी मासुको भाउ किलोको ३ सय ६० रुपैयाँ थियो, पछि १० रुपैयाँ बढेर ३ सय ७० पुगेको थियो,’ अध्यक्ष बीसीले भने, ‘अहिले १५ रुपैयाँ बढेको हो । होलसेलमा भन्दा खुद्रामा १०–२० रुपैयाँ बढी नै हुन्छ ।’

उनका अनुसार कुखुराको मासुको भाउ घटबढको सम्बन्ध माग तथा आपूर्तिसँग जोडिएको हुन्छ ।

‘मागभन्दा उत्पादन धेरै भयो भने भाउ घट्छ र माग भएजति उत्पादन नहुँदा भाउ बढ्न थाल्छ, अहिलेको अवस्था पनि त्यही हो,’ संघ अध्यक्ष बीसीले भने ।

नेपालमा दैनिक मासु खपत कति ?

कुखुरा व्यवसायी संघका अनुसार देशभरि दैनिक ५ देखि ७ लाख किलो कुखुराको मासुको माग छ । यसमा पनि काठमाडौं उपत्यकामा साढे ३ लाख किलो माग रहेको छ ।

कुखुराको मासुको माग अनुसार आपूर्ति भइरहेको संघ अध्यक्ष बीसीको दाबी छ । देशकै उत्पादनले अहिले मासुको माग धानिरहेको दाबी उनले गर्दा मासु व्यवसायी भने कुखुरा नपाएर मासु बेच्न नपाएको र महँगो मूल्यमा बेच्नु परेको बताउँछन् ।

नेपालमा भदौ, असोज, कात्तिक र मंसिर महिनामा धेरै कुखुरा उत्पादन हुने गरेको पाइन्छ ।

कुखुरा मासुको भाउ उतारचढाव

मंसिर २०८१ मा ३ सय १५ रुपैयाँ किलो रहेको कुखुराको मासुको भाउ फागुनमा ३ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

नेपाल कुखुराको मासुमा लगभग आत्मनिर्भर भइसकेको भनिए भए पनि गर्मी लाग्नासाथ व्यापारीले ‘गर्मीमा कुखुरा मर्ने, उत्पादन घट्ने’ जस्ता कारण देखाएर भाउ बढाउँदै आएका छन् ।

नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्र उत्पादन कम हुनासाथ भाउ बढ्ने बताउँछन् । अहिले मासु खपत हुने सिजन सुरु भएका कारण उत्पादनले माग धान्ने अवस्था नहुँदा भाउ बढ्दै गएको उनको भनाइ छ ।

तर, किसान र होलसेलबाट सस्तो मूल्यमा कुखुरा र मासु खरिद गरेर खुद्रा व्यवसायीले भने उपभोक्तासँग चर्को मूल्य असुल्ने गरेका छन् ।

नयाँ बानेश्वर क्षेत्रका अधिकांश खुद्रा मासु विक्रेताले उपभोक्तासँग एक किलो कुखुराको मासुको भाउ ४ सय २० देखि ४ सय ३५ रुपैयाँसम्म लिने गरेको अनलाइनखबरले गरेको स्थलगत रिपोर्टिङका क्रममा भेटियो ।

उत्पादन कम भएर भाउ बढ्यो : पोल्ट्री महासंघ

नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्र उत्पादन कम हुनासाथ भाउ बढ्ने बताउँछन् । अहिले मासु खपत हुने सिजन सुरु भएका कारण उत्पादनले माग धान्ने अवस्था नहुँदा भाउ बढ्दै गएको उनको भनाइ छ ।

‘अहिले विवाह, ब्रतबन्धको सिजन पनि छ, यस्ता भोजभतेरमा मासुको माग उच्च हुन्छ, लामो समयदेखि बन्द रहेका स्कुल–कलेज पनि खुलेका छन्, त्यहाँका क्यान्टिनमा पनि मासुको माग हुन्छ,’ मिश्र भन्छन्, ‘यो अवस्था हेर्दा माग बढी र उत्पादन कम छ । त्यसैले पनि भाउ बढेको हो ।’

उनी भाउ बढ्ने र घट्ने प्रक्रिया सामान्य भएकाले यसले धेरै असर नपार्ने बताउँछन् । मासु, दाना, चल्ला, अन्डामा देश आत्मनिर्भर भइसकेको भए पनि कच्चापदार्थमा आत्मनिर्भर नहुँदा बेलाबेला समस्या पर्दै आएको उनको भनाइ छ ।

‘हामी मासुमा आत्मनिर्भर भइसकेको भने पनि कच्चापदार्थमा आत्मनिर्भर भइसकेका छैनौं,’ महासचिव मिश्र भन्छन्, ‘कच्चापदार्थको भाउ घटबढले गर्दा पनि मासुको भाउ अलिकति बढ्छ । हामीले कच्चापदार्थ आयातमा धेरै राजस्व तिर्नुपर्छ । यसले पनि प्रभाव पार्छ ।’

दानको भाउ बढेको छैन, कुखुराको मासुको बढ्यो : दाना उद्योग संघ

दानाको मूल्य नबढे पनि कुखुरा मासुको भाउ भने बढेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए ।

योभन्दा अघि कुखुराको उत्पादन बढी र माग कम थियो । अहिले उत्पादन कम र माग बढी हुँदा भाउ बढेको उनी बताउँछन् ।

‘कुखुरा उत्पादन हुने ठाउँ बुटवल, भैरहवामा अहिले ४०–४२ डिग्री तापक्रम पुगेको छ, यो समय कुखुरा, चल्ला र अन्डा धेरै उत्पादन हुँदैन,’ उनी भन्छन्, ‘मौसम अनुसार भाउ पनि घटबढ भइरहन्छ ।’

उनका अनुसार अहिले दानाको भाउ भने घट्दो क्रममा छ । फ्याक्ट्री अनुसार दानाको भाउ फरक–फरक हुने गर्छ । आफ्नो लागत अनुसार नै दानाको मूल्य निर्धारण हुने उनी बताउँछन् ।

अहिले ५० किलो बोरा दानाको मूल्य ४ हजारदेखि ४ हजार १ सय रुपैयाँसम्म रहेको उनी बताउँछन् । दाना बनाउनका लागि चाहिने सबै कच्चापदार्थ विदेशबाट आयात हुन्छ । आयातमा ढुवानी खर्च धेरै लाग्ने हुँदा दानाको भाउ पनि घटबढ भइरहने उनी बताउँछन् । उनका अनुसार दानाको मूल्य अझै घट्दै जान्छ ।

उत्पादन कम हुँदैमा भाउ बढ्ने भन्ने हुँदैन, यो सिधा कार्टेलिङ हो : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना उत्पादन कम हुँदैमा भाउ बढ्ने भन्ने नहुने बताउँछन् ।

संघहरूले घोषित रूपमै ‘कार्टेलिङ’ गरेर मासु तथा अन्डाको भाउ बढाएको उनको आरोप छ । नियमन गर्ने निकायले नियमन नगर्दा व्यापारीहरूले मनोमानी गर्ने र त्यसको मार उपभोक्ताले बेहोर्नुपर्ने नियति नै बनेको उनी बताउँछन् ।

‘सबैभन्दा पहिला संघका नाममा जसले वस्तुको मूल्य तोकिरहेको छ, त्यो नै पूर्णरूपमा अवैधानिक हो,’ उपभोक्ता अधिकारकर्मी तिमल्सिना भन्छन्, ‘सरकारले सबैभन्दा पहिला जसले जुन वस्तुको पनि भाउ तोक्ने अवस्थालाई नियन्त्रण गर्नुपर्छ ।’

उत्पादन कम भयो भन्ने त बहाना मात्रै भएको उनको भनाइ छ । ‘खासमा व्यापारीहरूले जाडोमा चिसोले कुखुरा मर्‍यो, गर्मीमा धेरै तातोले मर्‍यो भनेर भाउ बढाउनकै लागि बहाना बनाउँछन्,’ उनी भन्छन्, ‘यिनीहरूले उत्पादनमा नै कार्टेलिङ गराएर माग र आपूर्ति शृङ्खला बिगारेर उत्पादन कम भएको भन्दै भाउ बढाएका छन्, यो उपभोक्तामाथिको अपराध हो ।’

सरकारले मासु तथा अन्डामा देश आत्मनिर्भर भयो भनेर विभिन्न सहुलियत दिँदै आएको छ । तर, विभिन्न बहानाबाजी गरेर उपभोक्ता ठग्ने काम निरन्तर बढ्दै गइरहेको उनी बताउँछन् ।

उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमन गरी उत्पादनमा कार्टेलिङ गरेर भाउ बढाउनेलाई तत्काल कारबाही गर्नुपर्ने उनको माग छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School