धनुषा–४ नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरूको भिडन्त हुन लागेको क्षेत्र हो । कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव र एमालेका उपमहासचिव रघुवीर महासेठबिच प्रतिस्पर्धा भइरहने यस क्षेत्रमा यसपालि पनि उनीहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा छन् । दुई पटक चुनाव जितिसकेका रघुवीर यसपालि ह्याट्रिक गर्ने दाउमा छन् भने पहिलो जित दर्ज गरेर बदला लिन महेन्द्र कस्सिएका छन् ।
यी दुई नेता दुई पटक चुनावमा आमनेसामने हुँदा दुई पटक नै रघुवीरले बाजी मारेको तथ्यांक छ । यस निर्वाचन क्षेत्रको चुनावी नतिजा मिश्रित छ । २०४६ सालको जनआन्दोलनयताका चुनावको नतिजा हेर्दा यहाँका मतदाताले दुई पटक कांग्रेस, एक पटक मधेसी जनअधिकार फोरम, एक पटक राष्ट्रिय जनता पार्टी (राजपा) र दुई पटक एमाले र एक पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारलाई जिताएका छन् । सात वटा निर्वाचनमा कांग्रेस, एमाले र मधेसकेन्द्रित दलका उम्मेदवारले बराबर जित हात पारेका छन् भने एक पटक राप्रपाले जितेका छन् ।
यस निर्वाचन क्षेत्रमा बटेश्वर गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका, मिथिला नगरपालिकाका १, २, ३ र ५ देखि ११ नम्बर वडा, छिरेश्वरनाथ नगरपालिका १ देखि ७ र १० नम्बर वडा, मिथिला बिहारी नगरपालिकाका २ र ६ देखि १० नम्बर वडा छन् । जनकपुर उपमहानगरपालिकाका ९, १३, १४, १९, २१ र २२ नम्बर वडा पनि यसै क्षेत्रमा छन् । यस निर्वाचन क्षेत्रमा कुल मतदाता एक लाख २७ हजार सात सय ७८ मतदाता छन् ।
आमनिर्वाचन २०४८ मा कांग्रेसका महेन्द्रनारायण निधिले २५ हजार ८५२ मत ल्याएर निर्वाचित भएका थिए । नेकपा (लोकतान्त्रिक) का रामशेष महासेठले ८ हजार ४३४ मत ल्याएका थिए । आम निर्वाचन २०५१ मा नेपाली कांग्रेसका विमलेन्द्र निधि २१ हजार ३४० मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला राप्रपाका कृष्णप्रताप मल्लले १६ हजार ५६३ मत ल्याएका थिए । आम निर्वाचन २०५६ मा राप्रपाका कृष्णप्रताप मल्लले कांग्रसका विमलेन्द्र निधिलाई ५ हजार २४० मतान्तरले पराजित गरेका थिए । मल्ल २४ हजार २९३ मत ल्याएर निर्वाचित भएका थिए भने निधिले १९ हजार ५३ मत ल्याएका थिए । एमालेका रामआशिष महासेठले ५ हजार ५५३ मत ल्याएका थिए ।
मधेस आन्दोलनपछिको संविधानसभा निर्वाचन २०६४ मा मधेसी जनअधिकार फोरम नेपालबाट सञ्जयकुमार साह १३ हजार ४२२ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला एमालेका रघुवीर महासेठले ९ हजार २८२ मत, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का वृषेशचन्द्र लाल ४ हजार ९६५ मत, नेपाली कांग्रेसका लीला कोइराला ४ हजार ३६३ मत, नेकपा माओवादीका अरविन्दकुमार लाल कर्णले १ हजार ८४७ मत र सद्भावना पार्टीका रामदयाल साहले १ हजार ३४४ मत ल्याएका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा दल फेरेर सद्भावना पार्टीबाट चुनाव लडेका सञ्जयकुमार साह १२ हजार ६६६ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका रामसरोज यादवले ११ हजार ४२६ मत, तमलोपाका वृषेशचन्द्र लालले २ हजार ६५० मत, एमालेका श्रीप्रसाद साहले २ हजार ७२ मत, एनेकपा माओवादीका अरविन्द साहले १ हजार ११४ मत ल्याएका थिए ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमालेबाट रघुवीर महासेठ २२ हजार ५३२ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसबाट महेन्द्र यादव १९ हजार ९९१ मत, संघीय समाजवादी फोरमबाट महाजन यादवले १९ हजार ६६२ मत ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७९ मा एमालेबाट रघुवीर महासेठ ३२ हजार २३६ मत ल्याएर निर्वाचित भएका थिए । नेपाली कांग्रेसबाट महेन्द्र यादव ३२ हजार ११२ मत ल्याएका थिए । संघीय समाजवादी फोरम, नेपालबाट महाजन यादव ५ हजार २१२ मत ल्याएका थिए । स्थानीय तह निर्वाचन २०७९ मा मिथिला नगरपालिका प्रमुखमा कांग्रेसका महेन्द्र महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भएका छन् । एमालेका राजाराम महतोले ६ हजार ९४० मत, एकीकृत समाजवादीका सूर्यप्रसाद पुडासैनीले ३ हजार ९०३, माओवादी केन्द्रका रामकुमार महतोले २ हजार ३३ मत ल्याएका थिए ।
यस निर्वाचन क्षेत्रमा पर्ने यो पालिकाको वडा नं. १, ४, ६ र ७ मा कांग्रेस, २ र ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), ३, ८, ९, १० र ११ मा एमाले वडाध्यक्ष निर्वाचित भएका छन् । बटेश्वार गाउँपालिकामा कांग्रेसका रामअशिष महतो ४ हजार १८ मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् । एमालेका श्यमसुन्दर महतो ३ हजार ३७ मतमा सीमित भए । यस पालिकाको चार वटा वडामा कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन् भने एउटा वडामा नेकपाका वडाध्यक्षमा निर्वाचित भएका छन् । छिरेश्वरनाथ नगरपालिकामा एमालेका सुखदेव यादव ७ हजार ९१३ मत ल्याएर मेयर निर्वाचित भएका छन् । कांग्रेसका योगेन्द्र पजियार ७ हजार ३०० मत ल्याएका थिए ।
यस पालिकाको आठ वटा वडामा कांग्रेसका अध्क्षय निर्वाचित भएका छन् भने २ वटामा एमालेका वडाध्यक्ष निर्वाचित छन् । मिथिला बिहारी नगरपालिकामा कांग्रसका राजेन्द्रप्रसाद यादव ४ हजार ३०४ मत ल्याएर मेयर निर्वाचित भएका छन् । एमालेका अनिलकुमार यादवले ४ हजार ९४ मत ल्याएका थिए ।
यस पालिकाको वडा १० मा कांग्रेस, ६ र ८ मा जसपा नेपाल, २ र ७ मा नेकपा र ९ नम्बर वडामा स्वतन्त्र वडाध्यक्ष निर्वाचित भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९, १३ र २१ मा कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नं. १४ र २२ मा जसपा नेपाल, वडा नं. १९ मा एमालेका वडाध्यक्ष निर्वाचित छन् । लक्ष्मीनियाँ गाउँपालिकामा कांग्रेसका भोगेन्द्र मिश्र ३ हजार ७६५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् । जसपा नेपालका शत्रुधन यादव ३ हजार ४९७ मत र एमालेका अजयकुमार यादवले ३ हजार ३७३ मत ल्याएका थिए ।
के भन्छन् मतदाता ?
फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको दैलोमा पुगिरहेका छन् । आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारहरू कस्सिएका छन् । तर मतदाता अझसम्म अलमलमै देखिन्छन् । उम्मेदवार छान्न मतदाता यसपालि गम्भीर सोचमा रहेको पाइएको छ । लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका ७५ वर्षीय रशी मण्डलले हालसम्म कुन उम्मेदवारलाई मतदान गर्ने भनेर तय गरिनसकेको बताए । सात जना मतदाता रहेको उनको घरमा विगतमा मतदान गर्दै आएको दलको नाम नखुलाए पनि परम्परागत दललाई नै मतदान गर्दै आएको बताए । यसपालि परम्परागत दलभन्दा वरिवर्तनकारी शक्तिमा मतदान गर्ने गाउँभरि नै सहमति भएको उनले खुलाए । कुनै पार्टीमा आबद्ध नरहेका मण्डल यसअघि घरपरिवारमा पनि छलफल नगरी मतदानस्थलमै पुगेर परम्परागत दलमा मतदान गर्दै आएको बताए । ‘मतदान केन्द्र पुगेपछि उम्मेदवारको चेहरा हेरेर मोहर लगाउँदै आएको थिएँ,’ उनले भने ।
सोही वडाका किसान उमेश यादवले मधेसवादी दललाई मतदान गर्दै आएको सुनाए । रास्वपाले वरिष्ठ नेता बालेन्द्रलाई प्रधानमन्त्री प्रस्तावित उम्मेदवार घोषित गरेपछि यसपालि दुवै मत फरकफरक पार्टीलाई दिने उनले बताए । लक्ष्मीनियाँ गाउँपालिका–२ का ताहिर राइनले परिवर्तनकारी युवा उम्मेदवारलाई मतदान गर्ने बताए । भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्ध पार्टीका उम्मेदवारलाई प्राथमिकता दिने उनको भनाइ छ । वैदेशिक रोजगारीबाट फर्किएपछि उनले दुई पटक मतदान गरिसकेका छन् । यसपालि सक्षम र विकास प्रेमी र स्थायी सरकार बनाउने दललाई मतदान गर्ने उनले सुनाए । धार्मिक विद्वेष फैलाउने गतिविधि रोक्न उम्मेदवारले प्रतिबद्धता जनाउने उम्मेदवार आफ्नो प्राथमिकतामा पर्ने उनको भनाइ थियो । ‘सबै समाज, सबै वर्ग मिलेर बस्नुपर्छ,’ उनले भने, ‘यसमा उम्मेदवाहरूको प्रतिबद्धता जरुरी छ ।’
सीताराम खत्वे पनि मतदानका लागि उम्मेदवार चुनिनसकेको सुनाउँछन् । हालसम्म कुनै पनि उम्मेदवार घरदैलोमा नआएको उनले बताए । पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गरेका उनले यसपालि परिवर्तन गर्ने बताए । पार्टीको नाम र उम्मेदवार नखुलाए पनि उनले लहरको पक्षमा जाने मनशाय व्यक्त गरे ।
प्रकाशित: १६ माघ २०८२ २१:५६ शुक्रबार
