प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार

फोटो : एपी/रासस
अमेरिकाले इरानलाई होर्मुज जलमार्ग ४८ घण्टाभित्र खुला गर्न चेतावनी दिएको छ। यो समयसीमाभित्र ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलमार्ग) सञ्चालनमा नल्याए इरानमा थप आक्रमण गर्ने अमेरिकाले बताएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले ४८ घण्टाभित्र कुनै पनि प्रकारको अवरोधबिना होर्मुज जलमार्ग पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानका विद्युत् उत्पादन केन्द्रहरूलाई निशाना बनाउने चेतावनी दिएका हुन्। ट्रम्पले दिएको समयसीमा २४ मार्च बिहान ३ बजेर १४ मिनेटसम्म रहेको छ।
यता, इरानका सरकारी सञ्चार माध्यमहरूले यदि इरानका इन्धन र ऊर्जा पूर्वाधारहरूमा आक्रमण गरियो भने इरानी सेनाले खाडी क्षेत्रभरि रहेका अमेरिकासँग सम्बन्धित ऊर्जा संरचनाहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्।
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको नयाँ अल्टिमेटमपछि आएको हो। यस घटनाले खाडी क्षेत्रमा तनाव थप बढ्ने सङ्केत दिएको छ।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो। यो खाडी क्षेत्रको साँघुरो जलमार्ग हो, जसको उत्तरमा इरान र दक्षिणमा ओमान तथा संयुक्त अरब इमिरेट्स पर्दछन्। यसले खाडीलाई अरब सागरसँग जोड्छ।
यो जलमार्ग विश्वका सबैभन्दा ठूला तेल ट्याङ्करहरू आवतजावत गर्न सक्ने गहिराइ भएको मार्ग पनि हो। मध्यपूर्वका प्रमुख तेल तथा ग्यास उत्पादक देशहरूले यसैमार्फत आफ्नो ऊर्जा निर्यात गर्छन्।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि इरानले यो जलमार्ग सशक्त रूपमा अवरुद्ध गर्दै आएको छ। यो जलमार्ग प्रवेश र निकासमा करिब ५० किलोमिटर चौडा छ भने सबैभन्दा साँघुरो भागमा करिब ३३ किलोमिटर मात्र चौडा छ।
विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ढुवानी हुने गर्दछ। यस मार्गमार्फत इरानसँगै इराक, कुवेत, कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरूको तेल निर्यात हुन्छ।
सामान्यतया प्रत्येक महिना करिब ३,००० जहाजहरूले यस मार्ग हुँदै यात्रा गर्छन्। तर हाल इरानले ट्याङ्कर र अन्य जहाजहरूलाई आक्रमण गर्ने चेतावनी दिएपछि आवतजावतमा उल्लेखनीय कमी आएको छ।