हालै काठमाडौंमा दोलखास्थित गौरीशंकर बहुमुखी क्याम्पसले ‘दोलखामा उच्च शिक्षाको सम्भावना र आगामी रणनीतिक योजना’बारे छलफल गर्न बृहत् भेला आयोजना गरेको थियो, जहाँ दोलखाका राजनीतिज्ञ, बौद्धिक वर्ग र अरू सरोकारवालाहरूको सहभागिता थियो। यो बहसको विषय आफैंमा निकै गम्भीर प्रकृतिको थियो।
देश सञ्चालनमा युवाको किन आवश्यकता छ भन्ने प्रमाण यो क्याम्पसका युवा क्याम्पस प्रमुख र युवा सञ्चालक समितिका अध्यक्ष भएकै कारण यो बृहत् सोचाइसहितको कार्यक्रम आयोजना गर्नुले पनि पुष्टि गरेको थियो। यो भेलाको प्रमुख दुई उद्देश्यहरू क्याम्पसकै आगामी रणनीतिक योजनाबारे सुझाव संकलन गर्ने र दोलखामा उच्च शिक्षाको सम्भावनाबारे चिन्तन गर्ने रहेछ। यो आलेखमा म यही दोस्रो उद्देश्यमा केन्द्रित भएको छु।
नेपालमा विश्वविद्यालय
देशको कति जनसंख्या बराबर एउटा विश्वविद्यालय चाहिन्छ भन्ने कुनै सर्वमान्य आधार हुँदैन। गतिलो विश्वविद्यालय छ भने त्यहाँ संसारभरबाट मानिस पढ्न आउँछन्, केवल देशभित्र मात्र यसको दायरा सीमित हुँदैन। तर कहाँ, किन, कस्तो विश्वविद्यालय चाहिन्छ भन्नेबारे चाहिँ विभिन्न मापदण्ड हुन्छन् र यिनै मापदण्डले नै कुनै पनि देशमा विश्वविद्यालयको संख्या निर्धारण गर्छन्।
यस्ता मापदण्डहरूमा स्पष्ट शैक्षिक दृष्टि र उद्देश्य, भौतिक पूर्वाधार, मानव संशोधनको उपलब्धता (शिक्षक, कर्मचारी, विद्यार्थी), आर्थिक क्षमता र दीर्घकालीन आर्थिक स्रोत), राज्यको स्पष्ट नीति र सहयोगी कानुन (संस्थागत संरचना, नियमावली, प्राज्ञिक स्वयतत्ता), अनुसन्धान र नवप्रवर्धन क्षमता, सहकार्य र बाह्य सम्बन्ध, विद्यार्थीको आकर्षण र सामाजिक उत्तरदायित्व पर्छन्।
तर नेपालमा विश्वविद्यालयहरू स्थापना गर्दा यी मापदण्डको वास्ता गरिँदैन। शक्तिशाली मन्त्री, मुख्यमन्त्रीलाई मनमा लाग्यो भने वा आफ्ना कार्यकर्ता भर्ना गर्न मन लाग्यो भने मन्त्रालय खोली हाल्छन्। नेपालमा राजनीतिक स्वार्थका लागि विश्वविद्यालय खोल्ने समस्या व्यापक बन्दै गएपछि मैले नीति अनुसन्धान प्रतिष्ठानबाट एक अध्ययन गराई ‘नेपालमा विश्वविद्यालयको अवस्था र प्रादेशिक विश्वविद्यालय स्थापनाका आयामहरू’ भन्ने प्रतिवेदन प्रकाशित गराएको थिए। यो प्रतिवेदनको निष्कर्ष थियो – राज्यकोषबाट चल्ने विश्वविद्यालयहरू स्थापना गर्दा हचुवाका भरमा र गहिरो अध्ययन नगरी र देशका लागि आवश्यक जनशक्ति प्रक्षेपणको आधारमा र भइरहेका विभिन्न विश्वविद्यालयहरूको भूमिका नबाझिने गरी मात्र खोल्नु मनासिव भएकाले अहिले नयाँ प्रादेशिक विश्वविद्यालयहरू खोल्नु आवश्यक छैन।
सबैभन्दा पहिला त भइरहेका विश्वविद्यालयहरूको गुणस्तर सुधारी अधिकतम उपयोग गर्ने र तत् स्थानमा रहेका क्याम्पसहरूको पुनर्संरचना र स्तरोन्नति गरी आवश्यक प्रयोजन पूरा गर्न सकिन्छ र विश्वविद्यालय आवश्यकता पहिचान अध्ययनबाट खोल्नै पर्ने देखिएमा नयाँ विधामा सोत (प्राध्यापक, विद्यार्थी र आर्थिक स्रोत) को सुनिश्चितता गरेर मात्र विश्वविद्यालय स्थापना गर्नुपर्छ तर शासकहरू यस्ता कुरा सुन्न तयार छैनन्।
नेपालमा अहिले १९ वटा विश्वविद्यालय र यही स्तरका थुप्रै परिषद् पनि सञ्चालनमा छन् तर उनीहरू पूर्ण क्षमतामा सञ्चालित पनि छैनन्। स्रोतको अभाव छ। त्यसैले नयाँ विश्वविद्यालय खोल्नुको औचित्य छैन तर विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयजस्ता विशिष्ट प्रकृतिका विश्वविद्यालय भने देशमा आवश्यक छ। अहिले बहस गरिएको केन्द्रीय हिमालयन विश्वविद्यालय पनि यस्तै विशिष्ट प्रकृतिको हुनुपर्छ भन्ने मेरो मान्यता छ।
केन्द्रीय हिमालयन विश्वविद्यालयको आवश्यकता
अहिले दोलखाली सरोकारवालाहरूले बहसमा ल्याएको हिमालयन विश्वविद्यालयको अवधारणा भने नेपालका साबिक विश्वविद्यालयहरूले सञ्चालन गरी रहेका विषय र नेपाली विद्यार्थी मात्र केन्द्रित गरी खोलिने नभई बदलिएको विश्व परिवेश अनुकूल संसारभरकै हिमाली/पहाडी सवालमा चाख राख्ने विद्यार्थी, अनुसन्धानकर्ता केन्द्रित गरी खोलिनुपर्छ। त्यो भनेको हिमालयन जलवायु परिवर्तनसँग सम्बन्धित विधा, हिमालयमा भूगर्व र प्राकृतिक जोखिम, पर्वतीय कृषि, वन, जैविक विविधता, पर्वतीय भाषा, संस्कृति र संस्कार, पर्वतीय प्रविधि र नवप्रवर्धन, उच्च उचाइ पर्यटन, उच्च उचाइ चिकित्सा, उच्च हिमाल आरोहण, साहसिक पर्यटन, उच्च हिमाली खेलकुदजस्ता नवीन विषयमा सञ्चालन गरिनुपर्छ भनेको हो।
यसका लागि एक स्वतन्त्र विज्ञहरूको समूहले यो विश्वविद्यालय स्थापना, सञ्चालन र निरन्तरताका लागि आवश्यक पर्ने भिजन, मिसन, नीति, कानुन, शैक्षिक संरचना (संकायहरू, नवीन विषय र पाठ्यपुस्तकको अनुसन्धान संरचना), भौतिक पूर्वाधार, डिजिटल पूर्वाधार, मानव स्रोत आँकलन र व्यवस्थापन रणनीति, आर्थिक तथा वित्तीय योजना (मुख्य स्रोत), स्वामित्व लिने सरोकारवालाहरूको पहिचान (समुदाय, तीन तहका सरकार, नेपालबाहिरका पर्वतीय क्षेत्रका सरोकारवालासमेतको पहिचान), अन्तर्राष्ट्रिय सहकार्यको ढाँचा र कार्यान्वयनका चरणहरू तथा जोखिम, अवसर र चुनौतीको विश्लेषणसहितको पूर्ण अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित सरोकारवालाहरूसँग व्यापक बहस, छलफल र उनीहरूको प्रतिबद्धतासहित अगाडि बढ्न आवश्यक छ। यो दलका जिल्ला स्तरीय नेताहरूले पक्ष र विपक्षमा छुद्र गरेका टिप्पणीको दायराभन्दा ज्यादै फराकिलो छ।
उल्लिखित विश्वविद्यालय स्थापनाको मान्यता नेपाली राजनीतिज्ञहरूलाई बुझाउन निकै कठिन हुने यथार्थ यही दोलखाली भेलामा दलका केही नेताले पक्ष र विपक्षमा घोचपेचसहित गरेका छुद्र टिप्पणीबाट पनि महसुस भयो। उहाँहरूमा विश्वविद्यालय स्थापनाबारेको चेतना ज्यादै न्यून देखियो नै, त्योभन्दा बढी उहाँहरूको चिन्तनको अति साँघुरोपना देखियो।
विज्ञहरूको ठुलो समूहबाट माथि अवधारणा तयार गरी उल्लिखित कामहरू गरिनुपर्ने भएकाले यसका लागि आवश्यक विज्ञ समूहका व्यक्तिहरू त्यही भोलाबाट पहिचान गरी काम सुरु गर्न गरिएको प्रस्तावलाई केही स्थानीय राजनीतिज्ञहरूले नितान्त निहित स्वार्थबाट पे्ररित भई गाउँको सामुदायिक वनको उपभोक्ता समिति गठन गर्दा देखाएको शैलीबाट प्रस्तुत भएका कारण त्यहाँबाट विज्ञ समूह गठन भई कार्य अघि बढ्न सकेन।
अहिले विज्ञहरू पहिचान गर्नुहुन्न भनेर स्वयंसेवीका रूपमा गरिने कामसमेत अवरोध खडा गरी युवा क्याम्पस चिफ र क्याम्पस सञ्चालक समितिको युवा अध्यक्षको उत्साह मार्ने काम भयो। मेरो अनौपचारिक कुराकानीमा केही संवेदनशील व्यक्तिहरूले त त्यहाँ उपस्थित देशविदेशमा स्थापित विज्ञ व्यक्तिहरूको आत्मसम्मानमा समेत चोट पुर्याउने काम भयो र यो त्यहाँ उपस्थित धेरै ठुलो विद्वत् जमातको अपमान गरेको हो समेत भन्नुभयो।
यस्तो चिन्तन र शैली भएका व्यक्ति राजनीतिज्ञका रूपमा रहँदासम्म र जहाँ पनि, जहिले पनि, जसलाई पनि राजनीतिक स्वार्थकेद्रित दूषित आँखाबाट हेर्दासम्म समाज परिवर्तन चुनौतीपूर्ण नै देखिन्छ।
म त दोलखाका विभिन्न दलका नेताहरूसँग उति परिचित थिइनँ। उनीहरूमध्ये केहीलाई नामले मात्र चिन्थे। तर जब यो भेलामा मेरो विभिन्न दलका जिल्ला स्तरीय नेताहरूसँग साक्षात्कार भयो र उनीहरूले यो सवालमा व्यक्त गरेका विचार सुनेँ, म साह्रै निराश भए। त्यहाँ उपस्थित अधिकांशलाई अगाडि बस्नुपर्ने, राजनीतिक अर्ति उपदेश दिनैपर्ने, दम्भ र अरूलाई होच्याउने भावभंगीमा उनीहरू प्रस्तुत भएका थिए।
केहीलाई त कुन विषयवस्तुमा छलफल भएको हो भन्ने समेत मतलव थिएन वा जानकारी थिएन। त्यहाँ उपस्थित विज्ञहरू को हुन्, उनीहरू कुन क्षेत्रमा दखल राख्छन्, उनीहरूलाई त्यहाँ किन प्रस्ताव गरिएको हो भन्ने समेत जानकारी भएको देखिएन। उनीहरूकै कारण सुरुवात हुन लागेको एउटा राम्रो काम रोकियो।
राजनीति भनेको गुट–उपगुट, दल–दलबिच विरोध, तुच्छ वचन भन्ने मात्र चेतना बोकेका व्यक्तिहरूलाई राजनीति भनेको दर्शन हो, सेवा हो, राज्य रूपान्तरण गर्ने बृहत्तर दृष्टिकोण हो, देशमा रहेका विशिष्ट विद्वान्हरूको ज्ञान, सिप र अनुभवको सही उपयोग गने सिपबाट राष्ट्र निर्माणमा योगदान दिने क्षमता हो भन्ने यस्ता राजनीतिज्ञलाई कसले बुझाइदिने, यिनीहरूले कहिले बुझ्ने?
दोलखा केन्द्रीय हिमालयन विश्वविद्यालय स्थापनार्थ उपयुक्त र सम्भावना बोकेको स्थान हो। दोलखाका युवाले यसको आवश्यकताको बहस चलाउनु उपयुक्त सुरुवात हो। तर यो विश्वविद्यालय नेपालमा भएकाभन्दा भिन्न प्रकृतिको र अरू विश्वविद्यालयसँग भूमिका नदोहोरिने प्रकृतिको हुनुपर्छ।
यसको स्थापना र सञ्चालनको अगुवाइ नेपाल सरकारले लिनुपर्छ, किनकि यो राष्ट्रिय सरोकारको सवालमा स्थापना गरिने संस्था हो, हिमालयन पर्वतीय क्षेत्रमा रहने संसार भरका मानिसको साझा सरोकारको सवाल हो र राष्ट्रले अरू पर्वतीय राष्ट्रहरूसँग समेत समन्वय गरी अन्तर्राष्ट्रिय स्रोत परिचालन गरेर नै यो विश्वविद्यालयको सही तरिकाले स्थापना गर्न सकिन्छ।
प्रकाशित: ७ पुस २०८२ ०९:५६ सोमबार
