काठमाडौं । यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा मुलुकभर सुक्खापन बढ्दै गएको छ । मंसिरदेखि माघसम्म हुनुपर्ने औसत वर्षा नभएपछि यसको प्रत्यक्ष असर कृषि, जलविद्युत्, पर्यटन र स्वास्थ्य क्षेत्रमा मात्र नभई आगामी ‘प्रि–मनसुन’ (फागुन–जेठ) मा समेत पर्ने विज्ञहरूले औंल्याएका छन् ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार, गत कात्तिकमा आएको चक्रवातका कारण जमिनमा केही ओस रहे पनि हिउँदे वर्षाको अभावले गर्दा त्यो ओस समेत सुक्दै गएको छ ।
‘अहिलेको सुक्खापनले आगामी चैत–वैशाखको समयलाई थप कष्टकर बनाउने देखिएको छ,’ सिग्देल भन्छन्, ‘जलचक्र र जमिनको पानीको सन्तुलन बिग्रिँदा माटोको ओस पूर्णरूपमा हराउने र यसले प्रि–मनसुन प्रणालीलाई समेत प्रभावित पार्ने देखिन्छ ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदर करिब ६० मिलिमिटर (५९.८ मिलिमिटर) वर्षा हुन्छ । तर यस वर्ष १६ मंसिरदेखि १३ माघ बिहान ८:४५ बजेसम्म सरदर ६.०२ प्रतिशत अर्थात् ३.६ मिलिमिटर मात्र वर्षा भएको विभागको रेकर्ड छ ।
‘हिउँदयामका डिसेम्बर र जनवरी महिनाको सरदर वर्षा क्रमश: ९ र २२ मिलिमिटर हो । तर यसपालि डिसेम्बर महिनामा शून्य वर्षा भयो,’ जल तथा मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका मौसमविद अशोक बख्रेल भन्छन् ।
यो वर्ष पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्ममात्र वर्षा र हिमपात भएको छ । केही हिमाली भेगबाहेक अन्यत्र राम्रोसँग हिउँ र पानी पर्न सकेन ।
यस वर्ष गत कात्तिक महिनामा देशभरका उच्च पहाडी र हिमाली भेगमा हिउँ परेको थियो । त्यसपछि माघ ९ र १० गते पनि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशका भूभागहरुमा हल्कादेखि मध्यम खालको हिउँ/पानी परेको छ ।
माघ १३ र १४ गते पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पर्ने पानीले पनि सरदर वर्षाको मात्रा नभेट्ने विभागका बरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।
उनले भने, ‘माघ ९/१० गतेको तुलनामा १३/१४ गतेको प्रणाली अलिकति बलियो त छ तर त्यतिले मात्र पनि हिउँदको सरदर वर्षा (५९.८ मिलिमिटर) को मात्रा पुग्दैन ।’ यद्यपि हिउँद अवधि फागुन १५ गतेसम्म रहने भएकाले यस बिचमा पानी र हिउँको मात्रा केही थपिनेमा आशावादी हुन सकिने उनले बताए ।
विभागले ३० वर्ष अवधिको (सन् १९९१ देखि सन् २०२० सम्मको) १२६ वर्षा मापन केन्द्रमा रेकर्ड भएको वर्षाको तथ्यांकको आधारमा सरदर वर्षाको मात्रा निकाल्ने गर्दछ ।
बढ्दैछन् सुक्खा वर्ष
मौसमविदहरुका अनुसार विगत केही वर्षका हिउँद सुक्खा हुँदै गएको रेकर्ड छ । गत सन् २०२५ को हिउँद सबैभन्दा सुक्खाको रुपमा दर्ज भएको छ । सन् २०२५ मा हिउँदयाममा जम्मा १२.३० मिलिमिटर मात्र वर्षा भएको विभागको रेकर्ड छ ।
सन् २०२५ मा अधिकांश स्थानमा सामान्यभन्दा ६० प्रतिशत बढी सुक्खा देखिएको थियो । वर्ष २०२५ मा पश्चिमी पहाडी भागहरुमा मात्रै हल्का वर्षा भएको थियो । काठमाडौं उपत्यकासहित तराई मधेशका भूभागहरू पनि सुक्खा नै रहे ।

त्यसो त पछिल्ला प्राय सबै वर्ष (सन् २०२० र सन् २०२२ बाहेक)का हिउँद सुक्खा छन् । ‘सन् २०२० र २०२२ हिउँदमा सबैभन्दा बढी पानी परेका वर्ष हुन्,’ मौसमविद बख्रेलले भने, ‘२०२२ मा १०१.९७ मिलिमिटर वर्षा रेकर्ड छ ।’
विभागको तथ्यांकअनुसार सन् २०२० को डिसेम्बरदेखि सन् २०२१ को जनवरी–फेब्रुअरीसम्म हिउँदमा १३.५४ मिलिमिटर वर्षा भएको छ ।
यसैगरी सन् २०२२ मा १०१.९७ मिलिमिटर, सन् २०२३ मा १२.९३ मिलिमिटर, सन् २०२४ मा १३.९७ मिलिमिटर र सन् २०२५ मा १२.३० मिलिमिटर वर्षा भएको छ ।
किन हुन सकेन वर्षा ?
जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा वर्षा र जाडो दुवै कम हुने प्रक्षेपण गरेको थियो । विभागले गरेको हावापानीको सो आँकलन मिलेको देखिन्छ ।
विगतका वर्षहरूमा हिउँदे झरी पर्ने र त्यसपछि चिसो बढ्ने परम्परागत प्याटर्न अहिले पूर्णरूपमा बदलिएको छ । विश्वव्यापी उष्णताका कारण यो वर्ष न्यानो दिन र न्यानो रातको संख्या बढेको विज्ञहरु बताउँछन् ।
‘काठमाडौँ जस्ता सहरहरूमा समेत न्यूनतम तापक्रम विगतको तुलनामा माथि नै रहनुले हिउँदे प्रणाली कमजोर भएको पुष्टि गर्छ,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल भन्छन्, ‘भूमध्य सागरमा विकसित हुने वायुको प्रभाव कमजोर हुँदा नेपालसम्म आउने वर्षाको प्रणाली सुस्ताएको हो ।’

उनी भन्छन्, ‘हिउँद अवधिमा पश्चिमी वायुको प्रणाली बलियो भएर कम्तीमा ४–५ वटा श्रृंखला आउनुपर्नेमा त्यसो हुन नसक्दा सुक्खा दिन बढिरहेको छ ।’
विज्ञहरुका अनुसार केही वर्षयता गण्डकी प्रदेशभन्दा पूर्वी भागमा हिउँदयाममा पानी पर्न छाडेको छ । ‘पहिलेको जस्तो हिउँदे झरी हरायो, गण्डकी भन्दा पूर्व त झन् पानी पर्नै छाडेको जस्तो देखिएको छ, उल्टो ताता वर्षहरु बढेका छन्,’ वरिष्ठ मौसमविद पौडेल भन्छन्, ‘माघ महिनाको मध्यतिर आउँदा धेरैबेर घाम ताप्नै नसक्ने अवस्था भइसकेको छ ।’
सुक्खासँगै बढे ताता वर्ष
मौसमविदका अनुसार केही वर्षयता सुक्खायामसँगै ताता दिन र ताता रात पनि बढ्दै गएका छन् । न्यूनतम तापक्रमले रातको समयको (सूर्यास्तपछि र सूर्योदयभन्दा अघिको) र अधिकतम तापक्रमले दिउँसोको (सूर्योदयपछि र सूर्यास्तभन्दा अघिको) समयको तापक्रमलाई जनाउँछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँद अवधिको सरदर न्यूनतम तापक्रम ८.८२ डिग्री सेल्सियस र सरदर अधिकतम तापक्रम २२.९६ डिग्री सेल्सियस हो । यो सन् १९९१ देखि सन् २०२०सम्म (३० वर्ष अवधि) मा २० वटा केन्द्रबाट लिइएको औसत तापक्रमको आधारमा निकालिएको हो ।
विभागका अनुसार पछिल्ला पाँच वर्षलाई हेर्दा सन् २०२० र २०२२ मा अधिकतम तापक्रम सरदरभन्दा कम मापन भएको छ ।

तर सन् २०२१, २०२३, २०२४ र २०२४ मा भने अधिकतम तापक्रम सरदर भन्दा बढी छ । अर्थात् यी वर्षहरुमा दिउँसोको समय ताता छन् ।
जलवायु परिवर्तनको असरका कारण पृथ्वी तात्दै गएको बताउँछन् । युरोपियन युनियन अन्तर्गतको कोपर्निकसले सार्वजनिक गरेको तथ्यांकले पनि त्यसलाई पुष्टि गर्दछ । कोपर्निकसको तथ्यांक अनुसार पछिल्ला ११ वर्ष हालसम्मकै ताता वर्ष बनेका छन् । सन् २०२५ तापमानको अभिलेख राख्न थालिएयताकै तेस्रो तातो वर्षका रुपमा दर्ज भएको छ ।
औपचारिक रुपमा सन् १८५० देखि विश्वको तापमानको अभिलेख राख्न थालिएको हो । सन् २०२३, २०२४ र २०२५ लगातार ताता वर्षका रुपमा दर्ज भएका छन् ।
बहुपक्षीय असर, अनुकूलनमा जोड
सुक्खा र ताता वर्षले नेपाल पनि प्रभावित भएको छ । हालसम्मको स्थितिले नेपालमा यो वर्षको हिउँद औसतभन्दा निकै सुक्खा रहने र त्यसको दीर्घकालीन असर प्रि–मनसुनसम्मै पर्ने संकेत देखिएको विज्ञहरु बताउँछन् ।
हिउँदे वर्षा नहुँदाका प्रभावहरूलाई विज्ञले मुख्य गरी चार क्षेत्र (कृषि, जलविद्युत्, पर्यटन र वन डढेलो) मा वर्गीकरण गरेका छन् ।
सुक्खापनका कारण हिउँदे र नगदे बाली प्रभावित भएका छन् । मध्य पहाडी र हिमाली क्षेत्रमा पानी अभावमा कतिपय किसानले खेती गर्न छाडेका छन् । खोलाको बहाव कम हुँदा र हिमालमा पर्याप्त हिउँ सञ्चित हुन नसक्दा जलविद्युत् उत्पादनमा कमी आउने जोखिम बढेको छ । हिउँ नपर्दा हिमाल काला देखिन थालेका छन्, जसले पदयात्रा र हिमाली पर्यटनको आकर्षण घटाउन सक्ने जोखिम छ । यसैगरी सुक्खापनले वन डढेलोको जोखिम पनि बढाएको छ ।

मौसमविद सिग्देल भन्छन्, ‘हिउँदमा पर्याप्त पानी र पर्याप्त हिउँ नपर्दा मुख्य गरी कृषि, जलविद्युत्, पर्यटन क्षेत्रमा समस्या देखिए पनि यीसँग जोडिने बहुआयामिक असरहरु हुन्छन्, जुन चिन्ताजनक छन् ।’
कृषि विज्ञहरु लगातारको सुक्खाले बालीनाली प्रभावित हुने र खेती प्रणाली बिथोलिएर खाद्य संकट नै आउनसक्ने चेतावनी दिन्छन् ।
त्यसैले जलवायु अनुकुलनका उपाय अपनाउन जरुरी भइसकेको उनीहरुको भनाइ छ ।
कृषिविज्ञ डा.कृष्णप्रसाद पौडेल भन्छन्, ‘बदलिँदो मौसमसँगै हामीले अनुकूलनका उपाय अपनाउन जरुरी भइसकेको छ । अब मौसम अनुसारको दैनिकी, खेतिपाती र पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । जलवायु परिवर्तनको खास विशेषता नै तापक्रमको बढोत्तरी र पानीको अनिश्चतता हो । अहिले हाम्रो मौसम अनुसार बनाइएको परम्परागत खेतीपातीको पात्रो जलवायु परिवर्तनको कारण खलबलिएको छ । त्यसैले अब खेतीपात्रो नै अनुकूलन बनाउन जरुरी छ ।’
