प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार

अहिलेको एसाइलम अस्वीकृत दर कायम रहे केहीबर्षमा कम्तीमा ६ हजार नेपालीले अमेरिकाबाट देशनिकालाको आदेश पाउने देखिएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अहिले अध्यागमन अदालतमा नेपालीका झण्डै १० हजार एसाइलम आवेदन विचाराधिन रहेका छन् । झण्डै ५ हजार आवेदन युएससीआईएसमा विचाराधिन रहेको अनुमान आँकलन गरिएको छ । यसरी झण्डै १५ हजार आवेदन विचाराधिन रहेका छन् ।
हाल अमेरिकाको अध्यागमन अदालतमा नेपालीको एसाइलम स्वीकृत दर झण्डै ६० प्रतिशत रहेको तथ्यांक अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस, एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०२४ को तथ्यांक अनुशार नेपालीहरुको एसाइलम स्वीकृत दर विश्वका उच्च स्वीकृत दर भएका देशकै हाराहारीमा रहेपनि अघिल्लो अर्थिक बर्षको तुलनामा भने घटेको हो । आर्थिक बर्ष २०२३ मा नेपालीको एसाइलम स्वीकृत दर ६४ प्रतिशत थियो ।
आर्थिक बर्ष २०२४ मा अध्यागमन अदालतमा सुनुवाई भएका कुल ८२६ जना नेपालीका एसाइलमका मुद्दाहरुमध्ये ४९३ स्वीकृत भएका थिए । १२८ मुद्दाहरु अस्वीकृत भएका थिए भने १० मुद्दाहरु आवेदकले त्यागेका थिए । १८५ मुद्दाहरुको सुनुवाईपछि समेत निर्णय पेन्डिङ राखिएको थियो भने १० मुद्दाहरु आवेदकले फिर्ता लिएका थिए । प्रशासनिक रुपमा बन्द गरिएको मुद्दाहरुको संख्या अत्यन्तै कम भएकाले तथ्यांकमा रिपोर्ट गरिएको छैन ।
आर्थिक बर्ष २०२३ मा नेपालीका ९३६ एसाइलमका मुद्दामा अध्यागमन अदालतमा सुनुवाई भएको थियो । जसमध्ये ६०१ अर्थात् ६४ प्रतिशत मुद्दा स्वीकृत भएका थिए । अस्वीकृत मुद्दा १२३ अर्थात् १४ प्रतिशत थिए भने २०६ अर्थात् २२ प्रतिशत मुद्दामा सुनुवाईपछि निर्णय पेन्डिङ राखिएको थियो ।
आर्थिक बर्ष २०२३ मा क्रेडिबल फियर दावीबाट उत्पन्न भएका ३३५ अर्थात् ७२ प्रतिशत नेपालीका एसाइलम मुद्दाहरु अध्यागमन अदालतबाट स्वीकृत गरिएको थियो । ७१ वटा अर्थात् १५ प्रतिशत अस्वीकृत गरिएको थियो भने ६१ अर्थात् १३ प्रतिशत त्यस्ता मुद्दाहरुमा सुनुवाई पछि पनि निर्णय पेन्डिङ राखिएको थियो ।
क्रेडिबल फियर दावीबाट उत्पन्न भएका नेपालीका एसाइलमका मुद्दाको स्वीकृति दर पनि आर्थिक बर्ष २०२४ मा घटेको थियो । आर्थिक बर्ष २०२४ मा कुल ३५३ नेपालीका त्यस्ता मुद्दाको सुनुवाई भएकोमा २४१ अर्थात् ६८ दशमलव ३ प्रतिशतमात्र स्वीकृत भएका थिए भने ५२ वटा मुद्दाहरु अस्वीकृत भएका थिए । त्यस्तै ६० वटा त्यस्ता मुद्दाहरुमा सुनुवाई पछि पनि निर्णय पेन्डिङ राखिएको थियो ।
सन् २०२२ मा ४८८ जना नेपालीहरुको एसाइलम अध्यागमन अदालतबाट स्वीकृत भएको थियो । कोरोना महामारीका कारण आर्थिक बर्ष २०२० र २०२१ मा अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाउने नेपालीहरुको सख्या अत्यन्तै कम भएको थियो । अदालतका सुनुवाईहरु स्थगित भएका कारण २०२१ मा जम्मा १४३ जना नेपालीहरुले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाए । त्यस्तै २०२० मा अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाउने नेपालीहरु ३०८ मात्र रहेका थिए ।
पहिलो ट्रम्प प्रशासनका कालमा सन् २०१९ मा भने अमेरिकी अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्यामा रेकर्ड ब्रेक भएको थियो । उक्त बर्ष इतिहासमा नै सबैभन्दा धेरै ६०६ जना नेपालीहरुको अमेरिकाको अध्यागमन अदालतले एसाइलम स्वीकृत गरिदियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार सन् २०१८ मा ४७०, सन् २०१७ मा २९०, सन् २०१६ मा २६०, सन् २०१५ मा २५०, सन् २०१४ मा २९२, सन् २०१३ मा ३८१ जना नेपालीहरुले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाएका थिए ।
अमेरिकी अध्यागमन अदालतमा हाल विचाराधिन रहेका झण्डै १० हजार एसाइलमका मुद्दाहरुमध्ये झण्डै ३८ सय केसहरु न्युयोर्कको अध्यागमन अदालतमा छन् भने दोश्रोमा टेक्सासमा झण्डै २५ सय र तेश्रोमा क्यालिफोर्नियामा झण्डै २२ सय केसहरु विचाराधिन रहेका छन् । डिसेम्बरसम्म नेपालीका १५ हजार ६ सय २७ एसाइलमका मुद्दामा फैसला भएकोमा ७ हजार ६ सय ६२ जनाको एसाइलम स्वीकृत भएको थियो भने ३४७७ जनाले देशनिकालाको आदेश पाएका थिए । १६८७ को प्रकृया खारेज गरिएको थियो भने ६३३ जनाको अन्य तरिकाले मुद्दा बन्द गरिएको थियो । ६१० जनालाई स्वेच्छिक प्रस्थानको विकल्प दिइएको थियो भने ४५४ जनाको क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो ।