‘हामीले दाउरा भेला गर्‍यौँ, जेनजीले सलाई कोरे, कसैले आगो तापे, कसैले रोटी सेके’


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले जेन–जी आन्दोलनको पृष्ठभूमि र त्यसपछि विकसित घटनाक्रमबारे ४८ बुँदे समीक्षा गरेका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बिहीबार आफ्नो धारणा प्रस्तुत गर्दै ४८ बुँदे समीक्षा सुनाएका हुन्।  

यस्तो छ विश्वप्रकाशको समीक्षा

अबको कांग्रेस, अबको देश, जलेको विश्वास जगाऔँ समाजमा

सिके प्रसाईंले लेख्नुभएको दुई वाक्य स्मरण गर्न आजको मितिमा म पार्टीका सबै आदरणीय नेता र सबै आदरणीय साथीहरूमा अनुरोध गर्दछु।   पहिलो–हामी राजनीतिकर्मी कतिपय बेला आफ्नो स्तरबाट मात्र सोच्छौं र जनताको स्तरबाट सोच्दैनौं भने त्यसले दुष्परिणाम ल्याउँछ। दोस्रो–हामी सहजै भुल गर्छौं, तर सहजै स्विकार्दैनौं, स्वीकार गर्दा शब्दमा स्विकार्छौं, व्यवहारमा सच्याउँदैनौं।  

वर्षौंअघि उहाँले लेख्नुभएका यी शब्दमा रहेको सन्देश र मर्म गहिरोसँग आत्मसात गर्नसक्यौं भने भदौ २३ र २४ मा देशमा किन विद्रोह भयो, बुझ्न हामीलाई सहज हुनेछ।  

दुई यक्ष प्रश्न

देशमा फेरि पनि रगत बग्यो, अबोध युवाहरू मारिए, करोडौं मन जले, खर्बौंको धन जले, सबैभन्दा ठुलो विश्वास जल्यो। एकापसको भरोसा जल्यो। यस्तो बेला कांग्रेसको नेतृत्वमा रहेका हामीले आफूले आफैंलाई सोध्नुपर्ने दुई यक्ष प्रश्न छन्–

१) नागरिकले मत दिएर नेपाली कांग्रेसलाई सबैभन्दा ठुलो दल बनाए, भरोसा र विश्वास गरे। तर हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र समयमै सम्बोधन गर्न किन सकेनौं?  

२) यो परिघटनापछि परिस्थितिलाई सम्हाल्दै देशलाई नयाँ मोडमा लैजान वस्तुगत आत्मसमीक्षा र इमानदार आत्मालोचना गर्दै हामी नवीन मनोविज्ञान र नवीन इच्छाशक्तिले अघि बढ्नसक्छौं कि सक्दैनौं? देशमा यस्तो स्थिति भविश्यमा दोहोरिन नदिन दुरगामी सोच र विश्वसनीय मार्गचित्र हामी देशसमक्ष पेस गर्नसक्छौं कि सक्दैनौं?

हामी जान्दछौं–चर्को आवाज बम बिष्फोटनको हुन्छ, विचारको प्रस्फुटन मधुर हुन्छ, यो तथ्य हृदयंगम गर्दै विद्यमान विमतिको बेला हामीले संयम र परिपक्वतासाथ विषय केलाउन र मार्ग पहिल्याउन जरुरी छ!

समग्रमा जेनजी विद्रोह, अबको राजनीति र अबको बाटोका बारेमा म चार खण्ड ४८ बुँदामा आफ्नो धारणा राख्न चाहन्छु!

पहिलोः किन भयो जेनजी विद्रोह?

भदौ २३ र २४ को घटनामा जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सबै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु !

१) हामीले राजनैतिक, आर्थिक, प्रशासनिक, सामाजिक या कुनैपनी प्रश्नमा लगातार जे उत्तर पस्किरहेका थियौँ, त्यसले नागरिक पंक्तिलाई छुन सकिरहेको थिएन। हामीले मापन गर्ने गरेको आर्थिक वृद्धिदर उसैपनि कमजोर छँदैथियो, जागिरको तलबले धान्न नसक्ने बजार मूल्यका सामु, जागिरको खोजीमा भौंतारिरहेको बेरोजगार युवाको अवस्था झन् कस्तो थियो अनुमान गर्न सकिन्छ?  

जसले सुनिरह्यो– भ्रष्टाचारका प्रकरण,

जसले देखि रह्यो–भौतिक पुर्वाधार निर्माणको ढिलाइ,

जसले भोगिरह्यो– प्रसासनिक झन्झट

के ऊ हामीसँग खुसी थियो होला?

२) केही वर्षयता नेपाल श्रीलंका बन्ने आर्थिक मन्दीको त्रास र मनोवैज्ञानिक दबाब चलिरहेको थियो। व्यवसायी खासगरी साना व्यवसायी हतोत्साहित बनिरहेका थिए। इलामका प्रेम आचार्यले संसद् भवनअघि गरेको आत्मदाह चरम निराशाको ‘आत्मविद्रोेह’ थियोे। त्यो प्रकृतिको चरम असन्तुष्टिलाई क्रमश नरम बनाउँदै, नयाँ आशा जगाउने गति बढाउन नसक्दा स्थिति प्रतिकुल बन्दै गयो। हामीले कमजोरीका दाउरा भेला ग¥यौं, सलाइ जेनजीले कोरे, कसैले आगो तापे, कसैले रोटि सेके !

३) राजनीतिमा ‘मौसम खराबीको सूचना’ ०७९ को स्थानीय निर्वाचनले दिइसकेको थियो, हामीले त्यसलाई गम्भीरतापुर्वक लिएनौं। ०७९ को आमनिर्वाचनबाट केही नयाँ दलको उदय मुलतः हामीप्रति नागरिक असन्तुष्टिको संगठित प्रकट थियो। मौसममा आउँदै गरेको खराबीलाई चिनेर सरकार र संगठन दुवैमा अपेक्षित सुधार गर्न नसक्दा अन्ततः त्यो असन्तुष्टि सडकमा पोखिन पुग्यो।  

४) वितेको ३४ वर्षमा देशमा ३० पटक सरकार परिवर्तन भयो। यो आफैंमा हाम्रो अयोग्यता, चरम अस्थिरता र लज्जास्पद तथ्यांक हो।  हामीले सोच्यौँ–सरकार परिवर्तनको प्रत्येक मोडले आशा जगायो होला। तर लामो अस्थिरताले आशा होइन क्रमशः निराशामा धकेल्यो देशलाई।

५) सरकार बदलिए पनि नीतिगत स्थिरता छ, अतः समुन्नतिको यात्रालाई असर पर्ने छैन भन्न मिल्ने अवस्था पनि हामीले बनाएनौँ। जुन देशमा विकासको प्राथमिकता बदलिइरहन्छ, या लहडमा योजना बनाइन्छन् या भत्काइन्छन्, या राजनैतिक लाभको कोणबाट बजेट विनियोजन गरिन्छ, स्वभाविक छ त्यस्तो देश प्रगतिको अपेक्षित गतिमा अघि बढ्न सक्दैन।

६) यद्यपि अस्थिरताका बिचपनि बितेको ३० बर्षमा शिक्षा, स्वास्थ, संचार र भौतिक पूर्वाधारको क्षेत्रमा अनेकन काम भएका थिए। निजी क्षेत्रको व्यापक बिस्तार हाम्रै नीतिको सहउत्पादन थियो। तर भ्रष्टाचारका अनेकन प्रकरणको चर्चा र सुशासनको अभावका कारण जे–जति प्रगतिका काम भएका थिए ती सबै ओझेलमा परे।

७) संघीयतामा गयौं तर प्रदेशलाई दिनुपर्ने अधिकार हस्तान्तरण गर्न ढिलाइ माथि ढिलाइ गरेर हामीले प्रदेश सरकारहरुलाई अपेक्षित रूपले सबल र सफल हुन सघाएनौं। सिंहदरबारसँग खुशी र सन्तुष्ट स्वयं मुख्यमन्त्रीहरु थिएनन् तर हामी भने दुरदराजका नागरिक पनि हामीसँग खुशी छन् भन्ने भ्रममा रह्यौं।  

८) खेतीको समयमा किसानले सन्चले मल नपाउँदा, भुक्तानी माग्दै उखु किसान काठमाडौ धाउनुपर्दा, खेतको डिलमा उभिएर कुनैपनि किसानले सरकार जिन्दावाद भन्दै–भन्दैन! राज्यले तोकेको न्युनतम ज्याला पाउन पनि पटकपटक दबाब दिनुपर्दा कुनै श्रमिकले खुसीको गीत गाउन कसरी सक्छ? प्रशासनिक कार्यालयमा घन्टौं उभिएको सेवाग्राहीले झन्झट भोगेपछी सरकार र सरकारमा रहेकोे दलको प्रशंसा कसरी गर्नसक्छ?

९) हामीले विश्वविद्यालयहरुको नेतृत्व चयन गर्न कुनै मर्यादित बिधिको विकास यो ३० बर्षमा गरेनौँ। भागबन्डाको सजिलो फर्मुला छँदैथियो। विश्वविद्यालय पनि अनि अस्पतालको नेतृत्वसम्म पनि हामीले भागबन्डा टुंग्यायौं। उपयुुक्त व्यक्तिको चयन हुँदा पनि भागबन्डामा परेर नियुक्त भएको सन्देश जाने बित्तिकै ‘मेरिटोक्रेसी’ स्थापित नगरेको दोष हामीले भोग्नुप¥यो अनि नकारात्मक छविले आकार लियो।

१०) नेपालको समुन्नतिका लागि संसारसँग परिपक्व कुटनैतिक र व्यवसायिक सम्बन्ध स्थापित गर्ने हाम्रो माध्यम हाम्रा राजदुतहरु थिए। तर कुटनैतिक सेवामा सुयोग्य व्यक्तित्व कयौं हुँदाहुँदै हामीले राजदुत नियुक्तिमा पनि भागबन्डामा ग¥यौं। कतिपय छनौट उपयुक्त नै थिए, तर मुलत यसले हाम्रो विधिउपर प्रश्न उठिरह्यो र नागरिक पंक्तिमा नकारात्मक छवि बढाउन योगदान पु¥यायो।

११) यसो फर्किएर हेरौं त–राजनीतिकरणले ग्रस्त हुन बाँकी कुन क्षेत्र थियो? नागरिक आजित थिए कि थिएनन् यसबाट? हरेक क्षेत्रको आफ्नै मर्यादा, आफ्नै अलग पहिचान, आफ्नै अलग व्यवसायिक मनोविज्ञान हुन्छ भन्ने गहिरो वास्तविकता बुझ्न हामीले किन चाहेनौँ? किन हरेक ठाउँमा हामीलाई ‘आफ्ना’ मान्छे चाहिए? यसले दिने दुष्परिणाम अनुमान नगर्नु हाम्रो गम्भीर भुल थियो।

१२) हाम्रा कतिपय व्यवहारले नागरिकको असन्तुष्टिको आगोमा क्रमशः चरु हालिरहेका थिए। महिना दिनमा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुनुनपर्ने, बजेट निर्माण गर्दा अमुक–अमुक क्षेत्रमा रकम लग्न अर्घेल्याई गरियो भन्ने खबर आउने। सुशासन स्थापित गर्ने जिम्मा बोकेको मन्त्रीले नै त्यसमा आघात पु¥याउने। सम्झौं त– जेनजी प्रदर्शनको दुइदिन अघि एक मन्त्रीको मोटरले एक बालिकालाई ठक्कर दिएर भागेको घटना के सभ्य समाज सुहाउँदो विषय थियो? विलकुलै थिएन।

१३) वैदेशिक रोजगारीबाट फर्किंदा कतिपय युवाले एयरपोर्टमै राम्रो व्यवहार नपाएको अप्रीय खबर पटकपटक सार्वजनिक भएका थिए। त्यसलाई नियन्त्रण गरेर सम्मानजनक वातावरण बनाउन नसक्नु हाम्रो कमजोरी थियो। घटना एकदुई भए होलान् तर हामीले पठाएको रेमिट्यान्सले देश चल्ने अनि हामीमाथि यस्तो व्यवहार गर्ने भन्ने मनोबिज्ञान चाहिँ लाखौंमा गएको थियो।

१४) सामाजिक सञ्जाल सम्बन्धि विधेयक सत्ता गठबन्धनमा सहमति बेगर सरकारले दर्ता गरेको थियो। त्यसप्रति विशेषतः युवाहरूमा रोष छँदैथियो, सञ्जालहरू नेपालमा दर्ता गर्न यसकारण अनिवार्य जरुरी छ भन्ने ‘न्यारेटिभ’ विकास नगरी बन्द गर्दा र त्यसले उत्पन्न गर्ने प्रतिक्रियाले गम्भीर दुष्परिणाम ल्याउनसक्छ भन्ने आकलन गर्न नसक्दा अन्ततः त्यसले देशलाई जेनजी विद्रोहमा पु¥यायो।

१५) तत्कालीन मुख्य कारण सामाजिक सञ्जाल बन्द देखिए पनि यो विद्रोहका पछिल्तिर थुप्रै राजनैतिक, आर्थिक , सामाजिक कारण थिए। असन्तुष्टि र निराशाको मैदानमा घुसपैठ गरेर त्यसलाई ध्वंसमा पु¥याउनेहरूले त मौकाको उपयोग गरे नै तर मानवीय क्षती बेगर भिड व्यवस्थापन गर्ने चुस्त र प्रबल रणनीति राज्य संयन्त्रबाट फेरिपनी प्रस्तुत भएन, यो दुर्बल र दुःखद चित्रको चिरफार अझै जरुरी छ।

१६) समग्रमा भदौ २३ र २४ को समीक्षा पुर्वाग्रहमुक्त भएर आत्मालोचित मनोविज्ञानले गर्न जरुरी छ। नागरिकमा रहेको प्रश्न, असन्तुष्टि र निराशाको एकएक कारण पहिचान नगरी हामी सतही विश्लेषण मार्फत कस्तै औषधिले पनि दीर्घकालीन उपचार गर्नसक्ने छैनौं। यसमा सर्वप्रथम हामी स्पष्ट हुनुछ र विगतमा लामो या छोटो अवधि सरकारमा बसेका प्रत्येक दललाई विश्वासमा लिनुछ।

१७) गल्ती पहिचान गर्ने, आत्मसात गर्ने, आत्मालोचना गर्ने कर्मले नयाँ ढंगले अघि बढ्ने संकल्पलाई विश्वसनीय बनाउनेछ। जिम्मेवार व्यक्ति र जिम्मेवार दलले यसलाई सहज ढंगले ग्रहण गर्ने सामथ्र्य राख्नुपर्छ। हामी जान्दछौँ– हाम्रो नवीन यात्राको प्रारम्भ बिन्दु यहि हो।

दोस्रोः मुद्दा पहिचान र सम्बोधन

१८) विगतमा भएका प्राय सबै परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएका थिए, मधेस आन्दोलनले संघीयताको माग बलियो ढंगले अघि सारेपछि संवाद र समन्वयसाथ संविधानमा व्यवस्थित गर्ने कार्य अन्ततः नेपाली कांग्रेसले नै गरेको थियो। पछिल्लो समय जेनजीलगायत नवयुवाले अघि सारेका मुद्दा र भावनाको सम्बोधन पनि अन्ततः कांग्रेसले नै गर्ने इच्छाशक्ति, संकल्प र योजना निर्माण गरेर हामी अघि जानुछ।

१९) यसो गरिरहँदा विगतमा ०६२÷६३ को जनान्दोलन र मधेस आन्दोलनले स्थापित गरेका उपलब्धिलाई कुनै असर नगरी त्यसलाई अझ समुन्नत बनाउनेतर्फ हामीले हेक्का राख्न जरुरी छ। पछिल्लो आन्दोलनलाई सम्बोधन गर्न अघिल्लो आन्दोलनले खडा गरेका स्तम्भहरू भत्कायौं भने त्यसले भोलि अर्को विद्रोहका लागि मार्गप्रशस्त गर्नेछ। यसलाई गहन रुपमा बुझ्न हामीले सबै दल र जेनजी प्रदर्शनका अगुवा युवाहरूलाई खुला संवादमार्फत विश्वासमा लिनुपर्छ।

२०) जेनजी प्रदर्शन हुँदैगर्दा ३ मुख्य माग अघि सारिएको थियो।  

सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर र सुशासन स्थापना गर। यसमध्ये एउटा पूरा भइसकेको छ, बाँकी दुई पूरा गर्न सरकार र दलहरूले साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरुपको व्यवहार प्रस्तुत गर्न जरुरी छ।

२१) विगतका आन्दोलनहरुले शासन प्रणाली कस्तो हुने, भन्ने विषयलाई केन्द्रमा राखेका थिए। त्यस अनुरुप लोकतान्त्रिक शासन प्रणाली देशमा स्थापित छ। जेनजी विद्रोहले त्यो प्रणाली भित्र मुख्य रूपमा सुशासन खोज्यो, नवयुवाहरुको यो उद्घोष, संकल्प र सपना हामी सबैको साझा दायित्व थियो, दायित्व हो। भ्रष्टाचार नियन्त्रण निर्मम ढंगले गर्दै सुशासन स्थापित गर्न हामी सफल भयौं भने अन्ततः श्रेय जेनजीलाई नै जानेछ, जानुपर्छ। तर हेक्का राखौं–अलमल र अयोग्यताले यो भावनामा तुषारापात भयो भने, भविश्यमा जेन–अल्फाको नेतृत्वमा अर्को विद्रोह हुनसक्छ। त्यस्तो स्थिति आउन नदिने संयुक्त जिम्मेवारी र कर्तव्य दलहरू र जेनजी सबैको हो।

२२) कसैले भदौ २४ को आगजनीको कुरा गर्ने २३ गते अबोध युवाहरू मारिएको घटनालाई दोस्रो प्राथमिकता राख्ने। कसैले भदौ २३ को घटना सम्झिने तर २४ गतेको ध्वंसलाई बिर्सने। यो प्रवृत्तिले हामीलाई फेरि द्वन्द्वमा धकेल्नसक्छ। २३ गतेको घटनाको निष्पक्ष  अनुसन्धान र कारबाहीको विषयमा तत्कालीन सत्तापक्ष रहेका नाताले हामी स्पष्ट रूपले प्रतिबद्ध छौं, प्रतिबद्ध रहनुपर्छ। सँगैमा २४ गतेको ध्वंसको एकएक दोषीलाई कानुनी कठघरामा उभ्याउने विषयमा जेनजी अगुवाहरु दृढ़ र स्पष्ट ढंगले बोल्न र प्रतिबद्ध रहन जरुरी छ।  

घोषणा गरिएको शान्तिपूर्ण आन्दोलन भित्रको हिंसात्मक पाटोलाई आफ्नो काँधबाट उतारेर जोजो दोषी छन्, तिनैलाई त्यसको सजायको भारी बोकाउन जेनजी युवाहरूले किमार्थ ढिलाइ गर्नुहुन्न।

तेस्रोः लोकतान्त्रिक प्रणालीमा समयानुकूल ‘रिफर्म’

आजको मितिमा नेपाल संसदीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको बाटोमा छ र आगामी दिनमा पनि यहि बाटोबाट समुन्नतिको यात्रामा अघि बढ्नेछ। तर यहि प्रणालीभित्र रहेर काममा गति बढाउन, स्थिरता राख्न र सुशासन कायम गर्न निश्चित केही रुपान्तरणका कार्य गर्न जरुरी छ।

२३) आगामी संसदको पहिलो अधिवेशनमा प्रस्तुत गरेर पारित गर्नेगरी सरकार, राजनैतिक दलहरू र जेनजी प्रतिनिधि समेतबीच आमनिर्वाचनमा जानुपूर्व ‘प्रणाली रिफर्म’का केही महत्त्वपूर्ण पक्षमा साझा धारणा निर्माण गर्नु उपयुुक्त हुन्छ।

२४) बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नसकेको दुःखद विगत दृस्टिगत गरेर स्थिर प्रधानमन्त्री र स्थिर सरकारका लागि केही नवीन दृष्टी खोजी गरौं। सबैभन्दा पाको र सबैभन्दा जिम्मेवार राजनैतिक दलका रुपमा हाम्रो कर्तव्य बन्दछ, अन्य राजनैतिक दल, बुद्धिजीवी, जेनजी, विज्ञ सबैसँग खुल्ला संवाद गरौं। विभिन्न दृष्टिकोणहरु उपर बहस गरौं र एउटा साझा निष्कर्षमा पुगौं।

२५) केन्द्रीय समितिको अघिल्लो बैठकमा ०८२ असार २३ गते सोमबार मैले पाँचवर्षे प्रधानमन्त्रीका लागि ‘फुल टर्म प्राइममिनिस्टर एक्ट’को अवधारणा मौखिक रूपमा प्रस्तुत गरेको थिएँ। आज त्यो फेरि संक्षिप्त तर लिखित रूपमा प्रस्तुत गरेको छु।

पाँचवर्षे प्रधानमन्त्रीका लागि ५ स्टेपको प्रस्ताव  

१) आमनिर्वाचनमा प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने। (अर्थात–दोस्रो÷तेस्रो या अन्य दल पूरै अवधि सरकारबाहिर विपक्षमा बस्ने)

२) पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा ‘विनर्स टेक अल’को सिद्धान्तबमोजिम निर्वाचन अघि नै आयोगमा बुझाइएको विज्ञहरुको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने। (ल्याट्रल इन्ट्रीको अवधारणाबमोजिमको सुची दलहरूले व्यक्तिको योग्यता विवरण सहित निर्वाचन पूर्व नै सार्वजनिक गर्नुपर्ने)

३) पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने। (मन्त्रीपरिषद्को गठन एकै चरणमा गर्ने, प्रधानमन्त्रीले मन्त्रीको चयन सम्बन्धित मन्त्रालयको विज्ञताका आधारमा गर्ने)

४) त्यसरी बनेको प्रधानमन्त्रीले सपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसदमा विश्वासको मत लिने। दुईवर्ष पुगेपछि त्यसको ३० दिनभित्र पुनः विश्वासको मत लिने। पछिल्लो पटक विश्वासको मत लिँदा दुईबर्षे कामको निश्चित सुचकहरुका आधारमा मात्रै विश्वासको मत पाउने÷नपाउने टुंगो लाग्ने। विश्वासको मत पुनःप्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधी देशको नेतृत्व गर्ने।

(तर राष्ट्रिय अखण्डता र लोकतान्त्रिक संविधानको मर्ममा गम्भीर आघात पु¥याउने कार्य प्रधानमन्त्रीबाट भएको प्रमाणित भएमा कुनै निश्चित प्रक्रियाबमोजिम निजलाई संसदले पदमुक्त गर्नसक्ने। त्यस्तो मुद्दामा सांसदहरुले स्वतन्त्र ढंगले मत व्यक्त गर्न पाउने)

५) कोहि पनि व्यक्ति दुईपटक मात्रै प्रधानमन्त्री बन्न सक्ने।(वान, टु, थ्री, फोरको सिद्धान्त बमोजिम)  

२६) निर्वाचन क्षेत्रको पुनरावलोकन गरेर संघ र प्रदेश दुवैमा निश्चित आकार घटाउन जरुरी छ। संघमा ११ र प्रदेशमा ५ सदस्यीय मन्त्रीमण्डल बनाउने। संवैधानिक परिषद मार्फतबाट हुँदै आएका नियुक्ति मध्ये कतिपयलाई खुला प्रतिस्पर्धा मार्फत निश्चित सूची तय गरेर अन्तिम छनौटमा पुग्ने। अख्तियारको पुनर्संरचना गर्न अनिवार्य जरुरी छ, छलफलबाट यसबारे नयाँ दृष्टि निर्माण गर्ने। कुनै पनि प्रकृतिको नियुक्तिमा ‘इन्टीग्रिटी भेटिङ सिस्टम’मार्फत व्यक्तिको नैतिकता र ईमानको परीक्षण अनिवार्य गर्ने।

२७) प्रणालीमा रिफर्मको छलफल र सहमतिपूर्वक संविधान संशोधन गर्न सकिने विषयहरु पहिचान गरेर त्यसमा नेपाली कांग्रेसले सर्वपक्षीय संवादका लागि नेतृत्वदायी अग्रसरता लिनुपर्छ। यो हाम्रो यसअघिकै प्रतिबद्धता पनि हो। अब कार्यदल निर्माण गरेर विधिवत रुपले यो विषयमा प्रवेश गरौं।

चौथोः पार्टीमा मनोवैज्ञानिक र व्यवहारिक ‘रिफर्म’  

‘हामी अब नयाँ’को संकल्प र मनोविज्ञान

पार्टीको प्रधान नेतृत्व आदरणीय सभापति शेरबहादुर देउवा र उहाँको धर्मपत्नी माथि भौतिक आक्रमण कांग्रेसको समग्र जीवनको सबैभन्दा अनपेक्षित र दुःखद घटना हो। घटनालगत्तै दुवै महामन्त्रीको संयुक्त वक्तव्यबाट यसको भत्सर्ना गर्दै घटनालाई निन्दनीय करार हामीले गरिसकेका छौं। सभापतिज्युसँगको भेटमा पनि हामी सबैले स्थितिको संवेदनशीलताप्रति सहानुभूति र उहाँप्रति व्यक्तिगत आदर प्रकट गर्ने कार्य भएको छ।  

घटनाको १० दिनपछि संविधान दिवसका दिन कार्यसम्पादन समितिको बैठक मार्फत पार्टीमा ‘रिफर्म’ गरेर जाने विषय छलफलमा प्रवेश भएको छ। हामीले संयम, एकता र परिपक्वतासाथ बदलिएको समय अनुकूल, बदलिएको चुनौती बलियो ढंगले सामना गर्ने ढंगले पार्टीमा रुपान्तरण सुनिश्चित गर्नुछ।

२८) ड्राइभिङ सिटको छेउमा रहेर, सहकार्यको जिम्मेवारीका नाताले हाम्रो भागमा पनि असफलताको निश्चित अंश लाग्छ। त्यसलाई स्विकार गरेरै हामीले भनेका हौँ–अब पुरानै ढंगले जान सकिन्न, नयाँ परिस्थिति विकास गर्न, मनस्थिति नयाँ बनाएर सोचौं। अंग्रेजीमा भनिन्छ ‘यु कान्ट क्रियट अ न्यु फ्युचर, विथ होल्ड ह्याबिट्स’ निश्चय नै पुरानै आनीबानीले चलेर नयाँ भविश्य निर्माण गर्न सकिन्न। हामी सबैको साझा आत्मालोचनाले  नयाँ यात्राको नयाँ ढोका खोल्न अग्रसर बनौं।  

२९) जननायक बिपी कोइरालाले २०१५ सालको निर्वाचनअघि पार्टीको कमजोरी केलाउँदै देशभरका साथीहरूलाई ७ बुँदे पत्र पठाउनु भएको थियो। त्यो पत्र हामीले आजको मितिमा फेरि पढ्न र आत्मसात गर्न जरुरी छ।  सो पत्रको दोस्रो बुँदामा बिपी भन्नुहुन्छ–हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौँ। हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौँ। आज देश विषम परिस्थितिमा रहेका बेला बिपीले केलाउनु भएको यो कमजोरीबाट हामी जोगिएनौं भने हामी न पार्टीलाई ठिक ढंगले अघि बढाउन सक्छौं, न त देशलाई सहि नेतृत्व दिन सक्नेछौं।  

३०) पार्टीमा आज ‘पुरानो भावनाको कांग्रेस÷नवीन सम्भावनाको कांग्रेस’को मनोविज्ञान, संकल्प र योजना जरुरी छ। पार्टी भन्नू भिन्नभिन्न स्वभाव, समुदाय, योग्यता र प्रयासहरूको संमिश्रण हो। हामीले एकलाई सुन्दै गर्दा, अर्कोलाई पनि उत्तिकै सुन्न र समेट्न जरुरी हुन्छ। पटकपटक सत्तामा गएर बस्दा सँगसँगै नभएको जस्तो अमिलो अनुभूति पखाल्नु छ। गाउँगाउँमा पार्टी जोगाएर बसेका साथीहरू, प्रवासमा रहेर पनि देश, लोकतन्त्र र पार्टीको चिन्ता गरिरहेका साथीहरूको विश्वासलाई बलियो बनाउनु छ। तब सुनिश्चित हुनेछ  ‘पुरानो भावनाको कांग्रेस÷ नवीन सम्भावनाको कांग्रेस’।  

३१) हामीले एकातर्फ लाखौं युवालाई पार्टीमा उत्साहपूर्वक सहभागी गराउने ढोका खोल्नु छ, अर्कातर्फ हामी कोहि कसैले पनि निश्चित कुन समयमा सक्रिय राजनीतिबाट बिदा लिन उपयुक्त हुन्छ भन्ने  सुसंस्कृत सोच र दृष्टि निर्माण जरुरी छ। हामीले नेतृत्वको सम्मानजनक बिदाइको सुविचारित दृष्टि कहिल्यै बनाएनौं, त्यसले न त नेतृत्वको हित ग¥यो न पार्टीको।

३२) सिके प्रसाईंका शब्द म फेरि उधृत गर्न चाहन्छु–जो हामीसँग असहमत छ, उसलाई हामी विरोधीमा गणना गर्नु विलकुल गलत कुरा हो। उहाँले भन्नुभएको वाक्यमा थोरै थपौँ– समर्थन हामीले विचारलाई होइन, विचार समूहलाई ग¥यौं। विमति हामीले तर्कसँग होइन, व्यक्तिसँग राख्यौं। सुझाव र विरोध दुई फरक कुरा हुन्, भन्ने तथ्य गहिरोसँग आत्मसात गरेनौं। नेतृत्वलाई छाँयाजस्तो भरोसा मात्रै होइन, ‘ऐना’जस्तो स्पष्ट साथ पनि चाहिन्छ। यो नगर्दा न नेतृत्वको हित हुन्छ न पार्टीको। यो समग्र स्विकारोक्ती साथ हामीले नयाँ यात्रा सुरु गर्नुछ।  

३३) देश निर्माणको हुटहुटी बोकेका हरेक युवामा आशा बरकरार राख्न र विश्वास जगाउने दृष्टि र योजना निजी क्षेत्रको मनोबल विकास र समुन्नतिमा उत्साहवर्धक सहभागिता। विदेशमा रहेका नेपालीलाई मताधिकार र नेपालको समुन्नतिमा भरपर्दो विश्वासको जोड। न्यून आय भएका नागरिकको जीवनस्तर उठाउने निश्चित समयको बलियो कार्यक्रम। मानव विकासका सुचकहरुको गहन विश्लेषण साथ विकासका प्राथमिकता तय गर्दै समुन्नतिको यात्रामा तिब्रता। यो सबै गर्न एक्यवद्ध ढंगले हामीले पार्टीमा रुपान्तरण र गति वृद्धि अनि देशमा सुशासन स्थापना गर्न अनिवार्य जरुरी छ।

३४) हामीले पार्टीको विधान संशोधन गरेर केही अफ्ट्यारा फुकाउन र केहि नवीन बन्दोबस्त अनिवार्य गर्न जरुरी छ।

क) युवा उमेर समुहलाई पार्टीमा व्यापक सहभागिता बढाउन ‘३० मुनिको ३०’ या ‘४० मुनिको ४०’ अवधारणा बनाएर सुरक्षित स्थान सुनिश्चित गरौं। त्यसका लागि स्थानीय तहदेखि नै सबै तहमा सो उमेर समुहको अलग्गै प्रतिनिधित्व र अलग्गै प्रतिस्पर्धा निश्चित गरौं। सदस्यता लिएकै वर्ष प्रतिस्पर्धा गर्न पाउने प्रबन्ध मिलाऔं।

ख) एक महादेश एक केन्द्रीय सदस्य, मध्यपूर्वका लागि अलग एक केन्द्रीय सदस्य। त्यही क्षेत्रकै महाधिवेशन प्रतिनिधि उम्मेदवार र मतदाता हुने गरी निर्वाचन गर्ने प्रावधान राखौं।

ग) ‘ल्याटरल इन्ट्री’ आकर्षक र सबल बनाउन बौद्धिक र व्यवसायिक क्षेत्रबाट प्रतिनिधित्व गराउन, सो क्षेत्रसँगै गहन परामर्श गरेर प्रावधान निश्चित गरौं। केन्द्र र प्रदेश कार्यसमितिसँगै अन्य  तहमा सहभागिताको प्रबन्ध गरेर, संसद, सरकार र स्थानीय तह समेतका लागि ढोका फराकिलो बनाऔं।

घ) पार्टीको अधिवेशन र त्यसमा हुने निर्वाचनलाई थप व्यवस्थित र नियमित बनाउन पार्टीको निर्वाचन समितिलाई एक स्थायी संरचनाका रूपमा विकास गरौं।

ङ) समग्रमा पार्टीलाई ‘रिब्रान्डिङ’ गर्न सकिने गरी नीतिगत, मनोवैज्ञानिक र व्यवहारिक विविध पक्षमा रुपान्तरणका विषयलाई गहन छलफल गरेर समाविष्ट गरौं।

समयमै नियमित नत्र विशेष महाधिवेशन  

३५) ‘नियमित महाधिवेशन पुसमा गर्ने कि बैशाख’मा अहिलेको मुल प्रश्न यो होइन। नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन। तर विशेष महाधिवेशन माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) को स्पष्ट निर्देशन छ र यो हामी सबैका लागि बाध्यात्मक छ।

३६) ५४% महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो। विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनकै आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्नसक्दछ। यसमा हामी द्विविधामा पर्नुहुन्न।

३७) महाधिवेशनका सम्बन्धमा हामीसँग मात्र ३ विकल्प छन्  

पहिलो विकल्प १५ औं महाधिवेशन पुस १६–१९। बिपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको यो ऐतिहासिक तिथिमा महाधिवेशन सम्पन्न गरेर पार्टीभित्र एकता अभिवृद्धि गर्दै सिंगो देश समक्ष फेरि पनि राष्ट्रिय एकता र मेलमिलापको अपील गर्ने।

३८) पुस १६ मा नियमित महाधिवेशन गर्न अब भ्याइन्न, सकिन्न भन्ने निष्कर्ष निकाल्ने हो भने दोस्रो विकल्प– ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानको १७(२) बमोजिम माग गरे अनुरुप मंसिरभित्र विशेष महाधिवेशन आयोजना गर्ने। गाउँमा पार्टी जोगाएर बसेका हामी जत्तिकै र हामी भन्दा बढी मेहनत गर्नसक्ने साथीहरूको हस्ताक्षरलाई अनादर गर्ने छुट हामी कसैलाई छैन।  

३९) महाधिवेशन प्रतिनिधिको माग बमोजिम आयोजना गर्दा कतिपय व्यवहारिक अलमल हुनसक्दछन् भन्ने ब्याख्या हो भने, केन्द्रीय समितीले चाहेमा भनेर विधानको सोही दफामा उल्लेख भए अनुरुप विशेष महाधिवेशन बोलाउन सकिन्छ। यो तेस्रो विकल्प हो।

४०) चौथो विकल्प फेरि पनि नियमितमै जाउँ भनेर सहमतिपुर्वक बिचको बाटो खोज्ने हो भने पुसको अन्तिम साताको कुनै पनि मितिमा १५ औं महाधिवेशन गर्न सकिन्छ। अन्ततः नियमित महाधिवेशनमै जाँदा त्यसले हामीलाई विधान परिमार्जन गरेर व्यापक युवा सहभागिता बढाउन सहज पनि हुनेछ।

४१) महाधिवेशन आयोजना गर्दा त्यसले आमनिर्वाचनलाई असर गर्ला कि भनेर कतिपय साथीहरुले गर्नुभएको चिन्तालाई सम्मान गर्दै, म निवेदन गर्दछु– सुतेर बसेको पार्टी लिएर भन्दा अधिवेशन र विविध अभियान मार्फत जुर्मुराएको पार्टी लिएर चुनावमा जाँदा त्यसले फागुन २१ को निर्वाचनमा पार्टीको प्रदर्शनलाई सकारात्मक बल पुग्नेछ।  

४२) नियमित महाधिवेशनको मिति घोषणासँगै प्रथमतः पार्टी एकताबद्ध भएको संदेश जानेछ। दोस्रो–विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गर्ने र नगर्ने साथीहरूका बीच जे जस्तो दुरी बनेको देखिन्छ, त्यो मेटिएर जानेछ। तेस्रो – ६७४३ वडामा एकैसाथ क्रियाशील सदस्यता नवीकरण र वितरणको अभियानले गति लिनेछ। करिब ४ लाख नयाँ सदस्य बन्नेछन्। यो समग्र जुर्मुराहटले आगामी निर्वाचनका लागि पार्टीमा नयाँ जागरण पैदा गर्नेछ।

४३) अहिलेको नेपाल भदौ २३ अघिको नेपाल होइन। त्यसैले  अघिको मनस्थिति अनुरुप होइन पछिको परिस्थिति अनुरुप सोचौं। आजको विषम परिस्थितिमा नेपाली कांग्रेसले महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ उर्जा, नयाँ दृष्टि र नयाँ सन्देश देशलाई दिन सक्नैपर्छ। तब देशले पनि कांग्रेसलाई नयाँ विश्वासका लागि भरोसा गर्न सक्नेछ।

महाधिवेशनसँगै निर्वाचन तयारी, यसरी गरौं ‘प्राइमरी’

४४) महाधिवेशन प्रतिनिधि चयन गरिरहँदा उम्मेदवार सिफारिसको ‘प्राइमरी इलेक्सन’ त्यहिबेला एक अलग मतपत्रमार्फत गर्न सकिनेछ। मेरो प्रस्ताव छ न्युनतम १ महिला सहित ३ जनाको नाम संघीय क्षेत्रीय अधिवेशनका प्रतिनिधिले चयन गरेर पठाउन निर्देश गरौं, तब अन्तिम उम्मेदवार चयन गर्न पार्टीको संसदीय बोर्डलाई विगतमा भन्दा सहज हुनेछ। परिणाम हासिल गर्न यसले सार्थक बल पु¥याउने विश्वास छ।

४५) समानुपातिकको सूची बुझाउनुपर्ने मितिका कारण महाधिवेशनलाई असर पर्न सक्दछ भन्ने बुझाइमा मेरो राय छ– सम्भवत त्यो मिति केहिपछि सर्नसक्छ, सर्दैन भनेर मानेर जाँदा बिचमै पनि सूची बुझाउन सकिन्छ। यता सूची बुझाइरहँदा एक तहसम्मको अधिवेशन जारी रहेकोे अवस्थाले पार्टीलाई नोक्सान गर्दैन।  

निकासको बाटोः फागुन २१ मै निर्वाचन  

४६) जेनजी विद्रोह राजनैतिक–सामाजिक यथार्थ थियो, तर प्रतिनिधिसभाको विघटन न त्यो प्रदर्शनले माग गरेको थियो न त संविधानसम्मत कदम थियो। यसको संवैधानिक परीक्षण सम्मानित सर्वोच्च अदालतले गर्नेछ नै। तर एउटा बदलिएको परिस्थितिमा ताजा जनमत लिन मतदातामा जाने निर्णय हामीले गर्नुछ र सबै राजनैतिक दललाई निर्वाचनमा सहभागी बन्न अपील पनि गर्नुछ।

४७) निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण सहज बनाउने जिम्मेवारी सरकारको हो। यो दिशामा अपेक्षित प्रगति हुनसकेको देखिन्न। हामीले सरकारलाई दबाब दिएर जानुसँगै , देशव्यापी रुपमा पार्टी पंक्ति परिचालन गरेर चुनावका लागि आवश्यक माहौलको विकासमा बल पु¥याउनु पर्दछ।

फेरि पनि रिफर्म सहितको एकता  

४८) इतिहासमा देशको समयलाई कांग्रेसले आफू अनुकुल बदलेको थियो। आज कांग्रेसले देशको समय अनुकुल आफुलाई बदल्नुछ। हामीले कुनै पनि निर्णय गरिरहँदा समयको स्वरलाई सुन्न, बुझ्न र आत्मसात गर्न जरुरी छ। कांग्रेस हामी केन्द्रमा रहेका पदाधिकारी र सदस्यको जति हो, त्यति नै ग्रास रुटमा रहेका साथिहरुको हो। अझ बढी त हाम्रा शुभचिन्तकहरुको हो

परिस्थितिवश छलफल लामो हुन गएपनी एकताबद्ध निर्णयमार्फत हामी हाम्रा शुभेच्छुकहरुमा नयाँ उर्जा भर्न सक्नेछौं नै, यो ऐतिहासिक दायित्व इमानका साथ निर्वाह गरेर रिफर्म सहित एकता अनि एकता मार्फत पुरानो भावनाको कांग्रेस÷नयाँ सम्भावनाको काँग्रेस बलियो ढंगले स्थापित गरौं। बदलिएको र बलियो काँग्रेस, काँग्रेसका लागि  भन्दा बढी देशका लागि जरुरी छ।

प्रकाशित: २७ कार्तिक २०८२ १८:१९ बिहीबार





Source link

Leave a Comment