मानव जातिको उत्पत्ति र यस क्षेत्रमा तिनले बसोबास गर्नुपहिले नै पुस्तौँ पुस्तादेखि मकुना, यम, गजलगायतका जङ्गली हात्तीहरू हात्ती डाँडी (मार्ग) पछ्याउँदै आसामदेखि झापा, पर्सा, चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीसम्म र पश्चिम गढवालदेखि शुक्लाफाँटा, बर्दिया, बाँके राष्ट्रिय निकुञ्जसम्मको लामो यात्रा तय गर्दै आफ्ना पुर्खाको थातथलोमा आउजाउ गरिरहन्छन्।
हात्तीमा विद्यावारिधि गरेका अशोक रामको अनुसन्धानको निष्कर्षका अनुसार यम, गज र मकुनालगायतका हात्ती आसामदेखि लामो यात्रा तय गरेर नेपाल आइपुगेका रहेछन्। आजभन्दा करिब ८०–१०० वर्षअघिसम्म पनि हात्तीहरू बर्मादेखि पाकिस्तानसम्म यसै मार्ग भएर निर्वाधरूपले ओहोरदोहोर गर्न सक्थे। तर अहिले जैविक मार्गमा भएको वन विनाश र बासस्थान अतिक्रमणका कारण उनीहरू आफ्नो अस्तित्वका लागि सङ्घर्ष गर्दै आइरहेका छन्।
सम्राट समुद्र गुप्त इ.सं. ३३५–३७५ को इलाहावादको स्तम्भ अभिलेखमा हिमालयको फेदीमा अवस्थित पूर्वमा आसामको कामाख्य कामरूपदेखि पश्चिममा काश्मीरसम्म फैलिएको विशाल नेपालको बारेमा लेखिएको छ। हात्तीले यो लामो यात्रा तय गरेर हामी नेपाली नागरिकलाई नेपालको मध्यकालीन सिमानालाई पुनः स्मरण गराइरहन्छन्। नेपालको सिमाना खुम्चिएर हामीले हाम्रो इतिहास बिर्से पनि हात्तीले आफ्ना पुर्खाको थातथलो बिर्सेका छैनन्।
पूर्वी नेपाल, पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका जंगलमा रैथाने र भारतबाट आवतजावत गर्नेसमेत गरी करिव २७० भन्दा धेरै जङ्गली हात्ती नेपालमा पाइन्छन्। सरकारी तथा गैरसरकारी ११० र ७० निजीसमेत १८० घरमा पालेका हात्ती नेपालमा रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सौराहा क्षेत्र घना बस्ती र नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थल भएकाले यो एक व्यावसायिक एवं व्यापारिक केन्द्र हो। यो क्षेत्रमा निकुञ्जको हात्ती प्रजनन केन्द्र, खोरसारमा ११, सौराहामा गैरसरकारी ४ र निजी ४३ समेत ५८ पोथी हात्ती रहेका छन्। यीमध्ये सरकारी १०, निजी १० र गैरसरकारी एक गरी कम्तीमा पनि २१ वटा पोथी हात्ती प्रजननयोग्य छन्।
प्रजननयोग्य पोथी हात्तीले आफू सहवासका लागि तयार रहेको सन्देश भाले हात्तीलाई ५–२० हर्जको तरङ्गमा ध्वनि निकालेर प्रवाह गर्दछन्। जमिन र वायुको माध्यमबाट ३–५ किमि टाढा रहेको भाले हात्तीले यो निम्तो सुन्छ र सहवासका लागि त्यसतर्फ लम्कन्छ। तसर्थ पोथी हात्ती भएको ठाउँमा भाले हात्ती आफूखुसी जानुभन्दा पनि पोथीको निमन्त्रणा पाएर जाने गर्छ। यो प्रकृतिको नियम हो र स्वाभाविक छ।
मानिसमा भने २०–२०,००० हर्जसम्मको तरङ्गको आवाज मात्रै सुन्न सक्ने क्षमता हुन्छ। हात्तीसारका खमारीमा बाँधिएका पोथी हात्तीले सुटुक्क आफ्नो प्रेमी गजराजलाई निमन्त्रणा दिएको आवाज बुद्धिमान् मालिक मान्छेले सुन्न सक्दैनन्।
चितवनका पर्सा, टाढी, रामपुर, नगर वन, दिव्यनगरतिर भाले हात्ती जाँदैनन्। तसर्थ, सौराहामा मानव हात्ती सह–अस्तित्वको ठूलो चुनौती हुनु भनेको घना बस्ती र चौबीसै घण्टा व्यस्त सौराहा बजार नजिकै प्रजननयोग्य पोथी हात्तीको पालन नै मुख्य कारक तŒव हो भन्नुमा कुनै अत्युक्ति नहोला।
सौराहामा गत माघ महिना मकुना जङ्गली हात्तीको अकल्पनीय अवसानपछि सौराहा क्षेत्रको मैदान खाली भएपछि त्यो स्थानमा ढोहीको निमन्त्रणामा आजभोलि जङ्गली हात्ती गोविन्दे र रोनाल्डो जान थालेका छन्। तसर्थ, एउटा भाले हात्ती धपाएर वा मारेर यो समस्याको दिगो समाधान हुँदैन, त्यो क्षेत्र खाली भएपछि अर्को आउने वर्षौँदेखि निरन्तर छ। हात्ती, गैँडा शाकाहारी जनावर भएकोले उनीहरूले मानिसलाई आक्रमण गर्नुको मुख्य कारण आत्मरक्षा वा मानिसले हात्ती एवं गैँडाप्रति देखाउने प्रतिक्रियाका कारण रिसाएर नै हो।
गोविन्दे हात्तीका कारण गत असोजमा खोरसोर हात्ती प्रजनन केन्द्रमा कार्यरत कर्मचारी र फागुन २३ गते सौराहामा एकजना स्थानीयको असामयिक मृत्यु हुन गयो। मकुना धेरै सज्जन थियो। उसले मान्छेलाई केही गरेन।
मैले मानिसलाई केही गरेको छैन, त्यसैले मलाई पनि यिनीहरूले केही गर्दैनन् भन्ने उसलाई मान्छेप्रति पूर्ण विश्वास थियो। तर उसको विश्वासमा कुठाराघात भयो र गत महिना निकुञ्ज सुरक्षाकर्मीले हानेको गोली घाँटीमा लागेर घटनास्थलमा नै उसको मृत्यु हुन गयो। उता मकुनाको दामली यमगज रौतहटको सामुदायिक वन क्षेत्र क्षेत्रमा अघिल्लो खुट्टामा भाला वा गोली हानेका कारण गम्भीर घाइते भएर जीवन–मरणको दोसाँधमा बाँचिरहेको छ।
एकातिर देशका प्रधानमन्त्री बाघ धेरै भएकाले मार्नुपर्छ भन्ने भाषण दिन्छन् भने अर्कोतर्फ संरक्षित क्षेत्रअन्तर्गतको कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र जङ्गली मकुना हात्तीलाई संरक्षणमा खटिएका संरक्षणकर्मीले नै आत्मरक्षाका लागि घुँडामुनि गोली हान्ने सर्वमान्य सिद्धान्त विपरीत घाँटीमा ताकेर गोली हानी हत्या गर्छन्।
स्वदेशी र विदेशी पर्यटक विशेषतः हात्ती, बाघ, गैँडाप्रति अत्यन्तै संवेदनशील हुने हुँदा नेपालले विगतमा गरेका त्रुटिका कारण वन्य जन्तु संरक्षणमा आफ्नो गरिमा गुमाएका छौँ। यसबाट गैँडा, बाघ, हात्तीमा निर्भर नेपालको पर्या–पर्यटन व्यवसाय जोखिममा पर्न सक्छ।
तालतलैया एवं अपूर्व भूदृश्य अन्नपूर्ण हिमशृंखलाको आँगनमा रहेको पोखरा प्राकृतिक कारणले, नेपालको मध्यकालीन समयमा निर्मित पुरातात्विक महत्त्वका विश्व सम्पदा सूचीमा सूचीकृत मठमन्दिर र गुम्बाहरूको अनुपम सङ्गम रहेको काठमाडौँ उपत्यका र गैँडा, बाघ, हात्ती, मृग, मयूरका ताँतीका कारण चितवनको सौराहा पर्यटकीय क्षेत्रका रूपमा विकास भएको हो।
तसर्थ, नेपालमा वन्यजन्तु संरक्षणमा देखिएको यो नकारात्मक सन्दर्भलाई सच्याएर नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थललाई धराशायी हुनबाट जोगाउनुपर्छ। सन् २०१९ को अध्ययनअनुसार नेपालमा आउने पर्यटकमध्ये ६० प्रतिशतले निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र भ्रमण गर्छन्। आर्थिक वर्ष २०७८/७९ देखि नेपालमा विदेशी मुद्रा भुक्तानी सन्तुलन देखिनुका मुख्य कारणमध्ये रेमिट्यान्समा भएको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी र वैदेशिक लगानीमा भएका सुधार हुन्।
मकुना हात्तीको मृत्यु प्रकरणले हामीलाई आगामी दिनमा नागरिक र हात्ती दुवैतर्फ क्षति एवं पीडा नहुने गरी यसको दिगो संरक्षण र व्यवस्थापन गर्ने एउटा उपाय खोज्ने अवसर प्रदान गरको छ। दिनदाहडै सौराहाका सडकमा हिँडिरहेको मकुनाभन्दा झनै खतरनाक जङ्गली हात्ती रोनाल्डोका कारण नागरिक, पर्यटक, पथ प्रदर्शक, व्यवसायीको जीउ धनको क्षति हुन गएमा सरकार र संरक्षकले नागरिकको आक्रोश थाम्न हम्मेहम्मे पर्नेछ।
यो कुरामा हेक्का राख्न सकिएन भने त्यसले ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ। तसर्थ यस्तो अवस्था आउन नदिन चितवन र नेपालका सबै निकुञ्जका हात्तीसार मानव बस्ती र व्यावसायिक क्षेत्रबाट कम्तीमा पनि तीन–पाँच किमिको दूरी जंगलभित्र तत्काल स्थानान्तरण गर्नुपर्छ। निजी हात्तीको हकमा बाघमारा र कुमरोज मध्यवर्ती सामुदायिक वनको सिमानाबाट कम्तीमा तीन–पाँच किमि टाढा हात्तीसार स्थानान्तरण गर्नुपर्छ।
अर्को विकल्प हो, हात्तीमा पर्यटक सवार गराउने व्यवसायीका करिब ४५ हात्तीले सरदर वार्षिक ४–६ लाख रूपैयाँ प्रत्येकले खुद मुनाफा कमाउने गरेका छन्। आजभोलि ९० प्रतिशतभन्दा ज्यादा युरोपेली, अमेरिकी, अस्ट्रेलियाली लगायतका पर्यटकले हात्तीले भोगेको पीडा, देखेर, सुनेर र बुझेर त्यसमा सवार हुन छाडिसकेका अवस्था छ।
यस्तो अवस्थामा सरकार र वन्य जन्तु प्रेमी नागरिक समाजले आर्थिक तथा भौतिक स्रोतको व्यवस्था गरेर व्यवसायीलाई प्रत्येक वर्ष वार्षिक मुनाफा बराबरको रकम उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। त्यसपछि अहिलेसम्म चितवनमा आएका जङ्गली भाले हात्तीले हालसालैका वर्षमा नारायणी नदी नतरेको हुँदा नारायणी नदी पारिको जङ्गलमा हात्ती स्याङ्च्युरी वा ‘हात्ती आश्रम’ स्थापना गरेर सम्पूर्ण निजी हात्तीहरूको संरक्षण तथा व्यवस्थापन गर्नुपर्छ। यसो गर्दा निकुञ्जभित्र जङ्गलमा राखिएका हात्तीमे भाले हात्ती भुल्छन् भने निजी हात्तीले निमन्त्रणा दिएको त्यो दूरीसम्म भाले हात्तीले सुन्दै सुन्दैन। त्यसपछि जङ्गली भाले हात्ती बस्ती र बजारमा आउन शून्य हुनेछ।
सबै निजी हात्ती र देशैभरि ५८ वर्ष उमेर पुगेका र पुगेपछि सबै सरकारी हात्तीलाई हामीले साँच्चै स्याङ्च्युरीमा राख्ने व्यवस्था गरेर सवारलाई शून्यमा पुर्याऔँ र यो सन्देश विश्वव्यापी फैलाउन सक्यौँ भने सौराहाले थेग्न नसक्ने गरी विदेशी पर्यटकको भिड लाग्ने अवस्था सिर्जना गर्न सकिन्छ। एकातिर यसबाट नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल धराशायी हुनबाट जोगाउन सकिन्छ भने अर्कोतिर विदेशी आगमनबाट बढेको आम्दानीबाट देशको विकासमा र रोजगारी सिर्जना भएर नागरिकको जीविकोपार्जनमा टेवा पुग्नेछ।
हामीले यो काम गर्न सक्यौँ भने साँच्चै संरक्षणमा नेपालले गुमाएको गरिमा फिर्ता ल्याउन सक्छौँ। यो कदमले पुनर्भरण हुन सक्छ। नारायणी पश्चिममा स्थापना गरिने हात्ती स्याङ्च्युरी (आश्रम) नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएर त्यो क्षेत्रमा पर्यटन व्यवसाय फष्टाउनेछ भने स्थानीय नागरिकले रोजगारी पाउनेछन्।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मानव हात्तीको सहअस्तित्व कायम गर्न चुरेको घाँचमा रहेको हात्तीको जैविक मार्ग खाली गराउने र त्यस क्षेत्रमा हात्तीका लागि मन पर्ने रुख तथा फलफूल रोपण गर्नुपर्छ। सो क्षेत्रका भूमिहीन, विपन्न, गरिब नागरिकलाई गैँडा, बाघ, हात्ती नलाग्ने, नदी कटान, डुबान नहुने, बाढी पहिरो नआउने सुरक्षित र सुविधा सम्पन्न क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ।
जग्गा धनी पुर्जा भएका जग्गा अधिग्रहण गरेर मानव हात्ती सहअस्तित्व कायम गर्न सकिन्छ। यसका लागि आवश्यक पर्ने आर्थिक स्रोत वन ऐन, २०७६ दफा ४५ (घ) मा वन क्षेत्र अन्य प्रयोजनका लागि प्रयोग गरेबापत विकास आयोजनाहरूले भुक्तानी गरेको रकमबाट उपलब्ध गराउन सकिन्छ।
हात्तीको जैविक मार्ग व्यवस्थापन हुन सक्यो भने चुरे संरक्षण भएर अहिलेको तराईमा भैरहेको पानीको हाहाकार र मरुभूमीकरण समाप्त हुनेछ। वन र वन्यजन्तु संरक्षण भएर जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न मद्दत पुग्नेछ। स्थानीय समुदायलाई हात्तीसँगको सहअस्तित्वका कारण कठिन बनेको दैनिक जीवन यापनको अवस्थाबाट मुक्ति मिल्नेछ। होइन भने हात्ती मरिरहन्छन्।
मानिस मर्ने, अपाङ्ग, घाइते हुनेछन्। घर गोठ पनि भत्किरहन्छन् र बालीनाली पनि सखाप भइरहन्छन्। सरकार, हात्तीका संरक्षक र नागरिक पनि मुकदर्शक र रमिते बन्नेछन्। हात्तीको जैविक मार्गमा भूमिहीन, विपन्न, गरिब नागरिकलाई बसोबास गराउनु भनेको मानव हात्ती सहअस्तित्वको समस्या बल्झाउनु हो, थप पीडित बनाउनु हो।
हात्तीले घर भत्काएको, आफ्नै आँखा अगाडि आफ्नै परिवारका सदस्यलाई मारेको, बालीनाली नोक्सानी गरेको हेर भन्नु हो। हात्तीको जैविक मार्गलाई खुम्चाएर चुरे विनाशका कारण तराई मरुभूमीकरण हुनु भनेको ‘आफ्नै खुट्टामा आफैँले बन्चरो हान्नु’ सरह घातक सिद्ध हुनेछ।
नेपालमा मानव र हात्तीको सहअस्तित्व कायम भयो भने पर्या–पर्यटन व्यवसाय फष्टाउनेछ भने चुरेबाट बग्ने नदीको जलाधार क्षेत्र संरक्षणका हिसावले नेपालमा गर्व गर्न लायक सफलता मिल्नेछ। यो हुन सक्यो भने कोही पनि नागरिक, कर्मचारी, सुरक्षाकर्मी, पर्यटक पथ प्रदर्शक, पर्यटकको जीउ धनको क्षति हुने छैन।
चुरे संरक्षणको सूचक प्रजाति हात्ती, गैँडा, बाघमध्ये निकुञ्जबाहेकका चुरे क्षेत्रमा बाँकी रहेका हात्ती संरक्षण भएमा चुरेबाट बग्ने नदीको जलाधार साँच्चिकै सुरक्षित हुनेछ। यसबाट आधा जनसंख्या र नेपालको अन्नको भण्डार तराई सुरक्षित हुनेछ।
नेपाल सरकारले हात्तीको जैविक मार्ग खाली नगर्ने, निकुञ्जले निकुञ्जभित्र हात्तीसार नसार्ने र व्यवसायीले आफ्ना हात्तीलाई जङ्गली भाले हात्तीको पहुँचभन्दा टाढा नलैजाने हो भने नागरिक, कर्मचारी, सुरक्षाकर्मी, पर्यटक पथप्रदर्शक र पर्यटकको जीउ धन र हात्तीको सुरक्षाको प्रत्याभूति गर्नुपर्छ।
– कुँवर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पूर्व चिफ वार्डेन हुन्।
प्रकाशित: २७ चैत्र २०८१ ०७:४४ बुधबार