हर्मुज जलसन्धि बन्द गर्ने इरानको चेतावनी: तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्न सक्ने



प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

हर्मुज जलसन्धि बन्द गर्ने इरानको चेतावनी: तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्न सक्ने

इरानले स्ट्रेट अफ हर्मुज अर्थात् हर्मुज जलसन्धि खुला नगर्ने बताएको छ। हर्मुज जलसन्धि विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो। यो जलसन्धिले खाडी क्षेत्रका तेल उत्पादक देशहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने मुख्य बाटोको काम गर्छ।

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ हर्मुजलाई बन्द राख्ने नीति जारी रहने बताएका हुन्। इरानको सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो चेतावनी दिएका हुन्।

इरानले हर्मुज क्षेत्र हुँदै जाने तेल ट्यांकरहरूलाई आक्रमणको लक्ष्य बनाउन सक्ने चेतावनी पनि दिएको छ। सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल यही मार्ग हुँदै ढुवानी हुन्छ।

इरानले तेल ट्यांकरहरूलाई अवरोध गर्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ। इरानले तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनी समेत दिएको छ।

ऊर्जा क्षेत्रको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल इनर्जी एजेन्सीले अहिलेको अवस्था “इतिहासकै सबैभन्दा ठूलो तेल आपूर्ति अवरोध” भएको जनाएको छ।

उक्त सन्देशमा मोज्तबा खामेनी स्वयं भने उपस्थित भएका थिएनन्। उनको वक्तव्य समाचार वाचकले पढेर सुनाएका थिए। सन्देशमा उनले अमेरिका र इजरायलसँगको युद्धमा मारिएका इरानीहरूको “रगतको बदला लिने” प्रतिज्ञा पनि व्यक्त गरेका छन्। साथै, छिमेकी देशहरूलाई आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य आधारहरू बन्द गर्न आग्रह गरेका छन्।

मोज्तबा खामेनीलाई मार्च ८ मा इरानको सर्वोच्च नेता नियुक्त गरिएको थियो। उनका पिता तथा पूर्व सर्वोच्च नेता अलि खामेनी युद्धको पहिलो दिन भएको आक्रमणमा मारिएका थिए। उक्त आक्रमणमा मोज्तबाकी पत्नी र एक छोराको पनि ज्यान गएको बताइएको छ। उनकी आमा पनि मारिएको खबर आएको थियो, तर केही इरानी सञ्चारमाध्यमले उनी जीवित रहेको दाबी गरेका छन्।

इरानी अधिकारीले मोज्तबा खामेनी हल्का घाइते भएको बताएका छन्। तर, यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। सर्वोच्च नेता बनेपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन्, न त कुनै तस्बिर वा भिडियो नै सार्वजनिक भएको छ।

सन्देशमा उनले अमेरिकाका क्षेत्रीय सैन्य आधारहरूलाई लक्षित गरी आक्रमण जारी रहने पनि बताएका छन्। यसबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मोज्तबा खामेनीलाई ‘इस्लामिक रिभोलुसनरी गार्ड्स’को “कठपुतली” भएको आरोप लगाएका छन्। उनले खामेनी सार्वजनिक रूपमा देखिन नसकेको भन्दै उनको नेतृत्वमाथि प्रश्न उठाएका छन्।





Source link

Leave a Comment