प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार

तस्वीर : सिन्ह्वा/रासस
हर्मुज जलमार्गमा आवागमन सुरक्षित गर्ने विषयमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले अब अर्को साता मात्रै मतदान गर्ने भएको छ। बहराइनले ल्याएको प्रस्तावमाथि अर्को साता मात्रै मतदान गर्ने तयारी भएको कूटनीतिक स्रोतहरूले जानकारी दिएका हुन्।
यसअघि यो मतदान शुक्रबार गर्ने भनिएको थियो। पछि शनिबारका लागि सारिए तापनि अन्तिममा फेरि अर्को सातासम्मका लागि स्थगित गरिएको छ। मतदानको नयाँ मिति भने अझै तय गरिएको छैन। बहराइनको संयुक्त राष्ट्र सङ्घस्थित नियोगले मतदान किन सारियो भन्नेबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
यदि यो प्रस्ताव पारित भयो भने हर्मुज जलमार्गबाट सुरक्षित आवागमन सुनिश्चित गर्न देशहरूले “आवश्यक सबै रक्षात्मक उपाय” प्रयोग गर्न पाउनेछन्। यसको अर्थ त्यहाँ नौसैनिक कारबाहीसमेत गर्न सकिनेछ। द्वन्द्व सुरु भएदेखि नै यो जलमार्ग लगभग बन्दजस्तै अवस्थामा छ।
तर, यो प्रस्तावमा सबै राष्ट्रको समर्थन भने छैन। चीन र रुसलगायत केही देशहरूले यसको विरोध गरेका छन्। उनीहरूका अनुसार यस्तो कदमले अनियन्त्रित रूपमा बल प्रयोग गर्ने अवस्थालाई वैधानिकता दिनेछ र परिस्थिति झन् बिग्रन सक्छ।
उता अमेरिकामा इरानसँगको द्वन्द्वका विषयमा राजनीतिक मतभेद देखिन थालेको छ। रिपब्लिकन पार्टीका सिनेटर जोन कर्टिसले कङ्ग्रेसले औपचारिक रूपमा युद्ध घोषणा नगरेसम्म थप सैन्य कारबाहीका लागि बजेट दिन नसकिने बताएका छन्।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै देशको सुरक्षा तयारी र आवश्यक सामग्रीको व्यवस्था गर्न आफू तयार भए तापनि कङ्ग्रेसको औपचारिक अनुमतिबिना सैन्य खर्च स्वीकृत गर्न नसकिने स्पष्ट पारेका छन्।
युटाह राज्यका सिनेटर कर्टिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व सैन्य अभियानलाई समर्थन गरे पनि इतिहास र संविधानलाई बेवास्ता गर्न नहुनेमा जोड दिएका छन्।
इरानसँगको युद्धका विषयमा अहिले कङ्ग्रेसभित्रै रिपब्लिकन नेताहरूबीच मतभेद चुलिएको छ। केही प्रभावशाली सांसदहरू ठूलो रकम खर्च गरेर युद्ध लम्ब्याउने पक्षमा छैनन् भने कतिपयले स्पष्ट रणनीति नआएसम्म कुनै पनि बजेट समर्थन नगर्ने अडान लिएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार इरानसँगको द्वन्द्वमा अहिलेसम्म १३ अमेरिकी सैनिकले ज्यान गुमाएका छन् भने घाइते सैनिकको सङ्ख्या ३६५ पुगेको छ।