छोराहरू रुनु हुँदैन र पीडा आइहाले पनि छोरा भएकै कारण लुकाउनु पर्ने गलत समाजिक सोच र मान्यताका कारण पछिल्लो समय छोराहरू विभिन्न हिंसा भोग्न बाध्य बनेका छन्। यो समस्या नेपाललगायत विश्वभरि नै कायम रहेको पछिल्लो अध्ययन अनुसन्धानहरूले उजार गरेको छ।
बालकहरूलाई यौन दुर्व्यवहार हुँदैन, भइहाले पनि यसले बालिकालाई जस्तो असर पार्दैन भन्ने सोचले ग्रसित समाजमा पछिल्लो समय बालिका यौनहिंसा जस्तै बालकलाई पनि यौनहिंसा तथा दुर्व्यवहार हुन्छ र उनीहरूलाई पनि संरक्षण चाहिन्छ भन्ने अवाज विश्वभर उठिरहेको छ।
विश्वभर हरेक सात जना बालकमध्ये १ जना बालक १८ वर्ष हुनु अघि यौन हिंसाबाट प्रभावित हुने तथ्यांक युनिसेफको पछिल्लो अध्ययनले देखाएको छ। आजको समयमा विश्व समाजमा लुकेर बसेको यस्तो विषयलाई उजागर गरी चेतना फैलाउन आवश्यक ठानेर फेमिली फर एभरी चाइल्ड युकेले १६, अप्रिल २०२१ बाट ‘नीलो छाता दिवस’ को सुरुवात गरेको छ।
भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम म्यानेजर कृति भट्टराईले प्रस्तुत गरेको बालकविरुद्धको यौन हिंसाको प्रस्तुतीमा विश्वमा बालकहरू हिंसामा पर्नुको साथै नेपालमा पनि बालकहरू हिंसामा परेको तथ्य उजागर गरिन्।
युनिसेफको सन् २०२४ को एक प्रतिवेदन ‘ह्वेननम्बर्स डिमान्ड एक्सन’ ले देखाएको तथ्य अनुसार विश्वभर ४१ करोडदेखि ५३ करोड बालक तथा पुरुषहरू यौन दुर्व्यवहार तथा यौन हिंसामा पर्ने गरेका छन्। अर्थात प्रत्येक ७ मध्ये १ जनाले बाल्य अवस्थामा नै यौन हिंसा भोगेको तथ्य उजागर गरेको छ। यसमा २४ करोडदेखि ३१ करोड बालक तथा युवा हरेक ११ मध्ये १ जनाले बलात्कार तथा यौंन हिंसा भोगेको तथ्यांक पनि यो प्रतिवेदनको नतिजामा सार्वजनिक रहेको छ।
‘यति धेरै संख्यामा बालकहरू पीडित हुने तथ्यांक रहेको भए पनि विश्वका ६ देशमध्ये १ देशले मात्र यौन हिंसाबाट पीडित बालकहरूको तथ्यांक राष्ट्रिय रूपमा संकलन गर्ने गरेको पाइएको अध्ययनले देखाएको छ,’ कार्यक्रम म्यानेजर भट्टराईले प्रस्तुतिकै क्रममा भनिन्, ‘जसका कारण प्रभावकारी कार्य गर्न कठिनाइ सृजना भएको छ। यौन हिंसाबाट पीडित बालक तथा युवाहरूले सांस्कृतिक मान्यता तथा आवश्यक सेवास्रोतको अभावका कारण उनीहरूलाई आवश्यक सुविधा तथा सेवा पाउन उल्लेख्य कठिनाइको सामाना गर्नु परेको छ।’
उनले थपिन्, ‘यौन शोषण र दुर्व्यवहारका बारेमा हुन् छलफल र हस्तक्षेपकारी कार्यहरूमा बालक तथा युवाहरूलाई बारम्बार बेवास्ता गरिन्छ। जबकि उनीहरू पनि उत्तिकै यसको जोखिममा छन् भने कतिपयले हिंसा स्वयं भोगेको पनि छन्।’
नेपालमा भने बालकलाई पनि यौन हिंसा हुन्छ भनी भएको पहिलो घटना २०५६ सालमा ब्रिटिश स्कुलका एक शिक्षकले गरेको यौन दुर्व्यवहारलाई लिन सकिन्छ। यो केश प्रहरीमा दर्ता भए पनि कानुन अभावमा सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाइएको थियो।
राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चंदका अनुसार नेपालमा बालकमाथि हुने यौन हिंसा तथा दुर्व्यवहारहरू प्रहरीमा दर्ता भएका घटनामा उतारचढाव देखिएको छ।
नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयको वार्षिक तथ्यांक अनुसार ०७७ मा ९० जना बालकहरू यौन हिंसाबाट प्रभावित थिए भने ०७८ मा ९३ जना बालकहरू यौन हिंसाबाट प्रभावित थिए। यस्तै ०७९ मा ३४ जना बालक यौन हिंसा तथा दुर्व्यवहारमा परेको उजुरी दर्ता भएको छ। यसैगरि ०८० मा ३३ जना र ०८१ मा १९ जना बालकहरू यौन हिंसा र दुर्व्यवहारमा परेको उजुरी प्रहरीमा परेको थियो।
‘यो त प्रहरीमा दर्ता भएका मात्र बालक यौन हिंसा र दुर्व्यहारका घटना हुन्,’ सूचना अधिकारी चंदले नागरिकसँग भने, ‘तर यस बाहेक पनि दर्ता नभएका, लुकेका र लुकाइएका धेरै बालक हिंसासम्बन्धी घटना होलान् जसबारे परिवार र समाज खुल्नन चाहन्दैनन्।’
बालकप्रति हुने यौन दुर्व्यवहारका प्रकृति हेर्दा मलद्वार मैथुन, मुख मैथुन, शरीरका विभिन्न अंगहरूमा घर्षण, यौनजन्य अंग तथा सामग्रीहरू देखाउने, विभिन्न यौन क्रियाकलापमा सहभागी गराउने जस्ता कृयाकलाप गर्ने गरेको पाइएको छ।
यसैगरी स्टारलाइट चिल्ड्रेन होम चलाएर पोखरामा बसेका अर्का ब्रिटिश नागरिकमाथि पनि विसं २०५६ सालतिरै सोही प्रकारका मुद्दा दर्ता भएको तर सार्वजनिक अपराध अन्तर्गतनै मुद्दा चलाइएको थियो।
नेपालमा बालक यौन हिंसा पुरुषबाट मात्र नभइ महिलाबाट पनि हुने गरेको अर्को उदाहरण विसं २०५७ देखियो। यो सालमा फ्रान्सेली महिलाविरुद्ध पनि ठमेल क्षेत्रमा सडक बालकका रूपमा रहेका बालकहरूलाई फकाएर यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता भएको तर सार्वजनिक ऐन अनुसार मात्र त्यति खेर पनि मुद्दा चलाइएको तथ्यहरू छन्।
राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चंदका अनुसार नेपालमा बालक यौन दुर्व्यवहार र यौन हिंसाका घटनाहरू मुख्य रूपमा विदेशी पर्यटकहरूमाट हुने गरेको हो। ‘विदेशी पर्यटकहरूले सुरुमा सडक बालबलिकाहरू प्रति सहानुभूति देखाएर ललाइफकाइपछि तिनै बालकलाई यौन शोषण गर्ने गरेको पाइएको छ,’ सूचना अधिकारी चंदले नागरिकसँग भने, ‘नेपाली समाजको कुरा गर्ने हो भने बालक यौनहिंसा तथा दुर्व्यवहार पहिले पनि हुन्थै।’
परिवार तथा समाजले बालकहरूलाई साहसी, बहादुर, बलियो र आत्मसक्षम हुन दबाब दिएको हुन्छ र उनीहरूले बालिकाभन्दा बढी स्वतन्त्रता पाएका हुन्छन्। बालकहरूले पनि यस्तो स्वतन्त्रतालाई महत्व दिन्छन् तथापी हामीले उनीहरूलाई सुरक्षित छन् भनेर सुनिश्चित गर्न आवश्यक रहेको बालबालिका खोजतलास केन्द्रक डिएसपि महेश थापा बताउँछन्। ‘प्रहरीमा बालक हराएको फेला परेको उजुरी तथा सूचनाहरू धेरै आउने गरेको छ,’ डिएसपी थापाले कार्यक्रममा बोल्दै भने, ‘बालबालिका यौन हिंसा सम्बन्धी कम उजुरी आउँछ। त्यसमा पनि बालक यौन हिंसा र दुर्व्यहारको उजुरी त निकै कम पर्छन्।’ उनले समाजमा बालक यौन हिंसा र यौन दुर्व्यवहारबारे सूचनाको अभाव देखिएको बताए।
राष्ट्रिय बाल अधिकार परिषदकी सदस्य सचिव इन्द्रदेवी ढकालले बालक यौन हिंसा नेपाली समाजमा मौन महामारी जस्तै जेलिएको भन्दै बालकहरूलाई यौन हिंसाबाट बच्न उनीहरूलाई बालबालिका सम्बन्धी बनेका थुप्रै कानुनी संरचनामा पहुँच पुर्याउनु पर्नेमा जोड दिइन्।
ललितपुर ग्वार्कोमा रहेको प्रभात माविकी शिक्षक रमला पौडेलले पुरुष हिंसा सुनेको भए पनि बालक हिंसाबारे आफूलाई कुनै जानकारी नभएको बताइन्। उनले अब शिक्षक नेटवर्कमा रहेको हैसियतले आफूले बालक हिंसा कति र कसरी स्कुलहरूमा हुन्छन् भन्नेबारे जानकारी लिन पत्रचार गर्ने प्रतिबद्धता जनाइन्।
भ्वाइस अफ चिल्ड्रेनका अध्यक्ष कृष्ण थापाले आफू तीन दशक अघिदेखि नै बालकहरू बलात्कृत हुन्छन् र यौन हिंसामा पर्छन् भन्ने आवाज उठाउँदै आएको र सुरुवाती दिनमा हिंसामा परेको बालक र आफू यसैकारण हिरासतमा पनि बस्नु परेको अनुभव सुनाए। ‘भिओसीको अध्ययनले पनि सडक बालबालिकामध्ये पनि बालकहरू बढी जोखिममा रहेको देखिएको छ,’ अध्यक्ष थापाले भने, ‘विदेशीहरूले बढी बालकलाई फकाएर, प्रलोभनमा पारेर बलात्कार समेत गर्ने गरेको देखिएको छ।’
अब छोरीलाई मात्र होइन छोरालाई पनि घर परिवार, अभिभावक तथा विद्यालयले गुड टच र ब्याड टचबारे समेत ज्ञान दिनु पर्ने कार्यक्रममा वक्ताहरूले सुझाएका थिए।
प्रकाशित: १ जेष्ठ २०८२ १३:४० बिहीबार