प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार
इजरायली सेनाले गाजामा रहेको प्यालेस्टिनी सशस्त्र समूह हमासका सैन्य नेता मोहम्मद सिन्वारको शव फेला परेको जनाएको छ । इजरायली रक्षा बल ले दक्षिणी शहर खान युनिसको युरोपेली अस्पतालको तल रहेको सुरुङमा सिन्वारको शव भेटिएको पुष्टि गरेको हो।
आईडीएफका अनुसार शवको पहिचान डिएनए परीक्षणमार्फत गरिएको हो । यद्यपि हमासले सिन्वारको मृत्युको औपचारिक पुष्टि भने अहिलेसम्म गरेको छैन ।
४९ वर्षीय मोहम्मद सिन्वार १३ मेमा गरिएको हवाई आक्रमणमा मारिएको भनिएको थियो ।
हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीले उक्त आक्रमणमा २८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जनाएको थियो। आईडीएफका अनुसार सिन्वारको शव हमासको राफाह ब्रिगेडका कमाण्डर मोहम्मद सबानेहको शवसँगै सुरुङमा फेला परेको हो ।
सिन्वार र सबानेहसँग सम्बन्धित केही सामग्रीहरू तथा अन्य खुफिया विवरणहरू पनि बरामद गरिएको थप अनुसन्धान भइरहेको आईडीएफले बताएको हो ।
आईडीएफले केही विदेशी पत्रकारहरूलाई गाजाको खान युनिसमा रहेको उक्त सुरुङ देखाउन लगेको थियो । सार्वजनिक गरिएको भिडियोमा युरोपेली अस्पतालको ठीक अगाडि नयाँ खनिएको जमिनबाट सुरुङ प्रवेशद्वार देखिएको छ।
भिडियोमा साँघुरो र लामो सुरुङ देखा पर्छ । जसले धेरै कोठाहरूमा जाने बाटो बनाएको छ । केही कोठाहरूमा लुगा, प्लास्टिकका कुर्सीहरू, र भित्तामा अड्याइएको राइफल देखिन्छ ।
एक भिडियोमा शवलाई डोरीको सहायताले सुरुङबाट तानिएको देखिन्छ । प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सिन्वारको शव त्यहीँ एउटा कोठामा फेला परेको बताए ।
इजरायलले बारम्बार हमासमाथि अस्पतालहरूलाई हतियार भण्डारण र कमाण्ड सेन्टरको रूपमा प्रयोग गर्ने आरोप लगाउँदै आएको छ । ति आरोपलाई हमासले अस्वीकार गर्दै आएको छ ।
आईडीएफले गाजाका धेरै अस्पतालहरूमा घेराबन्दी गर्दै आक्रमण गरेको छ । केहीलाई खाली गराउन आदेश दिएको छ । जसका कारण गाजाको स्वास्थ्य प्रणाली धराशायी अवस्थामा पुगेको छ।
एप्रिल महिनामा अल अहली अस्पतालमा भएको इस्रायली इजरायली आक्रमणपछि संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार घाइते, बिरामी, स्वास्थ्यकर्मी र अस्पतालहरू सुरक्षित र सम्मानित हुनुपर्ने बताएका थिए ।
मोहम्मद सिन्वारले सन् १९८० को दशकको अन्त्यमा हमासमा प्रवेश गरेका थिए । त्यसपछि उनी समूहको सैन्य शाखा इज्जेदिन अल कसाम ब्रिगेड्समा सामेल भएका थिए।
२००५ सम्ममा उनी खान युनिस ब्रिगेडका कमाण्डर बनेका थिए। उनी हमासका अर्का सैन्य प्रमुख मोहम्मद देइफसँग नजिक रहेको मानिन्थे । ७ अक्टोबर २०२३ को आक्रमणको योजना बनाउनमा संलग्न रहेको बताइन्छ ।
उनका दाजु तथा हमासका राजनीतिक नेता याह्या सिन्वार हुन । उनलाई ७ अक्टोबरको हमलाको मुख्य योजनाकार मानिन्छ । उनलाई गत अक्टोबरमा इजरायली सेनाले मारेको थियो ।



