स्ववियु निर्वाचनप्रति विद्यार्थी उदासीन, किन घट्यो सहभागिता ?


विगतमा विद्यार्थी तथा विद्यार्थी-सङ्गठनहरूले देशको व्यवस्था परिवर्तनमै प्रभावशली भूमिका खेल्थे। उनीहरू राजनीतिक तथा सामाजिक विसङ्गतिविरुद्ध हुने प्राय: आन्दोलनहरूमा सहभागी हुन्थे। तर, पछिल्लो समय भने विद्यार्थीहरूले आफ्नै क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)को निर्वाचनमा समेत भाग लिन छाडेका छन्।

यसको ज्वलन्त उदाहरण पछिल्लो स्वविय निर्वाचन हो। जहाँ, विद्यार्थीहरू निर्वाचन र मतदानका प्रति उदासीन देखिन्छन्। पछिल्लो स्वविय निर्वाचनमा भएको मतदानका आधारमा हेर्दा ठूला क्याम्पसहरूमा मुस्किलले २३ प्रतिशत मत खसेको तथ्याङ्क बताउँछ।

२०८१ चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वविय निर्वाचन भयो। तर, निर्वाचनमा विद्यार्थीहरूको सहभागिता भने अति न्यून देखियो। अथवा, यसो भनौँ- निर्वाचनका प्रति युवाहरूमा चासो अति न्यून देखियो।

स्वविय निर्वाचनप्रति विद्यार्थी उदासीन

काठमाडौं उपत्यकाका १७ आङ्गिक क्याम्पसहरूको निर्वाचन मतपरिणाम हेर्ने हो भने औसतमा आदिभन्दा पनि कम मतदान भएको देखिन्छ। 

नागरिकले काठमाडौंको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पद्यकन्या क्याम्पस, नेपाल ल क्याम्पस, त्रि-चन्द्र क्याम्पस, नेपाल कमर्स क्याम्पस, अमृत विज्ञान क्याम्पस, थापाथली क्याम्पस, ललितकला क्याम्पस, महाराजगन्ज केडिकल क्याम्पस, जनप्रशासन क्याम्पस, महेन्द्ररत्न क्याम्पस, आयुर्वेद क्याम्पस र महाराजगन्ज नर्सिङ्ग क्याम्पस गरी कूल १३ क्याम्पस, भक्तपुरको भक्तपुर क्याम्पस र सानोठिमी क्याम्पस गरी दुई र ललितपुरको पाटन क्याम्पस र पुल्चोक क्याम्पस गरी दुई कलेज गरी कूल १७ कलेजको मतदानको नतिजा विश्लेषण गर्‍यो।

जहाँ, औसतमा आधाभन्दा पनि बढी विद्यार्थीहरूले मतदान नगरेको देखिन्छ।

१७ कलेजमा कूल विद्यार्थी मतदाता ५९ हजार १९२ हुन्। जसमा २६ हजार ८०६ जनाले मात्रै मतदान गरेका छन्। प्रतिशतमा हेर्दा त्यो ४५ मात्रै हो। त्यसमा पनि ठूला कलेजहरूमा अति न्यून १५ देखि ३४ प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको तथ्याङ्क छ। 

धेरैजसो क्याम्पसहरूमा विद्यार्थीले मतदाता परिचयपत्र लिएर पनि मतदान गर्न नआएको देखिन्छ भने कतिपयले त मतदाता परिचयपत्र नै नलिएको विद्यार्थीहरू नै बताउँछन्। 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्यामपसकै अवस्था पनि फरक छैन। त्यहाँ जम्मा मतदाता ६ हजार १७४ थिए। जसमध्ये ३ हजार ११८ ले मात्रै मतदान गरेको देखिन्छन्।

यसैगरी काठमाडौंकै बागबजारमा रहेको पद्यकन्या क्याम्पसका कूल मतदाता ६ हजार २९७ मध्ये १ हजार ५९६ ले मात्रै मतदान गरे। अर्थात् पद्मकन्या क्याम्पसमा १५ प्रतिशत मात्र मतदान भयो। 

निर्वाचनमा घटेको विद्यार्थी सहभागिता यहाँ हेर्नुस्।

आङ्गिक क्याम्पसमध्ये सबैभन्दा बढी मतदाता रहेको कलेज काठमाडौंकै त्रि-चन्द्र कलेज हो। त्यहाँ कूल मतदाताको सङ्ख्या ७ हजार ६९१ हो। जसमा २ हजार ६७१ ले मात्र मतदान गरेको देखिन्छ। अर्थात्, त्यहाँ ३४ प्रतिशत मात्र मत खस्यो। उता नेपाल कमर्स क्याम्समा कूल मतदाता ६ हजार ७८६ थिए तर, मतदान भने २ हजार २६७ ले मात्र गरे। यो सङ्ख्यालाई प्रतिशतमा हेर्दा ३३ मात्र हो। 

उता ललितपुरमा रहेको त्रिविको अर्को ठूलो आङ्गिक क्याम्पस हो, पाटन बहुमुखी क्याम्पस। यो क्याम्पसमा कूल मतदाता सङ्ख्या ७ हजार हो। तर, मतदान भने १ हजार ६७८ ले मात्रै गरेका छन्। प्रतिशतमा हेर्दा यो सङ्ख्या २३ मात्रै हो। 

किन घट्यो विद्यार्थी सहभागिता ?

यी तथ्याङ्कहरूले विद्यार्थीमा राजनीतिप्रति वितृष्णा बढ्दै गएको देखाउने भनाइ छ त्रिवि केन्द्रीय क्याम्पसका पूर्वसभापति हिमाल शर्मा। उनी विगतमा कलेजका स्ववियु केन्द्रमा रहेका राजनीति दलहरूको शक्तिशाली केन्द्रकै रूपमा स्थापित भएको सम्झन्छन्।

विद्यार्थी राजनीतिले देशको व्यवस्था परिवर्तनसम्मको ल्याकत राख्ने गरेको शर्मा बताउँछन्। ‘पछिलो समय स्ववियुले विद्यार्थीहरूका माझमा खासै प्रभाव पार्न सकेन। फलत: विद्यार्थीहरू निर्वाचनमा भाग लिन बाध्य भएनन्,’ शर्मा भन्छन्, ‘स्ववियु भनेको शैक्षिक एजेन्डामा केन्द्रित हुनुपर्ने कसैले बुझ्न सकेनन् र नयाँ पुस्तालाई बुझाउन पनि सकेनन्।’

आफू २०६५ सालको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सदस्य रहेको अनुभव सुनाउँदै शर्माले त्यसबखत स्ववियुको प्रभाव विद्यार्थी र कलेज तथा विश्वविद्यालयभित्र मात्र नभई देशको व्यवस्था परिवर्तनसम्मै रहेको उनी सुनाउँछन्। ‘तर, हाल कलेजमा रहेका स्ववियुहरूले विद्यार्थी हक, हित र न्याय दिलाउने काममा विश्वास दिलाउन सकेनन्। शैक्षिक मुद्दा उठान गर्न सकेनन्। यसकारण विद्यार्थीमा स्ववियुको र निर्वाचनको रौनक कम भएको मलाई लाग्छ,’ उनले भने।

पछिल्लो समय कलेजमा निर्वाचनको समयमा हुने गरेको ‘डर्टी पोल्टिक्स’का कारणले पनि विद्यार्थीहरूले मतदान गर्न नरुचाएको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का अध्यक्ष दुजाङ शेर्पाको ठहर छ। उनले त्रिविमा लामा समयसम्म चलेको निर्वाचनसम्बन्धी विवादका कारण पनि विद्यार्थीहरूको निर्वाचनप्रतिको चाहना घटेको बताए।

‘नयाँ पुस्तामा राजनीतिमा जुन हिसाबले विश्वास हुनुपर्ने हो, त्यो हुन नसकेकै हो। त्यसमा चाहे त्यो केन्द्रको दलगत राजनीति होस् या कलेजमा गरिने विद्यार्थी राजनीति। युवालाई विश्वास दिलाउन नसकेकै हो। त्यो स्ववियुको निर्वाचनको परिणामले देखायो,’ उनले भने।

यसअघि पनि चौध वर्ष कलेजहरूमा निर्वाचन नै नभएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले भने, ‘हामी विद्यार्थी सबै मिलेर अघिल्लो निर्वाचन ०७९ मा चौध वर्षपछि गराउन सफल भयौँ। उमेरहद पनि २८ वर्ष कायम भयो। यसले वास्तविक विद्यार्थीले चुनाव लड्न पाए। कलेजमा कायम हुने स्ववियु नेतृत्व निर्माण गर्ने थलो हो। हिजोको दिनमा व्यवस्था परिवर्तन र अधिकारका लागि प्रयत्न भयो। अब नेतृत्व विकासका लागि स्ववियु आवश्यक हो। नेविसंमा हामीले ३२ वर्षे उमेरहद पनि कायम गर्‍यौँ।’

रत्नराज्य कलेजका पूर्वस्ववियु सभापति राजकुमार राई पछिल्लो समय स्ववियु निर्वाचनबारे विद्यार्थीलाई जानकारीसमेत नभएको बताउँछन्। यही कारणले पछिल्लो निर्वाचनमा विद्यार्थीहरूको सहभागिता घटेको उनको तर्क छ। 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिवसमेत रहेका राईका अनुसार स्ववियुले पनि पछिलो समय रचनात्मक र विद्यार्थीको मुद्दा उठान गर्न सकेको छैन। २०६५ सालको रत्नराज्य कलेजको स्ववियु सभापति उनी भन्छन्, ‘केन्द्र राजनीतिको नेतृत्व स्थापित गर्ने आधार स्ववियु हुने गरेको थियो। हाम्रो पालामा कलेजको स्ववियु निर्वाचनमा विद्यार्थीहरू आफ्नो नेतृत्व चयन गर्न निकै उत्साहित भएर निर्वाचनमा भाग लिन्थे। स्ववियु पनि खेलकुद प्रतियोगितादेखि विद्यार्थीको शैक्षिक उन्नयनमै चौतर्फी विकासको योजना बनाएरै काम गर्ने गरेका थिए। कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनका बिचमा समन्वयकारी भूमिकामा स्ववियु हुने गरेको थियो।’

उनी पछिल्लो समय विद्यार्थीहरू कलेजमा अल्झिनका लागि मात्रै भर्ना हुने गरेको बताउँछन्। ‘पछिलो समय नयाँ पुस्ताहरू नेपालका कलेजमा अल्झिन मात्र भर्ना हुन्छन्। अवसर पाए विदेश गइहाल्ने चलन नै चल्यो। अर्कोतिर देशका राष्ट्रिय राजनीतिमा भएका नेतृत्व वर्गले पनि समयसापेक्ष देश र जनताको पक्षमा काम नगरेको आभास पनि युवाहरूले गरेकै छन्,’ उनी भन्छन्।

यिनै मूलभूत कारणले गर्दा विद्यार्थीहरूले निर्वाचनमा भाग नलिएको तर्क राई को छ।

नेविसंका मुख्य-सचिव विजय खड्काले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो निर्वाचनमा नेविसंले १४३, अनेरास्ववियुले १०२ र  क्रान्तिकारीले ६५ कलेजमा स्वविय सभापति जितेका छन्। ७१ कलेजमा भने निर्वाचन हुनै सकेन।

प्रकाशित: १२ जेष्ठ २०८२ १८:२२ सोमबार





Source link

Leave a Comment