प्रकाशित मिति : असार २९, २०८२ आईतबार
एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी (स्पेसएक्स)ले मस्ककै नेतृत्वमा स्थापना गरिएको कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एक्स एआईमा २ अर्ब अमेरिकी डलर लगानी गर्न सहमति जनाएको छ। वाल स्ट्रिट जर्नलले शनिबार कम्पनीनिकट स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
यो लगानी, मोर्गन स्टेनलीले गत महिना घोषणा गरेको ५ अर्ब डलरको एक्स एआई इक्विटी फन्डको हिस्सा हो। यो स्पेसएक्सको एक्स एआईमा पहिलो ज्ञात लगानी हो, र कुनै अन्य कम्पनीमा स्पेसएक्सले गरेको हालसम्मकै सबैभन्दा ठूलो लगानीसमेत हो।
एलन मस्कले आफ्ना विभिन्न व्यापारिक कम्पनीहरूमार्फत एआई प्रवर्द्धनमा सक्रिय भूमिका खेलेका छन्। उनीद्वारा स्थापित एक्स एआईले ओपनएआई (च्याटजीपीटी प्लेटफर्म विकास गर्ने कम्पनी)सँग प्रतिस्पर्धा गरिरहेको छ।
यस वर्षको सुरुवातमा मस्कले एक्स एआईलाई आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्ससँग एकीकृत गर्दै कम्पनीको प्रमुख उत्पादन ग्रोकको पहुँच विस्तार गर्ने कदम चालेका थिए। रिपोर्टअनुसार, यस सहकार्यले एक्स एआईको मूल्यांकन ११३ अर्ब डलर पुगेको छ।
मस्कले ग्रोकलाई “विश्वकै सबैभन्दा स्मार्ट एआई” भनेर चित्रण गरेका छन्। यो च्याटबोटले स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कका ग्राहक सहायता कार्यहरूमा समेत प्रयोग भइरहेको छ।
गत बुधबार सार्वजनिक गरिएको ग्रोक ४ को प्रक्षेपणका क्रममा मस्कले भविष्यमा टेस्लाको ‘अप्टिमस फ्लीट’ नामक ह्युमनोइड रोबोटहरूमा ग्रोक एम्बेड गर्ने योजना संकेत गरेका थिए।
स्पेसएक्सका प्रतिनिधिले भविष्यमा कम्पनी र एक्स एआईबीच थप व्यावसायिक सहकार्यको सम्भावना रहेको जनाएका छन्।