काठमाडौं । हामीले आफूले खाना खाएका भाँडाकुँडा सफा गर्नका लागि स्पन्जको प्रयोग गर्दछौँ । तर हामीले भान्साका भाँडाकुँडा सफा गर्ने त्यही स्पन्ज ब्याक्टेरियाका लागि निकै उर्बर रहेको र त्यो निकै खतरनाक हुने तथ्य हामीलाई सायद थाहा छैन ।
त्यसोभए के हामीले भाँडा धुनका लागि स्पन्जको साटो ब्रसको प्रयोग गर्नु ठीक हुन्छ त ?
वास्तवमा ब्याक्टेरियाका विभिन्न प्रजातिहरुको वृद्धि विकास हुने तरिका फरक–फरक हुन्छ । केही पृथ्वीको पत्रको मुनि उम्लिरहेको हाइड्रोथर्मल भेन्ट्समा वृद्धि हुने तथा फैलिने गर्दछन् त केही चिसो ठाउँमा वृद्धि हुन्छन् ।
तर यदि ब्याक्टेरियाका लागि सबैभन्दा उत्तम ठाउँ चाहिँ भान्साको स्पन्ज नै हो ।
वास्तवमा ब्याक्टेरियाका लागि स्पन्ज स्वर्गस्थल नै हो । यसमा ब्याक्टेरियाका लागि आवश्यक पौष्टिक भोजनका टुक्राहरु प्रसस्तै रहन्छन् ।
जर्मनीको फर्टवांगेन विश्वविद्यालयका सुक्ष्म जीव वैज्ञानिक मार्कस् ऐगरट्सले भान्साको स्पन्जमा पाइने ब्याक्टेरियाका विषयमा नयाँ तथ्यांक सार्वजनिक गरेका छन् । उनले स्पन्जमा ब्याक्टेरियाका ३ सय ६२ प्रकारका प्रजाति पाइने तथ्य पत्ता लगाएका छन् ।
कतिपय स्थानमा ब्याक्टेरियाको घनत्व ५४ अर्ब प्रति वर्ग सेन्टिमिटरसम्म पाइएको छ ।
ऐगरट्स भन्छन्– यो निकै ठूलो संख्या हो । ब्याक्टेरियाको यो संख्या मानिसको दिसामा पाइने जत्तिकै धेरै हो ।
स्पन्ज छिद्रले भरिएको हुन्छ र हरेक क्षेत्रमा ब्याक्टेरियालाई बस्नका लागि ठाउँ प्राप्त हुन्छ ।
ड्युक विश्वविद्यालयका सिन्थेटिक बायोलोजिस्ट लिंगचोंग यू र उनको टिमले सन् २०२२ मा स्पन्जको जटिल वातावरणको मोडेल तयार पार्नका लागि कम्प्युटरको प्रयोग गरेका थिए ।
त्यसक्रममा उनीहरुले पाए कि जुन स्पन्जमा छिद्र तथा खाली ठाउँहरु हुन्छन् त्यसले ब्याक्टेरियाको वृद्धिलाई बढावा दिन्छन् । उनको टिमले गरेको अध्ययनका क्रममा स्पन्जमा ब्याक्टेरियाका फरक–फरक प्रजातिको वृद्धि एकै प्रकारको हुने देखिएको थियो ।
ऐगरट्स भन्छन्– भान्सामा राखिएको स्पजन्मा रहेका छिद्रको आकारले अर्थ राख्छ, ब्याक्टेरियाको वृद्धिका लागि । केही ब्याक्टेरिया यस्ता हुन्छन् जो आफसेआफ वृद्धि हुन्छन् । जबकि कुनै ब्याक्टेरियालाई चाहिँ बढ्नका लागि वातावरणको आवश्यकता पर्दछ । तथापि स्पन्ज भित्र यस्ता संरचनाहरु हुन्छन् जो सबै ब्याक्टेरियाका लागि उपयुक्त हुन्छन् ।
यथार्थ के हो भने स्पन्जले ब्याक्टेरियाका लागि उत्तम घर उपलब्ध गराउँछ । यद्यपि यो आवश्यक छैन कि यी भाँडाकुँडाले हाम्रो स्वास्थ्यमा खतरा उत्पन्न गराओस् ।
ब्याक्टेरिया सबै ठाउँमा हुन्छन्, चाहे हाम्रो छाला होस् वा हाम्रो वरपरको माटो । तर सबै खालका ब्याक्टेरिया हानिकारक हुँदैनन् । केही ब्याक्टेरिया लाभदायक मात्र हुँदैनन् कि तिनीहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ ।
त्यसो भए स्पन्जमा पाइने ब्याक्टेरियाले हामीलाई खतरा उत्पन्न गर्छन् कि गर्दैनन् त ?
ऐगरट्सले सन् २०१७ मा गरेको एक अध्ययनमा ब्याक्टेरियाका आम प्रजातिहरुको डिएनएको क्रम तयार पारे । यद्यपि हरेक ब्याक्टेरियाको प्रजाति पत्ता लगानु सजिलो हुँदैन । उक्त अध्ययनमा १० मध्ये ५ वटा ब्याक्टेरिया यस्तो प्रजातिको थिए जसले मानिसमा संक्रमण फैलाउन सक्दछन् ।
कुन ब्याक्टेरिया हानिकारक ?
तातो पानीको प्रयोग गर्नेजस्ता केही तरिकाले कतिपय ब्याक्टेरियालाई नष्ट गर्नसक्छ । तर यसमा पनि केही ब्याक्टेरिया बँच्दछन् र तिनीहरुले तातोबाट बँच्ने खालका ब्याक्टेरिया तयार पार्छन् ।
ऐगरट्स भन्छन्– सरसफाइका विभिन्न प्रक्रिया हुनसक्छन् । तर बँचेका थोरै ब्याक्टेरिया पनि पछि ठूलो संख्यामा वृद्धि हुनसक्छन् । ब्याक्टेरियाको पहिचान गरेर सरसफाइ गर्ने तरिकाको छनोट गर्न सकिन्छ ।
साल्मोनेला ब्याक्टेरिया यदि भान्साको स्पन्जसम्म पुग्यो भने यसबाट हामीलाई हानि पुर्याउने ब्याक्टेरिया वृद्धि हुनका लागि उत्तम ठाउँ प्राप्त हुनेछ ।
अध्ययनका क्रममा स्पन्जमा पाइएका ब्याक्टेरियामध्ये कुनै पनि फुड प्वाइजनिङ तथा कुनै गम्भीर रोग फैलाउने खालका चाहिँ पाइएका थिएनन् । खानाबाट सर्ने रोगमध्ये ९० प्रतिशत रोगका लागि पाँच प्रकारका जिवाणु जिम्मेवार हुन्छन् जसमा तीनवटा ब्याक्टेरिया, क्याम्पिलोब्याक्टर, साल्मोनेला र ई कोली रहेका छन् । स्पन्जमा सामान्यतया यी तीनैथरी ब्याक्टेरिया पाइँदैनन् ।
शोधकर्ताका अनुसार स्पन्जमा यस्ता खालका ब्याक्टेरिया भेटिए जो ती मानिसहरुका लागि हानिकारक हुनसक्छन्, जसको रोग प्रतिरोधी क्षमता कमजोर छ वा उनीहरु वृद्ध वा बालबालिका हुन् । स्वस्थ मानिसका लागि स्पन्जमा पाइने ब्याक्टेरिया हानिकारक हुँदैनन् ।
ए एण्ड एम विश्वविद्यालयका खाद्य सुरक्षा विषयका प्राध्यापक जेनिफर कुनलन र उनको टिमले फिलाडेल्फियाका एक सयवटा घरको स्पन्ज जम्मा गरेर अध्ययन गरे । त्यसमध्ये एक वा दुई प्रतिशत यस्ता थिए, जसमा मानिसमा फुड प्वाइजनिङ गराउने खतरा भएका ब्याक्टेरिया पनि थिए । तर त्यसमा पनि ब्याक्टेरियाको मात्रा निकै कम थियो ।
नर्वेको खाद्य अनुसन्धान संस्थान नोफिमाका वैज्ञानिक साल्भिङ्ग ल्याङ्गसरुडको सन् २००२ मा प्रकाशित शोधले पनि सोही कुरा पुष्टि गरेको छ । उनको अध्ययनमा पनि स्पन्जमा पाइने ब्याक्टेरिया हानिकारक नरहेको देखिएको थियो ।
के स्पन्जको साटो ब्रस प्रयोग गर्नु राम्रो हुन्छ ?
वास्तवमा स्पन्जको तुलनामा ब्रसमा निके कम ब्याक्टेरिया हुन्छन् । कुनलन भन्छन्– स्पन्जमा रहेका अधिकांश ब्याक्टेरिया हानिकारक हुँदैनन् । तिनीहरुले केवल गन्ध पैदा गर्न सक्छन् । त्यस्तो दुर्गन्ध समयक्रममा राम्रो लाग्दैन ।
स्पन्जमा यस्ता ब्याक्टेरिया हुन्छन् जसको वृद्धि भए पनि हामीलाई कुनै हानि हुँदैन । तर साल्मोनेला ब्याक्टेरिया यदि भान्साको स्पन्जसम्म पुग्यो भने यसबाट हामीलाई हानि पुर्याउने ब्याक्टेरिया वृद्धि हुनका लागि उत्तम ठाउँ प्राप्त हुनेछ ।
यो तथ्यको सबूत पनि छ । ल्याङ्गसरुडको अध्ययनमा के पाइएको छ भने जब साल्मोनेला ब्याक्टेरिया स्पन्जमा पुग्दछ तब त्यसको संख्यामा तीव्र वृद्धि हुन्छ । जबकि ब्रसले सफा गर्दा यो ब्याक्टेरिया नष्ट हुन्छ ।
यसो हुनुको कारण चाहिँ ब्रसमा ओसिलोपना नहुन हो, जुन साल्मोनेला ब्याक्टेरियालाई हटाउन कामयावी हुन्छ । तर स्पन्जसँग यस्तो हुँदैन ।
उक्त नोक्सानदायक साल्मोनेला जस्तो ब्याक्टेरिया स्पन्जबाट हाम्रो भाँडाकुँडासम्म पुग्नसक्छ ।
त्यसोभए के हामीले भाँडा माझ्ने स्पन्ज समय समयमा फेर्नुपर्छ त ? शोधकर्ता कुनलनका अनुसार हामीले कम्तिमा एक हप्तामा भाँडा धुने स्पन्ज फेर्नुपर्छ ।
कुनलनका अनुसार स्पन्ज सफा गर्ने दुई तरिका छन् । उनी भन्छन्– स्पन्ज सफा गर्ने दुई सजिलो तरिका छन् । तपाईंले स्पन्जलाई बेलुकी प्रयोग गरेपछि डिसवासरमा राखेर धुनुहोस् वा केहीबेरका लागि माइक्रोवेभमा राखिदिनुहोस् । त्यसो गर्दा स्पन्जको ओसिलोपना नष्ट हुन्छ र ब्याक्टेरिया पनि मर्दछन् ।
तर ऐगरट्सको अध्ययनले पनि यसरी स्पन्ज सफा गर्ने कुराको वकालत गर्दैन । उनका अनुसार समयक्रमसँगै ब्याक्टेरियाले यसबाट बँच्ने क्षमता पैदा गर्दछ ।
तातोपानीमा स्पन्ज राख्दा अधिकांश हानिकारक ब्याक्टेरिया नष्ट हुन्छन्, जबकि केही चाहिँ बँच्दछन् । यद्यपि तातोपानीले हानिकारक साल्मोनेला ब्याक्टेरिया चाहिँ नष्ट हुने गरेको पाइएको छ ।
स्पन्जलाई हानिकारक हुनबाट बँचाउनका लागि त्यसलाई सिंकभित्र नराख्नु पनि अर्को उपाय हो । स्पन्जलाई सिंक बाहिरै ओभानो गराएर राख्दा त्यसको ओसिलोपना हट्दछ र त्यहाँ ब्याक्टेरियालाई वृद्धि हुने वातावरण प्राप्त हुँदैन ।
यद्यपि कतिपय चाहिँ भाँडा धुनका लागि स्पन्जको साटो अन्य उपाय अपनाउनुपर्ने बताउँछन् ।
शोधकर्ता ऐगरट्स भन्छन्– मैले भान्सामा स्पन्जको प्रयोग गर्दै गर्दिनँ । यसको प्रयोगको कुनै औचित्य नै छैन । यस्तो चिज भान्सामा नहुनु नै राम्रो हुन्छ । योभन्दा ब्रस उत्तम छ । किनकि ब्रसमा कम ब्याक्टेरिया हुन्छन् र त्यसलाई सफा गर्न पनि सजिलो छ ।
–बीबीसीको सहयोगमा