सोसल मिडियामा घिब्ली फोटोको ट्रेण्ड, गोपनीयतामा गम्भीर खतरा


काठमाडौं । ओपन एआईको च्याट जीपीटीले वास्तविक फोटोलाई कार्टुनको पात्रजस्तै अवतारमा परिवर्तन गर्ने (घिब्ली अवतार)  फिचर गत हप्ता सुरु गरेसँगै यसले सोसल मिडियामा एक प्रकारको आँधी सिर्जना गरेको छ ।

विश्वभरका नेतादेखि सेलिब्रिटी र आम साधारण प्रयोगकर्तासम्म, सबैले आफ्ना वास्तविक फोटोलाई च्याट जीपीटीमार्फत् एआई सिर्जित घिब्ली अवतारमा परिणत गरी रमाइलो मान्दै सोसल मिडियामा शेयर गरिरहेका छन् ।

च्याट जीपीटीको पछिल्लो संस्करणमा प्रयोगकर्ताले आफ्नै फोटो वा इन्टरनेटमा भाइरल कुनै पनि मिम्सलाई गज्जबको घिब्ली शैलीको कलात्मक चित्रमा परिणत गरिदिन्छ ।

उता एलन मस्कको च्याटबट ग्रोकमा पनि यस्तै इमेज जेनेरेसन फिचर उपलब्ध छ । मस्कको एक्स एआईले यो फिचरलाई ग्रोक थ्रीमा आबद्ध गरेको छ जसबाट प्रयोगकर्ताले निःशुल्क रुपमा घिब्ली शैलीको फोटो सिर्जना गर्न सक्दछन् ।

अहिले भाइरल बनिरहेको यो ट्रेण्डमा आम मानिसहरु मग्न भइरहँदा उता डिजिटल प्राइभेसीका पैरवीकर्ताहरुले भने प्रयोगकर्ताहरुलाई चेतावनीको घण्टी बजाइरहेका छन् ।

विज्ञहरुको चिन्ता के छ भने च्याट जीपीटीले आफ्नो एआईको प्रशिक्षणका लागि यो ट्रेण्डमार्फत् लाखौँ प्रयोगकर्ताका व्यक्तिगत फोटाहरु संकलन गरिरहेको हुनसक्छ । प्रयोगकर्ताले च्याट जीपीटीमा आफ्ना निजी फोटाहरु अपलोड गरी कार्टुनको पात्रजस्तै नयाँ तस्वीर प्राप्त गरेर मज्जा लिइरहेको बेला अन्जानमा ओपन आईलाई आफ्नो अनुहारको ताजा डेटाहरु हस्तान्तरण गरिरहेको र यसले गोपनीयता सम्बन्धी गम्भीर चिन्ता खडा गरेको तर्क कतिपय विज्ञहरुको छ ।

के हो घिब्ली  ?

सन् १९८५ मा हायाओ मियाकाजी, इसाओ ताकाहाता र तोसियो सुजुकीले स्थापना गरेको विश्वप्रसिद्ध जापानी एनिमेसन स्टुडियोको नाम हो स्टुडियो घिब्ली । यो स्टुडियोले स्प्रिटेड अवे, पिन्सेस मोनोनोक, होवल्स मुभिङ क्यासल जस्ता कैयन् सुन्दर तथा प्रसिद्ध एनिमेटेड फिल्महरु उत्पादन गरिसकेको छ । यसलाई पूर्वको डिज्नी भनेर पनि चिनिन्छ । यद्यपि यसको आफ्नै पहिचान र कथानक दर्शन छ ।

घिब्ली शैलीका एनिमेटेड फोटोको पछिल्लो भाइरल ट्रेण्डले विभिन्न कपिराइटयुक्त सिर्जनाहरुलाई एआई टूलले दुरुपयोग गर्ने गम्भीर सवाल खडा भएको छ र यसले भविष्यमा मानव कलाकारको जीविकामै अवरोध सिर्जना गर्नसक्छ ।

‘घिब्ली’ एक इटालियन भाषाको शव्द हो । यसको अर्थ ‘तातो मरुभूमिको हावा’ भन्ने हुन्छ । एनिमेसन उद्योगमा नयाँ हावा बहाउने स्टुडियोको उद्देश्यका साथ यसको नाम ‘घिब्ली’ राखिएको बताइन्छ ।

घिब्लीका एनिमेसन हातले कोरिएका तथा गहन रुपमा कलात्मक हुन्छन्, जो अहिलेको तीव्र गतिवान तथा डिजिटल ढाँचा भन्दा फरक छन् ।

जीवन्त तथा वातावरणमै डुबेको अनुभूति गराउने विस्तृत पृष्ठभूमि, पात्रहरुको सलल बगेको तथा वास्तविक र अर्थपूर्ण भावभंगी र शैली, पृष्ठभूमिसँग तादात्म्य राख्नेगरी प्राकृतिक तत्वहरुको मिलान जस्ता विशिष्टता घिब्लीका एनिमेटेड सिर्जनाहरुमा पाइन्छ ।

घिब्लीका सस्थापक हायाओ मियाजाकीको पछिल्लो फिल्म द ब्वाय एण्ड हेरोनले सन् २०२४ मा सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्ममा ओस्कार अवार्ड जितेको थियो ।

एआई एनिमेसन र मियाजाकी

घिब्लीका सर्जक मियाजाकी हातले कोरिएका एनिमेसनका खरो पक्षपाती हुन् । यस्ता सिर्जनामा कलाकारको आत्मा प्रतिविम्बित हुन्छ भन्ने उनको तर्क छ । डिजिटल एनिमेसन तथा आधुनिक कम्प्युटर सिर्जित विधिको को सख्त विपक्षमा रहँदै आएका छन् । कम्प्युटर ग्राफिक्समा कुनै जीवन्तता नहुने उनको धारणा छ । कथावाचनमा पारम्परिक कलात्मकता र मानवस्पर्शको उनले सदैव पैरवी गर्दै आएका छन् ।

अझ एआई तथा प्रविधि सञ्चालित सिर्जनात्मकताको त उनी कठोर आलोचक हुन् । सन् २०१६मा आफ्नै बारे निर्माण गरिएको डकुमेन्ट्री नेभर इन्डिङ म्यानः हायाओ मियाजाकीको प्रदर्शनका क्रममा एआई निर्मित एनिमेसन देखाइएपछि उनको टिप्पणी थियो- जसले यो सामग्री सिर्जना गर्यो, उसलाई पीडा भन्ने कुरा थाहै छैन । म पूर्णरुपमा निरास भएँ । मैले मेरो कर्मममा यो प्रविधिलाई कहिल्यैपनि आबद्ध गर्ने छैन । मलाई लाग्छ कि यसो गर्नु भनेको जीवनलाई नै अपमान गर्नु हो ।

पछिल्लो ट्रेण्डले सिर्जना गरेका विवाद

घिब्ली शैलीका एनिमेटेड फोटोको पछिल्लो भाइरल ट्रेण्डले विभिन्न कपिराइटयुक्त सिर्जनाहरुलाई एआई टूलले दुरुपयोग गर्ने गम्भीर सवाल खडा भएको छ र यसले भविष्यमा मानव कलाकारको जीविकामै अवरोध सिर्जना गर्नसक्छ । ८४ वर्षीय मियाजाकीले एनिमेसनमा एआईको भूमिकाप्रति आशंका व्यक्त गरेका छन् ।

उता डिजिटल गोपनीयताका पैरवीकर्ताहरुले चाहिँ ओपन एआईको डेटा संकलन रणनीति केवल एआई कपिराइटको विषय मात्र नभएको बताउँछन् । यसबाट एआई कम्पनीहरुलाई प्रयोगकर्ताले स्वेच्छाले पेश गरेका फोटाहरु संकलन गर्न अनुमति दिने भएकाले वेबमा आधारित डेटाहरुका विषयमा लागू हुने कानूनी बन्देजहरुलाई समेत यसले बाइपास गर्ने उनीहरुको तर्क छ ।

विज्ञ भन्छन्– हामीले आफ्ना निजी फोटो च्याट जीपीटीलाई सुम्पिइरहेका छौँ

एआई, टेक एण्ड प्राइभेसी एकेडेमीकी सहसस्थापक ब्राजिलियन शोधकर्ता लुजिया जारोभ्स्कीले एक्स प्लाटफर्ममा लेखेको एउटा टिप्पणी यस्तो छ–

धेरै मानिसहरूले बुझ्न सकेका छैनन् कि ‘घिब्ली प्रभाव’ केवल एक एआई प्रतिलिपि अधिकार विवाद मात्र होइन, बरु यो ओपन एआईको एक चतुर प्रचारप्रसार रणनीति हो, जसको उद्देश्य हजारौँ नयाँ व्यक्तिगत फोटाहरूमा पहुँच प्राप्त गर्नु हो ।

यो यसरी गरिएको छ–

घिब्ली (सेसमी स्ट्रिट) शैलीमा आफ्नो अवतार बनाउने लहर चलिरहेकाले, अहिले हजारौँ मानिसहरूले आफैँले आफ्नो अनुहार र व्यक्तिगत तस्बिरहरू च्याट जीपीटीमा  स्वेच्छाले अपलोड गरिरहेका छन् । जसका कारण ओपन एआईले आफ्ना एआई मोडेलहरूको प्रशिक्षणका लागि सहज, निःशुल्क र ठूलो संख्यामा नयाँ अनुहारहरू पाउँदै आएको छ ।

कतिपयले तर्क गर्न सक्छन् कि यो कुराले खासै अर्थ राख्दैन, किनभने ओपन एआईले यी तस्बिरहरू इन्टरनेटबाटै स्क्र्याप गरेर पनि प्रयोग गर्न सक्थ्यो। तर यो कुरा दुई कारणले सत्य होइन–

१. गोपनीयताको ‘बाइपास’

युरोपेली युनियन जस्ता क्षेत्रमा जब ओपन एआईले इन्टरनेटबाट व्यक्तिगत तस्बिरहरू संकलन गर्छ, उसले आम डेटा सुरक्षण नियम (जिडिपिआर) अनुसार ‘वैध स्वार्थ’ लाई कानुनी आधारको रूपमा प्रयोग गर्छ ।

यस सन्दर्भमा, ओपन एआईले त्यसबाट व्यक्तिहरूलाई हानि पुर्‍याउन नहुने, वा उनीहरूको हितविपरीत जान नहुने बाध्यता हुन्छ। त्यसैले उसले अतिरिक्त सुरक्षा उपायहरू अपनाउनु पर्छ– कहिलेकाहीँ त ती तस्बिरहरू मोडेल प्रशिक्षणमा प्रयोग नगर्ने निर्णय समेत गर्नुपर्छ ।

अन्य देशहरूको गोपनीयता कानुनले पनि स्क्र्याप गरिएका तस्बिरहरू, विशेष गरी बालबालिकाका तस्बिरहरूको हकमा अतिरिक्त सुरक्षा व्यवस्था माग गर्छ।

तर जब मानिसहरूले आफैले यी तस्बिरहरू स्वेच्छाले अपलोड गर्छन्, तब ओपन एआईले तिनीहरूलाई ‘अनुमति’ (consent) को आधारमा प्रयोग गर्न सक्छ, जिडिपिआरको धारा ६.१ अनुसार ।  यस अवस्थामा वैध स्वार्थको सन्तुलन परीक्षण (balancing test) आवश्यक पर्दैन, र ओपन एआईले  स्वतन्त्र रूपमा ती डाटाहरू प्रयोग गर्न सक्छ।

ओपन एआईको गोपनीयता नीतिमा स्पष्ट लेखिएको छ कि यदि प्रयोगकर्ताहरूले अनुमति प्रदान नगर्ने निर्णय नगरेमा (अप्टआउट नगरेसम्म) उनीहरूले दिएको व्यक्तिगत डाटा एआई मोडेल प्रशिक्षणका लागि प्रयोग गरिनेछ।

२. नयाँ, ताजा तस्बिरहरू

यो प्रवृत्ति ‘चतुर गोपनीयता चाल’ (privacy trick) भएको दोस्रो कारण के हो भने, मानिसहरूले अहिले नयाँ तस्बिरहरू अपलोड गरिरहेका छन्– पारिवारिक फोटोहरू, व्यक्तिगत र कहिलेकाहीँ गोप्य तस्बिरहरू समेत, जुन पहिले कहिल्यै सामाजिक सञ्जालमा देखिएको थिएन ।

ओपन एआईले यी सबै ताजा तस्बिरहरू निःशुल्क रूपमा पाउँदै आएको छ । यिनीहरूको मूल प्रति केवल ओपन एआई सँगमात्रै हुनेछ । अन्य एआई कम्पनीहरूले र सामाजिक सञ्जालहरूबाट त केवल ती वास्तविक र सक्कली तस्वीहरुको ‘घिब्ली संस्करण’ मात्र हेर्न सकिन्छ ।

तथापि यो ट्रेण्ड झनै फस्टाइरहेको छ । आफ्नो रमाइलो अवतार प्रयोग गर्नका लागि च्याट जीपीटीमा आफ्नो फोटो अपलोड गरेमात्रै पुग्छ र अन्य थर्डपार्टी एपहरुको प्रयोग गर्नुपर्दैन भन्ने थाहा पाएपछि मानिसहरु यो भाइरल ट्रेण्डमा जोडतोडका साथ भाग लिइरहेका छन् ।

– एजेन्सीहरुको सहयोगमा





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School