सोभियत विजयोत्सवको विश्वव्यापी सन्दर्भ

सोभियत विजयोत्सवको विश्वव्यापी सन्दर्भ


मे ९ तारिक दोस्रो विश्वयुद्धमा फासिस्टहरूमाथि विजय हासिल भएको दिन हो । यो महायुद्धमा एकातिर नाजी जर्मन, इटाली र जापान थिए भने अर्कातर्फ सोभियत संघ, बेलायत र अमेरिकी गठबन्धन बन्यो । लडाईंमा करिब सत्तरी राष्ट्रहरू होमिए र सात-आठ करोड मानिसले ज्यान गुमाए । सोभियतहरूको चारवर्ष लामो निर्णायक र महान् देशभक्तिपूर्ण युद्धपछि अविजित भनिएको जर्मन फासिस्ट शक्तिले हार्‍यो ।  

मे ९ को विजय दिवससँग सोभियत जनताको सबैभन्दा ठुलो भावनात्मक सम्बन्ध थियो र छ । मे ९ तिनका एउटा पुस्ताले प्राप्त गरेको सृष्टि कै ठुलो विजय थियो र सृष्टिकै ठुलो बलिदान थियो । साथै सृष्टिकै ठुलो वियोग, दुःख र विनाश थियो । सोभियत संघ टुक्रिए पनि रुसमा अझै यो दिवस गर्वका साथ मनाइन्छ ।

यो दिन सन् १९४१–१९४५ को चार वर्षे महान् देशभक्तिपूर्ण युद्धपछि नाजी जर्मनीलाई घुँडा टेकाएको दिन हो र सोभियत वीरहरूको बलिदानबाट युरोपलाई ग्यास च्याम्बर र यातना शिविरबाट मुक्त गरेको क्षण हो ।

यो महायुद्धमा दुई करोड ७० लाखभन्दा बढी सोभियत जनताले शहादत प्राप्त गरेका थिए । युद्वमा भाग नलिने त्यहाँ घरै छैनन् । ज्यान नगुमाएका वा घाइते नभएका परिवार भेटिन्न । हरेक घरले संघर्षको गाथा बोकेका छन्, प्रत्येकले एउटा एउटा वीरताको कथा रचेका छन् । यी सबैलाई उन्ने हो भने हजार महाभारत बन्नेछ । एउटा यस्तो ग्रन्थ– त्रासदी, लडाइँ, विनाश र विजयको ग्रन्थ । साहस, बलिदान र त्यागको ग्रन्थ । देशभक्ति लडाइँको नारै थियो– ‘सबै युद्धका लागि, सबै विजयका लागि’  

उक्त युद्वमा जो बाँच्न सफल भए, ती सेनाहरू, लडाकुहरू आजपर्यन्त मे ९ तारिकको दिन आफूले पाएका तक्माहरूले सैनिक युनिफर्ममा सजिएर परेड स्क्वायर वा सार्वजनिक स्थलहरूमा भेला हुन्छन्, नागरिकहरूले उनीहरूलाई अभिनन्दन गर्छन्– तिनका देशभक्तिका लागि, त्याग र बलिदानका लागि । सोभियतकालमा दोस्रो विश्वयुद्धका भेट्रानहरूलाई सरकारले ठुलो सम्मान र सुविधा दिएको थियो । अब त ती प्रायः अर्को लोकमा लागिसके । जति बाँकी छन्, तिनीहरू सय वर्षको उमेर नाघिसके । इतिहासका प्रत्यक्ष द्रष्टा र स्रष्टाहरू क्रमशः बिलाउँदै छन् ।

प्रचारको दुनिया

प्रचारप्रसार र मिडियाको दुनियामा सोभियतहरू सधैं पिछडा रहे । बिबिसी, सिएनएनजस्ता स्वतन्त्र कहल्याइएका समाचार माध्यम उनीहरूसँग भएनन् । न बेलायत, फ्रान्स, स्पेन साम्राज्यहरूले शताब्दीयौंदेखि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरूमा खडा गरेकाजस्तै औपनिवेशिक भाषिक प्रभावहरूमा उनीहरूको वर्चस्व रह्योे । यही कारणले पनि सोभियतहरूले द्वितीय विश्वयुद्धमा जुन स्केलको योगदान गरे, त्यो रूपमा विश्वसामु आफ्नो विजय गाथा, बलिदान, सौर्य र कुर्वानीको इतिहासलाई प्रस्तुत गर्न सकेनन् र आफ्नो विश्वव्यापी निर्णायक भूमिकाको पूर्ण जस लिन पाएनन् । अर्को कुरा, सोभियत दुनिया आफै पनि बाँकी विश्वबाट अलग रहेकाले चाहिँदो प्रचारप्रसार नभएको हुनसक्छ । विश्व इतिहासको यो सत्य वा विडम्बना हो कि हरेक शक्ति इतिहासलाई आआफ्नो स्वार्थानुकूल ढाल्छन् र प्रस्तुत गर्छन् ।

संसारभर दोस्रो विश्वयुद्ध विश्वमा अमेरिकाको पर्ल हार्बरमा जापानी सैन्य आक्रमणको कत्रोविधि चर्चा छ । जताततै त्यो भाइरल छ । जताततै त्यसका फिल्म, भिडियो सिडी बनेका छन् । जबकि त्यहाँ जम्मा २,४०३ जना मारिएका थिए । सोभियतहरूले लडेको लडाइँको सौर्यको अगाडि पर्ल हार्बरको युद्ध मट्यांग्राले फट्यांग्रा मारेबराबर हो । तैपनि तिनीहरू धेरै चर्चामा छैनन् किनकि यो दुनियामा बोल्न जान्नेको झुठो पनि बिक्छ । हिटलरकालीन जर्मनका प्रचारमन्त्री गोयबल्स भन्थे– एउटा झुट धेरैपटक दोहो¥याउनुहोस्, मानिसहरूले अन्ततः विश्वास गर्नेछन् ।

पूरा दोस्रो विश्वयुद्धभर जम्माजम्मी चार–चार लाखजति अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको तथ्यांक छ  । जबकि सांसारिक सूचनाको मूलप्रवाह मानिलिऊँ, दोस्रो विश्वयुद्ध तिनकै कारणले जितिएकोजस्तो दाबी गर्छन् । उता सोभियत संघले दुई करोड ७० लाख मानिसहरू गुमायो र उसले पूरा युरोप खर्लप्प निलेर आएको नाजी जर्मन र गठबन्धनलाई लखेट्दै तिनको उद्गम स्थलमै पु¥याएर इतिहासको चिहानमा गाडिदियो । तर विश्व इतिहासमा उसको यथेष्ट चर्चा छैन । सोभियतसंघले खेलेको निर्णायक भूमिकालाई छायामा पार्दै विश्वका हालीमुहाली मिडिया र इतिहासकारहरू अझ अहिलेको परिप्रेक्षमा गुगल पनि उक्त युद्व अमेरिका, ब्रिटेनले गर्दा नै साम्य भएको बयान गर्छन् । अथवा घुमाउरो पाराले जति आफ्नो पोल्टामा पार्ने गरी इतिहासलाई  परिभाषित गर्छन् ।

पृष्ठभूमि

दोस्रो विश्वयुद्धमा जर्मनलगायतका गठबन्धनले डेनमार्क ६ घण्टामा, लक्जेमबर्ग एक दिनमा, हल्यान्ड पाँच दिनमा, युगोस्लाभिया ११ दिनमा, बेल्जियम १८ दिनमा, ग्रिस २४ दिनमा, पोल्यान्ड २७ दिनमा, फ्रान्स जस्तो ठुलो देश ४२ दिनमा, नर्वे ६१ दिनमा कब्जा ग¥यो ।  

यसरी पूरा युरोप कब्जा गर्दै अघिबढिरहेका नाजी गठबन्धनले पारस्परिक सन्धिको अवज्ञा गर्दै २२ जुन १९४१ को बिहान झुल्किन नपाउँदै सोभियत भूमिमा आक्रमण ग¥यो । लाखौं घर, करोडौं नागरिक, सयौं सहर, हजारौं कारखाना र संग्रहालय खरानी भए । युगौंदेखि कैयन् युद्ध र झैझगडा झेल्दै बल्लतल्ल शान्तिपूर्ण संसारको निर्माणमा जुटेका सोभियतहरूको सपनालाई दुःस्वप्नमा परिणत गर्दै नाजीहरू राजधानी मस्को नजिकसम्म पुगे र आगामी अक्टोबर क्रान्तिको दिन ७ नोभेम्बर १९४१ मा आफूहरू रेड स्क्वायरमा परेड खेल्ने ऐलानसमेत गरे ।

१४१८ मा दिन र रात चलेको यस युद्धले  मानव समुदायलाई युद्धमा मारिएका, फासीवादी कैदमा यातना भोगेका, भोक र अभावबाट मरेका सबै कहालीलाग्दो क्षणहरूको दुःखद सम्झना  गराउँछ । युद्धले प्रत्येक परिवारमा शोक ल्यायो । भनिन्छ सोभियत मुलुकमा एउटा पनि घर अछुतो छैन, जसको परिवारको सदस्य युद्धमा नमरेको होस् । हरेक घरले युद्धको पीडा भोगेको छ र विछोडको साँक्षी बनेको छ ।  

चारैतिर विनाश, पराजय र निराशाको कालो बादल मडारिएको यो बेला सोभियत जनतालाई यो युद्ध सोभियत राष्ट्रको जीवन र मृत्युको प्रश्न थियो । र सोभियत जनता स्वतन्त्र हुने वा दासत्व स्विकार्ने भन्ने धर्मसंकटको घडी थियो ।

राष्ट्रको जीवनमा आइपरेको यो संगीन घडीमा  सोभियत सर्वोच्च सुरक्षा कमान्डले सबै देशबासीलाई आह्वान ग¥यो– ‘सम्पूर्ण देश रणमैदानका लागि, सबै विजयका लागि’ । यही नारा सन् १९४१ जुलाई १ मा राष्ट्रिय प्राब्दा दैनिकको पहिलो पृष्ठको हेडिङ बनेर बाहिर आयो । सरकारको यो नारालाई सम्पूर्ण सोभियत जनता, सबै वर्ग, सबै तप्का र सबै विचारधाराले समर्थन गरे । उनीहरूले आह्वानको प्रत्युत्तरमा ‘सबै मातृभूमिको रक्षाका लागि डट्ने’ भन्दै प्रतिबद्धताको शंखघोष गरे । यससँगै विभिन्न नाराहरू, गीतहरू सिर्जना भए । तीमध्ये एक थियो ः  

‘मातृभूमि आमा बोलाउँदै छिन् : युवाहरू अघि बढ’

‘मातृभूमि आमा’को यस आह्वानको वरिपरि धेरै फरक विचार र संस्कृति भएका मानिसहरू, सैन्यशक्ति र सामान्य नागरिक, पुरुष र महिला, युवा र किशोरहरू उमेर र उत्पत्तिको पावन्दीबिना गोलबद्ध भए र करोडौं वीर–वीरांगनाहरू देशभक्ति युद्धको महासंग्राममा होमिए । दुई करोड सत्तरी लाखको जीवन आहुतिबाट युरोपलाई ग्यास च्याम्बर र यातना शिविरको चंगुलबाट मुक्त गरे ।

पृथ्वीका ठुला र भयंकर महासंग्रामहरू

मानव जातिको इतिहासमा सबैभन्दा ठुलो रक्तपातपूर्ण युद्धमध्ये धेरै लडाइँहरू महान् देशभक्तिपूर्ण युद्धमा लडिए । राजधानी नै नियन्त्रण गर्न आइपुगेका नाजीविरुद्धको मस्कोको लडाइँ दोस्रो विश्वयुद्धको सबैभन्दा ठुलो युद्ध थियो, जसमा सत्तरी लाखभन्दा बढी मानिसले भाग लिएका थिए । सातमहिना लामो यो युद्धमा करिब दशलाख सोभियतहरूले बलिदान गरे । मस्कोको युद्धको धेरै महŒवपूर्ण अर्थ यसकारण थियो कि यसले पहिलोपटक जर्मन सेनाको अजेयताको मिथकलाई हटाइदियो । विश्वप्रसिद्ध अर्को महासंग्राम ‘स्टालिनग्रादको लडाइँ’ २०० दिन र २०० रातसम्म चल्यो । यस महायुद्धमा करिब पाँच लाख सोभियत वीरहरूले ज्यानको आहुति दिए भने जर्मनतर्फ तीनलाख भन्दा बढी क्षति भयो । यहाँको एउटा पाभलोभ भवनको रक्षाका लागि मात्र  ५८ दिनसम्म लडाइँ भयो । नाजीहरू, जो कुनै बेला रेड स्क्वायरमा मार्च गर्दै ९ नोभेम्बर १९४१ मा जर्मनीको विजयोत्सव मनाउने कुरामा ढुक्क थिए । स्टालिनग्रादको पराजयपछि तिनैले जर्मनीमा तीन दिने शोक घोषणा गरे । त्यसैगरी सानो रझेभ सहरको मुक्तिका लागि सोभियत वीरहरूले ५२० दिनसम्म लडे । युद्धअघि ५६ हजार मानिसहरू बसोबास गर्ने रझेभ सहरमा मुक्तिपछि जम्मा ३६० मात्र जीवित बचे । सम्पूर्ण सहर ध्वस्त भयो । रझेभको संग्राममा सोभियत सेनाले दश लाखभन्दा बढी वीरहरू गुमायो ।  

युद्धको सबैभन्दा त्रासदीपूर्ण दिनहरूमध्ये एक लेनिनग्राडलार्ई नाजीहरूले ८७२ दिन नाकाबन्दी गरेका थिए । जाडो, बमबारी र भोकले यहाँका लाखौं जनता मरे । प्रत्येक नागरिकले दिनको १२५ ग्राम पाउरोटीले गुजारा गर्नुपर्ने दिनहरू पनि आए । तर पनि लेनिनग्राडका जनताले आत्मसमर्पण गरेनन् । त्यो त्रासदीपूर्ण समयमा पनि उनीहरूले आफ्नो ड्युटी चालु राखे र  लेनिनग्राडवासीले आफ्नो सहर रक्षा गरेर सारा विश्वलार्ई त्याग, बलिदान र उत्सर्गको अनुपम उदाहरण देखाए । २७ जनवरी १९४४ को यस दिन सोभियत वीरहरूले लेनिनग्राडलाई पूर्णरूपमा मुक्त गरेका थिए, त्यसका लागि दशलाख वीरहरूले शहादत प्राप्त गरे । दोस्रो विश्वयुद्धका प्रमुख लडाइँहरूमध्ये अर्को भयंकर युद्ध कुर्सको लडाइँ हो, जसलाई इतिहासको सबैभन्दा ठुलो ट्यांक युद्ध पनि मानिन्छ, यो युद्ध पचास दिन चल्यो र त्यसको विजयका लागि लाखौं सोभियतहरूले ज्यानको मूल्य चुकाउनुप¥यो । अन्य थुप्रै रणसंग्रामहरूको फेहरिस्ट यो सानो लेखमा सम्भव छैन् ।  

युरोपको मुक्ति

दोस्रो विश्वयुद्धको अर्को कहालीलाग्दो घटनाहरूमध्ये नाजीहरूले युरोपभर चालीस हजार यातना शिविरहरू खोलेका थिए । ती सामूहिक हिरासत, श्रम शिविरहरू, मृत्यु शिविरहरू र ग्यास च्याम्बरहरूमा पच्चीस लाख मानिसहरू थुनिएको र तीमध्ये दश लाखले ज्यान गुमाएको अनुमान गरिन्छ ।

सोभियत सेनाको बलिदान युरोप मुक्तिका लागि पनि उत्तिकै रह्यो । सन् १९४५ को जनवरी २७ को दिन सोभियत सेनाले मार्सल कोन्योभको नेतृत्वमा पोल्यान्डमा अवस्थित मृत्यु शिविर अस्विट्जका कैदीहरूलाई मुक्त गरेको थियो । अस्विट्जमा दश लाखभन्दा बढी मानिसहरू योजनाबद्ध सफायाको क्रममा मारिएका थिए ।  पोल्यान्डको मुक्तिका लागि लगभग ६ लाख सोभियत सैनिकहरूले आफ्नो जीवन बलिदान दिए ।

सोभियत सेना आफ्नो मुलुकको स्वतन्त्रतामा मात्र रमाएन । करिब ७० लाख सोभियत सेनाले ११ युरोपेली देशको मुक्तिका लागि लडे । उसले रोमानिया, पोल्यान्ड, बुल्गेरिया, युगोस्लाभिया, चेकोस्लोभाकिया, हंगेरी, अस्ट्रिया, जर्मनी, नर्वे र डेनमार्कको फासिस्ट अधीनस्थ भूभागलाई पूर्ण वा आंशिक रूपमा मुक्त गर्न आफ्ना दशलाखभन्दा बढी लालसेना र सैनिक अधिकारीहरूको समेत कुर्बान ग¥यो । दोस्रो विश्वयुद्धभर युरोपका एघार र एसियाका दुई देश गरी सोभियत सेनाले जम्मा ४८५ सहरहरू स्वतन्त्र गरेका थिए ।

विजय महिमा

सोभियतहरूको सौर्य, तिनका बलिदान, त्याग, बहादुरी र वीरताको गाथा लेख्ने हो भने यो लोककै अझ सृष्टिकै सबैभन्दा लामो महाकाव्य बन्नेछ । तिनले रचेको विजयको इतिहास मानव सभ्यताकै अनुपम घटना थियो । हुन पनि त्यहाँ पूरा देश नै होमिएको थियो । त्यहाँ जागिरे सिपाहीको ड्युटीभन्दा देशभक्तिले भाग लिनेहरूको बहुमत थियो । त्यसको छापामार युद्ध, गुरिल्ला कौशल प्रदर्शन गर्नेहरूको कहानी छुट्टै छ । कम्सोमोलका युवतीहरूले देखाएका अदम्य साहसका किंवदन्तीहरू भिन्न छन् । खुफिया कूटनीतिका रोमाञ्चकपूर्ण तिकडमहरूले अर्को सयौं ग्रन्थ भरिन्छ ।   बालबालिका र बुढाबुढीहरूले उद्योगधन्दा चलाएर अर्थतन्त्र धानिदिनुपर्ने आफ्नै कथा छ ।

आखिर त्यत्रो युरोप खर्लप्प निलेर विश्वविजयको यात्रामा निस्किएको जर्मन गठबन्धनलाई सोभियतसंघले हराइदियो । किनकि हातहतियार र प्रविधिको शक्तिभन्दा पनि दोस्रो विश्वयुद्धमा सोभियतहरूले देखाएको साहस, बहादुरी र बलिदान अदम्य थियो । अझ त्योभन्दा पनि सबैभन्दा अनुपम मातृभूमिप्रतिको प्रेम, अटल विश्वास र जनताहरूबीच अद्वितीय एकता थियो ।    

म बारम्बार हरेक वर्षको मे महिनामा क्रेमलिन अगाडि हुने विजयोत्सवले उद्वेलित हुनेगर्छु । त्यो सन् १९४५ को प्रथम विजय दिवस मानिलिऊँ सृष्टिकै अनुपम क्षणजस्तै लाग्छ । करोडौं सहयोद्धाहरू गुमाएर र ठुलो समर जितेर आएका ती योद्धाहरूको माझ जब सेनापति झुकोभले हरेक पल्टनलाई बधाइ दिँदै जान्छन् र प्रत्युत्तरमा प्रत्येक पल्टनबाट ‘हुर्रा हुर्रा’ भन्ने नाद गुन्जन्छ, मानिलिऊँ त्यो नाद, त्यो ध्वनिले आकाश ढाक्छ र यसअघि धरतीमा गुन्जिएका ध्वनिलाई फिका बनाउँछ ।  

ऐतिहासिक महत्त्व

दोस्रो विश्वयुद्धमा फसिस्ट शक्तिहरूमाथि गरिएको विजयले युरोप मात्र मुक्त भएन, बरु यसले औपनिवेशिक साङ्लोले बाँधिएका एसिया, अफ्रिका र ल्याटिन अमेरिकन मुलुकहरूमा ठुलो हलचल ल्याइदियो । चीन,  भारतजस्ता थुप्रै मुलुकहरू यही लहरबीच मुक्त भए । शताब्दीऔंदेखि धनी र उन्नत मानिएका साम्राज्यहरू र तिनका औपनिवेशिक जञ्जीरविरुद्ध यसले विश्वभर ज्वारभाटा ल्यायो । कहिल्यै नअस्ताउने सूर्य भनिएका साम्राज्यहरू अस्ताचलतर्फ भागे ।  

यो युद्धको परिणामले विश्वको स्पष्ट राजनैतिक र सामरिक ध्रुवीकरण ल्यायो । शीतयुद्धका विभिन्न भयहरू गुन्जिरहे पनि दुई विश्वको प्रतिस्पर्धाले विज्ञान र अनुसन्धानको क्षेत्रमा ठुलो फड्को मा¥यो । मानवजातिलाई पृथ्वीको विकासले मात्र पुगेन अनि देवकोटाले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेझैं अन्तरिक्षको यात्रासमेत तय भयो ।

निष्कर्ष

आज विश्वमा एक वा अर्को तरिकाबाट विजयको गौरवशाली इतिहासलाई तोडमोड र बङ्ग्याउने प्रशस्त प्रयत्नहरू हुँदैछन् । युक्रेन, पोल्यान्ड, बुल्गेरिया आदि देशहरूमा सोभियत वीरहरूको सम्मानमा ठड्याइएका  ऐतिहासिक स्मारक र सालिकहरूमाथि हमला हुँदैछ । यो विश्व इतिहासको र शान्तिप्रेमी मानवजगत्को अपमान हो । आज फेरि इतिहासको चिहानमा गाडिएका फासिज्मले विभिन्न बहानामा शिर उठाउँदैछ । फेरि पनि जातीयता, साम्प्रदायिकता एवम् धर्मको आड लिएर नवफासिस्टहरूको उदय हुँदैछ ।  

दोस्रो विश्वयुद्ध रुस, बेलारुस र युक्रेनको साझा दुःख, साझा पीडा र साझा बलिदानको  इतिहास हो । नाजीहरूले आक्रमणको सुरुआत नै युक्रेनको किभमा बमबारी गरेर गरेका थिए । त्यसमा शहादत गर्नेहरूमध्ये एक करोड युक्रेनीहरू थिए ।

विडम्बना आज रुस र युक्रेन युद्ध लड्दैछन् । सृष्टिको आदिकालदेखिका दाजुभाइहरू, सत्तरीवर्ष एउटै लक्ष्य र एउटै मिसन बोकेर साझा सोभियत सभ्यता निर्माणमा जुटेका सहयात्रीहरू, काँधमा काँध मिलाउदै एउटै मोर्चाबाट नाजी फासिस्टविरुद्ध लडेका सहयोद्धाहरू एकापसका दुस्मनमा परिणत भएका छन् । इतिहासमा योभन्दा पीडादायी कुरा के हुनसक्छ ?

आजको दुरावस्था देखेर एउटी युक्रेनीले रुँदै लेख्छिन्– ‘यदि यही नै हुनुथियो भने हाम्रा पुर्खाहरू केका लागि लडे ? केका लागि त्यत्रो ज्यान फाले ?’

आज शक्तिराष्ट्रहरूले युक्रेनीको बलबुता र जीवनलाई दाउमा लगाएर युद्ध गरिरहेको छन् र यो अत्यन्त पीडादायी छ । रुस युक्रेनको युद्धलाई साम्य पारेर शान्ति कायम गर्ने भन्दा बिलियन डलर खन्याएर आगोमा घ्यु थपिँदैछ । यो विज्ञान, प्रविधि र सभ्यताको युगमा पनि युक्रेन जलिरहेछ, युक्रेनी रुसीसैनिकहरू मरिरहेछन् । यसले विकसित र सभ्य भनाउँदो मानव समाजलाई गिज्याइरहेछ  ।

यस परिप्रेक्ष्यमा फासिज्ममाथि विजय प्राप्त गरेको दिन ९ मेको सम्झना गर्न अझ सान्दर्भिक छ ।

विजय दिवसको उपलक्ष्यमा विश्व मानव स्वतन्त्रताका लागि होमिने विश्वभरका वीरहरूलाई उच्च सम्मान र सबैलाई शुभकामना छ । संसारले युद्ध कहिल्यै भोग्न नपरोस् !

 

प्रकाशित: २७ वैशाख २०८१ ११:३५ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School