कस्तो कवितालाई राम्रो भन्ने? के हो कविताको मापन? बेलाबेलामा कविताको सन्दर्भ आउँदा धेरै मानिस उत्कृष्ट कविताको दाबीमा विवादित हुने गरेका छन्। तर कविता मस्तिष्क र मनसको सिधा संवादको कर्म हो। यो कर्म जीवनदर्शन, चिन्तन, अध्ययन र अनुभवबाट खारिएर अघि बढ्छ।
कविता लेखन सानो कुरा होइन। यो थोरै र साधारण शब्दहरूको सहायताले जीवनका गहन र संवेदनशील विषयमाथिको त्यो अभ्यास हो, जसले पाठकको मन र मस्तिष्कमा एकसाथ प्रभाव सिर्जना गर्छ। त्यसो त पछिल्लो समय कविता लेख्नेहरू बढेका छन्। कविताको किताब छापिने क्रम बढेको छ। तर कविहरूको सङ्ख्या बढे पनि साँच्चैका कविता लेख्नेहरू भेटिनु चाँहि मुस्किल हुँदै गएको छ।
यस्तैमा बजारमा आएको छ कवि हेमप्रभासको कवितासङ्ग्रह– साँझमा सेल्फी। कविले मसिना शब्दको सहायतामा जीवनका गम्भीर र गहन विषयलाई उठान गरेका छन्। भन्छन्– कहिलेकाहीं त यस्तो लाग्छ, सुस्तरी बगेको नदीले झैं बिस्तारै बोलूँ। हावाको मन्द लहरले हल्लाउँदा फूलका पत्रहरू आपसमा ठोकिएझैं बिस्तारै ठोकिऊँ र एउटा अनौठो धुन बनूँ। ध्यानमग्न निलो पहाडजस्तो शान्त बनूँ। हिमालहरूझैं बिस्तारै पग्लिऊँ। चराहरूझैं बिस्तारै चिरबिर गरूँ।
पढेर म दङ्ङ परे। यो भागदौडको जिन्दगीमा यी कवि कति अबोध छन्। कवि हेमप्रभासले कति बुझ्यौ जिन्दगीलाई र एउटा महान् चिन्तकले जस्तो आफूलाई व्यक्त गरिरहेछन्। त्यसो त कविता कर्म चिन्तनको विशालतम गहिराइबाट मात्र सम्भव छ।
साँझ अर्थात् दिन ओर्लिएर रात खस्दै गरेको मधुरो प्रकाशमय अवस्था। साँझ प्रिय लाग्छ। साँझ अद्भूत अवसर हो जिन्दगी बुझ्ने। सूर्य ढल्दै गर्दा देखिने रश्मि, धमिलिँदै गएको उज्यालो र मनमा भरिने भिन्न किसिमको उदासी गजब लाग्छ। साँझ यथार्थ हो। साँझ मधुर सौन्दर्यको चहक मात्रै होइन, जीवन उदासीको बुझाइ पनि हो। साँझलाई चिन्न र बुझ्न जीवनका आरोहअवरोहलाई स्विकार्न सक्ने तागत चाहिन्छ। जो कोहीले कसरी अनुभूत गर्न सक्ला यो सौन्दर्य र शक्तिको विशाल अवसरलाई। तर यहाँभित्रका कविता पढिरहँदा लाग्छ, कवि हेमप्रभासले यो अवसरलाई पटक पटक महसुस गरेका छन्।
साँझमा सेल्फी आजको नेपाली कविताको अनुहार हो। यसमा कविले कवितालाई जटिल बनाएका छैनन्। कवितालाई कुनै फुर्का जोडेका छैनन्। कुनै निश्चित क्षेत्र, भूगोल, वर्ग या समुदायको माग र आवश्यकतामा केन्द्रित गरेका छैनन्। यहाँ छ त केवल कविता। पढूँपढूँ लाग्ने कविता।
‘म जन्मिएँ यहीं
बाँचेँ यहीं, मर्ने छु यहीं
र मिल्ने छु यतै कतै
अलिकति हावा भएर
अलिकति पानी भएर
अलिकति माटो भएर
म स्वर्ग जान चाहन्नँ’
यो कविताले मस्तिष्क र मनमा एकैचोटि हिर्काउँछ। मै हुँ भन्ने साधक पनि एकछिन घोरिन्छ। साँझको रङ, साँझको स्वरूप, साँझको रेखा, साँझको आकार र साँझको स्पेस गरेर पाँच खण्डमा विभाजित यस सङ्ग्रहभित्र ७५ वटा कविता छन्।
प्रेम, प्रकृति र आन्तरिक संवेदना सुसाएका हेमका कविता जीवनजस्तै लाग्छन्। शब्दहरूमा पीडाका आहट दुख्छन्। रहर कोपिलाउँछन् र सपनाको संसार फैलिन्छ। कविता लामा छैनन्। बिम्बहरू नयाँ लाग्छन्। प्रिय र पढूँपढूँ लाग्छन्। जस्तो कि– रङहरूको माला, हतारको स्टेसन, मनको चरीजस्ता जहाज, दुःखको भिरजस्तो निधार, मान्छेविरुद्धको तमसुक, गोधूलीमा मुस्कुराउने मायाको चरी, आँसुको थुँगा उपहार।
मैले सुरुमा पनि भनेको छु– यो आजको नेपाली कविताको जबरजस्त सङ्ग्रह हो। पछिल्लो समय कविताका नाममा धेरै मागपत्रहरू सार्वजनिक भइरहेका छन्। केही न केही फुर्का नजोडी कविता हुँदैन भन्ने भाष्यलाई बलजफती स्थापित गरिँदै छ। यस्तोमा सार्वकालिक कविता लेख्नु चानचुने कुरा होइन। हेमले यो हिम्मत जुटाएका छन् र लेखेका छन् समयलाई टपक्क टिपेर कविता।
झट्ट पढ्दा मज्जा आउने कविता लेख्नेहरूको भिड नै छ अहिले। केही यस्ता कवि पनि छन्, सभासमारोहमा महफिल नै जमाउँछन्। तर यी भाइरल कविहरूको समस्या के हो भने उनीहरूको कवितामा उनीहरूको अनुहार छैन। कसैको कविता पढ्दा श्रवण मुकारुङजस्तो लाग्ने। कसैको कविता पढ्दा मोमिलाजस्तो लाग्ने। कसैको कविता पढ्दा रमेश क्षितिजजस्तो लाग्ने।
कसैको कविता पढ्दा भूपाल राईजस्तो लाग्ने। कोही तुलसी दिवसका जस्ता कविता बोकेर चिच्याइरहेछन्। कोही श्यामलका कविताजस्ता कविता भनेर प्रतियोगिता जितिरहेछन्। कोही जसराज किरातीका कविताको पुनर्लेखन गरिरहेछन्। तर कवितामा त्यो जसको कविता हो, उसको अनुहार नदेखिने। पढ्दापढ्दै कविको अनुहार हत्केलामा लिएको पानीजस्तो कुन बेला चुहिन्छ थाहा नै नहुने। त्यही भएर आजको नेपाली कवितामा संकट भनेकै कवि स्वयंको अनुहारको हो। उसको पहिचानको हो। उसको निजत्वको हो। उसको परिचयको हो।
कवितामा कवि स्वयंको अनुहार हुनुपर्छ। कविको नाम नै नभए पनि केही हरफहरू पढेर यो कविता फलानाले लेखेको हो भनेर कविता पढ्नेले चिन्न सक्नुपर्छ। यस्तो हुन सक्यो भने मात्र त्यो कवि बाँच्यो– आफ्नै अनुहारमा।
आफ्नै पहिचान र आफ्नै लेखनशैलीमा। यस्तो हैसियत कविता साधना र निजत्वको खोजीले मात्र सम्भव छ। र कवि हेमप्रभासले साँझको सेल्फीमा आफ्नो अनुहार खिचेका छन्। आफ्नै अनुहारको दाबी गरेका छन्। यो कवितासङ्ग्रहको सबैभन्दा सुन्दर पक्ष पनि यही हो। यसमा उनले आफ्नो पहिचानलाई प्रस्ट पारेका छन्। हेमप्रभास नेपाली कवितामा बाँच्ने कवि भएर उदाएका छन्।
हेमप्रभासले शक्तिशाली र गम्भीर अर्थ बोकेका कविताहरू लेखेका छन्। भाषा कलात्मक छ। शिष्ट र विनम्र उनका शब्दहरूले काव्यिक चेतलाई बल पु¥याएको छ। केही कविताहरू निकै उम्दा छन्– साँझमा अतीत, बन्दुक सिरानीमा हालेको योद्धा, तिमी मसँग नहुँदैमा, मेरो भन्नु केही छैन, उज्यालो खोजिरहेको मानिस, भरियाको आलाप, नाभि गाडिएको ठाउँ, नदीझैं बग्नु तिमी, प्रेमको तिलाञ्जली, हजुरआमालाई प्रश्न। त्यसो त हरेक कविता पढिरहँदा जो कोही मग्न रहन्छ।
अध्ययन अध्यापनसँगै फिल्म मेकिङमा पनि सक्रिय यी कवि पछिल्लो समय कवितालाई छायाङ्कन गरिरहेछन्। दृश्यमा कविता पस्किरहेछन्। त्यसो त उनी शब्दहरूकै स्केच बनाउन पनि माहिर छन्। एउटा कवितामा उनी लेख्छन्–
‘म आफ्नै पहाडमा पाइला बजाएर
जीवनको धुन खोज्छु
भेट्छु बालकहरूलाई
जो कोरिरहेका छन् गोठालो जाँदा
हरिया पातहरूमा देशको नक्सा !’
पढ्दा पढ्दै म टक्क अडिएँ। यो मेरो समयको कविले लेखेको कविता हो। आजको तस्बिर खिचिरहेछ मेरो समयको कवि साँझमा सेल्फीबाट। भाषिक रूपमा यस सङ्ग्रहभित्रका कवितामा सरलता छ, माधुर्य छन्। सबभन्दा ठुलो कुरा कविता गहिरा छन्।
हेमप्रभास नेपाली कविताको आफ्नो स्थान खोजिरहेका एक इमानदार कवि हुन्। उनका कवितामा आधुनिक चेतनासहित सामाजिक यथार्थ भेटिन्छ। सांस्कृतिक मूल्य, दार्शनिक गहनता, प्रेम, प्रकृति, मानवीय संवेदना पढ्न सकिन्छ। वर्तमानमा लागेको रित्तोपन र उदासीको घाउका लागि मलम हुन् यी कविता।
तर अन्तिममा भनिदिऊँ– कवि आफ्नो निजत्वमा जमेका छन्। आफ्ना निजी भोगाइका टिमटिमाहटलाई मसिनो र भावात्मक किसिमले लेख्छन्। सङ्ग्रहमा प्रेम, संवेदना, मानवीय चेतको प्रभाव, दुःखका पर्खाल, व्यथा, वेदनाका अनेक कहर छन्।
कति ठाउँमा कविको अनुभूति, भोगाइ र वास्तविकता मिसमास नभएका होइनन्। कति ठाउँमा कवि हतारिएका पनि छन्। कविता पढ्दा पढ्दै कतै कतै कवि बहकिएको आाभास पनि हुन्छ। कहीं नलेखे पनि हुने हरफहरू दोहोरिन्छन्। तर पनि यी आजका कविता हुन्। अहिले लेखिएका कविता। तर सबभन्दा ठुलो कुरा यसभित्र हेमप्रभासको अनुहार छ, छुट्टै, भिन्न र प्रस्ट अनुहार।
प्रकाशित: २१ असार २०८२ १०:१३ शनिबार