सेयर बजार : अनुमान कि हेरफेर ?


केही दिन, महिना वा अझ भनौं वर्षदेखि नेपालको सेयर बजारको हाल बेहाल छ । कमाउनेले घरखेत जोड्दैछन् भने गुमाउनेले घरखेत बेच्दैछन् । विना कुनै देखिने कारण कुनै दिन ठूलो अंकमा सेयर बजार बढ्छ र कुनै दिन घट्छ । सेयर बजारका ज्ञाताहरूले सम्म यकिनका साथ हाम्रो सेयर बजारमा यही नै भइरहेको छ भन्न सक्दैनन् । के सबैतिर यस्तै हुन्छ ? कि हाम्रोमा मात्रै हो ? आखिर किन त ? आज नेपालको सेयर बजारको सरल भाषामा चिरफार गरौं ।

नेपालको सेयर बजारको सूचक नेप्से अगस्ट २०२१ मा झण्डै ३२०० पुग्यो । त्यो बेलामा सेयर बजार बढ्नुपर्ने केही कारण थिएन, फलस्वरुप त्यो वृद्धि टिकेन । बजार १८०० सम्म झर्‍यो । त्यसपछि नेप्से लामो समयसम्म त्यतै रुमलिंदै रह्यो । सरकार बन्ने र ढल्ने क्रमको साक्षी बस्दा बस्दै वर्तमान सरकार बन्ने बेलासम्म त्यतै अल्झेको बजार यो सरकार बनेपछि ह्वात्त बढ्यो र झण्डै ३००० सम्म पुग्यो । यो पटक सेयर बजार बढ्नुको कारण कता–कता लगानीकर्ताहरूमा सरकारप्रतिको अन्तिम विश्वास थियो । तर त्यो विश्वास धेरै समय टिकेन र फेरि सेयर बजार घट्न थाल्यो । अहिले यो बजार झण्डै २६०० को हाराहारीमा छ ।

सेयर बजारको पहिलो विशेषता यसले देशको अर्थतन्त्र, सम्बन्धित कम्पनीको कमाइ र लाभांश वितरण क्षमता हेर्छ । दोस्रो र महत्वपूर्ण विशेषता, त्यो कम्पनीमा लगानीकर्ताहरूले लगाउने अनुमान वा स्पेकुलेसन र लिने जोखिम हो । २०२१ को अगस्टमा ३२०० पुग्नु र त्यसपछि १८०० मा झर्नुमा माथिका कुनै कारण थिएनन्, केही थियो त हल्ला अनि हल्ला । तर त्यहाँ तेस्रो र खतरनाक कारण देखापर्‍यो, त्यो हो सेयर बजारमा हेरफेर वा म्पानुपुलेसन । नेपालको सेयर बजारमा त अझ अर्को चौथो तत्व देखापर्‍यो जसले कसैको घरखेत जोड्न मद्दत गर्‍यो र कसैको खरखेत बेच्न बाध्य बनायो, त्यो हो सेयर कर्नरिङ ।

के हो सेयर बजारमा गरिने स्पेकुलेसन, म्पानुपुलेसन र सेयर कर्नरिङ ?

स्पेकुलेसनः आज लगानीकर्तालाई लाग्छ कि यो कम्पनीको सेयरको मूल्य बजारमा हुनुपर्ने भन्दा कम छ वा हुनुपर्ने भन्दा बढी छ । लगानीकर्ताले त्यसका केही कारणहरू पत्ता लगाउँछन् । ती कारणहरू खासगरी कम्पनीको आर्थिक अवस्था, भविष्यको विस्तार, सरकारी नीतिले पार्ने प्रभाव, नाफा र लाभांश वितरण क्षमता आदि हुन्छन् । यदि उसलाई सेयर मूल्य हुनुपर्ने भन्दा कम भएको लाग्छ भने सेयर किन्छ, बढी भएको लाग्छ भने आफूसँग भएको सेयर बेच्छ । लगानीकर्ता झुम्मिंदा सेयर मूल्य बढ्छ र बेच्न खोज्दा घट्छ । यो सेयर बजारको नियम हो र हुनुपर्ने पनि यही हो ।

यो सरकारबाट गर्न सकिने अपेक्षा कम हुँदै गएको अवस्थामा अब सेयर बजार यही हालतमा बढ्दैन र बढ्नुपर्ने कारण छैन । बरु नेप्से २५०० को ५ प्रतिशत तल-माथिको हाराहारीमा रुमलिएला अर्को सरकार बन्ने बेलासम्म

म्यानुपुलेसनः कुनै कारण विना केही लगानीकर्ताहरू मिलेर सेयर बजारलाई तल लैजानु वा माथि लैजानुलाई म्यानुपुलेसन भनिन्छ । यसका धेरै तरिका हुन्छन् । नेपालमा गलत हल्ला फैलाउनु र पम्प एण्ड डम्पको विधि धेरै अपनाइएको पाइन्छ । अचेल सेयर बजारमा चलखेल गर्ने जो सुकैलाई सोध्नुस्, सबैको एउटै जवाफ हुन्छ, “अब सेयर बजारलाई पाँच हजारको अंकमा पुग्न कसैले रोक्न सक्दैन ।” अनि ऊसँग त्यसको कारण सोध्नुस्, ऊ तपाईंबाट तर्किन्छ, किनकि त्यसको ठोस जवाफ ऊसँग हुँदैन । यस्ता मानिसहरूले सामाजिक सञ्जालमा समेत भ्रम फैलाइरहेका पाइन्छन् । जसले सोझा र सेयर बजारको अन्तर्य थाहा नभएकालाई फसाउँछन् । लामो समयदेखि घाटामा गएका, आगामी केही वर्षमा अस्तित्व नै संकटमा पर्न सक्ने कम्पनीहरूको सेयरमा पटक–पटक सकारात्मक सर्किट लाग्नु यसको उदाहरण हो । नेपालको बजारमा अचेल सबैभन्दा चलेको विधि यही हो । यो छोटो समयमा नाफा कमाउने विधि हो । यो विधिमा काम गर्न सानो–सानो सेयरमा सजिलो हुन्छ । फाइनान्स कम्पनी, जलविद्युत्, लघुवित्त यसका ज्वलन्त उदाहरण हुन् ।

सेयर कर्नरिङः बजारमा कुनै कम्पनीको सेयर धेरै मात्रामा हुन्छ भने कुनै कम्पनीको सेयर थोरै मात्रामा हुन्छ । थोरै मात्रामा भएको सेयरको ठूलो अंश केही समूह मिलेर किन्दै मूल्य बढाउँदै जाने प्रक्रियालाई सेयर कर्नरिङ भनिन्छ । यस्ता कम्पनीको आर्थिक स्थिति, लाभांश वितरणको इतिहास र सेयरको बजार मूल्यका बीच कुनै सम्बन्ध हुँदैन । नेपालमा अचेल फाइनान्स कम्पनी, जलविद्युत् र लघुवित्त कम्पनीको सेयरमा भएको अत्यधिक मूल्यवृद्धिको कारण यही हो ।

अझ एकातिर नेपाल राष्ट्र बैंकले कारबाही गर्ने अर्कोतिर सेयर बजारमा सकारात्मक सर्किट लाग्ने, सेयर कर्नरिङ र म्यानुपुलेसनको योभन्दा ठूलो उदाहरण के होला र ? यसलाई यदाकदा माग र आपूर्तिको असन्तुलन भनिएला, तर त्यो नियम राम्रा सेयरमा मात्र लागू हुन्छ । यदि कम्पनीको आर्थिक स्थिति राम्रो छ र सेयरको उपलब्धतामा कमि छ भने सेयरको मूल्य उकालो लाग्नु स्वाभाविक हो, तर हाम्रोमा त्यसो भएको देखिन्न ।

सेयर बजार कसरी चल्नुपर्छ ?

सेयर बजार धेरै हदसम्म सूचीकृत कम्पनीको आर्थिक अवस्था, लाभांश वितरण क्षमता र थोरै स्पेकुलेसनबाट चल्नुपर्छ । योभन्दा अर्को विधिबाट चल्दा विना कुनै कारण बजारमा उछाल वा गिरावट आउँछ । आजका दिनमा हाम्रो सेयर बजारमा भएको पनि यही हो । स्पेकुलेसन कम अनि म्यानुपुलेसन र कर्नरिङ बढी भएको कारण हाम्रो सेयर बजारको समग्र स्थिति राम्रो छैन । यस्तोमा कमाउने थोरै र गुमाउने धेरै हुन्छन् । अझ यो विधिमा जाने ठूला लगानीकर्ताले गुमाउँदा त एक पुस्ताको आर्थिक स्थिति नै बिग्रने डर हुन्छ ।

अब के हुन्छ ?

वर्तमान सरकार बनेपछि सेयर बजारले सरकारलाई पूरै विश्वास गर्‍यो । नेपाली कांग्रेस र नेकपा एमालेले यो गठबन्धन नै सरकार निर्माणको र झण्डै झण्डै व्यवस्थाकै अन्तिम विकल्प हो सम्म भन्न भ्याए । त्यो भनाइलाई लगानीकर्ताहरूले विश्वास गरे । फलस्वरुप सेयर बजारको सूचक सरकार बनेको बेलाको भन्दा ५० प्रतिशतले बढ्यो । दिन बित्दै गयो, सरकार एकपछि अर्को कुशासनको दुष्चक्रमा फस्दैगयो, लगानीकर्ताहरू निराश हुन थाले । सरकारको ध्यान विकासमा भन्दा विनाशमा गयो, सेयर बजार घट्न थाल्यो । व्यवसायीहरूलाई व्यवसाय गर्न उत्साहित गर्नुपर्नेमा दिनप्रतिदिन हतोत्साहित गर्न थालियो, सेयर बजारले ओरालो यात्रा सुरु गर्‍यो ।

देशका प्रधानमन्त्री नै आफ्ना हरेक भाषणमा आफ्नो सरकारको आयु गणना गर्न थाले, सेयर बजारले सरकारलाई कामचलाउको रूपमा लिन थाल्यो र त्यही अनुरूप प्रतिक्रिया जनाउन थाल्यो । जुन क्रम जारी छ । सरकारबाट देशको विकास गर्न, सुरु भएका आयोजना सम्पन्न गर्न कुनै कदम चालिएनन् र चाल्ने छाँट देखाइएनन्, सेयर बजार निराश भयो ।

बैंकहरू माथि नियमन भन्दा नियन्त्रणको भारी बोकाइयो, बैंकका सेयरहरू थला परे । एकातिर बैंकहरूले कमाउने स्थिति छैन, अर्कोतिर अलिअलि कमाए पनि लाभांश दिने स्थिति छैन । यस्तोमा सेयर बजारको प्रमुख खेलाडी बैंकका सेयर बिरामी परे । बैंकको कर्जा बढेन भनेर रोइलो गर्नुभन्दा कुनै बैंकरसँग सोध्नु नि किन बढेन भनेर । अनि त्यो सुई सरकार आफैंतिर फर्कनेमा कुनै द्विविधा छैन, ढुक्क भए हुन्छ । अनि वित्तीय संस्थामा नेपाल राष्ट्र बैंकले कर्जा लगानी र निक्षेप संकलन गर्न रोक लगाएसँगै सेयर कारोबारमा पनि रोक लगाउने नियम बनाउन सकिन्न ?

पहिले धेरै चलखेल गरिएको लघुवित्त क्षेत्रमा कर्नरिङले काम गर्न छाडेपछि अब कुनै आकर्षण रहेन । जलविद्युत्का सेयरको कथा बेग्लै छ । सबैलाई थाहा छ तर भन्नुहुँदैन, जलविद्युत् परियोजनामा बैंकको बाहेक कसैको लगानी हुँदैन । बैंकको लगानी पनि परियोजना मूल्यको १२५ प्रतिशत सम्म हुन्छ । अनि लकइन समय सकिएपछि के हुन्छ हामीले देख्न थालिसक्यौं । सेयर बजार र जलविद्युत् क्षेत्रलाई साँच्चिकै बचाउने हो भने कि जलविद्युत् कम्पनीको सेयर सूचीकृत नै गर्नुहुन्न, गर्ने भए बैंकको सेयरको जस्तै लकइन समय हुनुपर्छ, नत्र त्यो क्षेत्रमा दोस्रो बजारबाट लगानी गर्नेहरू धेरैको पैसा खोलाको पानीमा नै हो ।

यो सरकारबाट गर्न सकिने अपेक्षा कम हुँदै गएको अवस्थामा अब सेयर बजार यही हालतमा बढ्दैन र बढ्नुपर्ने कारण छैन । बरु नेप्से २५०० को ५ प्रतिशत तल-माथिको हाराहारीमा रुमलिएला अर्को सरकार बन्ने बेलासम्म ।

हामी कर्जा र निक्षेपको सुरक्षणको कुरा गर्दा थाक्दैनौं तर के सेयर लगानी चाहिं व्यक्तिले लिएको जोखिम हो भन्दै छाड्ने कि साना लगानीकर्ताहरूको हित रक्षा गर्न कर्नरिङ र म्यानुपुलेसन रोक्ने गरी नियम ल्याउने ?





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School