नेपाली घरआँगनमा भित्रिइसकेको छ, बडादसैं । यस वर्ष विजयादशमी हामी नेपालीका लागि खल्लो पनि छ । केही दिनअगाडि मात्रै मुलुकमा भएको हत्या, रक्तपात, आगजनी, लुटपाट र आतंक कहिल्यै बिर्सन सकिँदैन । सम्झँदै मन खिन्न हुने, मन मस्तिष्कलाई चस्काउने, कलह र अशान्तिको धरातलमै उभिएर हामी विजय दशमी मनाउन बाध्य छौं । यसको विकल्प पनि छैन हामीसँग । तथापि, विजयादशमी २०८२ को अवसरमा दुर्गामाताले नेपालीलाई परेको शोक र सन्तापलाई सहन गर्ने र सन्ताप हर्ने माध्यम बनिदियोस् भन्ने कामना गरौं । यसक्रममा दसैंका समय अपनाउनुपर्ने सुरक्षा सावधानीसम्बद्ध आधारभूत मापदण्ड आलेखमार्फतै पाठकसम्म पु¥याउने प्रयास छ ।
क्षणभरमै निम्तन्छ, सुरक्षा चुनौती
भयरहित निश्चिन्त वातावरणमा विजयादशमी मनाउने वा सन्त्रासमा पर्ने ? भन्ने हामी आफैंमा निर्भर रहने भएकाले यसलाई सबैले ख्याल राख्नुपर्छ । चाडबाड सन्त्रस्त बन्ने अवस्था पनि हाम्रै असावधानी र बाह्य व्यक्तिकै कारण हुन्छ । उनीहरूबाट निम्तने सन्त्रास वा खतरा पूर्ण रूपमा नियन्त्रण गर्न नसकिए पनि सचेत भयौं भने यसलाई कम पार्न सक्छौं । तर, आफ्नै कारण उत्पन्न हुन सक्ने खतरालाई भने सचेत भए नियन्त्रण गर्न सक्छौं । सुरक्षा चुनौती अत्यन्त संवेदनशील हुन्छ, कुन बेला के हुन्छ ? भन्न सकिन्न । सुरक्षा चुनौती निष्क्रिय बनाउने एउटै उपाय अग्रिम सावधानी नै हो । कुनै प्रकारको घटना नभएसम्म शतप्रतिशत सुरक्षा अनुभूति हुन्छ भने यस्तै शून्य समयमै सानो घटना भए शतप्रतिशतै सुरक्षा व्यवस्था फित्तलो ठानिन्छ भन्ने कुरातर्फ हामी सधैं सचेत रहनुपर्छ ।
राज्यबाट हुनसक्ने सुरक्षा
विजयादशमी चुनौतीरहित बनाउन व्यक्ति, परिवार, समाज र राज्य नै आ–आफ्नो ठाउँमा सजग बन्नुपर्छ । यस क्रममा कसले कस्तो सावधानी अपनाउने ? भन्ने आधारभूत पक्ष पनि फरक हुन्छन् । राज्य र समुदायबाट अपनाउने सुरक्षा सावधानी सामान्यतया औपचारिकतामा आधारित हुन्छ । समस्त समाजकै चुनौतीमा आधारित रहने यो सुरक्षा व्यवस्था व्यक्तिविशेषमा भन्दा समुदायकै सुरक्षामा आधारित रहने भएकाले यसको क्षेत्र पनि व्यापक हुन्छ ।
बृहत्तर क्षेत्रभित्र सुरक्षा कायम राख्नुपर्ने भएकाले सुरक्षाकर्मीको नजरमा हरेक व्यक्ति पर्न सक्दैनन् । तोकिएको सुरक्षा मापदण्डभित्रै हरेक व्यक्तिले आफ्ना गतिविधि सञ्चालन गरे मात्र यस्तो सुरक्षा व्यवस्था प्रभावकारी बन्छ । राज्यले प्रायः गरी क्षेत्रगत सुरक्षा चुनौतीलाई ध्यानमा राखी सुरक्षा नीति तय गर्छ । यसक्रममा अत्यधिक चुनौतीपूर्ण क्षेत्र, चुनौतीपूर्ण क्षेत्र र सामान्य गरी तीन चरणमा अपनाउनुपर्ने सुरक्षा व्यवस्था फरक हुन्छन् ।
चुनौतीपूर्ण क्षेत्र निर्धारण पनि विविध अवस्था विश्लेषणबाट तय गरिएका हुन्छन् । सम्बन्धित क्षेत्रको सामाजिक वातावरण, त्यहाँको अपराधको स्थिति, अपराधिक व्यक्तिको बसोबास र अखडा, विगतमा घटित अपराधको प्रकृति, तत्काल देखापरेको अपराधिक चुनौतीसमेत ध्यानमा राखी तय गरिने यो सुरक्षा व्यवस्था व्यक्तिविशेषसम्म मात्रै केन्द्रित हुँदैन । किनकि, समाजमा रहने व्यक्ति सबैमा समान सुरक्षा चुनौती नहुनसक्छ ।
व्यक्तिको पेसा, व्यवसाय, आर्थिक गतिविधि, व्यवहार र कार्यशैली तथा सामाजिक प्रतिष्ठा एवं दायित्वसमेतका आधारमा कोही सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण बन्न सक्छन् भने कोही सामान्य हुन पनि सक्छन् । कसैलाई चुनौती नै नहुनसक्छ । सुरक्षा चुनौती हुने व्यक्ति पहिचान गरी उनीहरूलाई निम्तनसक्ने अप्रत्याशित खतराको आँकलन गरी अत्यधिक चुनौतीपूर्ण व्यक्तिका लागि राज्यले वैयक्तिक सुरक्षा व्यवस्था नै अपनाउनुपर्ने हुन्छ । प्रायः यस्तो चुनौती राजनीतिक निर्णय गर्ने उच्चस्तरीय पदाधिकारी, कतिपय राजनैतिक नेता, उद्योगपति, कतिपय समाजकै लब्ध प्रतिष्ठित व्यक्ति, प्रतिष्ठित उद्योगपति एवं व्यापारी र कार्य क्षेत्रमा रही राज्यको नीति निर्देशन कार्यान्वयन गर्ने अख्तियार प्राप्त उच्च प्रशासक एवं न्यायिक निकायका पदाधिकारीलाई निम्तनसक्छ ।
यसैले यस्ता व्यक्तिको सुरक्षा सामान्य सुरक्षा व्यवस्थाको भरमा नहुने भएकैले उनीहरूका लागि आवासदेखि कार्यालयसम्म तथा हरेक गतिविधि सञ्चालन गर्दासमेत साथमै हुनेगरी सुरक्षाकर्मी खटाइएको हुन्छ । यस्तो सुरक्षा चुनौती व्यक्तिको अधिकार क्षेत्रभित्रको दायित्व सम्पादनकै क्रममा आइलाग्नसक्ने भएकाले सधैं चुनौतीपूर्ण हुन्छ ।
यसअलावा चुनौतीपूर्ण क्षेत्रको आपराधिक, सामाजिक एवं भौगोलिक अवस्थाको आधारमा निश्चित स्थानमा रहनेगरी संवेदनशील क्षेत्रकै सुरक्षा प्रबन्ध मिलाउने उद्देश्यले कतिपय स्थानमा स्थायी वा अस्थायी सुरक्षा निकाय स्थापित गराई अटुट देखभालको व्यवस्था सरकारले मिलाएको हुन्छ । यो सुरक्षा व्यवस्था व्यक्तिविशेषमा केन्द्रित नभए पनि सामुदायिक हितका लागि प्रभावकारी हुन्छ । यस व्यवस्थामा आपराधिक प्रवृत्तिका व्यक्तिका गतिविधि निगरानीमा राखिन्छ । सुरक्षाकर्मीको पिकेट, वीट, मोबाइल गस्ती, पैदल गस्ती रिजर्भ र स्ट्राकिङ टोली तथा सादा पोसाकमा ठूलो संख्यामा परिचालित गराई सुरक्षा व्यवस्था मजबुद बनाइन्छ ।
समुदायबाट अपनाउनुपर्ने सुरक्षा
समुदायबाट अपनाइने सुरक्षा व्यवस्था राज्यको सुरक्षा नीतिकै मापदण्डभित्र रहेर, सुरक्षाकर्मीकै परामर्शमा सुरक्षाकर्मी र समाजकै प्रतिनिधिको संयुक्त प्रयासमा व्यवस्थित गरिन्छ । प्रभावकारिताको हिसाबले यो सुरक्षा व्यवस्था भरपर्दो हुनसक्छ । किनकि, यसमा स्थानीय नागरिककै तदारुकता हुने भएकाले समाजको टोल बस्तीदेखि पारिवारिक गतिविधिलाई समेत सुरक्षाको घेरामा पार्न सहज हुन्छ । समुदायको कुन व्यक्ति कस्तो हो ? भन्ने स्थानीय नागरिकबाटै सजिलै पहिचान हुनसक्छ ।
विजयदशमी चुनौतीरहित बनाउन व्यक्ति, परिवार, समाज र राज्य नै आ–आफ्नो ठाउँमा सजग बन्नुपर्छ । यसक्रममा कसले कस्तो सावधानी अपनाउने ? भन्ने आधारभूत पक्ष पनि फरक हुन्छन् । राज्य र समुदायबाट अपनाउने सुरक्षा सावधानी सामान्यतया औपचारिकतामा आधारित हुन्छ
सम्भावित घटना र चुनौती’bout पनि भरपर्दो अग्रिम तथ्ययुक्त सूचना संकलन गर्न सकिने भएकाले चुनौती नियन्त्रण गर्न अग्रिम कार्य योजना तय गर्न सकिन्छ । स्थानीय समाजकै संलग्नता रहने भएकाले यस्तो सुरक्षा व्यवस्थामा शंकित व्यक्तिको निगरानी गर्न अलग्गै व्यक्ति खटाइरहनुपर्दैन । सर्वसाधारणकै दैनिक गतिविधिबाटै स्थानीय व्यक्तिको आपराधिक गतिविधि पहिचान गर्न सकिन्छ ।
व्यक्ति आफैंले अपनाउनुपर्ने सुरक्षा
व्यक्तिगत सुरक्षा सतर्कता भने सबैभन्दा महत्वपूर्ण सुरक्षा उपाय हो । व्यक्ति आफैं सचेत बन्ने भएकाले यसमा हम्मेसी अपराधीले मौका पाउनसक्दैन । अपराध भइहाले पनि कसुरदार पक्राउमा पर्छ । विजयादशमीको अवसरमा यस प्रकारको सुरक्षा चुनौती निम्तनसक्छ । यसमा के–के कुरा ख्याल राख्नुपर्छ ? भन्ने पनि सबैले ध्यान दिन जरुरी छ । व्यक्तिले अपनाउनुपर्ने सुरक्षा सावधानीको चरण पनि फरक हुन्छन् । सबै चरणमा आइलाग्ने चुनौती पनि समान हुँदैनन् ।
संक्षिप्त रूपमा हामीले अपनाउनुपर्ने सुरक्षा सावधानी चलायमान एवं स्थिर दुई प्रकारका हुन्छन् । यी दुई चरणलाई अझ विस्तारित गरी हेर्ने हो भने स्थिर अवस्थामा खाँदाबस्दा गतिशील अवस्थामा हिँडडुल गर्दा, कार्य गर्दा र अरूसँग सम्पर्क समन्वय गर्दाको चरण सुरक्षाको दृष्टिकोणले विशेष महत्वपूर्ण ठानिन्छ । यसक्रममा खाँदाबस्दा नै सावधानी अपनाएनौं भने हामी असुरक्षाको कारक आफैं बन्छौं । खाँदा पनि सावधानी अपनाउनुपर्छ र ? भन्ने कतिपयलाई आश्चर्य लाग्नसक्छ ।
पानी पनि अड्कनसक्छ, अन्य ठोस खाद्य परिकारको त कुरै भएन । सुत्दा पनि हामीले सुरक्षा सावधानी अपनाइएनौं भने आर्थिक एवं शारीरिक क्षति हुनसक्छ । हिँडडुल गर्दा हरेक क्षण सावधानी नै अपनाउनुपर्छ । अन्यथा दुर्घटनामा परिन्छ ।
कार्य गर्दा कामको प्रकृतिअनुसार निरन्तर सावधानी नअपनाए ज्यान जोखिममा पर्नसक्छ । अन्य व्यक्ति परिवारकै सदस्यदेखि छरछिमेकी र समाजमै हाम्रो व्यवहार शिष्ट र मिजासिलो भएन भने त्यही व्यवहार हाम्रा लागि असुरक्षाको कारण बन्छ । यी सामान्य दृष्टान्त मात्र हुन् । यी सामान्यदेखि अत्यधिक चुनौतीपूर्ण खतराको सामना गर्नुपर्ने अवस्था आउनसक्छ । जसबाट बच्न हरेक पल सावधानी अपनाउन आवश्यक छ ।
प्रायः व्यक्तिलाई आइलाग्ने चुनौती आफ्नै व्यवहार र कार्यशैली, हाम्रो आर्थिक कारोबार एवं हैसियत सम्बद्ध गतिविधि, असावधानी, हेलचेक्र्याइ“ र लापरबाहीसँग सम्बन्धित हुन्छन् । यस्ता चुनौती होसियार बने स्वतः नियन्त्रण हुन्छन् । यसअलावा अन्य व्यक्तिजन्य चुनौती भने आफ्नो नियन्त्रणबाहिर हुने भएकाले त्यसका लागि हाम्रो सावधानीले केही हदसम्म नियन्त्रण गरे पनि पूर्णरूपमा नियन्त्रित गर्दैन । यस्तो चुनौती आपराधिक प्रवृत्तिका व्यक्ति, आवेश प्रेरित व्यक्ति तथा अप्रत्याशित घटनाबाट निम्तने भएकाले बढी असरदायी हुन्छ । दसैंको अवसरमा निम्तने अधिकांश चुनौती पनि यही प्रकृतिका हुन्छन् ।
आगमन गर्दा अपनाउनुपर्ने सजगता
विजयादशमीमा टाढाबाट घर फर्कंने आफन्तको लहर चल्छ । सवारी प्रयोगगर्दा, सहयात्रीसँग व्यवहार गर्दा, खाँदाबस्दा, आफ्नो सरसामान सुरक्षा गर्दा, सवारी चढ्दा उत्रँदा हामीले सावधानी अपनाएनौं भने सुरक्षा जोखिममा पर्न सकिन्छ । यात्रा गर्दा विशेषगरी अपरिचितसँग सचेत बन्नुपर्छ । घर कम्पाउन्डमा रहँदा बस्दा नै सुरक्षा सावधानी अपनाउनुपर्छ ।
यात्राका क्रममा कोरोना र डेंगीको सन्त्रास पूर्ण रूपमा नियन्त्रण नभएकाले त्यसतर्फ विशेष सजग बन्नुपर्छ । दसैंमा टिका लगाउन जानेआउने आफन्त भए पनि संक्रमणको दृष्टिले सबैलाई शंकाको नजरले हेरी सावधानी अपनाउनुपर्छ । ज्येष्ठ नागरिकका सम्पर्कमा जानुपर्दा उनीहरूको र आफ्नै सुरक्षामा विशेष ख्याल राख्नुपर्छ । सवारीबाट यात्रा गर्नुपर्दा मादकपदार्थ बर्जित गर्नुपर्छ । सार्वजनिक सवारी नै प्रयोग गरे पनि सवारी साधन र चालकको अवस्था ख्याल राखेर मात्र यात्रा गर्नुपर्छ ।
दसैंमा व्यक्तिको चहलपहल बढ्ने, भीडभाडमा जानुपर्ने हुनसक्छ । यस्तो अवस्थामा गरगहना र साथमा भएको नगद रकम सुरक्षित राख्न होसियारी बन्नुपर्छ । अन्यथा पकेटमार र लुटेराको फन्दामा पर्न सकिन्छ । कतिपय आफूले विश्वास गर्दै आएकै नाता सम्बन्धका व्यक्तिबाटै असुरक्षित बन्नुपर्ने अवस्था आइलाग्न सक्छ । रात बस्नेगरी कतै जानुपरे सकेसम्म एक्लै जानुहुँदैन । साथी लिएर जानु राम्रो हुन्छ ।
चाडबाडलाई उल्लास र उमंगको अवसरमा लिइने भएकाले हानिकारक चिजवस्तु सेवन गर्नुहुँदैन । अपरिचित व्यक्तिसँग नजिकको हेलमेल गर्नुहुँदैन । अपरिचितले
दिएको खाद्य पदार्थ खानुहुँदैन । आफ्नो गन्तव्य कहाँसम्मको हो ? फर्कने नफर्कने, बास बस्नेगरी नै जानुपरे घरपरिवारका सदस्यलाई जानकारी गराउनुपर्छ । खानपान र मोजमस्तीमा भुलिए सावधानीको आधारभूत मापदण्ड नै बिर्सन सकिन्छ । यस्ता व्यक्तिले बढी चुनौती बेहोर्नुपर्ने हुन्छ ।
रवाफभन्दा सुख सन्तुष्टिलाई महत्व
दसैं वर्ष दिनमा आउने चाड भएकाले यसबेला आफ्नो हैसियतअनुसारकै खानपान गर्ने प्रचलन छ । कतिपय विपन्न व्यक्ति पनि खोजमेल गरी चाड मनाउन पछि पर्दैनन् । अत्यावश्यक पर्दा ऋणपान गरी चाडपर्व मनाउनु अस्वाभाविक होइन । तर, चाड मनाउने क्रममा अत्यधिक ऋणको बोझ थोपारियो भने त्यो आफ्नै लागि घातक बन्नेतर्फ सधैं सचेत रहनुपर्छ । ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ भन्ने लोकोक्ति अनुसरण गर्नुपर्छ । केही दिनको मोजमस्तीले वर्षैभर चिन्तित बन्नुपर्ने अवस्थामा पुग्नुहुँदैन । सबैको आर्थिक अवस्था अहिले खस्किएको छ । यसैले सकेसम्म मितव्ययिता अपनाई, सुरक्षालाई उच्च महत्व दिई दसैं मनाऔं ।
(Visited 1 times, 1 visits today)
