इटहरी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४ मा तेस्रोपटक उम्मेदवार बनेसँगै ‘ह्याट्रिक’को लक्ष्य सार्वजनिक रूपमा राखिएको छ । तर, मैदानमा देखिएको माहोलले भने यसपटक उनको यात्रा सहज नहुने संकेत गर्न थालेको छ ।
२०७४ मा सहज जित र २०७९ मा गठबन्धनको सहारामा झिनो अन्तरले जितेका कार्की अहिले गठबन्धनविहीन प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लोपटक जम्मा ११२ मतको अन्तरले जितेका कारण पनि यस क्षेत्रलाई ‘हाइ–रिस्क’ निर्वाचन क्षेत्रका रूपमा हेरिन थालिएको छ ।
यहाँ कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपालगायत दल आ–आफ्ना उम्मेदवारसहित मैदानमा छन् । अघिल्लो निर्वाचनमा जसपा, राप्रपा र रास्वपाले संयुक्त रूपमा करिब १७ हजार मत बटुलेको तथ्यले यहाँको मत विभाजन निर्णायक हुन सक्ने देखिन्छ ।
एक लाख ३७ हजार ३४० मतदाता र ४२ मतदानस्थल रहेको यो क्षेत्र बहुदलीय प्रतिस्पर्धाको ‘टेस्ट केस’ बन्दै गएको छ ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँगको गठबन्धनको बलमा कार्कीले नेकपा एमालेका उम्मेदवार कुशियैतलाई जम्मा ११२ मतको झिनो अन्तरले पराजित गरेका थिए। समानुपातिकतर्फ कांग्रेसले २८ हजार ८२ मत ल्याउँदै अग्रता लिँदा एमालेले २० हजार ५७३ मत प्राप्त ग¥यो । तर, जनता समाजवादी पार्टी, राप्रपा र रास्वपाले संयुक्त रूपमा करिब १७ हजारभन्दा बढी मत बटुल्नुले सुनसरी–४ बहुदलीय प्रतिस्पर्धाको केन्द्रका रूपमा उभिएको देखायो ।
४२ मतदानस्थल र १५० मतदान केन्द्र रहेको यस क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदाता रहेका छन्। अघिल्लोपटक थोरै मतान्तरले नतिजा उल्टिन सक्ने अवस्था कायमै छ । जसले यसपटकको निर्वाचनलाई अझै अनिश्चित र रोचक बनाएको छ ।
खासगरी यसपटक कुनै पनि चुनावी गठबन्धन नहुनु, मुख्य दलहरू आ–आफ्ना उम्मेदवारसहित प्रतिस्पर्धामा उत्रनु, अघिल्ला निर्वाचनका क्रममा कार्कीले व्यक्त गरेका प्रतिबद्धता पूरा नभएको जनगुनासो बढ्नु, कांग्रेसभित्रै अन्तर्घातको आशंका रहनु, दक्षिणी क्षेत्रका त्यो पनि नेताका आफन्तलाई समानुपातिक सूचीमा राख्नु, ‘सीमित व्यक्तिलाई मात्रै च्याप्नु’जस्ता कारण र नयाँ शक्ति भनेर चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको मतदाताको आकर्षणले कार्कीको चुनावी यात्रा यसपटक थप असहज बन्दै गएको छ। यसपटक उनी तेस्रोपटक जित निकाल्दै ‘ह्याट्रिक’ गर्ने तयारीमा रहेपनि परिस्थिति असहज रहेको कांग्रेस कार्यकर्ताहरू नै बताउँछन्। पार्टीभित्रको आन्तरिक असन्तुष्टि, गठबन्धनको समीकरण नहुनु र प्रतिष्पर्धी दलहरूको आक्रामक रणनीतिले कार्कीको चुनावी यात्रा चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।
कांग्रेस सुनसरी क्षेत्र नं. ४ (क)का सभापति तथा निर्वाचन अनुगमन समितिका संयोजक उपेन्द्र कटवालका अनुसार कार्कीप्रति मतदाताको असन्तुष्टि खुलेर देखिन थाल्दा चुनावमा मत माग्नै गाह्रो भइरहेको छ। उनी भन्छन्, ‘सबै मतदाता खुसी छैनन्। चुनावमा बोलेका धेरै कुरा भाषणमै सीमित भए। नेताले प्रयोग गर्ने भाषा व्यवहारमा देखिएन। सधैँ सीमित व्यक्ति र समूहको घेराबन्दीमा पर्नु पनि प्रमुख कारण हो। जुनसुकै अवसरमा पनि उही व्यक्ति र उही समूहलाई प्राथमिकता दिइयो।’
उनका अनुसार सञ्चारमन्त्री र अर्थमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्दा पनि अपेक्षित रूपमा रोजगारी सिर्जना हुन नसक्दा नयाँ मतदाता निराश छन्।
‘अब जनतासमक्ष लिएर जाने ठोस मुद्दा नै छैन। जनतालाई झुटो बोलेको जस्तो अनुभूति भइरहेको छ,’ उनले भने। कटवालले विकास र पहुँचमा क्षेत्रीय असन्तुलन पनि औँल्याएका छन्। उनका अनुसार उत्तरी क्षेत्र उपेक्षित हुँदै जाँदा दक्षिणी क्षेत्रमा मात्रै केन्द्रित हुने प्रवृत्तिले असन्तोष थप चुलिएको छ।
खासगरी कार्कीको निर्वाचन क्षेत्र पर्ने सुनसरीको कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिकामा कांग्रेसले जितेको छ। तर, यहाँका मतदाता काम नभएको भन्दै असन्तुष्ट छन्।
सुनसरीको हरिपुर क्षेत्रका उमेरले ८१ वर्ष पुगेका मिठु खत्वे नेपाली कांग्रेससँग आवद्व छन्। उनले निर्वाचनमा पार्टीलाई जिताउनका लागि यसअघि महत्वपूर्ण भूमिका खेलेका छन्। गाउँमा अग्रज भएकै कारण पनि आफूले भनेको सुन्ने, मान्ने केही मानिसहरू छन् । तर, निर्वाचनमा नेताले दिएका आश्वासन आश्वासनमा मात्रै सीमित हुने गरेको उनले सुनाए ।
म मन्त्री भएँ भने यो काम गर्छु, त्यो गर्नु भन्ने आश्वासन दिलाएर चुनाव जित्ने तर चुनाव जितेपछि फर्किएर नआउने प्रवृत्ति अहिले पनि उस्तै रहेको मिठुले भोगे । तर, उनी केही बोलेका छैनन् । चुपचाप–चुपचाप वर्षौँदेखि यो प्रवृत्ति देखेर आजित भएका उनी बोलेर माग पूरा हुँदैन भन्ने निष्कर्षमा पुगिसकेका छन् ।
‘जहाँ चुनावमा भन्छ कि, बाटो बनाइदिने, हात्ती आउन नदिने, अर्ना ननिस्कने बनाइदिन्छु। जब जितेर जान्छ, तब फर्किएर आउँदैन,’ उनले थपे, ‘जितेपछि के आउँछ? अफिसमा फुर्सद हुँदैन।’ कोशी गाउँपालिकामा कांग्रेसले निर्वाचन जितेको छ । पालिकामा मात्रै होइन, प्रदेशसभा (दुवै) र प्रतिनिधिसभामा पनि कांग्रेसले नै निर्वाचन जितेको छ । खासगरी कोशी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तुका कारण स्थानीयवासी प्रताडित रहेपनि घेराबेरासम्म गर्ने कुनै कदम नचाल्दा यहाँका मतदाता असन्तुष्ट रहेको उनको भनाइ छ ।
गरिब जनतालाई वन्यजन्तुको आक्रमणबाट जोगाउने आश्वासन दिलाएर निर्वाचन दुईपटक निर्वाचन जितेका कार्की तीनपटक मन्त्री नै भइसकेका छन् । ०७४ साल मङ्सिरमा भएको निर्वाचनमा अर्थमन्त्री नै रहेका उनी त्यसपछि कानुन मन्त्री र पछि पुनः सञ्चारमन्त्री भइसकेका छन् । तर, यस क्षेत्रका जनताको समस्या सम्बोधन हुने त परको कुरा, निर्वाचनपछि नेताहरू फर्किएरै नआएको मिठुको गुनासो छ ।
‘आफ्नो–आफ्नो पार्टीमा सबै मान्छे लागेको छ । म पनि आफ्नो पार्टीमा लागेँ। तर, निर्वाचन जितेपछि के आउँछ? अफिसबाट फुर्सद हुँदैन, बोलीको भरमा, विश्वासको भरमा भोट दिनुपर्छ,’ उनले कहिलेकाहीँ पालिकामा जाँदाको अवस्था सम्झदैँ भने, ‘उसको अफिसमा गयो भने ए कुर्सी ल्याउनु–ल्याउनु, चिया ल्याउनु, पानी ल्याउनु भन्छ ।’
कोशी गाउँपालिकामा भने ऐयुब अन्सारीले निर्वाचन जितेका छन्। प्रदेशसभाको दुवै निर्वाचन क्षेत्र (क) र (ख)मा कांग्रेसका सदानन्द मण्डल र इस्राइल मन्सुरीले निर्वाचन जितेका छन्। सदानन्द र इस्राइल दुवैजना कोशी प्रदेश सरकारको मन्त्री भइसकेपनि कोशीका मुद्दामा काम नगरेको उनको गुनासो छ ।
‘यो बाटो छ तपाईँ बाटोमा लामो समय हिँड्नुहुन्छ भने जता जानुहुन्छ, त्यतै राम्रो गर्दै जानुपर्छ,’ खत्वे भन्छन्, ‘यहाँ त राजनीति गरिहाल्छ।’ खत्वेजस्ता हजारौँ पात्रको गुनासो उम्मेदवारहरूसँग छ । तर, उनी त्यो भन्न सक्दैनन् । आफैँले निर्वाचन जिताएकाहरूसँग उनी मुख फोर्न सक्दैनन्, आफ्नो समस्या सुनाउन सक्दैनन् ।
कोशी गाउँपालिका ४ का ७१ वर्षीय नारायणप्रसाद खत्वे पनि चुनावमा मत माग्न आउनेहरूसँग सन्तुष्ट छैनन् ।
यहाँ खासगरी हात्ती, बँदेलजस्ता वन्यजन्तुले दुःख दिने गरेको र बालीनाली क्षति हुँदा राज्यले कुनै काम नगरेकोमा उनको असन्तुष्टि छ। वन्यजन्तुले मानिस मार्दा १० लाखसम्मको क्षतिपूर्ति दिएपनि बालीनाली क्षति गर्दा, जति क्षति हुने हो त्यति राहत उपलब्ध नभएकोमा उनको गुनासो छ ।
‘चुनावमा मत माग्न आउँछ, मत माग्न आउने बेला बाचा छ गर्छ,’ उनले भने, ‘तर त्यो बाचा चुनाव सकिएको दिनदेखि कहाँ जान्छ जान्छ ।’
यहाँस्थित अठहत्तर हड्डी, बाइस हजार, भट्टाबारी, बैरस, श्रीलङ्का टप्पु, कमलपुर, पथरी, बदगमाहा क्षेत्रमा मानव–वन्यजन्तु समस्या न्यूनीकरण गर्नुपर्ने उनले बताए। सुनसरी ४ मा कोशी गाउँपालिका, भोक्राहा गाउँपालिका, बराह नगरपालिकाको ६–११, रामधुनी नगरपालिकाको वडा ४, इनरुवा नगरपालिकाको ३, ४ र ८ र हरिनगर गाउँपालिकाको वडा १, २ र ४–७ समेटिएको छ ।
जसमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट जगदीशप्रसाद कुसियत, नेकपाबाट महमद महफुज अन्सारी, रास्वपाबाट दीपककुमार साह, राप्रपाबाट प्रेमप्रसाद भट्टराईलगायत ३३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
(Visited 9 times, 1 visits today)
