सुदूरपूर्वमा देउडा सौन्दर्य


उत्तरपण्यो कुम्भकर्ण दक्षिण झापा जिल्ला

पूर्वाञ्चलमा देउडा गाउन मिल्ला कि नमिल्ला?

आदिकवि भानुभक्त आचार्य, राष्ट्रकवि माधव घिमिरे लगायत पूर्वाञ्चलका विविध सर्जकका तस्बिरले सजाएको साहित्य चौतारीको कार्यक्रमस्थल बिर्तामोड, झापा आफैंमा दुलहीजस्तै सिँगारिएको देखिन्थ्यो। भानुभक्तको २१२ औं जन्मजयन्तीको सन्दर्भ पारेर साहित्य चौतारीले सुदूरपश्चिम र कर्णालीको लोकसंस्कृतिको अनमोल मणि देउडासंस्कृति, गीत र संगीतलाई सार्वजनिक रूपमा अभिनन्दन गर्ने ऐतिहासिक निर्णय गरेछ। यसका लागि पंक्तिकारलाई नै पहिलो हकदार सम्झेर संस्थाले एक महिना पहिले नै निम्ता गर्‍यो। संस्थाका अध्यक्ष तथा साहित्यकार देवीभक्त श्रेष्ठ र साथीहरूको निमन्त्रणा स्विकार्दै श्रीमती प्रार्थनासहित असार ३० गते अपराह्न चिलगाडीको यात्रा गर्दै ऐतिहासिक सहर विराटनगर विमानस्थल पुग्यौं।

हामीलाई लिन भनी भाइ राजेन्द्र तिमल्सिना विमानस्थल आएका रहेछन्। सुनसरीको इटहरीमा गायिका लोचन भट्टराई र साथीलाई पनि लैजानुपर्ने सन्देश थियो। एउटा होटलमा साहित्यकार पुरन राईको आग्रहमा खाजा खाँदै बस्यौं। गर्मी उखरमाउलो थियो। गर्मीमा बस्ने बानी भएकालाई सामान्य लागे पनि उपत्यकाबाट झरेका हामीलाई केही हुप्प नै लाग्यो।

 प्रार्थना खनाल र लोचन भट्टराई २०४० सालका पद्मकन्या क्याम्पसमा अध्ययन गर्दाका साथी हुन् भन्ने जानकारी बिहे भएको केही वर्षमा नै अवगत भएको थियो। भेटमा दुवै जना रमाए। संगीतको साधनामा नै लागेर लोचन भट्टराई अगाडि बढिरहिन्। प्रार्थना घरव्यवहार र अध्यापनमा जुटिरहिन्। देउडा संस्कृतिको उन्नयनमा लागेको मलाई प्रार्थनाले सक्दो सहयोग गरेको विगतको सत्यलाई पंक्तिकारले भुलेको छैन। एकलव्यझैं लागिपरेकाले देउडा संंस्कृति देशभरि चर्चामा पुगेको हो भन्ने मेरो ठम्याइ छ। यसका लागि प्रार्थना पनि हकदार छिन्। काठमाडौंको बसाइ, गीत रेकर्डिङ सुविधा, गीत संकलन गर्न सुदूर र कर्णालीका गाउँबस्ती पुगिरहनुपर्ने बाध्यता, ससाना केटाकेटीको लालनपालन गर्नुपर्ने कर्तव्य त भइ नै हाल्यो।

अझ आफैंले बजार व्यवस्थापन गर्दाको अवस्था, हिउँद–वर्षा नभनी उत्पादन गर्दै गरेका विविध गीति क्यासेट गाडीमा राखेर सुदूरका बजार पुर्‍याउँदा र घर छोडेर जाँदाको बाध्यता मेरा सामु विद्यमान थिए। ओहो ! ती दिनमा गरेको संघर्ष र चुनौती सम्झँदा आङ अहिले पनि जिरिङ्ङ हुन्छ। त्यस्तो बेला साहसको शक्ति र घरव्यवहार सबै प्रार्थनाले सम्हालेको सम्झिरहन्छु।

हिकोला हेरिटेज होटल, बिर्तामोड चोकको छेउमा नै छ। हाम्रो स्वागतका लागि पर्खिरहनुभएका प्रमुख आयोजक चौतारीका अध्यक्ष देवीभक्त दम्पती र नौमती बाजाको समूहले सांगीतिक माहोलमा फूलमालाले स्वागत गरे। साँझ परिसकेको थियो। हाम्रो आगमनको प्रतीक्षामा बस्नुभएका साहित्यकार र सांस्कृतिक व्यक्तित्वको उपस्थिति बाक्लो थियो। उनीहरू एक एक टुक्का भए पनि देउडा गीत सुन्ने मुडमा थिए। हामी थकित थियौं। सानो अंश सुनाएर सबैलाई बिदाइ गर्‍यौं।

भोलिपल्ट नौ बजे नै साहित्य चौतारीका पदाधिकारी, पूर्वपदाधिकारी जम्मा भइसकेका देखिन्थे। अनिरुद्ध ओली, भानुभक्त कुभिन्डेली, तुलसी निरौला, हिम्मत नेम्वाङलगायतको उपस्थिति देखिन्थ्यो। उता दार्जिलिङबाट प्रमुख अथितिका रूपमा ‘परालको आगो’का नायक टंक शर्मा गौतम, उहाँकी छोरीलगायतको समूह आफ्नै गाडीमा कार्यक्रम सफल पार्न बिर्तामोडमा पुग्यो। उहाँहरू सबैलाई नौमती बाजाले स्वागत गर्दै भानुभक्तीय बिर्के टोपी लगाउँदै दुबोको माला पहिर्‍याएर अध्यक्ष देवीभक्तजीले दिलैदेखि स्वागत गर्नुभयो। स्वर्गवासी आफ्ना पितामाता क्रमशः भीमबहादुर श्रेष्ठ, पञ्चकुमारी श्रेष्ठ र जगन्नाथ बिमली, धनमाया बिमलीको सम्झनामा २०५६ सालमा स्थापित यो संस्था पूर्वाञ्चलको साझा चौतारी हो भन्नुहुन्छ देवीभक्त श्रेष्ठ।

वैदिक विधिपूर्वक सुरु गरिएको कार्यक्रममा झापाका लेखक, कवि, कलाकार मिना अधिकारी, टीका भट्टराई, भगवती ढुङ्गेलको उपस्थिति थियो। प्रमुख अथिति टंक शर्मा गौतमले अभिनन्दित स्रष्टा र पुरस्कृत व्यक्तित्व सबैलाई आदिकवि भानुभक्तका पालाको कालो बिर्के टोपी र सिँगारिएको दुबोको माला लगाइदिनुभयो। श्रीमान्, श्रीमतीको नाममा सम्बोधन गरिएको ताम्रपत्र र दोसल्ला ओडाइदिँदा सभाहल नौमती बाजाको संगीतले गुञ्जयमान बन्यो।

यसरी अभिनन्दित स्रष्टामा पंक्तिकार (सुदूरपश्चिम, कर्णाली), मित्रप्रसाद दाहाल (झापा), यशोधाकुमारी सिंह (सुनसरी), भानुभक्त कुभिण्डेली (झापा), लोचन भट्टराई (धरान), विमला चिमोरिया (झापा) रहेका छन्। असल कर्म गर्नेहरूलाई सार्वजनिक रूपमा अभिनन्दित र पुरस्कृत गरिँदै आएको देखिन्छ विगतदेखि नै। तर श्रीमान्–श्रीमतीलाई दोसल्ला ओडाइ ताम्रपत्रमा संयुक्त रूपमा नाम अंकित गर्ने, वैदिक विधिपूर्वक व्यक्तित्व र कृतित्वको चर्चा गर्ने यो संस्थाको परम्परा नौलो लाग्यो।

देउडा प्रस्तुति

सुदूर र कर्णाली प्रदेशको मौलिक लोकगाथा र लोक संस्कृति हो देउडा। देउडा गीत बन्नका लागि गीतका दुइटा हरफ चाहिन्छन्। एउटामा हरफमा १४ अक्षर, अर्को हरफमा पनि १४ अक्षरको संयुक्त आकार नै देउडा गीत हो। एक जना वा दुईतीन जनाले गाउँदा, संगीत मिलाउँदा गीत बन्छ। तर सवालजवाफ गरी साढे एक पाइला (एक कदम अगाडि, आधा कदम पछाडि) साथै हातमा हात मिलाएर गोलाकार रूपमा गीतको भाकाअनुसार खेलिन्छ भने त्यो देउडा खेल हो।

देउडा देवस्तुतिमा पनि गाइने भएकाले देउडा भनिएको हो। तर खेल खेल्दा (राजधानीलगायतका ठाउँमा नृत्य पनि भनिन्छ) डेढी कदममा खेलिने भएकाले ड्यौणा भनिएको हो। कुनै बेला यी गीतलाई वनगीत पनि भनिन्थ्यो। देउडागीतका धेरै लय हुन्छन्। जसलाई भाक्या भनिन्छ।

मैले आधुनिक युगमा २०३४ साल कात्तिक १४ गते रेडियो नेपालको त्यस बेलाको ‘फूलबारी’ नामक कार्यक्रममा झर्रो खालको देउडा गाएको थिएँ। ‘ओ बाज झुम्य्रौली बाज’ बोलको गीतलाई वरिष्ठ संगीतकार एवं गायक रत्न बेहोसीले संगीत संयोजन गर्नुभएको थियो। त्यसपछिका हरेक वर्ष रेडियोमा गीत रेकर्ड गर्दै आएँ। २०४३ सालको लोकगीत सम्मेलनमा प्रथम स्थान प्राप्त गरेपछि देउडाले थप उचाइ लिएको हो। लोकतान्त्रिक प्रणाली स्थापनार्थ गरिएका हरेक आन्दोलनमा देउडागीत गाएर नागरिकलाई एकत्रित गराएँ। धेरै भाका सडकमा सुनाएँ, जसमा धेरै मन पराएको भाका हो ‘झ्याम्म झ्याम्म’। २०६२/६३ सालको जनक्रान्ति सफल पार्न देशका प्रायः सबै बस्तीमा उक्त देउडागीत गाएको थिएँ। त्यसैले परिवर्तनको गीत पनि हो ‘झ्याम्म झ्याम्म’।

देउडासम्बन्धी माथि उल्लिखित विषयवस्तुमाथि प्रकाश पारिरहँदा सभाहलका आत्मीयजन एकाग्र भएर सुनिरहे, सायद नयाँ लागेर होला। ‘ओ बाज झुम्य्रौली बाज’ र ‘झ्याम्म झ्याम्म’ गाउँदा सबैजना जानी नजानी नाचेको दृश्य सुन्दर थियो मारुनी संगीतको भूमिमा। लोकसंगीत र नेपाली भाषा भनेपछि सीमापारिका सर्जकलाई अद्भुत माया लाग्दो रहेछ।

 दार्जिलिङमा बस्दै आउनुभएका ८४ वर्षीय टंक शर्मा मञ्चमा आएर प्रस्तोतासँगै देउडा गाएको र नाचेको दृश्य हेर्नलायक थियो। सिक्किम कालिङपोङबाट आएका पाहुना र भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलामबाट झापा झरेका कैयौं नरनारीले देउडा गायनमा नाचेर साथ दिँदा हर्षले आँखा पल्लवित भए। सुदूरपश्चिम कर्णालीको पवित्र भूमिलाई पूर्वाञ्चलको पावनभूमिबाट मनमनै प्रणाम गरेँ। पूर्वाञ्चलका साहित्यिक व्यक्तित्व, पत्रकार, कलाकारहरू फरासिला, मनमा कुनै पनि पाप नभएका र अत्यन्त जिज्ञासु हुन्छन् भन्ने बोध विगतका वर्षदेखि बुझ्दै आएको छु। देउडामा धक नमानी महिलापुरुषहरू मञ्चमा उपस्थित भएर कदम चलाएकोबाट अझ स्पष्ट भयो।

वरिष्ठ स्रष्टाहरू एलपी जोशी, गणेश रसिक, लोचन भट्टराई, सूर्य थुलुङ, कुवेर राई, बुद्धवीर लामा, कृष्ण धरावासी, डा. टंक उप्रेती, प्रतीक ढकाल, सीताराम ताजपुरिया आदिले जन्म लिएको भूमि हो यो। नेपालको आदिम संस्कृति बोकेको देउडागीतमा स्वर मिलाउँदा र डेढी कदम पनि चलाएर खेल खेल्दा टंक गौतम निकै खुसी देखिनुहुन्थ्यो। दार्जिलिङमा रहेका नेपालीमाझ देउडा गीत सिकाउने निम्ता पनि दिएका छन् अभिनेता गौतमले। गायिका लोचन भट्टराईको रामायणवाचन र प्रार्थना खनालको नारायण गोपालको ‘यो सम्झिने मन छ म बिर्सुं कसोरी’ बोलको गीत गाउँदाको गायकीपनको प्रशंसा गरे झापावासीले।

पूर्वको पशुपतिनाथ भनेर श्रद्धा गरिने देवमन्दिर हो अर्जुनधारा धाम। अर्जुनको वाणले जमिनबाट पानी निस्किएको कथासँग जोडिएको प्रसङ्ग रोचक छ। मन्दिरपरिसर वरिपरि पनि मुखामुख गरी हेरिरहने व्यक्तिलाई देउडागीत सुनाउन लगाउँदै मेरो परिचय गराउने अनिरुद्ध ओली भन्दै थिए– असार–साउनको धान रोप्ने बेलामा तपाईंले झापामा देउडागीत रोप्नुभयो।

झापा राजनीति, संस्कृति, सामाजिक एकता र धेरै भाषाभाषी भएका प्रबुद्ध व्यक्तिको बसोबास भएको जिल्ला हो। देशको नेतृत्व हाकिरहेका प्रम केपी शर्मा ओलीको जिल्ला हो झापा। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माको लोकतान्त्रिक शैली पनि यही माटोसँग जोडिएको छ। कुनै बेला नेपाली कांग्रेसको कलवलगुणीको अधिवेशनमा समाजवादका व्याख्याता सिके प्रसाईंले गरेको सम्बोधन बिर्सन नसकिने खालको थियो। बाहिरबाट उनको निवास हेरेर भए पनि चित्त बुझाएँ। रामबाबु प्रसाईं ‘खनुपरुदे’को राजनीतिक योगदान बिर्सन नसकिने खालको छ। साहित्यकार सरोजकुमार ओली बित्नुभएको पनि वर्ष दिन बित्दैरहेछ। 

प्रकाशित: १० श्रावण २०८२ ०८:०८ शनिबार





Source link

Leave a Comment