दार्चुला जिल्लाको लिम्पियाधुरादेखि ताप्लेजुङसम्मका २१ जिल्लाको ५४ स्थानमा नेपाली भूमि भारतीय पक्षबाट अतिक्रमित भएको छ । सो क्षेत्रको करिब ६० हजार हेक्टर भूमि नक्सामा नेपालको भए पनि व्यवहारमा भारतीय बनाइएको छ । ३ करोड नेपालीकै मन चस्काउने अतिक्रमणको विद्यमान अवस्था, लोकतान्त्रिक राज्य सञ्चालन गर्ने चार–पाँच जना दलीय शीर्षस्थ नेताका निम्ति भने सत्तामा पुग्ने सहारा बन्दै आएको छ । सत्ता स्वार्थसँग राष्ट्रियता नै बन्धकमा राख्न पछि नपर्ने निमकहराम नेताहरूले राष्ट्रिय अस्तित्व रक्षा गर्ने सम्भावना पनि देखिँदैन । अतिक्रमित भूमि फिर्ता ल्याउनु त परै जाओस् समकक्षी छिमेकी नेतासामु सिंह देख्दा डराउने लुते कुकुरजस्तै उनीहरू नतमस्तक बन्दै आएका छन् । विश्व चर्चित बहादुर पुर्खाकै सन्तान हामी यस्तै निरीह नेताकै जनता बन्न अहिले विवश छौं ।
सीमा अतिक्रमणको विद्यमान अवस्थाले पुर्खाले गरेको सुगौली सन्धि र सो सन्धिकै आधारमा भारतीय राज्य कुमाउ प्रदेशले १८७५ साल अर्थात् सन् १८१९ मा सर्वप्रथम जारी गरेको भौगोलिक नक्साले नै हामीलाई गिज्याइरहेको छ । आफ्नै भूमिका ’boutमा भारतीय एवं चिनियाँ नेताले गर्दै आएको हस्तक्षेपकारी निर्णयप्रति निमकहराम नेताले आवाजसम्म निकालेका छैनन् । तथापि विश्वचर्चित बहादुर गोर्खालीको नेता हुन पाएकामा गर्व गर्छन् । स्मरणरहोस्, सुगौली सन्धिले हाम्रो मुलुकलाई खुम्च्याइदिएको कुरा अधिकांशमा अवगतै छ । सुगौली सन्धिले निर्धारण गरेकै क्षेत्रमध्येकै करिब ६० हजार हेक्टर भूमि अहिले भारतको कब्जामा छ । त्यहाँका नेपाली दाजुभाइ–दिदीबहिनीहरू भारतीय नागरिकको रूपमा रहन बाध्य बनाइएका छन् ।
सुगौली सन्धिमा के कुरा उल्लेख गरिएको थियो ? भन्ने’boutमा कतिपयलाई जिज्ञासा लाग्न सक्ला ? पाठकको यही जिज्ञासा मेटाउने उद्देश्यले नै सो सन्धिलाई आलेखको मुख्य विषयवस्तु बनाएको छु । स्मरणरहोस्, सर्वप्रथम सन् १६०० तिरै ब्रिटेनले तत्कालीन स्वतन्त्र राज्य न्युफाउन्डल्यानलाई कब्जामा लिई प्रारम्भ गरेको उपनिवेशवादी नीति विस्तारित गर्दै सन् १८१६ सम्म आइपुग्दा विश्वभरै फैलिएको थियो । कहिल्यै सूर्यास्त नहुने मुलुक भनी चिनिएको उही बेलायतका लागि नेपाल भने फलामे चिउरा बन्यो । यो हाम्रै अग्रज पुर्खाको बहादुरीको परिणाम थियो । एकताका हाम्रो मुलुक पूर्वको टिस्टा नदीदेखि पश्चिम हालको भारतको उत्तराखण्ड राज्यकै पश्चिमी क्षेत्र हुँदै बग्ने सतलज नदीसम्म गथ्र्याे । पछि पुनः खुम्चिएर अलकनन्दा नदीसम्म कायम भयो । यही क्रममा व्यापार गर्ने निहुँमा करिब सन् १७०० तिर भारत प्रवेश गरेका अंग्रेजले व्यापार व्यवसाय हुँदै राज्य प्रशासनउपरै आफ्नो कब्जा जमाएर भारतलाई उपनिवेश बनाएका थिए ।
सत्ता स्वार्थसँग राष्ट्रियता नै बन्धकमा राख्न पछि नपर्ने निमकहराम नेताहरूले राष्ट्रिय अस्तित्व रक्षा गर्ने सम्भावना पनि देखिँदैन । अतिक्रमित भूमि फिर्ता ल्याउनु त परै जाओस् समकक्षी छिमेकी नेतासामु सिंह देख्दा डराउने लुते कुकुरजस्तै उनीहरू नतमस्तक बन्दै आएका छन् । विश्व चर्चित बहादुर पुर्खाकै सन्तान हामी यस्तै निरीह नेताकै जनता बन्न अहिले विवश छौं
बराबर प्रयास गर्दा पनि अंग्रेजले हाम्रो भूमि कब्जा गर्न सकेन । हाम्रा राष्ट्रभक्त वीर पुर्खाले राज्य जोगाउन पूर्वको हालको पर्सादेखि पश्चिमको नालापानी, देउथलसम्म सातवटा युद्ध अंग्रेजसँग लडेका थिए । राष्ट्रिय स्वाधीनता रक्षाको खातिर राज्यका सुरक्षाकर्मी मात्र होइन सर्वसाधारण नागरिककै भूमिका भएका रामचन्द्र प्रसाई र जयनारायण थापामगरले समेत जनसेना साथमा बटुलेर सिन्धुलीगढीमा अंग्रेज सेनासँग मुकावला गरेका थिए । राजा पृथ्वीनारायण शाहले प्रारम्भ गरेको एकीकरण अभियानकै अन्तिम चरणमा अर्थात् राजा गीर्वाणयुद्ध विक्रम शाहको कार्यकाल १८७२ पुसमा नेपाल र अंग्रेजबीच सुगौली सन्धि भएपछि युद्ध समाप्त भएको थियो । यो सन्धिपछि हाम्रो मातृभूमि बृहत्तर क्षेत्रबाट निश्चित क्षेत्रभित्रै खुम्चिन पुग्यो । सुगौली सन्धिले नेपालको सिमाना दार्चुला जिल्लाको लिम्पियाधुरा पश्चिम हुँदै बग्ने महाकाली नदीदेखि ताप्लेजुङ जिल्लाको पूर्वी भेग हुँदै बग्ने मेची नदीसम्म सीमित बनायो । यस क्रममा राजा गीर्वाणयुद्ध विक्रम शाहले खटाएका नेपालका अधिकारी, गुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले इस्टइन्डिया कम्पनी सरकारका प्रतिनिधिसँग समन्वय गरी सन्धिमा हस्तक्षर गरेका थिए ।
अहिलेको पर्सा जिलाको वीरगन्ज पश्चिम पर्ने सुगौली नामको स्थानमा दुवै मुलुकको सर्तलाई ९ धारामा समेटी सन् २ डिसेम्बर १८१५ मा सुगौली सन्धिमा हस्ताक्षर भएको थियो । सो सन्धिमा निम्न कुरा उल्लेख गरिएको छ ः
‘शान्तिका निम्नलिखित प्रणहरू स्वीकार गरियो :
धारा पहिलो
इस्टइन्डिया कम्पनी र नेपाउलको राजाको बीचमा स्थायी शान्ति र मैत्री रहनेछ ।
धारा दोस्रो
युद्ध प्रारम्भ हुनुभन्दा अगाडि दुई राष्ट्रहरूको बीचमा वादविवादमा आएका जग्गाहरूमा निपाउलका राजाले समस्त दाबा छोड्नेछ ।
तेस्रो धारा
नेपाउलका राजाले यस तरहले माननीय इस्टइन्डिया कम्पनीलाई सदाको लागि तल लेखिएका देशहरू दिइनेछ ।
जुन यस प्रकारका छन् :
पहिलो – काली र राप्ती नदीहरूको बीचमा परेको समस्त समस्थल भूभागहरू
दोस्रो– राप्ती गण्डक (खास बुटबल अतिरिक्त) का बीचमा रहेका सम्पूर्ण समस्थल भू–भागहरू ।
तेस्रो– गण्डक र कुसा (कोशी) जुनमा बृटिश शासनाधिकारमा परेको छ र खास पर्ने अवस्थामा छ, को बीचमा परेका सम्पूर्ण समस्थल भू–भागहरू ।
चौथो– मेचीऔ टिष्टाका बीचमा परेका सम्पूर्ण समस्थल भू–भागहरू ।
पाँचौं– मोरङदेखि पर्वतसम्म गएको नाग्रिको समस्थल भूमिहरू र नगरकोट घाँटी सहितका मेची नदीदेखि पूर्वी पहाडहरूका भित्रका सारा प्रदेशहरूको साथसाथै घाँटी र नग्रीको प्रदेशहरु उपयुक्त प्रदेशहरूमा यो सन्धि पत्र लागु भएको मितिदेखि चालीस दिनभित्रमा गोर्खा फौजहरू रिक्त गरिनुपर्ने छ ।
धारा चौथो
उपरिलिखित धाराद्वारा अधिकृत प्रदेशहरू सम्मिलित गरिएको कारणले जुन प्रमुख अधिकारी एवं भारदारहरूको अकांक्षामा बाधा परेको छ । निपाउलका राजाले ठहराएका त्यस्ता भारदारहरूलाई बृटिश शासनले राजाले लगाएको अनुपात अनुसार भत्ता दिनलाई वार्षिक एकमुष्ट दुई लाख रुपियाँ दिने निर्णयलाई मञ्जुर गर्दछ । (राजाद्वारा) छनोट हुने वित्तिकै भत्ताको निम्तिको गर्भनर जनरलको क्रमशः मोहर तथा हस्ताक्षर सहितको सनदहरू प्रदान गरिने छ ।
धारा पाँचौं
कालीनदीका पश्चिममा परेका प्रदेशहरूमा नेपाउलका राजाले आफू स्वयं, आफ्ना प्रतिनिधि तथा उत्तराधिकारीहरूका सारा दावाहरू त्याग्ने छ र ती देशहरू र त्यहाँका निवासीहरूसँग कुनै सम्पर्क कहिल्यै राखिने छैन ।
धारा छैटौं
नेपाउलका राजाले उस्का प्रदेशहरू हत्याउने हेतुले सिक्किमका राजालाई कहिल्यै पनि अशान्ति अवस्थामा र विनाश कार्यमा लाग्ने छैन तर यदि नेपाउलका राजा र सिक्किमको राजामा वा उभय पक्षका जनताहरूका बीचमा मतभिन्नता आएमा त्यस्ता विभिन्नताहरू बृटिश शासनको निर्णयमा प्रस्तुत गरिने छ र जुन निर्णयलाई नेपाउलका राजाले पालन गर्न पर्छ भन्ने मञ्जुर गर्छ ।
धारा सातौं
नेपाउलका राजाले कहिल्यै पनि कुनै बृटिश प्रजा या युरोपियनहरू नत (यात) अमेरिकनहरू बृटिश सरकारको अनुमति विना आफ्नो सेवामा राख्न लगाउन सकने छैन ।
धारा आठौं
तदनुसार दुवै राष्ट्रका शान्ति एवं मित्रताको सुधार एवं सुरक्षित गर्नको निम्ति एक दोस्रोको अधिकार सम्पन्न मन्त्रीहरू (राजदुतहरू) तत् तत् देशहरूका राजदर्बारमा राखिने गरी मञ्जुर गरिएको छ ।
धारा नवौं
नौ धाराहरू भएको सन्धि पत्र आजको पन्द्र दिनको भित्रमा निपाउलका राजाले आजको मितिदेखि पन्ध्र दिन भित्रमा मोहर लगाउने छ र मोहर लगाय पछि कर्णेल ब्राडशालाई दिइने छ जसले लिएर बीस दिन भित्रमा वा यथाशीघ्र गर्भनर जनरलको मोहर गरी राजालाई सौपिने छ ।
डिसेम्बर २, १८१५ मा सुगौलीमा हस्ताक्षर गरियो प्यारिस व्राडशा ले.क. पी–ए (सही) – –
१८१५ डिसेम्बर ९ मा सभास्थित गर्भनर जनरल द्वारा वङ्गाल विलियम फोर्टमा सही गरियो (सही) – –
सभास्थित महामहिम म्वाइरा
गर्भना जनरल एविड् मोनस्टन
गेडाम, आर्क भेटन
सरकारी सचिव जिडाउसविल
नेपालको राजाको प्रतिनिधि चन्द्रशेखर उपाध्यायबाट इ. १८१६ मार्च ४ तारिकको दिन दुई बजेर तीस मिनेट जाँदा मकवानपुर भ्यालीमा यो सन्धिपत्र प्राप्त भयो र उसै दिन अंग्रेज सरकारको तरफबाट यो सन्धिपत्रको एक प्रति सुम्पियो ।
(ब्रिटिस दूतावासस्थित प्रतिमा यी हस्ताक्षरहरू छन्)
सन्धिको यो प्रति बुझ्न सक्ने गरी उतारिएको हो । दृष्टान्तको निम्ति सन्धिको वास्तविक स्वरूपको पहिलो पेजको झलक यहाँ दिइएको छ । जुन तस्बिर इतिहासविद् योगी नरहरिनाथद्वारा लिखित ‘इतिहासप्रकाशनमा सन्धिपत्रसंग्रह भाग–१’ को प्रमाण खण्डको पेज नं. २ बाट लिइएको हो ।
(Visited 14 times, 1 visits today)
