‘सिस्टर तपाईं म्यारिड कि अनम्यारिड ?’ केही वर्षअघि सुदूरपश्चिमको एक अस्पतालमा काम गर्ने सिलसिलामा त्यहाँका प्रशासन प्रमुखले कार्यकक्षमै बोलाएर सोधे ।
मैले जवाफ दिएँ, ‘विवाहित । तर किन ?’
‘विवाहित भए सिन्दूर किन नहालेको त ?,’ उनले अर्को प्रश्न गरे ।
‘लाउन मन नलागेर । अनड्यूटी नर्सले सिन्दूर-पोते मात्र होइन, कुनै पनि गरगहना नलाकै राम्रो,’ मैले जवाफ दिएँ ।
‘तपाईंलाई मन नलागेर भो ! हामीलाई समस्या पर्छ नि सिस्टर !,’ उनले भने ।
‘होइन, हामीले सिन्दूर नलाएर तपाईंलाई के समस्या नि ?,’ मैले अचम्म मान्दै प्रतिप्रश्न गरेँ ।
‘महिनैभरि सिन्दूर नलाउँदा तपाईं नछुने भएको हामीले कसरी थाहा पाउने ?,’ उनले बेमतलबको प्रश्न सुनेर म हैरान भएँ । अनि भनें, ‘म मिन्स हुनु र नहुनुसँग तपाईंलाई के सरोकार ?।’
त्यसपछि त झन् उनको भनाइ टाउको दुख्ने खालको थियो, ‘किन हुँदैन सरोकार ? छोइछिटो हुन्छ नि । धर्म संस्कारको सवाल छ । कि सधैं सिन्दूर हालेर अफिस आउनुस्, नछुने भएको बेला मात्र नहाल्नुस्, ताकि हामीलाई थाहा होस् । होइन भने नछुने भाको कुरा प्रष्ट भन्नुस् वा आफैं जानेर हामीसँग छोइछिटो नगर्नुस् ।’
अविवाहित महिला कर्मचारीलाई टीका लाएर मात्र अफिस आउन उर्दी जारी गरिन्छ भन्ने त सुनेकी थिएँ । त्यसदिन आफैंले बेहोरेँ । महिनावारी जस्तो प्राकृतिक विषयमा किन छोइछिटो गर्नुपर्यो भनेर आमाबुबा, दाइदिदी, नातेदार र छिमेकीहरूसँग समेत बहस गरिरहन्थें म । तर समयक्रममा सरकारी कार्यालयमै झेल्दै थिएँ यस्तो झमेला ।
०००
सानी छँदा आमाहरूको समूहलाई तालिम दिन आइरहने स्वास्थ्य केन्द्रकी सिस्टरलाई झल्झली सम्झिएँ । ठट्यौली पारामा उहाँ भन्नुहुन्थ्यो, ‘मान्छे यदि सृष्टिकर्ताको सृष्टि हो भने यसलाई चलाइराख्ने जिम्मेवारी नारीलाई सुम्पेको पनि उनैले हो । अनि सृष्टि चल्न चाहिने मासिक चक्र पनि उनकै देन हो । तर अचम्म ! मासिक धर्मलाई लिएर उनै देउताको नाममा बेकारको रोइलो गर्छन् मान्छेहरू ।’
कथा भन्न सिपालु उहाँ तालिमका सहभागीलाई आफ्नै भोगाइ सुनाउनुहुन्थ्यो । एक दिन अस्पतालमा पहिलो पोस्टिङकै घटना सुनाउँनुभयो, ‘कोठाबाट ड्यूटीमा निस्कदै थिएँ, ‘एकजोर शुद्ध कपडा बाहिरै राखेर मात्र अफिस जानु है सिस्टर !’ भनिन् घरबेटी आमैले । हरेक दिन सुत्केरीलाई छुनुपर्ने हामीले । सुत्केरी छोएर घर फर्किँदा बाहिरै नुहाएर, शुद्ध कपडा फेरेर मात्रै घरभित्र छिर्न पाउने उर्दी रहेछ उनको । चोखो नभई घरभित्र छिर्यो भने देउता रिसाएर उत्पात हुन्छ भन्ने घरबेटीको मान्यता थियो । यस्तो दुर्व्यवहार सहनुपर्दा पीडाबोध हुन्थ्यो ।’ ती सिस्टरको सम्झनाले बिगततिरै डोर्यो मलाई । किनभने, उहाँकै प्रेरणाले म नर्स बनेकी हुँ ।
गाउँको स्वास्थ्य केन्द्रमा रहेर वर्षौं सेवा गर्नुभो सिस्टरले । थुप्रै गर्भवती र सुत्केरी महिलाको ज्यान जोगाउन लागिपर्नु भो । आमा, हजुरआमाहरूलाई कुपोषित बालबालिकालाई पोषित गर्ने उपायहरू सुझाउनुभो । पखाला वा निमोनिया आदि भएर थलिएका शिशुहरूलाई समयमै स्वास्थ्य संस्थामा लगे सजिलै बचाउन सकिन्छ भन्ने चेतना फैलाउनुभो । पानी उमालेर खाए धेरै सरुवा रोगबाट बच्न सकिने सन्देश पुर्याउनुभो गाउँभरि ।
सिस्टरकै अग्रसरतामा ‘घरघरमा चर्पी’ अभियानले सरकारको खुला दिसा-पिसाबमुक्त कार्यक्रमबाट राम्रै सम्मान र पुरस्कार पायो । शनिबारे टोल सफाइ कार्यक्रमले त गाउँघर सफा र चिटिक्कै हुन्थ्यो । अनि प्रफुल्ल मनले हँसिलो बनेका गाउँलेहरूको अनुहार प्रष्टै देखिन्थ्यो टाढैबाट । बोक्सी कुप्रथा, लैंगिक हिंसा र जातिय विभेद विरुद्ध त अभियान नै छेडियो सिस्टरको अगुवाइमा ।
बोक्सीको आरोपमा विधवालाई मलमूत्र खुवाइने घटना हुन् वा छाउगोठमा हुने बालिका बलात्कार, सामान्य लाग्थे हरेक घटना । विक्षिप्त बन्नुहुन्थ्यो सिस्टर समाजको दुर्दशा देखेर ।
एकदमै पछौटे थियो गाउँको परिवेश । गरिबीले उस्तै गाँजेको । खुराकको अभावमा कुपोषित देखिन्थे अधिकांश महिला र बालबालिका । धार्मिक अन्धविश्वास र रुढिवाद व्याप्त थियो । त्यसैले गाउँमा स्वास्थ्य संस्था खुले पनि धामी-झाँक्री वा झारफुके कहाँ धाउने बिरामीहरूको ताँती उस्तै हुन्थ्यो । जातीय छुवाछुत र सामाजिक विभेदको कारण समाजको सबभन्दा पिँधमा थियो दलित समुदाय । तर त्यसको पनि पिँधमा थिए महिला, जसको जीवन साँच्चिकै नारकीय थियो ।
गाउँमा हुने लैंगिक विभेद र महिला हिंसा समस्या नै लाग्थेन कसैलाई । थुप्रै हुन्थे लोग्नेको कुटाइकै कारण गर्भ तुहिने गर्भवतीहरू । अनि प्रसव वेदनाको चित्कारसँगै मृत्युवरण गर्ने आमाहरू । तर दुख्थेन समाजलाई यो पीडा । न त कुनै उपचार नै खोजिन्थ्यो यस्ता समस्याको । बरु भगवानकै लिला भनेर चित्त बुझाइन्थ्यो ।
बोक्सीको आरोपमा विधवालाई मलमूत्र खुवाइने घटना हुन् वा छाउगोठमा हुने बालिका बलात्कार, सामान्य लाग्थे हरेक घटना । विक्षिप्त बन्नुहुन्थ्यो सिस्टर समाजको यो दुर्दशा देखेर । अस्पतालमा रोगीहरूको केयर गर्न नर्स बनेकी उहाँ सम्पूर्ण समाज नै बिरामी देखिएपछि बिरक्तिनुहुन्थ्यो । त्यसैले त निरन्तर गाइरहनुहुन्थ्यो विभेदका गीत । सुनाइरहनुहुन्थ्यो बिद्रोहका कविता हरेक सार्वजनिक बहस र छलफलहरूमा ।
सिस्टरको समाजसेवाप्रतिको निष्ठाले रोगी वा बिरामीलाई मात्र राहत मिलेको थिएन, रहँदा बस्दा गाउँवासीबीच सुखदुःखको सहारा अनि पीडितहरूको पीडा बिसाउने चौतारी नै बन्नुभयो उहाँ । स्कुलमा यौन हिंसा भोगिरहेका बालिकादेखि आफ्नै नातेदारबाट जबरजस्ती करणीमा परेका बेसहारासम्म । घरेलु हिंसापीडित गृहिणीदेखि कार्यक्षेत्रमा दुर्व्यवहार भोग्ने महिलासम्म सबै आउँथे साथ सहयोग खोज्न उहाँको कार्यकक्षमा । उहाँ पीडितलाई न्याय दिलाउन पुलिस प्रशासनदेखि अड्डा अदालतसम्म पुग्नुहुन्थ्यो । हरबखत समान अधिकारको वकालत गर्ने उहाँ लैंगिक विभेद र यौन हिंसा विरुद्ध आवाज बुलन्द गर्नुहुन्थ्यो ।
किनभने, उहाँ स्वयं लैंगिक दुर्व्यवहारको भुक्तभोगी हुनुहुन्थ्यो । महिलामाथि हुने कपटपूर्ण दृष्टि र हिंसाको दुष्प्रयास नर्सहरूको हकमा त झनै दूषित र उग्र हुन्थ्यो । किनभने ‘छोरी बिग्रे नर्स’ भन्ने समाजको बासी चेतनाको ह्याङ्ओभर प्रष्टै भेटिन्थ्यो । त्यसैले छेडखानी, व्यंग्य र ह्यारेसमेन्ट मात्र होइन, फिल्डामा हिँड्दा शारीरिक दुर्व्यवहारबाट बच्च समेत धौधौ हुन्थ्यो । तर पनि उहाँ हतास हुनुभएन । झन् निखारिँदै अघि बढ्नु भो ।
सिस्टरको दशकौंको जागरणमुखी अभियानले गाउँले जनमानस जाग्दै थियो । जनता आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै थिए । स्वास्थ्य सेवा लिने बिरामीको संख्या बढ्दै थियो । उहाँको प्रशिक्षणको प्रभावमा महिलाहरू तात्दै थिए । बल्दै थियो विवेकको बत्ती । हट्दै थियो अन्धविश्वास र कुरीतिको कुइरो । घट्दै थियो महिला हिंसा । समाज अग्रगतितर्फ कुद्न तम्तयार हुँदै थियो ।
सब ठिकठाक चल्दै थियो । तर समयले त्यसैगरी चलिरहन मञ्जुर गरेन । किनभने हजारौं वर्षदेखि चल्दै आएको पितृसत्ताको रजगज जो थियो समाजमा । समाजको एउटा तप्काको लागि आँखाको कसिङ्गर बन्नुभो उहाँ । उनीहरूको नजरमा सिस्टरबाट ठूलो अपराध भैरहेको थियो । पोथी बासेको अशुभ मान्ने पुरुषहरूलाई एक साधारण महिला कर्मचारीको चुरिफुरी सह्य हुने कुरै थिएन ।
स्वास्थ्य केन्द्रमा बसेर बिरामीको मलहम पट्टीमा सीमित हुनुपर्ने नर्सको सामाजिक सक्रियता मन परेन उनीहरूलाई । खासगरी महिला हिंसा गर्ने पुरुषहरू सिस्टरका विरोधी बन्दै गए । उहाँलाई समाज भँडुवाको आरोप लगाइयो । घरझगडाको कारण ठहर्याइयो । उहाँमाथि भौतिक आक्रमणका प्रयास समेत भए ।
सशस्त्र जनयुद्ध उत्कर्षमा पुगेको बेला थियो । माओवादीको डर-त्रास मात्र थिएन, त्यसलाई पनि बिर्साउने राज्य आतंकको सन्त्रास झन् डरलाग्दो थियो । युद्ध भूमरीको बीचमा पर्थे स्वास्थ्यकर्मी, जसलाई माओवादीले राज्यको एजेन्ट देख्थे । शंकाले हेर्थे । अनि राज्यले माओवादीलाई सहयोग गरेको आरोपमा दुःख दिन्थ्यो । प्रकाशनले कतिजना देशका दुश्मनलाई उपचार गर्यौ ? भनेर सोधपुछमा बोलाइरहन्थ्यो । कैयौं पटक आतंककारीसँग साँठगाँठ गरेको भन्दै प्रहरीमार्फत केरकार गर्न समेत लगाइयो सिस्टरलाई । तर उहाँ डग्नुभएन । झुक्नुभएन । विचित्रको ऊर्जा र आत्मविश्वास थियो उहाँसँग ।
जति दुःख दिए पनि नगलेपछि अन्ततः अन्तिम अस्त्र प्रयोग गरे उनीहरूले । सिस्टरलाई पत्तै नदिई जिल्लाका हाकिममार्फत अन्यत्रै सरुवा गरिएको पत्र थमाइदिए ।
सरकारी कर्मचारीको सरुवा प्रक्रिया सामान्य भए पनि प्रतिशोध साँध्न गरिएको हर्कत सैह्य भएन सिस्टरलाई । गाउँमै बसेर प्रतिवाद गर्ने परिस्थिति पनि थिएन । आफ्नै स्वाभिमानमा ठेस लागेको अनुभूति भएपछि बरु उच्च शिक्षा अध्ययनमा जाने निर्णय लिनुभो । अनि राजधानीतिर हान्निनुभो, हुँदाखाँदाको जागिर र त्यसैको जगमा आर्जन भएको सामाजिक सम्पत्ति लात मारेर ।
०००
मलाई छोइछिटो नगर्न चेतावनी दिने प्रशासन प्रमुख र म आमने–सामने कुर्सीमा बसेका थियौँ । हाम्रो बीचमा थियो ठूलो टेबुल । टेबुलमाथि कार्यालयको लेटरहेड लगायतका सामग्रीहरू छरपस्ट थिए । सायद म भित्र सिस्टरको सामिप्यले भरिदिएको ऊर्जा कायमै थियो । अनि, चोर औंलाले टेबुलको लेटरहेडतर्फ इंगित गर्दै भनिदिएँ, ‘ल ठिक छ, त्यसो हो भने यही कुरा कार्यालयको लेटरप्याडमा सहीछाप गरेर लिखितमा दिनुस् मलाई ।’
लोकतन्त्रकै बुई चढेर राज्यका मुखिया बनेकाहरूबाटै अधिकारको नाममा धेरै ट्याउँट्याउँ नगर्न उर्दी जारी गरिन्छ नारीलाई ।
फेरि पनि सानो होस् या ठूलो, विभेद विरुद्ध विष्फोट हुनुको विकल्प छैन, जसको इपिसेन्टर सिस्टरको झैं होस् ।
मैले यत्ति मात्र के भनेकी थिएँ । ‘धर्म मास्न लोकतन्त्र आयो । आइमाईको प्वाँख पलायो’ भन्दै आफैंभित्र भुन्भुनाए उनी । अनि मेरो प्रश्नको उत्तरै नदिई कुर्सीबाट जुरुक्क उठेर हिँडे अँध्यारो अनुहार लुकाउँदै । म भने कुर्सीमै सोचमग्न भएँ । उनको आसय थियो, । पितृसत्ताको पिँधमा थिचिएर चुपचाप बसिरहेका महिलालाई लोकतन्त्रले छाडा बनायो । आज पनि उनीजस्ता एकथरी मान्छेलाई लाग्ने गर्छ । लोकतन्त्रले नागरिकलाई अनुशासनहीन बनाउँछ । परम्परागत मूल्य, मान्यता र संस्कारविहीन बनाउँछ ।
वास्तवमा अन्धविश्वास र मूढतालाई पुरेतवादको आडमा धर्म संस्कारको लेपन लगाउन खप्पिस हुन्छ यो वर्ग । जसले उच्चजातीय अहंकारको बलमा शताब्दियौँदेखि पितृसत्ताको तर मारिरहेको छ । यो त्यही तप्का हो, जसले नारीले उठाउने समान अधिकारको मुद्दालाई सामाज भाँडिएको अर्थमा बुझ्छ । उनीहरूका अभिव्यक्ति र व्यवहारमा बारम्बार झल्किरहन्छन् यस्ता विचार ।
लोकतन्त्रकै बुई चढेर राज्यका मुखिया बनेकाहरूबाटै अधिकारको नाममा धेरै ट्याउँट्याउँ नगर्न उर्दी जारी गरिन्छ नारीलाई ।
फेरि पनि सानो होस् या ठूलो, विभेद विरुद्ध विष्फोट हुनुको विकल्प छैन, जसको इपिसेन्टर सिस्टरको झैं होस् । हरेकको आफ्नै कर्मक्षेत्र अनि स्वयं आफैंभित्र बनोस् ।
(घिमिरे कान्ति बाल अस्पताल, महाराजगञ्जकी सहायक प्राध्यापक हुन् ।)