सिलसिलाको सिलसिला: आमाबुबा डाक्टर बनाउन चाहन्थे, उनी फोहोर सङ्कलक बनिन्


अहिले सिलसिला आचार्यको दैनिकी फेरिएको छ। दिनहुँ आफ्नै अभियानका काममा व्यस्त रहने सिलसिला दुई दिनयता टेलिफोन, अन्तर्वार्ता, खुसी साटासाट र बधाई थाप्नमै व्यस्त छिन्।

नहुन पनि कसरी ? उनी बिबिसीले २०२४ मा तयार पारेको विश्वका १०० प्रेरक र प्रभावशाली महिलाको सूचीमा परेकी छन्। मङ्गलबार बिहान मात्रै बिबिसीले यो सूची सार्वजनिक गरेको थियो। जसमा पर्ने सिलसिला नेपालकी एक मात्र महिला हुन्।

त्यसयता सिलसिलाको दैनिकी फेरिएको हो। कैयौँ शुभचिन्तक भेट्न र खुसी साट्न घरसम्मै पुगिरहेका छन्। शिष्टाचार, बधाई थाप्न समय दिनुपर्छ। कतिपय शुभचिन्तकले उनको मोबाइललाई समेत बेफुर्सदी बनाइदिएका छन्। तारन्तार घण्टी बजाइरहन्छन्। कतिपय फोनको रेस्पोन्ससम्म दिन भ्याउँदिनन्।

यस्ता घण्टीहरू अक्सर बधाई दिन बजिरहेका छन्। कुनै भने सञ्चारमाध्यममा अन्तर्वार्ताका लागि पनि आउने गरेका छन्।

उसो त सिलसिलाका लागि अन्तर्वार्ता नौलो वा ठुलो विषय होइन। पहिला पर्यावरणीय सरसफाइ, फोहोर व्यवस्थापनका विषयमा उनले कैयौँ पटक प्रतिष्ठित सञ्चार संस्थामा अन्तर्वार्ता दिएकी छन्। तर, यस पटक अन्तर्वार्ताका विषय त्यत्तिमा सीमित छैनन्, कामसँगै उनको जीवनीसँगका विषयमा जिज्ञासु प्रश्न आउन थालेका छन्।

यती धेरै सार्वजनिक खुसी र बधाईले घेरिएला भन्ने सिलसिलाको अपेक्षा भने थिएन। बिबिसीको विश्वका १०० प्रेरक र प्रभावशाली महिलाको सूचीमा परेको सिलसिलालाई एक महिना अघि नै सूचना प्राप्त भइसकेको थियो। बिबिसीले नै फोन गरेर त्यो सूचना दिएको थियो।

सिलसिलाको सिलसिला: आमाबुबा डाक्टर बनाउन चाहन्थे, उनी फोहोर सङ्कलक बनिन्

त्यो खबर सुन्दा सिलसिला ‘सरप्राइज्ड’ भएकी थिइन्। व्यक्तिगत रूपमा उनका लागि त्यो धेरै ठुलो खुसी थियो। त्यति बेला त्यो सूचना बाहिर नफैलाउन भनिएको थियो।

‘बिबिसीले मेरा व्यक्तिगत विवरण मागेको थियो। म सरप्राइज्ड बनेकी थिएँ,’ नागरिकसँग कुरा गर्दै सिलसिला भन्छिन्,‘सोचेकै थिइनँ, त्यसरी फोन आउला भनेर। त्यो मेरा लागि निकै ठुलो क्षण थियो।’

त्यो भन्दा बढी अकल्पनीय खुसी सिलसिलाले अहिले उपभोग गरिरहेकी छन्। जसै मङ्गलबार बिबिसीले सूची सार्वजनिक गर्‍यो, त्यसयताको खुसी उनको निजी वा परिवार तथा आफन्तमा सीमित रहेन। अहिले सिङ्गो देशले नै खुसी मनाइरहेको उनलाई अनुभूत भइरहेको छ। नेपालबाटै एक मात्र प्रतिनिधित्व रहने गरी सूचीमा समेटिएकामा नेपालमा गरिएको काम विश्वले चिन्यो भन्ने बधाई दिनेहरूबाट सन्देश पाइरहेकी छन्।

‘मैले यो झन् सोचेकै थिइनँ यति धेरै राम्रो प्रतिक्रिया पाउँछु,’ उनी अगाडि भन्छिन्, ‘जब समाचार आयो सबैले राम्रो प्रतिक्रिया दिनुभयो। एउटा व्यक्तिको सफलता भन्दा पनि राष्ट्रको सफलता हो भनेर भन्नुभयो।’ त्यसपछि भने उनलाई लागिरहेको छ–‘मैले राम्रै काम गरेछु।’ 

आमाबाबु चाहन्थे: छोरी डाक्टर बनोस्

बागलुङमा जन्मेकी सिलसिलाका बाबुआमा दुवै सरकारी जागिरे हुन्। बुबा जनकपुर कारखानामा र आमा शिक्षिका थिइन्। जागिरे आमाबाबुकी उनी जेठी सन्तान पनि हुन्। उनका एउटा भाइ र दुई बहिनी छन्।

समाजमा छोरी पढाउने वातावरण नभए पनि शिक्षित आमाबाबुले सन्तानलाई राम्रै पढ्नुपर्छ भन्दै हुर्काए। बोर्डिङ स्कुलमै पढाए।

सिलसिलाका आमाबुबाले उनलाई डक्टर बनाउने सपनामा हुर्काएका थिए। प्लस–टु सकेपछि सोही अनुसार उनलाई एमबिबिएसको तयारीमा लगाए। केही समय आमाबाबु सपना पूरा गर्न उनी पनि तयारीमा लागिन। एक वर्ष एमबिबिएसको तयारीमा खर्च गरिन्।

एमबिबिएसकै तयारी गर्दा सिलसिलामा डाक्टर भन्दा वातावरण विज्ञानमा रुचि बढ्न थाल्यो। ‘सन् २००४ तिरको समय थियो, त्यो बेला नेपालमा भर्खर जलवायु परिवर्तनको बहस चल्न थालेको थियो,’ उनी सम्झिन्छिन्, ‘वातावरणको समस्या धेरै छ, तर काम गर्ने मान्छे कोही छैनन् भन्ने मलाई लाग्यो।’ त्यसपछि भने उनलाई एमबिबिएसभन्दा वातावरण विज्ञान पढ्ने सोच निधो गरिन्।

सिलसिलाको सिलसिला: आमाबुबा डाक्टर बनाउन चाहन्थे, उनी फोहोर सङ्कलक बनिन्

यता एमबिबिएस पढ्न शिक्षा मन्त्रालयबाट पूर्ण छात्र वृत्तिमा उनको नाम निस्किसकेको थियो, परिवारको सपना पनि त्यहीँ थियो। त्यसपछि उनीमाथि निर्णय गर्न धर्मसंकट आइलाग्यो। 

‘परिवारलाई कसरी भन्ने एमबिबिएस पढ्दिनँ ? वातावरण विज्ञान पढ्छु भनेर। एकातिर पूर्ण छात्रवृत्ति नै परेको छ,’ आफ्नो त्यति बेलाको सङ्कट उनी सुनाउँछिन्।

अन्तमा उनले परिवारको सपना र आफ्नो मनमा मनको सुनिन्। ‘अब परिवारलाई सम्झाउनु थियो। सम्झाउन सहज थिएन। परिवारको जेठो सन्तान छात्रवृत्तिमै नाम निस्केको छ। त्यो छोडेर पैसा तिरेर पढ्छु भन्न सहज थिएन,’ उनी स्मरण गर्छिन्, ‘साहस गरेर एमबिबिएस भन्दा मलाई वातावरण विज्ञानमा रुचि छ। स्कोप पनि छ भनेर भनेँ। चार वर्ष पढाइदिनुस् त्यसपछि एक रुपैयाँ माग्दिनँ पनि भनेँ।’ छोरीको ढिप्पीसामू आमाबाबु नतमस्तक बनेँ। ‘मैले मनाएँ, उहाँहरूलाई सहमत हुनुभयो,’ आफ्नो खुसीको क्षण सुनाउँछिन्। 

वातावरण विज्ञानमा पनि छात्रवृत्ति

त्यसपछि सिलसिलाले चाहानाअनुरूप वातावरण विज्ञान पढ्न काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा भर्ना भइन्। धुलिखेलमा चार वर्ष पढ्दा ध्यानपूर्वक पढेर स्नातक सकिन्। त्यसपछि ६ महिना त्यहीँ काम गरिन्।

त्यही बेला नर्वेजियन सरकारको छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो। स्नातकोत्तर तह पढ्न उनले नाम निकालेर नर्वे गएर निःशुल्क पढिन्। सन् २०११ मा स्नातकोत्तर तह पास गरेर नेपाल फर्किइन्।

सामाजिक उद्यमसँग मिलेर ‘हाम्री बहिनी’

नेपाल फर्किएपछि सिलसिलाले सामाजिक उद्यम संस्थासँग मिलेर ‘हाम्री बहिनी अभियान’ सुरु गरिन्। जसमा प्लास्टिकको झोला विस्थापन गर्न विपन्न र निम्न आय भएका महिलालाई कपडाको झोला बनाउन लगाउने र त्यो झोला काठमाडौंका ठुलश सुपर मार्केटमा लगेर बेच्ने योजना सञ्चालन हुन थाल्यो। जुन प्लास्टिक झोला प्रतिबन्ध लगाउने देखि वातावरणीय फोहोर विरुद्धको अभियानअन्तर्गतको उनको पहिलो पाइला थियो।

सिलसिलाको सिलसिला: आमाबुबा डाक्टर बनाउन चाहन्थे, उनी फोहोर सङ्कलक बनिन्

सुरुमा सुपर मार्केटहरूबाट प्लास्टिकको झोला हटाउन गाह्रो भयो। भाटभटेनी सुपर मार्केटले भने केही साथ दियो। जहाँ महिलाहरूले उत्पादन गरेका कपडाका झोला बिक्री र प्रयोग हुन थाले। अन्य सुपर मार्केटले प्लास्टिक झोला विस्थापनमा अटेरी गरे। त्यसपछि उनले प्लास्टिक झोला विस्थापनको कानुन नै बनाउन सरकारलाई दबाब सुरु गरिन्। हाम्री बहिनी प्लास्टिक झोला विस्थापनका अलावा महिलाहरूलाई सीपमूलक तालिम दिएर रोजगारदातासँग समन्वय गरिदिने काम पनि गर्थ्यो। 

अभियानसँगै कम्पनी, फोहोरबाट आम्दानी

नेपाल फर्कँदा सिलसिलालाई वातावरणको क्षेत्रमा काम गर्छु भन्ने थियो। नेपाल पुगेर हाम्री बहिनी अभियानमार्फत प्रयास गर्दा उनको सोच परिवर्तन भयो।

‘नेपालमा वातावरण भनेर सबैले नबुझ्ने। त्यसैले फोहोरलाई लिएर नै काम अगाडि बढाउने सोच पलायो,’ उनी स्मरण गर्छिन्, ‘त्यसपछि अभियान थाल्दा लाग्यो, अभियान गरेर मात्र हुँदैन, कम्पनी नै खोलेर काम अगाडि बढाउनुपर्छ।’

सिलसिलाको सिलसिला: आमाबुबा डाक्टर बनाउन चाहन्थे, उनी फोहोर सङ्कलक बनिन्

यस क्रममा उनले सन् २०१९ मा ‘अभ्नी भेन्चर्स’ कम्पनी खोलिन्। कोभिड–१९ को समयमा फोहोर व्यवस्थापन राम्रो हुन सकेको थिएन। त्यो देखेर कम्पनीको ‘आइडिया’ जुरेको उनी बताउँछिन्। ‘फोहोर व्यवस्थापनमै ठुलो समस्या अनि सम्भावना पनि यसमै हुन्छ भन्ने लागेर कम्पनी खोलेकी हुँ,’ उनी भन्छिन्।

अभ्नी भेन्चर्स खोल्दा उनले डेढ करोड लगानी गरेकी छन्। अनि त्यहाँबाट उनको आफ्नै काम सुरु भयो। यो कम्पनी खोल्न उनलाई उनका पति सुशील खड्काले पनि सहयोग गरेका छन्। पति सुशीलकै लगानी समेत छ।

अभ्नी भेन्चर्सले नकुहिने फोहोरलाई रिसाइकल गरी कच्चा पदार्थ बनाएर उद्योगमा पठाउँछ। जसमा बढी जसो प्लास्टिकजन्य फोहोर र कागजहरू पर्छन्। यस्तै अभ्नी भेन्चर्सले नेपाल आर्मीसँग मिलेर हिमालबाट संकलित फोहोर, विभिन्न कम्पनीबाट निस्केको फोहोर पनि लिने गरेको छ।

काठमाडौंको टोखाबाट सुरु भएको अभ्नी भेन्चर्स अहिले विभिन्न उद्यमीसँग मिलेर नेपालका अन्य सहरमा पनि बिस्तार भएको छ। यसरी आफ्नो कम्पनीले वार्षिक पाँच हजार टन फोहोर रिसाइकल गर्ने गरेको उनी सुनाउँछिन्।

सिलसिलाको सिलसिला: आमाबुबा डाक्टर बनाउन चाहन्थे, उनी फोहोर सङ्कलक बनिन्

अभ्नी भेन्चर्सले गरिरहेको काम सबै आफ्नै कम्पनीले गर्नुपर्छ भन्ने सिलसिलालाई लाग्दैन। यो क्षेत्रमा अझै अरू युवाहरू पनि आइदिउन् भन्ने उनको अपेक्षा र आग्रह छ। सबै सहर र स्थानीय तहमा त्यहाँकै उद्यमीले यस्तो काम गरेर फोहोर व्यवस्थापनसँगै फोहोरबाट आम्दानी गर्न सक्ने उनको बुझाई छ। यसमा स्थानीय तहलाई पनि अपनत्व लिन सुझाव दिन्छिन्। अभ्नी भेन्चर्सले नै कतिपय स्थानीय तहसँग समन्वयमै काम गरिरहेको छ।

‘टोखामा हामीले गरेको एउटा उदाहरण हुनु सक्छ। त्यस्तै अन्य सहरमा, स्थानीय तहहरूमा अन्यले पनि गर्न सक्छन्,’ उनी भन्छिन्, ‘सबै ठाउँमा उद्यमी जन्मिनुपर्छ। त्यहाँकै मान्छेले रोजगार पाउनुपर्छ। देशभर यस्तै भए स्वच्छ नेपालसँगै फोहोरबाट आम्दानी गर्न गाह्रो छैन।’ 

अभ्नी भेन्चर्समा सिलसिलाको पाइलामा पाइला, काँधमा काँध उनका पति सुशीलले पनि मिलाइरहेका छन्। सुशील एक अर्थशास्त्री र इन्जिनियर पनि हुन्। कम्पनीको आर्थिक पाटो सुशीलले हेर्छन्, वातावरणीय पाटो सिलसिलाको काँधमा छ। काममा पति सुशीलको साथ पाउँदा उनी खुसी पनि छन्।

‘उहाँको अर्कै क्षेत्र थियो, मेरो अर्कै। मैले गरेको काममा उहाँ जोडिन आउनुभयो। साह्रै खुसी लाग्छ। दुई जनाको हातेमालोले धेरै सहज भएजस्तो लाग्छ,’ उनी भन्छिन्।  

आदर्श महिला र सिलसिलाको नाम एउटै सूचीमा

अहिले बिबिसीले सार्वजनिक गरेको सूचीमा परेपछि प्राप्त प्रशंसा र प्रतिक्रियाले आफू ठुलै भएछु भन्ने नलागेको सिलसिला बताउँछिन्। आत्मसन्तुष्टि भने भरपुर मिलेको छ।

‘काम गरिरहँदा खेरी कतै न कतैबाट मूल्याङ्कन हुन्छ भन्ने विश्वास थियो। त्यही भयो। एक दिन त कामको प्रतिफल पाइन्छ, अहिले पाइयो,’ उनले आफ्नो खुसी सुनाइन्।

सिलसिलाले यस पटकको खुसीलाई थप अर्को रूपमा पनि लिएकी छन्। उनले आफूसँगै त्यो सूचीमा आफूले आदर्श मान्दै आएका व्यक्ति पनि परेको देख्दा उनी रोमाञ्चित छिन्। जसमा न्युजिल्यान्डकी राजनीतिज्ञ हाना राबिती माइपी क्लार्क र फ्रान्सकी बलात्कार पीडित एवं अभियन्ता जिजेल पेलिको पनि हुन्।

‘मैले एकदमै सम्मान गर्ने पात्रभित्र उहाँहरू पर्नुहुन्छ। अहिले उहाँहरूसँगै एउटै सूचीमा आफ्नो नाम पाउँदा म दङ्ग छु,’ उनी भन्छिन्,‘मैले पनि राम्रै गरेछु भन्ने लागिरहेको छ।’

‘कर्ममा विश्वास गरे सफलता मिल्छ’ 

काम गर्दा कठिनाइ र समस्या सबैले झेल्नुपर्ने सिलसिलाको अनुभव छ। तर विश्वासका साथ अघि बढे सफलता मिल्ने उनी बताउँछिन्।

सिलसिलाको सिलसिला: आमाबुबा डाक्टर बनाउन चाहन्थे, उनी फोहोर सङ्कलक बनिन्

‘कुन कुरामा आफ्नो क्षमता छ, त्यही काम गर्दा जरुर प्रतिफल पाइन्छ। निरन्तर काम गरेपछि एक दिन न एक दिन सफल भइन्छ,’ आफ्नो अनुभव सुनाउँदै उनी भन्छिन्, ‘तर काम गर्न छोड्नु हुँदैन।’

बिबिसीको छनोट प्रक्रिया के हो ? 

बिबिसीले हरेक वर्ष विश्वभरिबाट १०० जना प्रभावशाली र प्रेरक महिलाहरूलाई छनोट गर्छ। यस वर्ष कठिन परिस्थितिमा पनि अडिग रहेर अघि बढ्ने विशेष गुण झल्काउने व्यक्ति र कामसँग दाँजेर छनोट गरेको बिबिसीले जनाएको छ।

अनुसन्धान र ४१ वटा बिबिसीका भाषा सेवाका साथै बिबिसी मिडिया एक्सनको सुझावका आधारमा सूची तयार पारिएको बिबिसीले भनेको छ। पछिल्लो एक वर्ष उल्लेखनीय काम गरेर चर्चामा आएका, प्रेरणादायी कथा भएका र महत्त्वपूर्ण उपलब्धि हासिल गरेका महिलाहरू छनोट गरेको बिबिसीको दाबी छ।

सिलसिलाको सिलसिला: आमाबुबा डाक्टर बनाउन चाहन्थे, उनी फोहोर सङ्कलक बनिन्
सिलसिला आचार्य।

प्रकाशित: १९ मंसिर २०८१ १९:२६ बुधबार





Source link

Leave a Comment