प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार
अमेरिकी सेनाले सिरियामा गरेको छापामार कारबाहीमा इस्लामिक स्टेट (आइएस) का वरिष्ठ नेता मारिएका छन । कारबाहीमा उनका दुई छोरा पनि मारिएको अधिकारीहरुले बताएका छन ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले सार्वजनिक गरेको विवरणअनुसार वरिष्ठ नेता धिया’ जवबा मुसलिह अल हार्दानी मारिएका हुन । उनका दुई छोरा अब्दल्ला धिया अल हार्दानी र अब्द अल रहमान धिया जवबा अल हार्दानीको पनि अमेरिकी सेनाको आक्रमणमा ज्यान गएको छ ।
तीन जना महिला र तीन जना बालबालिका पनि घटनास्थलमा थिए । तर उनीहरूलाई कुनै क्षति पुगेन । सेन्ट्रल कमान्डका अनुसार यी तीनै जना अमेरिकी तथा गठबन्धन सेनाका लागि तथा नयाँ सिरियाली सरकारका लागि पनि खतरा बनेका थिए ।
यद्यपि, कारबाहीको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । पछिल्ला केही वर्षहरूमा अमेरिका र उसका साझेदारहरूले आइएस विरुद्ध विभिन्न कारबाहीहरू गर्दै आएका छन् । तर स्थलीय छापा अभियानहरू खासै सामान्य थिएनन् ।
‘जहाँ उनीहरू सुत्छन्, काम गर्छन् वा लुकेर बस्छन्, त्यहाँसम्म पुगेर हामी आइएस आतंकवादीहरूलाई ध्वस्त पार्नेछौं,’ सेन्ट्रल कमान्डका कमाण्डर जनरल एरिक कुरिल्लाले भने।
गत मे महिनामा अमेरिका र उसका साझेदारहरूले इराक र सिरियामा मिलेर ६ वटा अभियान सञ्चालन गरेका थिए । पाँच इराकमा र एक सिरियामा ति अभियान सञ्चालन गरिएको थियो । कारवाहीमा दुई आइएस सदस्य मारिएका थिए । दुई अन्यलाई पक्राउ गरिएको थियो । तीमध्ये एक जना आइएस नेता पनि थिए ।
यसअघि मार्चमा अमेरिकी सेनाले इराकमा गरेको लक्षित हवाई आक्रमणमा आइएसका कार्यसञ्चालन प्रमुख तथा “डेलिगेटेड कमिटी एमिर” अब्दल्ला मक्की मुसलिह अल रिफाई र अर्का एक आइएस सदस्य मारिएका थिए।
अप्रिल महिनामा अमेरिकी सरकारले सिरियाबाट करिब आधा अमेरिकी सेनालाई फिर्ता गर्ने घोषणा गरेको थियो । रक्षा मन्त्रालयका अनुसार यो निर्णय क्षेत्रका आइएस क्षमताहरू कमजोर पार्ने दिशामा ‘महत्वपूर्ण प्रगति’ भएको संकेतस्वरूप गरिएको हो ।
यसपछि सिरियामा अमेरिकी सैनिक संख्या एक हजारभन्दा कम हुने बताइएको छ । ट्रम्प प्रशासनले सिरियाली अन्तरिम राष्ट्रपतिको नेतृत्वमा रहेको समूह हयात तहरीर अल शाम को आतंकवादी संगठनको दर्जा हटाउने निर्णय लिएको बेला यो छापामार आक्रमण भएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लागिरहेको अमेरिकी आर्थिक प्रतिबन्ध औपचारिक रूपमा अन्त्य गर्ने कार्यकारी आदेशमा पनि हस्ताक्षर पनि गरेका छन्।