साहित्य सन्ध्याको ४७० औँ नियमित मासिक विशेष शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चा तथा विशेष कविगोष्ठी भएकाे छ। कार्यक्रम गुगलमिटका माध्यमबाट आयोजना गरिएको हाे।
कार्यक्रम साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा भएको हाे। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्राडा मुकेश चालिसे र अतिथिहरूमा वरिष्ठ सञ्चारकर्मी अजय शर्मा, कवि यशोदा अधिकारी, प्राडा लेखप्रसाद निरौला, डा. रामहरि लम्साल, डा. राजेन्द्रप्रसाद अधिकारी, डा. कृष्ण सुवेदी, डम्बर पहाडी (धरानबाट), अग्रज स्रष्टा कृष्ण बाउसे, दुर्गाप्रसाद भमरकोटे, रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, महेशराज खरेल लगायतको उपस्थिति रहेको थियो।
संस्थाका उपाध्यक्ष रमेश पोखरेलले जारी गरेकाे विज्ञप्ति अनुसार प्राडा मुकेश चालिसेले ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ विषयमा पावरप्वाइनटबाट विशद चर्चा गरेका थिए।
प्राडा चालिसे भने, ‘प्रगतिशील साहित्यको परिभाषा, प्रगतिशील लेखक सङ्घ नेपालको स्थापना र उद्देश्य; भारतमा इन्दिरा गान्धी, चरण सिंहहरूले आफूहरूलाई प्रगतिवादी भनेका दृष्टान्त; चीनमा लु सुन, दिङलिङ, हु फेङ आदिले सामन्तवादको विरोध गर्दै जनताका पक्षमा लेखिएको साहित्य, समन्यायको पक्षधरतालाई प्रगतिशील भनेका दृष्टान्त; भारतमै पनि धेरै साहित्यकारले उपनिवेशवादको विरोध गरेका र रूपान्तरण तथा समन्यायका पक्षमा गरेका वकालतका दृष्टान्त; प्रगतिशील लेखक सङ्घ नेपालमा ज्येष्ठ स्रष्टाले र ऊर्जावान् युवाहरूले गरेका नेतृत्व अनि आजको यो विशेष समारोह आयोजना गर्ने साहित्य सन्ध्याका अध्यक्ष आफैँ ज्येष्ठ स्रष्टा रहेको दृष्टान्तसमेत उल्लेख गर्दै पाका नागरिकलाई बुढाबुढी भन्ने, हेलाँहोचो गर्ने र हिजोका मान्यतालाई निस्तेज गर्ने, ज्येष्ठ नागरिक भनेका अनुत्पादक हुन् भन्ने पुँजीवादको वीभत्स रूप देखापरेको/ परिरहेको; कतिपयले स्वान्तसुखायका लागि साहित्य सिर्जना गर्ने भए पनि विशेष गरी प्रगतिशील विचार राख्नेहरू भने कथनी र करनी एउटै गर्ने अनि जनसेवामा जुट्ने कार्यमा सक्रिय रहेको पाइएको छ।
गोकुल जोशी, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, श्यामप्रसाद शर्मा, शान्तदास, केवलपुरे किसान, नेत्रलाल अभागी आदिले दार्शनिक विचार ग्रहण गरेका र उनीहरू अनुकरणीय रहेका भए पनि वर्तमानमा प्रगतिशील हौँ भन्नेहरूले नै चारधाम गएका, तीर्थ गरेका वा श्राद्ध गरेका तस्बिरहरू सामाजिक सञ्जालमा हालेर वैचारिक स्खलनको बाटो समातेको पनि देखिएको छ! त्यसैले विचार वा उमेर के छान्ने भन्ने देखिएको छ।
उमेरले विचार छेक्दैन। गोकुल जोशी जम्मा एकतिस वर्ष मात्र बाँचेका हुन् तर उनले दिएको विचार आजपर्यन्त जीवित छ। खासमा जीवनदर्शनका लागि प्रगतिशील विचार लिनेहरू मात्र परिवर्तनकामी हुन्, उनीहरू आफ्नो विचार तथा दर्शनका माध्यमबाट अजरअमर हुने छन्।’
साहित्यमा एआईको प्रयोग’ विषयमा पावरप्वाइन्टबाटै विशद चर्चा गर्दै वरिष्ठ सञ्चारकर्मी अजय शर्माले नेपालमा एआई सम्बन्धी कानुन २०८१ मा आयो र एआई नीति पनि २०८१ मै आएकाे बताए।
शर्माले भने, ‘हालै राष्ट्रिय एआई सेन्टर पनि स्थापित भएको छ। एआई भनेको कृत्रिम बौद्धिकता हो र यसले मानवबुद्धिकै संयोजन गर्दछ। सन् १९५० मा ट्युरिङ भन्ने विद्वानले यसको प्रतिपादन गरेको मानिन्छ। सन् १९५६ मा डार्क माउथ सम्मेलन सम्पन्न भएको छ भने सन २०२० मा जिपिटी ३ आयो र २०२३ देखि च्याट जिपिटी ४ प्रयोगमा रहेको छ। विशेष कामका लागि सङ्कीर्ण एआई, मानिसको बुद्धिको प्रयोगका लागि सामान्य एआई र मानिसको बुद्धिभन्दा माथि सुपर एआईको प्रयोग हुने गरेको छ।’
’हालसम्म एआई मानिसको निर्देशन अनुसार नै काम गर्ने प्रविधि हो। सन् १९५० देखि ८० कम्प्युटरको युग हो। सन् १९५२ मा पहिलोपटक दिइएका शब्दको प्रयोग गरेर एआईले शब्द लेटर बनाएको पाइन्छ। सन् १९८४ मा पहिलो एआई पुस्तक तयार भएको छ। सन् २०१५ देखि हालसम्म धेरै डाटा खेलाउनसक्ने, मान्छेले जस्तै लेख्नसक्ने एआई प्रविधिको विकास भएको छ। पत्रकारिताका क्षेत्रमा हाल यसको धेरै प्रयोग भइरहेको छ। एआईले लामो कथा पनि सम्झने, शैली पनि ग्रहण गर्ने भए पनि सिर्जनात्मक मान्छेले नै लेखेको जस्तोचाहिँ नहुने वा हुन नसक्ने देखिएको छ।’
सन् २०१८ मा कारमा राखेको सेन्सरले लिएको डाटाका आधारमा लेख्नसक्ने प्रविधि विकास यसले गर्यो भने २०२० मा लेखकीय ढाचा पहिचान गर्ने, शैली मिश्रण पनि गर्ने, दिइएका डाटाकै आधारमा सिर्जनशीलताको नक्कल पनि गर्ने र त्यो नक्कल शक्तिशाली पनि हुने अर्थात् छुट्याउनै नसक्ने हुने पनि देखिएको छ।
हाम्रो नेपालीमा भने अलि हिन्दी टोन आउँछ। कुनै पनि सिर्जना शून्यबाट हुँदैन त्यसैले विषयवस्तु, शब्दचयन, भाषा आदिको मानवले दिएको निर्देशनअनुसार यसले कार्य गर्दछ। चित्र, पुस्तकका कभर एआईबाट बन्न सक्छन्। एआई सम्पूर्णचाहिँ होइन तर अत्यन्त सहयोगी भने बन्न सक्त छ। अत्यन्त छिटो लेखन, धेरै सहयोगी, बहुभाषी क्षमता, अनुसन्धानात्मक क्षमता, प्रकाशनको लागत घटाउनेजस्ता थुप्रै यसका फाइदा छन् भने कहिलेकाहीँ यसले गरेको अध्ययन सतही हुने, मौलिकता हराउन सक्ने, तथ्यगत त्रुटि हुने, सांस्कृतिक सन्दर्भ गलत हुने, सिर्जनाको भाव वा मर्म कमजोर हुने, व्यक्तिगत शैली हराउनेजस्ता यसका सीमा हुनसक्छन्।
खासमा लेखक को हुने र कपीराइट कसको हुने भन्ने अन्यौल वा समस्या पनि रहन्छ। वर्तमानमा नेपालमा पत्रकारिता, अनुवाद, साहित्य, प्रशिक्षण, शैक्षिक सामग्री निर्माण आदि धेरै क्षेत्रमा एआईको निकै धेरै प्रयोग भइरहेको छ।’
उक्त कार्यक्रममा डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, डा. कृष्ण सुवेदी, महेशराज खरेल, डा.राजेन्द्रप्रसाद अधिकारी, कृष्ण बाउसे, जयन्ती स्पन्दन, रामचन्द्र दाहाल, कुमार नेपाल, ओमप्रसाद कोइराला, गोपालकुमार मैनाली, डा.रामहरि लम्साल, दुर्गाप्रसाद अधिकारी भमरकोटे र त्रिलोचन जोशीले आआफ्ना एलाक, कविता, गीत, गजल वाचन गरेका थिए।
अतिथि कवि यशोदा अधिकारीले वाचित रचनामाथि समीक्षा गर्दै साहित्य सन्ध्या सबैभन्दा लामो समयदेखि निरन्तर चलिरहेको नेपाली प्रगतिवादी साहित्यको काव्यशाला वा स्कुल भएकाे बताइन्।
उनले भनिन्, ’वर्तमानका धेरै उदीयमान स्रष्टाहरू यही काव्यशालाका उपजका रूपमा स्थापित रहेका छन्। साहित्य सन्ध्याको यो अर्काे अनुकरणीय कर्म हो। यस विशेष समारोहमा आज वाचित कवितामा श्रमसँग, पर्यावरणसँग, समसामयिक राजनीतिक विषयसँग सम्बन्धित कविता वा सिर्जना वाचित भएका छन्।
हालैको जेनजी आन्दोलन जेनजी विध्वंसको प्रतीक बनेको, जलवायु परिवर्तन अहिले विश्वव्यापी समस्या बनेको, राजनीति प्रतिशोधी भएको हुँदा यसको विरोध गर्नुपर्ने आबाज उठाइएका कविता हामीले सुन्यौँ। मुलुकको अस्मितामा खेलबाड भइरहेको र जताततै मुलुकमा वर्तमानमा अराजकता र विसङ्गत पक्ष मौलाइरहेको यथार्थ पनि कवितामा उजागर गरिएको छ।
मानवता, सद्भाव र सामूहिक भावनाको विकास नगरी मुलुक बनाउन सकिदैन भन्ने राष्ट्रवादी भावना पनि कवितामा आएको पाइन्छ। कवितामा मुलुकमै श्रम गर्नुपर्ने, पसिना बगाउनुपर्ने स्पष्ट सन्देश पनि आएको छ।
सत्ताको लुछाचुँडी र हिंसाले कहिल्यै पनि मुलुक नबन्ने उद्घोष कवितामा गरिएको छ। वर्तमानमा राष्ट्रिय झन्डाको दुरुपयोग गर्ने प्रवृत्ति मौलाएको प्रति चिन्ताभाव व्यक्त गरिएको छ। मोक्षको आशामा निराशाको गन्तव्य रोज्नुनहुने सन्देशसमेत कवितामा दिइएको छ। ज्येष्ठ नागरिक उपेक्षामा परेका, ज्ञान सुनाउने वा बाँड्ने अवसर नपाएका यथार्थपरक अवस्थालाई पनि कवितामा उजागर गरिएको छ। समग्रमा आज वाचित अधिकांश रचना सुन्दर रहेका छन् र आजको यो विशेष प्रविधिमैत्री गोष्ठी पनि सार्थक रहेको छ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला भएकाे बताए। उनले भने, ‘२०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ।
हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेका छौँ। हाम्रा आवाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ। आज वाचित सिर्जनाले सुनियोजित रूपमा ध्वंश मच्चाउने नियतदेखि मुलुकका समग्र बेथितिसम्मका विषय समेटेको छ।’
प्रकाशित: ७ मंसिर २०८२ ११:३८ आइतबार
